×

X
Dabur
Nic Asia
Marvel

परार साल प्राइम टाइम नाम गरेको टेलिभिजनमा गएको थिएँ। एकजना युवती ऋषि धमला दाजुको अनुहारमा क्रिम दल्दै थिइन् । उनको अफिसमा सानोतिनो ब्युटीपार्लर नै रहेछ। धमला दाजुको सुन्दरताको राज मैले त्यतिखेर नै बुझ्ने अवसर पाएको हुँ । धमला दाजुले मलाई पनि अनुहारमा क्रिम दल्न आग्रह गरेका थिए । तर म प्राकृतिक रूपमै सुन्दर भएका कारण कहिल्यै क्रिम दल्दिनँ ।

IME BANK INNEWS
morang Auto yamaha

त्यतिखेर धमला दाजुले मलाई 'धेरै केटीको पछाडि नलाग्नू' भनेका थिए । सबैको भलो चाहने मजस्तो सोझो मान्छेलाई खै किन उनले विना प्रसंग त्यस्तो उपदेश दिए, मलाई आजको मितिसम्म पनि थाहा हुन सकेन । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

केटीको कारण लाइफ बर्बाद हुन्छ भन्ने उनको कथन थियो । लेखक, पत्रकार र कलाकार भन्नेबित्तिकै केटीहरू हुरुक्कै हुने तर बोलेको कुरा सबै रेकर्ड गरेर पछाडि बदनाम गर्न सक्छन् भन्दै उनी एकदमै डराइरहेका देखिन्थे। यसबाटै थाहा हुन्छ, ऋषि दाजु कति सुझबुझका छन् भनेर । 

यो शहरमा त जति धेरै बिहे गर्‍यो त्यति धेरै चर्चित हुने चलन छ । आधी दर्जन बिहे गरेर झन् ठूलो गर्जन निकाल्नेहरूले अरूलाई लाजकाज र नैतिकताको पाठ पढाइरहेका छन् । तर ऋषि धमला दाजुले ५ फिट ७ इञ्च उचाइकी, हिस्सी परेकी, फरासिली, चटक्क कम्मर छिनेकी र सर्लक्क जिउडाल मिलेकी, पेरिस फेसन शोमा देखिने कामुक मोडल जस्ती एलिजा भाउजूबाहेक अरू कसैतर्फ पनि नजर लगाएका छैनन् ।

Vianet communication
Maruti inside

अन्तर्वार्ताहरूमा अरूको भर्जिनिटीको बारेमा सामान्य चासो दिएको मात्र हो, दाजुले अन्यथा सोचेका पक्कै होइनन् ।

कस्तो पागल रहेछ, के खान नपाएर ऋषि धमलाको बारेमा लेखेको होला भन्दै हुनुहुन्छ होला पाठकहरूले, तर मैले यथार्थ कुरा लेखेको हुँ । कामधन्दा सबै छाडेर भएपनि आजको लेख अन्तिमसम्म पढ्नु होला । 

आधी घण्टा काम नगरेर केही बिग्रिन्न । तर हामी जस्तो बुद्धिजीवीहरूले लेखेको कुरा पढ्यो भने चेतनाको स्तर बढ्छ । 

मोबाइलमा पब्जी खेलेर, दुनियाँको कुरा काट्दै चोकमा उभिएर गाला बजाएर, टिकटकमा लाइभ बसेर हुनेवाला केही छैन । 

ऋषि धमलाजस्तो हावा मान्छेलाई यसले किन बढाइचढाइ गरेर लेख्यो भनेर तपाईंहरूको मुखभरी नेपाली शैलीको गाली आएको होला । तर पशुपतिनाथको कसम, ऋषि धमला दाजु नेपाली पत्रकारिताको हिरो नै हुन् ।

