आलेख

डिल्लीबजार कारागारमा दीपक मनाङेसँग ती दुई घण्टा...

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

डिल्लीबजार कारागारमा दीपक मनाङेसँग ती दुई घण्टा...

दीपक मनाङेलाई मैलै पहिलोपटक डिल्लीबजार कारागारमा देखेको थिएँ। हाफ जांगे र गञ्जीमा अन्य कैदीहरूसँग गफ लगाएर बसिरहेका थिए। जेलभित्रका अन्य कैदीहरू उनलाई बडो सम्मानका साथ सहयोग गरिरहेका देखिन्थे। कैदीहरूले उनलाई 'दाइ' भन्दै कहिले चिया, कहिले फलफूल त कहिले सलाद ल्याएर दिन्थे।


Advertisement

समग्रमा उनले कारागारभित्र थ्रीस्टार होटलसरहको सुविधा उपभोग गरिरहेका थिए ।


Advertisement

उनले ती खानेकुरा आफैँ हैन, त्यहाँ रहेका अन्य कैदीहरूलाई पनि बाँडेर खाने रहेछन्। 'तिमीहरूको भाग्य नै खोटो रहेछ, ल खाऊ भाइहरू' भन्दै उनी मुसुमुसु हाँसिरहेका देखिन्थे। 'अब यहाँबाट निस्केर गएपछि यस्तो फट्याइँ काम नगर्नू है, यो तिमीहरूलाई लेसन हो,' वरिपरि उभिएकालाई सम्झाउँथे पनि ।

म २ घण्टाजति कारागारभित्र बस्दा ४–५ समूहमा मानिसहरू पालैपालो उनलाई भेट्न आए। ती सबै आउनेबित्तिकै केही न केही खाने कुरा ल्याउनका लागि हात हल्लाएर आफ्ना सहयोगी कैदीहरूलाई इशारा दिन्थे। तिनीहरूले प्राय: फलफूल ल्याइदिन्थे- स्याउ, केरा, अंगुर यस्तै । ती मान्छे किन आउँथे थाहा भएन, तर जो आउँथे उनीहरूको अनुहार निकै खुशी देखिन्थ्यो। ती मानिसहरू मनाङेले जितेको निर्वाचन क्षेत्रका मतदाताहरू हुन् कि जस्तो लाग्छ।


Advertisement

मलाई त लागेको थियो जेलभित्र दु:ख हुन्छ होला। पातलो दालसँग त्यही मोटो चामलको भात खाने त होला नि भन्ने सोचेको थिएँ। किनकी विगतमा नेपाल बन्दामा ढुंगामुढा गरेकोकेसमा तीन दिन हिरासतमा बस्दा त्यस्तै 'थर्ड क्लास' खाना खाएको अनुभव मसँग थियो ।

तर मनाङेका लागि त थरिथरिका खाने कुरा बाहिरबाट नै आउने रहेछ। डिल्लीबजार कारागार उनका लागि सानोतिनो रेस्टुरेन्ट नै थियो।  मलाई बिस्कुट खान दिए। त्यस्तो मीठो बिस्कुट मैलै कारागारबाहिर कहिल्यै खाएको थिइनँ । देखेको पनि थिइनँ। उनले आफू धेरै नखाने तर अरूलाई खुवाएर इञ्जोय गर्ने खालका रहेछन्।

आफू बोल्दै आफ्नै कुरा राम्रो लागेर हाँस्दै गरिरहेका देखिन्थे मनाङे। आफूलाई उन्मुक्ति मिल्ने पूर्व जानकारी पाएजस्तै उनी बिन्दास देखिन्थे। हुन त कारागारभित्र बस्ने बानी परेर पनि होला उनलाई यस्तो कन्फिडेन्स भएको। मेरो मुद्दा त जेल  बस्नुपर्ने खालको नै हैन यार भन्दै उनले आफ्नो वकिललाई मुखै छाडेर गाली गरिरहेका थिए। केस जति लम्ब्यायो त्यति धेरै पैसा खाने दाउ त हैन ? भन्दै वकिलहरूप्रति शंका समेत गर्दै थिए ।

'म त सानोतिनो न्यायाधीश नै भैसकें' भन्दै उनले प्रहरीले समातेको समात्यै गर्दा नेपालको नियम कानून सबै जानेको र कुनलाई कस्तो सजाय हुने भन्ने कुरा सबै आफूलाई थाहा भइसकेको बताएका थिए । प्रहरीले आफू बढुवा हुन र सरकारलाई राम्रो काम गरेको देखाउनकै लागि आफूलाई समात्ने गरेको उनको कथन थियो ।

