![मेलम्चीको दर्दनाक दृश्य : घरलाई बाढीले झ्यामझ्याम हानिरहँदा रामकृष्ण टुलुटुलु हेरिरहे [फोटो/भिडियो ]](https://lktcdn2.prixacdn.net/media/Sindhupalchok_sEmDR23meZ.jpg)
बुधवार दिउँसो करीब ११ बजे मेलम्ची नगरपालिका–४ का रामकृष्ण खनालको घरभित्र बाढी पसेर क्षतविक्षत पार्दा उनी टुलुटुलु हेरेर बसिरहेका थिए ।
मेलम्चीको बाढी हिलोसहित उनको घरमा पसेर बेलाबेलामा हानिरहेको थियो, त्यो दृश्य टुलुटुलु हेरेर बस्नुबाहेक उनीसँग अर्काे विकल्प थिएन ।
मंगलवार मध्यराति १२ बजेसम्म उनको घरभन्दा १५० मिटर पर खोलामा बाढी आएको थियो तर उनको घरसम्म आएको थिएन ।
मंगलवार साँझदेखि भएको वर्षाले घरमा क्षति पु¥याउला भन्ने उनले सोचेका थिएनन् । साँझ रामकृष्णको घरका सबै सदस्य बुवाआमासँगै खाना खाएर सुतेका थिए तर राति करीब ३ बजेको समयमा नजिकैको खोलामा बाढी आएपछि उनी सुरक्षित ठाउँमा जान खोज्दै थिए, त्यति नै बेला उनको घरमा पनि बाढी पसिहाल्यो ।
८४ वर्षीया आमा र ८५ वर्षीय बुवालाई बोकेर उनले हतारहतार सुरक्षित स्थानमा सारे । त्यसपछि उनले फेरि घरमा आए वस्तुभाउलाई सुरक्षित ठाउँमा पु¥याए । त्यो बेलासम्म उनकी पत्नी र छोराछोरी सुरक्षित ठाउँमा पुगिसकेका थिए ।
उनको घरको भूइँतल्लामा भएका सबै खानेकुरा र सामानहरू बाढीमै डुब्यो, मान्छे बचाउनतिर लाग्दा उनले अन्य सामान सुरक्षित ठाउँमा राख्न पाएनन् ।
‘कामको लागि २ लाख पैसा र केही सुन थियो, झिक्न सकिनँ, परैबाट टुलुटुलु हेरेर बसिरहेको छु, अब के खाने पत्तो छैन, पैसा पनि बगायो, खानेकुरा पनि बगायो,’ खनालले मलिन मुद्रामा लोकान्तरसँग भने, ‘अहिले पनि झ्यामझ्याम बाढीले हानेको छ, मेरै मुटुमा हानेको जस्तो भएको छ सर, केही गर्न सकिन्न, हेर्ने न हो ।’
मेलम्ची बजारका वासिन्दाले बिहान ४ बजेसम्म घर छोडे । राति पानी सहितको बाढी आएपछि चिच्याएर बाहिर भाग्नुपरेको स्थानीय व्यापारी मोहन गौतमले बताए ।
मेलम्ची बजारमा ब्यापार गर्दै आएका उनले आफ्ना सामानहरू निकाल्न पाएनन् तर उनी सँगै भएका परिवारको ज्यान जोगाउन सफल भए । राति बाढीले नजिकैको पक्की पुल बगाएको प्रत्यक्ष आफ्नो आँखाले देखेको उनले बताए ।

‘राति हामी सबै बाहिर निस्केका थियौं । बत्ती थिएन, मोबाइलको टाइट बालेर चार्ज सकिएको थियो । घङ्¥याङ आवाज आयो, पक्की पुल बगाउँदै रहेछ,’ स्थानीय गौतमले लोकान्तरसँग भने, ‘त्यसपछि अर्को पुल पनि त्यसैगरी लग्यो आँखै अगाडि, झन् डराएर चिच्याउँदै मानिसहरू माथितिर भागे । पर घरमा भएका मानिसहरू चिच्याइरहेका थिए, केही गर्नसक्ने अवस्था थिएन ।’
बिहान उज्यालो भएपछि बालुवा सहितको झन् ठूलो बाढीसँगै धमिलो पानी आएको उनले बताए । हेलम्बुमा गएको पहिरोेलाई बाढीले बगाएर ल्याएर मेलम्ची बजारमा भएका अधिकांश घरहरू पुरेको छ भने बाढीमा ग्यास सिलिन्डर, फ्रिज लगायतका घरायसी सामानहरू समेत बगाएको छ ।

मंगलवार साँझदेखि परेको मुसलधारे वर्षाका कारण बजारको बसपार्क पूर्णरूपमा तहसनहस बनाएको छ । कृषि कार्यालय, मेलम्ची खानेपानी आयोजनाको भवन, निमार्णाधीन पार्क लगायतका भवनहरू पूर्णरूपमा बगाएको स्थानीयले बताएका छन् ।
बजार क्षेत्रमा रहेका मोबाइल पसल, खाजा पसल, कपडा पसलमा बाढी र बालुवा छिरेर तहसनहस गरेको छ । मेलम्ची बजारका छतमा रहेका उद्धारको पर्खाइमा रहेका ३ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ भने बाढी पीडितको अवस्था नियाल्न प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्र पुगेका छन् ।