यो कुरा मैलै हाँसो गरेर भनेकै हैन । तरकारीको 'राजा' आलु भएजस्तै पत्रकारिताको 'राजा' ऋषि धमला हो– जो जस्तोसँग पनि मिलिदिने । जसरी आलु भन्ने जिनिस घिरौँला, बोडी, सिमी, तीते करेला जेसँग पनि मिल्छ, त्यसैगरी ऋषि धमला भन्ने मनुष्य चोर डाँका, जोगी, साधु सन्त, मालिक, मजदुर, सुकिला–मुकिला जो सँग पनि मिल्छन् । 

एउटा सिरुपाते अनलाइन खोल्यो भने केटाहरू सम्पादकको स्वघोषित पगरी गुथेर गमक्क परेर बस्छन्। एक हरफ अलिक मजाको लेख्न भने सक्दैनन् । आफूलाई यति ठूलो सम्झिन्छन् कि मान्छेसँग बोल्यो भने आफू कुकुर भइन्छ जस्तो ठान्दछन् । सांसद, मन्त्री, डीएसपी, एसएसपी, सीडीओ, आईजीपी, सेनाका जर्नेल, कर्नेल सबै मेरा साथीहरू हुन् भन्छन् । तर देशको राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले फोन उठाउने, विदेशको शक्तिकेन्द्रसम्मले चिनेको/मानेको धमला दाजु करोडौंको मिडिया मालिक भएर पनि आफैँ माइक उचालेर सिकारु पत्रकार जस्तै जुनसुकै स्थानमा पनि आफैँ रिपोर्टर बनेर पुग्छन् ।

ऋषि धमलाको पत्रकारिता मात्रै हैन उनका प्रश्नहरूको, निडर शैलीको, औपचारिकता भन्दा पनि हाँसोको बारेमा देशैभर चर्चा हुने गर्छ । नहोस् पनि किन, उनी नेपाली पत्रकारिताका वान पिस हुन् । रोल मोडल हुन् । आइकन हुन् । पछिल्लो समय बारको बैठकमा सीआईडी पुलिसजस्तै एक्कासि छिरेर धमला दाजुले प्रत्यक्ष प्रसारण गरे । अन्तिमतिर उनी हाँसेको निकै आकर्षक सुनिएको थियो । बारका वकिलहरू समेत छक्क परेका थिए । उनको नाक लामो होला तर शरीरको हाइट अनुसार त्यति नाक भएन भने मान्छेले पत्याउँदैनन् । एकचोटी अनामनगरतिर 'धमला दाजुको नाकमाथि गरौं कि हमला' भन्दै एक युवतीले प्रेम प्रस्ताव नै राखेकी थिइन्, अरे ।

धमला दाजुको सहयोगीपन पनि सारै गज्जबको छ । तपाईंसँग खाजा खाने पैसा भएन र 'दाजु भोक लाग्यो, पैसा छैन, चाउमिन खानु पर्‍यो' भन्यो भने सिधै खल्तीबाट झिकेर एक हजार रुपैयाँ दिन्छन् । झन् तपाईंको डाईहर्ट फ्यान हुँ भनिदिनुपर्छ दश हजार दिन पनि बेर लाग्दैन । एकपटक 'एलिजा भाउजूको चलचित्र हेरियो । एकदम राम्रो अभिनय रहेछ । रेखा थापाकै झल्को मेटियो' भन्दिएको दाजुले १२ हजार दिनुभयो। त्यो पैसा लगेर कमल सरगम, मुकुन्दे दाजु र म मिलेर बंगुरको मासु, बियर अनि अरू के–के मीठोमीठो खाएका थियौं । तर वास्तवमा मैले फिल्म हेरेकै थिइनँ ।