उनको दुखेसो थियो- 'म भागेको छु र? बकाइदा चुनाव जितेको छु।' उनी प्रहरीसँग बेलाबेलामा रिसाउँथे। आफूलाई प्रहरीले अनाहकमा दु:ख दिने गरेको उनको बुझाइ थियो।

'मेलै त यति धेरै दु:ख पाइरहेको छु, विचरा यी कोही नभएका, पैसा पनि नभएकाहरुले गल्ती पनि गरेको हो कि हैन, कसैले फसाएको पो हो कि ?'  उनी अन्य कैदीप्रति सद्भाव दर्शाउँथे ।

'यिनीहरूले त वकिल पनि राम्रो पाउँदैनन्,' आफ्नो वरिपरि बसिरहेका अन्य कैदीहरूतर्फ हेर्दै उनले भनेका थिए-'उद्देश्य के लिनु उडी छुनू सूर्य कि के भन्छन् नि भाइ हो । हिम्मत नहार, सत्यको जीत हुनेछ।'

'यो गधा जजक (जबर्जस्ती करणी) गरेर यहाँ आएको छ यार..., इच्छाविपरीत चेलीबेटीलाई त्यस्तो खराब काम गर्ने हो हँ ?' एक अधबैंसे युवालाई उनले हप्काए । ऊ फिस्स हाँस्यो । उनले फेरि थर्काए, 'अझ हाँस्छस्, तँलाई लाज छैन ?'

चोरी र डाँका केशमा आएकाहरू प्रति भने उनले सहानुभूति दर्शाए । 'यी फुच्चे भाइहरूको बुद्धि छोटो छ, तर यिनीहरूको कुनै दोष छैन । सरकारको गल्ती छ। पढाइ छैन, रोजगार छैन, खान पाउँदैनन् अनि नचोरेर के गर्ने ?' उनले भने ।

मैले बीचबीचमा चासोका साथ प्रश्न सोध्दा उनले मलाई नै प्रश्नको वर्षा गरे । 'भाइ पत्रकार हो कि के हो ? तिम्रो काम के हो ? म तिमीलाई चिन्दिनँ तर प्रश्न त पत्रकारले जस्तै सोध्यौ नि ! ल पत्रकार फिल्डमा भाइको भविष्य राम्रो छ । पछि अनलाइन खोल्नुपर्छ है । त्यो के नाम गरेको पत्रकार भाइ मेरो हातमा छ । जे भन्यो त्यो मान्छ । अरु पत्रकार पनि छन्, धेरैको नाम भूलिसकें तर मलाई नै उनीहरूले चिनायो नि है ? डन पनि बनायो। आज पत्रकार नभएको भए यसरी दीपक मनाङेलाई कस्ले चिन्थ्यो हैन ?' एकैपटक लामो प्रश्न सोध्थे र जवाफ पनि आफैँ दिन्थे।

त्यतिखेर दीपक मनाङेका जिग्री दोस्त गणेश लामा पनि डिल्लीबजार कारागारभित्रै थिए । तर उनी मनाङेसँग थिएनन्। अलि पर घाम तापेर बसिरहेका थिए। हतियार तथा खरखजनाको केस थियो उनी माथि । अलिक चिन्तित मुद्रामा झोक्राएर बसेका देखिन्थे लामा । सुडान घोटलामा मुछिएका एक उच्च प्रहरी अधिकारीलाई पनि त्यही कारागारभित्र देखेको थिएँ। यो साढे दुई साल अगाडिको कुरा हो ।

त्यतिबेला म रेशम चौधरीलाई भेट्न गएको थिएँ । दीपक मनाङे र चौधरीको पनि बेलाबेलामा समसामयिक विषयमा कुराकानी हुने रहेछ। तर ती उच्च प्रहरी अधिकारीचाहिँ खासै कनेक्सन हुँदैन रहेछ। मनाङेले मलाई कानमा खुसुक्कै भने, 'यहाँभित्र को छैन यार, म मात्र हो र ? पुलिसको ठूलो मान्छे यहीँ छ । म त व्यापारी मान्छे, राजनीति गर्ने मान्छे, भोलि मन्त्री हुन सक्छु, तर अब यिनीहरूको त लाइफ ड्यामेज भैगो नि ! भएन त?' यति भनिसकेपछि उनी अनौठो तरिकाले फेरि मुस्कुराए ।

