२६ जेठ २०८३, मंगलबार

कोशीमा भइरहेको संवैधानिक खेलबाडमाथि सर्वोच्चको अंकुश

भदौ २४, २०८०
काठमाडौं
कोशीमा भइरहेको संवैधानिक खेलबाडमाथि सर्वोच्चको अंकुश

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ ।

मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्धी रिटमा सर्वोच्चले लामो व्याख्यासहित बिहीवार परमादेश जारी गरेको थियो ।

न्यायाधीशत्रय सपना प्रधान मल्ल, नहकुल सुवेदी र कुमार चुडालको पूर्ण इजलासले थापाले लिएको विश्वासको मतलाई अवैध ठहर गर्दै सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दियो । 

केन्द्रमा रहेको सत्ता गठबन्धन टिकाउन कोशी प्रदेशमा संविधानको भावना तथा प्रचलित संसदीय मूल्य मान्यतालाई कुल्चेर विश्वासको मत लिने नाटक गरिएको थियो । पहिलोपटक सभामुखलाई राजीनामा गराएर विश्वासको मत लिने प्रयास गरियो । तर, राजनीति रूपमा त्यो प्रयोग सफल भएन ।

दोस्रोपटक झनै नमिल्ने ढंगले विश्वासको मत लिने काम भयो । प्रदेश सभा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य (जसलाई सभामुखकै हैसियत मानिन्छ)ले नै निर्णायक मत हाल्ने काम गरेका थिए । कोशी प्रदेशमा भइरहेको संविधानविपरीत काममा निवर्तमान सभामुख बाबुराम गौतमदेखि बिरामी भएको ‘नाटक गरेकी’ उपसभामुखसम्म दोषी छन् । 

एउटा मन्त्री खानका लागि गौतमले प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरे । सभामुख बनेसँगै दलीय आबद्धता नरहने सिद्धान्तविपरीत माओवादी केन्द्रले उनलाई सभामुखबाट राजीनामा गर्न बाध्य तुल्यायो । कोशीमा संविधानको बर्खिलाप जान एकप्रकारको प्रतिस्पर्धा नै चल्यो । 

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेपनि कोशी प्रदेश सरकारको भविष्य अझै अनिश्चित छ । 

सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएपनि कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यसअघि विश्वासको मत लिन नसक्दा उनी पदमुक्त भएका थिए । अहिले पनि उनले विश्वासको मत पाउने आधार कमजोर छ । 

विश्वासको मत लिन सकेमा एमालेले सरकार चलाउने छ । नसकेमा संविधानको अर्को उपधारा अनुसारको सरकार बन्ला । त्यो सरकारले पनि विश्वासको मत लिन नसके प्रदेशमा उपचुनाव होला, अगाडिका तमाम विकल्प खुला छन् । तर, संविधानमाथिको बलमिच्याइँ स्वीकार्य थिएन । 

कोशी प्रदेश सरकारका सम्बन्धमा परमादेश जारी गरेर सर्वोच्चले संविधान च्यात्ने सत्ता गठबन्धनको दुर्नियतमा ब्रेक लगाइदिएको छ । भविष्यमा अन्य प्रदेशमा गलत संवैधानिक अभ्यास हुन नदिनका लागि पनि सर्वोच्चको आदेश एउटा गतिलो नजीर भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्