
असार महिना शुरू भएलगत्तै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबान लगायतका प्राकृतिक विपत्ति शुरू भएका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची बजार र आसपासका क्षेत्रहरू अप्रत्यासित रूपमा आएको बाढीले नराम्रोसँग प्रभावित भएका छन् ।
मेलम्ची नदीमा बाढीसँगै आएको लेदो माटोका कारण बजार क्षणभरमा बगरमा परिणत भएको छ । हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीमा परी केही मानिसहरू बेपत्ता छन् ।
मंगलवार रातिको बाढीले मेलम्ची बजारमा एक सयभन्दा बढी घरमा क्षति पुर्याएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
केही पक्की पुल, केही झोलुंगे पुल, सरकारी कार्यालय, सडकलगायतका पूर्वाधारमा क्षति पुर्याएको छ ।
बुधवार मानवीय उद्धारमा लागेकाले भौतिक क्षतिको मूल्यांकन शुरू भएको छैन । बस्ने घरसँगै कतिपयका खेतबारी समेत बगरमा परिणत भएका छन् ।
यति ठूलो क्षति हुने गरी बाढी आउनुको खास कारण अहिलेसम्म यकिन भइसकेको छैन ।
तर मेलम्ची खानेपानीको मुहानभन्दा केही माथि गएको पहिरोका कारण मेलम्ची नदी थुनिएर बाढी आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
पहिरोले खोला थुनेको र पछि त्यहाँ जमेको पानी एकैपटक बाहिर निस्किँदा ढुंगा, माटो, रुखका जरा तथा ठुटाहरू बगाएर ल्याएको स्थानीयले बताएका छन् ।
कारण जे भएपनि विनाशकारी बाढीले मेलम्ची बजारलाई कुरूप मात्र बनाएको छैन दर्जनौँ परिवारको उठीबास लगाएको छ ।
बाढीले क्षति पुर्याएका घर पुनः प्रयोगमा ल्याउन मिल्ने/नमिल्ने अझै यकिन छैन ।
पक्की घरका दुई तलासम्म पुरिएकाले ती घर सफा गरेर तत्कालै पुनः प्रयोगमा ल्याउन सकिने अवस्था देखिएको छैन ।
विस्थापितहरूको पुनःस्थापना जटिल बनेको छ ।
सामाजिक सञ्जालमा टिप्पणी भएजस्तो मेलम्चीमा सबै घर खोला मिचेर बनाइएका होइनन् । खोलाको सतहभन्दा धेरै माथिसम्म पनि बाढी आएकाले पक्की पुल समेत बगेका छन् ।
खोला मिचेर घर बनाउँदा घर डुबेको भनेर गरिने हल्का टिप्पणीले पीडितहरूलाई झनै मर्माहत बनाउँछ । यो विनाशकारी बाढी दुर्लभै हुने विपत्ति हो ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पले सिन्धुपाल्चोकका जमिनमा धाँजा फाटेको थियो । ठूलो वर्षा हुँदा पहिरो जाने क्रम विगतका वर्षमा पनि भएको थियो ।
यसपटक पनि ठूलो वर्षापछिको पहिरोले खोलाको बहाव थुन्दा विनाशकारी बाढी आएको स्थानीयको बुझाइ छ ।
वर्षायाम शुरू भएलगत्तै मेलम्ची बजारलाई बगर बनाउने गरी आएको बाढी प्रकृतिक प्रकोप र विपदको पूर्व तयारीका लागि अन्य क्षेत्रका लागि पनि पाठ हुनसक्छ ।
केही दिन पहिले मनाङमा पनि यस्तै बाढी आएको थियो ।
विकासमा नाममा पहाडको टुप्पोसम्म अनियन्त्रित तरिकाले डोजर चलाउँदा बाढी र पहिरोजस्ता विपत्ति आइरहेका छन् ।
यस्ता बाढी पहिरोबाट धन जनको सुरक्षाका लागि पूर्वसूचना प्रणाली विकास गर्न जरुरी छ ।
मेलम्चीमा विस्थापितका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना प्याकेज ल्याउन जरुरी छ ।
कोरोना महामारीसँग जुधिरहेका स्थानीय सरकारले वर्षायाममा हुनसक्ने बाढीको विपत्तिका लागि पनि पूर्वतयारी गर्नुपर्ने भएको छ ।