त्यो दिन मनाङेसँग करीब २ घण्टा गफगाफ भयो। गफगाफ त के हुनु, उनको कुरा कान ठाडो पारेर सुनियो। यहाँ सबै उल्लेख गर्नु आवश्यक हुँदैन होला। तर मनाङेले आफ्नो वकिललाई एउटा सन्देश दिन भनेका थिए, 'मैलै मानवीय धर्म सम्झेर फोन गरी त्यो कुरा उनको वकिललाई सुनाइदिएको थिएँ। वकिल डराएको थियो। मलाई समेत हजुर-हजुर तीनपटक भनेको थियो ।

डनको खबर दिने हुलाकी बन्दा यति धेरै सम्मान पाइने रहेछ। साँच्चै डनको साथी बन्यो भने त चिज अर्कै पो हुने होला भनेर गम खाएँ। मनभरी खुल्दुली भयो। तर ती कुरा सबै 'को- इन्सिडेन्ट' थियो । फेरी खुबै राजालाई भेटे जस्तो लेखेको छ नभन्नु होला ।

त्यो भेटमा प्रहरी र मनाङेबीचका नयाँ पुराना किस्सा बडो रोचकताका साथ उनकै मुखबाट सुन्न पाइएको थियो। त्यो एउटा अवसर पनि थियो। गुण्डाहरूको  नेतासँग कनेक्सन, प्रहरीको कमिसन, पत्रकारहरूसँगको मित्रता सबै- सबै किस्साहरू उनले निकै खुलस्त रूपमा सुनाएका थिए ।

समग्रमा बाहिर जति हल्ला थियो भित्र त्यति थिएनन् मनाङे । उनको नराम्रो पक्ष मात्रै देशवासीलाई थाहा थियो, राम्रो पक्ष धेरै नै थियो जो मनाङे र उनका जनतालाई मात्र थाहा थियो। कागताली र परिस्थितिले डनको पगरी गुथ्नु परेपनि उनको मन निकै सफा रहेछ।

मनाङेका बारेमा राम्रो भन्ने फुर्सद कसैलाई थिएन शायद । किनकी कुनैबेला मनाङेको क्रेज पत्रिकाहरूमा  निकै देखिन्थ्यो। पत्रिका खुबै बिक्थ्यो।  हातमा मोटो सुनको औँठी लगाएको, चाँदीको सिक्री र कालो चस्मा लगाएको फोटो हेर्दा साँच्चै उनी डन नै हुन् भन्ने लाग्थ्यो। त्यतिखेर डनहरू प्राय: भूमिगत रहन्थे। प्रहरी र डनहरूबीचको लुकामारी फिल्मी शैलीमै मिडियामा उतारिन्थे ।

डनका मानक बनेका मनाङले उतिखेरै भनेका थिए- 'आज त मलाई समात केही छैन, तर एकदिन मलाई सलाम गर्नुपर्ला ।' आखिर भयो पनि त्यस्तै।

'फ्याउरे गुण्डा'ले जोगाइदिए संसद्को सार्वभौमिकता

मनाङेले  सफाइ पाए । उनी डिल्लीबजार कारागारबाट निस्के । चुनाव त जितेकै थिए, शपथ खान बाँकी थियो, त्यो पनि खाए। अन्तत: उनले मन्त्री भन्ने सपना र प्रहरीको सलाम खाने सपना गण्डकी प्रदेशबाट पूरा भयो ।

केबल मन्त्री बन्ने सपना मात्र पूरा गरेनन्, उनले आफ्नो जीवनमा सानोतिनो इतिहास पनि रचना गरे । विघटनको संघारमा पुगेको गण्डकी प्रदेशको प्रदेश सभा जोगाउन उनी 'जीवनबुटी' बनिदिए ।

केहीदिन अगाडिको अन्तर्वार्तमा एकजना पूर्व प्रहरी अधिकारीले दीपक मनाङेलाई 'फ्याउरे गुण्ड'सँग तुलना गरेका थिए। मनाङे एकदमै मामुली डाँका भएको उनको आरोप थियो। खै किन हो तिनको त्यो आरोप मलाई मनै परेको थिएन ।

एउटा पूर्व प्रहरी अधिकारी जो राजनीति गर्न पनि चाहन्छ, उसैले अपराधको दुनियाँबाट निस्किएर राजनीति गरेको सहन सक्दैन भने त्यसको अर्थ फेरि उसलाई अपराधकै संसारमा धकेल्न खोजिएको हो कि के हो मैले बुझ्न सकिनँ। किनकी एक पटकको चोर सधैँ चोर हुन सक्दैन।