मलाई त ऋषि दाजुको बारेमा कसैले कविता नै लेखिदेओस् जस्तो लाग्छ। तर के गर्ने कविहरू उनको खिस्सी गर्छन् र दलालहरूसँग कुखुराको सपेटा खान रातिराति चन्द्रागिरी पुग्छन् । ऋषि दाजुले कहिल्यै जाँडरक्सी पिएका छैनन्। चुरोट तानेका छैनन्। उनले घरबाहिर निस्केपछि सलाद, फलफूल र पानीबाहेक केही खाँदैनन्। नाम पनि ऋषि, आहारबिहार पनि ऋषि । यहाँ कैयौं पत्रकारहरूले चिउरा, मासु बीयर मात्रै हैन फ्रीमा पाए भने अलकत्रा पनि खान्छन् भन्ने सुनिन्छ । तर ऋषि दाजुको बानी त्यस्तो खञ्चुवा छैन । 

सबैभन्दा महत्त्वपूर्ण कुरा ऋषि दाजुको श्रीमती प्रेम हो। धेरैले ऋषि धमला एकदम व्यस्त हुन्छ, श्रीमती राम्री मोडेल जस्ती भर्खरकी छ, समय दिन भ्याउँदैन, कतै डिभोर्स त हुँदैन नि भनेर शंका गर्छन् । बिहानै निस्किने उनी बेलुका अबेर मात्रै घर पुग्ने गरेका कारण एलिजा भाउजूलाई समय पुग्दैन कि भन्ने एक प्रकारको डर समेत जनमानसमा छ। 

जे जस्तो शंका–उपशंका भएपनि उनले श्रीमतीबाहेक अरू महिलालाई गिद्दे नजर लगाउने गरेका छैनन्। तर यहाँ अरू यस्ता पत्रकारहरू पनि छन्, जसले घोषित/अघोषित ३-४ वटा बिहे गरिसके । तिनैले अरूलाई आदर्शको पाठ पढाउने गरेका छन् ।

धैरै पत्रकारले अरूले लेखेको समाचार 'कपि पेस्ट' गरेर आफ्नो पत्रकारिताको 'अधर्म' पूरा गरेका छन्। तर ऋषि दाजु बिहानै रेडियोमा कराउन पुगिहाल्छन्। त्यसपश्चात दिनभरी टेलिभिजन अनि रिपोर्टर्स क्लबमा। यसकारण ऋषि धमला आफैँ एक समाचार हुन्। रिपोटर्स क्लब समेत उनकै भएका कारण उनी देशको सबैभन्दा ठूलो समाचार उत्पादक र धारणा मेकर पनि हुन् ।

जसरी नुनविना तरकारी खल्लो हुन्छ, त्यसैगरी ऋषि धमलाविना राजधानीका ठूल्ठूला कार्यक्रम पनि खल्लो हुने गर्छन् । रेडियो, टेलिभिजन, अनलाइन सबैतिर ऋषि धमलाको हमला नै हमला देख्न पाइन्छ। एउटा गाउँबाट आएको सामान्य युवा, परिस्थितिले धेरै शिक्षा आर्जन पनि गर्न नसकेको टुहुरो केटाले एकबारको जुनीमा देश नै ठप्प हुनेगरी पत्रकारिता गर्नु चानचुने विषय हुनै सक्दैन। उस्तै परे यो त गिनिज बूकमा लेख्नुपर्ने बिषय हो । 

गाउँ जन्मिएको म मगरको छोरा भएपनि उनले आफ्नो टेलिभिजन शोमा मलाई करीब ५ पटक अतिथिको रूपमा बोलाएर अन्तर्वार्ता लिएका छन्। उनकै मुखबाट 'तिमी एकदम खतरा बुद्धिजीवी हौ, तर मान्छेले बुझ्न नसकेको हो' भनेका पनि छन् । हुन पनि एउटा नेपालीको सामन्य चेतनास्तरले मलाई बुझ्न सक्ने कुरा भएन । तर ऋषि धमला दाजुलाई ४/५ पटक अन्तर्वार्ता दिए पश्चात मेरो हाइट पनि निकै बढ्यो र सबैले हाई–हाई गर्न थाले ।