किंवदन्तीअनुसार एकजना रत्नाकर डाँकु थिए। उनी आफ्नो जाति भिल्लको परम्पराअनुसार चोरी डकैटी गरेर परिवारको पालनपोषण गर्दथे। तर अचानक बाटोमा भेटिएका नारदमुनीको प्रभावका कारण रत्नाकरको सोच नै परिवर्तन भयो। उनी रत्नाकर डाँकुबाट बाल्मिकी बने । उनले ध्यान गरे, तपस्या गरे र रामायण जस्तो पवित्र ग्रन्थको रचना गरे।

एकजना डाँकु, लेखक र महर्षि बाल्मीकि बने जस्तै आज गण्डकी प्रदेशमा दीपक मनाङे आधुनिक युगको बाल्मिकी बनेका छन्। मानव जीवनको यसप्रकारको परिवर्तित सोचलाई स्वागत गर्नुपर्नेमा यहाँ खिस्सी गर्नेहरू, मजाक गर्नेहरूको संख्या धेरै छ, जुन सुधार केन्द्रमा सुधारिनका लागि बसिरहेका हजारौं युवाका लागि राम्रो सन्देश हैन ।

बाल्मिकीको छनक त मनाङेले विगतदेखि नै दिँदै आएका थिए। यस्तो लाग्छ पछिल्लो समय उनले आफ्नो जीवनको 'कोर्स करेक्सन' गरिरहेका छन् । जस्तो कि केही समयअगाडि मात्रै 'जताततै मौलाएको भ्रष्टाचार देख्दा आफूलाई लाज लाग्ने गरेको' बताउँदै उनले गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका थिए। उनको राजीनामा पश्चात , 'ल हेर्नुहोस्, यो व्यवस्थामा मनाङेलाई समेत लाज लाग्न थालिसक्यो' भनेर सामाजिक सञ्जालमा खिल्ली उडाइएको थियो।

राजनीतिमा आएपश्चात उनले भनेका थिए- 'अरे यार, पदमा बसेर मात्र के गर्ने ? अनुगमनमा जाँदा जताततै भ्रष्टाचारै–भ्रष्टाचार देखिन्छ । आफैँलाई लाज लाग्छ । समितिले तुरुन्त कारवाही गर्न निर्देशन दिँदा पनि कारवाही हुँदैन । भ्रष्टाचार देख्ने, तर कारवाही गर्न नसक्ने समितिको कुनै औचित्य छैन ।'

केवल सांसदको हैसियतमा रहेका उनले वैशाख २९ मा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीको शपथ लिए । शपथ ग्रहणपछि पत्रकारहरूसित संक्षिप्त कुराकानी गर्दै उनले भनेका थिए- 'म दुई हप्तापछि पनि हट्न सक्छु । दाइले ल मन्त्री हुने आइज भन्नुभयो, म आएँ । विश्वासको मत मिल्छ मिल्दैन त्यो केही दिनमा देख्नुहोला तर अस्थिरताका पक्षधरहरूलाई हराउँछु ।'

शपथलगत्तै उनको फुर्तीफार्ती निकै नौलो देखियो। मन्त्रालय विस्तार, राजनीतिक नियुक्ति तथा विभिन्न आयोजनाका शिलान्यासमा व्यस्त भए। तर विश्वासको मत लिने दिन नजिँकिदै गर्दा समेत उनी त्यसको तयारीमा भने लागेका थिएनन्। विश्वासको मत नपाउनेमा उनी ढुक्क थिए। सोहीअनुरुप १६ जेठमा प्रदेश सभाको बर्खे अधिवेशन राखियो।

आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै उनकै सरकारले बजेटको तयारी थाल्यो। प्रदेश सभामा बजेटको सिद्धान्त तथा प्राथमिकतासमेत पेश गरियो। यसरी बहुमत पुग्ने दाबी गर्दै बजेटको तयारी थालेको गुरुङ सरकार अन्तत: मनाङेले साथ नदिँदा ढल्यो ।

आफूले पृथ्वीसुब्बा गुरुङलाई सहयोग नगर्ने भन्दै अघिल्लो दिन साँझ भनेका थिए- 'संसद विघटन गरेर चुनावमा जानेजस्तो इलिगल केही हैन, जानीबुझी गर्नै हुँदैन । एउटा मुस्ताङको, एउटा कास्कीको होला । राजीव पहारी, एउटा विष्ट भयो, एउटा महेन्द्र थकाली आउनुभयो । मेरो त एक सिट हो, मैले हालेर के गर्ने भनेँ । अनि मैले बहुमत पुग्छ त भनेँ । संसद् भंग हुन्छ, चुनावी सरकार हुन्छ । तपाईं त मन्त्री भइसक्नुभयो, मोज हुन्छ भन्छ भने । म मोज गर्न मन्त्री हुन आएको हैन ।'

पृथ्वीसुब्बा आफ्नो दाइजस्तो भएको तर अहिले गलत काम गरिरहेको उनको आरोप थियो। 'अहिले पनि मेरो दाइजस्तो हो । एमालेकै ३० प्रतिशतले मलाई तपाईंले जोगाउनुपर्‍यो भने । तलब होला, चुनाव जितेर आएकाले बजेट लगेर काम गरिरहेको होला । उहाँहरूले पहिलोपटक मलाई हामी जसरी पनि बहुमत पुयाउँछौँ भन्नुभएको थियो । पुगेन । दोस्रोचोटि यसो सोचेँ । मनाङ र लमजुङको राम्रो सम्बन्ध छ । मैले यसो सोचेँ, यस्तो तालले त भएन । मैले दोस्रो पटक शपथ लिएँ । जुन क्याबिनेट इलिगल कुरा गर्छ, त्यस्तोमा जानै हुँदैन ।'

संसदीय खेल र अनेक षड्यन्त्रसँग चिरपरिचित भैसकेका मनाङेको भनाइ थियो – 'मैले संसद् बचाउने हो । केन्द्रको रोग प्रदेशमा आउँदैछ । कोरोनाभन्दा पनि ठूलो बिमार हो । कोरोना के हो र ? भ्याक्सिन लगाए सकिन्छ यो बिमारको त भ्याक्सिन पनि छैन । भ्याक्सिन भनेको त राजीव गुरुङ रहेछ । डाइरेक्ट संसद् भंग गर्छु भन्छ भने त्यो मान्छे पोलिटिसियन हैन । जो मान्छेले संसद् भंग गर्छु भनेर डिजाइन गर्छ, त्यो मान्छेले के आधारले विश्वासको मत लिने ? अनि त्यो मान्छेलाई विश्वासको मत दिन किन जाने ? दिने मान्छे पनि बेवकुफ हैन ?'

उनले संसद् विघटन गर्ने कुरा उनलाई चित्तै परेको थिएन । उनले भनेका थिए, '२६ जनालाई त एक भोट, एक भोट, हजार–सजार हैन, यी २६ मा पनि ५ जनालाई जिताइयो भने त डुबेर मरेपनि हुन्छ । यिनीहरूलाई त मुद्दा लगाउनुपर्छ । के मुद्दा लगाउने नयाँ सरकारले गर्ला । यिनीहरूले त एक महिना तयारी गरेका हुन् । यिनीहरूलाई त मुद्दा नै लगाउनुपर्छ । जानीबुझी सरकार ढाल्नेलाई त कि देशद्रोह लगाउनुपर्‍यो । कि प्रदेशद्रोहको मुद्दा लगाउनुपर्‍यो । म त मनाङ जिल्लाको सांसद हो । म हरायो भनेर कसले निवदेन हालेको छ र मलाई धरपकड गर्ने ? आँपको बोटमा आँप नै फल्छ । बोट केपी ओली भयो ।'

पछिल्ला गतिविधि, बोली र वचनहरूले मनाङेमा गम्भीर राजनीतिक चेत पलाएको प्रस्ट हुन्छ। विगतबाट पाठ सिकेको बुझिन्छ। जे होस्, डिल्लीबजार कारागार,  प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका मनाङेको सुझबुझका कारण गण्डकी प्रदेशको प्रदेश सभा विघटन हुनबाट जोगाएको छ। 

राजनीतिको ठेक्का नै हाम्रो हो, हामीबाहेक अरू कसैले राजनीति जानेकै छैन भन्नेहरू गुटगत स्वार्थका लागि संसद् विघटन गर्न कस्सिएका छन्। संसद् विघटन गर्न नपाएर रिसाएका छन्। तर उनी डन नै सही संविधान र व्यवस्थाको पक्षपातिहरूका लागि हिरो बनेका छन्। सम्भवत: उनले गतिलो मन्त्रालय पाउने पक्का छ। उनको राजनीतिक जीवन सफल रहेस्, शुभकामना ! मनाङेका जिग्री दोस्त गणेश लामालाई पनि शुभकामना !

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्