बाटोमा हिँड्दा पनि मलाई सबैले चिन्छन्। राजावादीहरूले अनुहार अँध्यारो बनाए पनि कम्युनिस्टहरूले के छ दाजु ? हामी त तपाईंको फ्यान हौं भन्दै हात मिलाउँछन् । लोकान्तरको स्तम्भले पनि मलाई बुद्धिजीवी मान्छेकै रूपमा विश्वभरी चिनाएको छ । अरबपतिलाई उसको सासु-ससुराले बाहेक अरू कसैले चिन्दैन, मलाई संसारले चिन्छ । 

म ऋषि धमला दाजुभन्दा पनि जान्ने मान्छे हुँ भन्न खोजेको हैन तर ऋषि धमला दाजुबाहेक अरू कोही ठूला भनिएका माइकलालले मेरो अन्तर्वार्ता लिन मन गरेनन्। कागले दिशा गरे जस्तै लेख्नेहरूलाई बडो विश्लेषकको पगरी गुथाइदिएर अन्तर्वार्ता लिने नश्लवादी प्रस्तोताहरूले बहुरंगी समाज देख्न, हेर्न ऋषि धमलाको कार्यक्रम हेर्नुपर्छ ।

धमला दाजु सेलिब्रेटीको अन्तरवार्ता लिएर सेलिब्रेटी बन्न खोज्दैनन्। किसान, महिला, दलित, अल्पसंख्यक, सानो नेता, ठूलो नेता, व्यापारी, चोर, गुण्डा, अपराधी सबै उनका अतिथि हुन् । जोसँग पनि लिखित, मौखिक साक्षात्कार गर्न सक्ने म जस्तो चर्चित स्तम्भकारलाई आखिर ऋषि धमलाले स्थापित गराइ छाडे । बुढापाकाहरूले 'हिराले हिरा चिन्छ' भनेको शायद यही होला ।

हेर्नुभएन, अरू कोही माइकलालले लिन नसकेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अन्तर्वार्ता पनि ऋषि धमलाले नै लिए । यस्तो संवेदनशील समयमा प्रधानन्यायाधीशले पत्याउने पत्रकार कसको खतरा होला ? प्रधानन्यायाधीश जस्तो मान्छेले ४० मिनेटमा ५० पटक ऋषिजी, ऋषिजी भनेर कति धेरै मान सम्मान गरेका छन् ।

अरू मुला कोठे पत्रकार हेरेको हेर्‍यै भए । सिरक ओढेर घरमै बसिरहेका पत्रकारहरू ऋषि धमला पत्रकार नै हैन भन्छन्, तर धमला बिहान ५ बजे रेडियोमा नेताहरूसँग घम्साघम्सी गर्न पुगिसक्छन् । अनि अरूको प्रत्यक्ष प्रशारण र ऋषि धमलाको प्रत्यक्ष प्रशारणमा आकाश-जमिनको फरक छ । अरूको प्रत्यक्ष प्रसारण थोत्रो स्कुटर हो भने धमलाको प्रत्यक्ष प्रसारण ब्रान्ड न्यू बूलेट बाइक हो ।

बारमा वकिलहरूले भाले जुधााइ गरे । तिनलाई पनि ऋषिले मिलाई छाडे । धेरैलाई विश्वास नलाग्न सक्छ, भारतले गरेको नाकाबन्दी हटाउनमा पनि ऋषि धमलाको धेरै ठूलो हात छ । त्यसैगरी गणतन्त्र नेपाल घोषणा, संविधान निर्माणमा पनि उनको भूमिका महत्त्वपूर्ण छ ।

गिरिजाबाबुले विश्वास गरेको पत्रकार धमलाले शान्ति सम्झौतामा समेत निकै महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी गणतन्त्रवादी हुन्। गणतान्त्रिक नेपालको पृष्ठपोषण गर्छन् । केही तोरीलाहुरे पत्रकारहरू, जसको परिवर्तनमा कुनै योगदान छैन, तिनीहरू नै आज गणतन्त्रको अधिकार प्रयोग गरेर गणतन्त्रकै हुर्मत काड्न कस्सिएका छन्। ऋषि धमला दाजु अनावश्यक ध्वांस दिने, ठूलो कुरा गर्ने कहिल्यै गर्दैनन् । कसैको मानमर्दन गर्दैनन्, अपशब्द प्रयोग गर्दैनन्। बाहिर हेर्दा पत्रकार, तर भित्रभित्रै व्यापारी पनि बन्दैनन् । 

उनी कुनै पनि पार्टीमा छैनन्। यो मुलुकमा धेरै पार्टी पत्रकार छन्। तिनीहरू पार्टीनिकट पत्रकारको संगठनमा बसेर नेतागिरी गरिरहेका हुन्छन्। तर ऋषि धमला दाजु बिहान एमाले, बेलुकी कांग्रेस र दिउँसो माओवादी बनिदिन सक्छन्। सरकार जस्को छ उसैलाई सम्मान गर्छन् । उनले कुनै पार्टीको कट्टर भक्तिगान र चाकडी कहिल्यै गर्दैनन् । जो पार्टीको पत्रकार छ, तिनीहरू धमलाको राजनीतिक पहुँच देखेर जिब्रो काड्ने गरेका छन् । 

धमला जनताको छोरो, कसैको आशिर्वादविना संघर्ष गरेर पत्रकारितामा आएका कारण एलिट वर्गका पत्रकारले जस्तो बीचबीचमा अंग्रेजी घुसाएर बोल्न जान्दैनन् होला तर नेपालीपन, नेपाली जनताको चाहना र नेपाली जनताको भावना तथा चेनतासँग मिल्दोजुल्दो पत्रकार केवल उनी मात्रै एक्ला हुन् । उनी नेपाली पत्रकारिताको हिरो हुन्। 

उनी यति धेरै क्रेजी छन् पत्रकारितामा कि उनले आफ्नै श्रीमतीको अन्तर्वार्ता समेत लिएका छन्। अरू कोही माइकलालले सकेको छ यस्तो अनौठो काम गर्न ? सकेको छैन र सक्दैन पनि।

हिजोआज त उनी दैनिक जिम हल जान थालेका छन्। के थाहा भोलि उनी 'अन्डरटेकर' जस्तो संगठित मांसपेशीको शरीर बनाएर देशको गौरव फिजिकल फिटनेसको क्षेत्रमा पनि राख्न सक्छन्। तसर्थ धेरैलाई लागेको होला ऋषि धमला साधारण मान्छे मात्रै हुन्। यदि यस्तो लागेको छ भने यो हाँस्यास्पद सोच हो। ऋषि धमला दाजु त २१ औं शताब्दीको माटो सुहाउँदो 
नेपाली जनताले भाग्यवश प्राप्त गरेका अनौठा पत्रकार हुन्।

उस्तै परे ऋषि धमला दाजुको नाम गिनिजबूकमा लेख्नु पर्दछ।

 

TATA Below
NLIC
साउन १५, २०७९

१९ औं शताब्दीमा भारतमा जन्मिएका महान दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व श्री चन्द्र मोहन जैन अर्थात ओशोप्रति  हार्दिक नमन प्रकट गर्दै आजको स्तम्भ तयार गरेको छु ।  युट्युवमा ओशोको प्रवचन सुनेर गुम्बाको लामा जस्...

साउन २०, २०७९

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...

साउन १८, २०७९

लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

साउन २०, २०७९

अमेरिकाकी सभामुख न्यान्सी पलोसी ताइवान ओर्लिएपछि अमेरिका र चीन आमनेसामने भएजस्तो गरी चर्चा भइरहेको छ । विभिन्न समयमा विश्व व्यवस्थाका स्थापित अवस्थाहरू परिवर्तन भइरहेका हुन्छन् । अमेरिकाले कुनै समय एक चीन नीत...

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x