
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन अर्थात् बन्द सत्रको दोस्रो दिन आइतवार महाधिवेशनकै निर्णायक दिन हो ।
आइतवारको बन्दसत्रले एमालेको केन्द्रीय कार्यकारी निकाय केन्द्रीय कमिटीको चयन गर्दैछ ।
सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्ने प्रयास गरिरहेको एमालेको बन्दसत्रको हलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने सर्वाधिकार दिएको छ ।
सोहीअनुसार ओलीले बन्दसत्रमा पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय निकायमा २५ जनाका दरले ७५ जनाको नाम प्रस्तावको गृहकार्यमा जुटेका छन् ।
ओलीले केही दिन अघिदेखि नै केन्द्रीय नेतृत्वमा ल्याउने व्यक्तिबारे छलफल थालेका थिए । शनिवार पनि बिहानैदेखि ओली नेताहरूसँगको छलफलमा रहेका छन् ।
सोही कारण बिहान १० बजे बोलाइएको बन्दसत्र साढे ५ घण्टा ढिलो शुरू भयो । आइतवारको बन्दसत्रमा ओलीले सबैभन्दा पहिले केन्द्रीय निकायहरू अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगका अध्यक्ष, सचिव र सदस्यहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका ओली निकट स्रोतले बताएको छ ।
ओलीले प्रस्ताव गरेको नाम बन्दसत्रको हलले सर्वसहमतिमा पारित गरेमा ओलीले प्रस्ताव गरेको नाम नै आयोगका सदस्यहरू निर्वाचित भएको घोषणा हुनेछ ।
त्यसपछि ओलीले केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलमा प्रस्ताव गर्ने उनी निकट एक नेताले बताए । एमालेले केन्द्रीय सदस्य चयनका लागि विभिन्न क्लस्टर छुट्याएको छ । ओलीले सोही क्लस्टर अनुसार केन्द्रीय सदस्यको नाम वाचन गर्नेछन् ।
केन्द्रीय सदस्यको नाम हलले अनुमोदन गरेपछि मात्रै केन्द्रीय पदाधिकारीमा सहमतिका लागि नेताहरूसँग निर्णायक छलफल गर्ने तयारी ओलीले गरेको उनी निकट स्रोतले बताएको छ । केही नेताहरूले ओलीले प्रस्ताव गरेको नाममा असन्तुष्टि राखेर निर्वाचनको माग गरेमा हलमा उसको पक्षमा रहेका प्रतिनिधिलाई हात उठाउन लगाएर उनको पक्षको मत समेत देखाइदिने तयारी एमाले संस्थापन पक्षले गरेको बुझिएको छ ।
बन्दसत्रको हलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने र ओलीलाई सर्वाधिकारसम्पन्न अध्यक्ष बनाउनुपर्ने पक्षमा ठूलो मात्रामा प्रतिनिधिको संख्या छ । यही बलमा ओलीले निर्वाचन माग गर्नेको पक्षमा प्रतिनिधि नै नरहेको बन्दसत्रको हलमा नै प्रमाणित गराइदिने तयारी समेत गरेका छन् ।
बन्दसत्रका सहभागी एक प्रतिनिधि भन्छन्, ‘तल्लो तहको अधिवेशन र प्रतिनिधि चयनमा सहमति भनेर प्रतिनिधि चयन गरेर ल्याएर महाधिवेशनमा भोट हाल्न लगाइयो भने कसैले पनि भोट हाल्दैन । अहिले एकताको महाधिवेशन आवश्यक छ । सबै अधिकार अध्यक्षलाई दिइएको छ । उहाँले अधिकार प्रयोग गर्नुहुन्छ ।’
एमालेले महाधिवेशनबाट १९ जना पदाधिकारी निर्वाचित गर्दैछ । पदाधिकारी नै एमालेको केन्द्रीय सचिवालय हो ।
केन्द्रीय सचिवालयमा विभिन्न पदमा समेटिनका लागि एमालेको शीर्ष नेतृत्व तहमा जुँगाको लडाइँ चलिरहेको छ । विशेषगरी वरिष्ठ उपाध्यक्ष र महासचिव को बन्ने भन्नेमा टुंलो लाग्न सकेको छैन ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेका छन् । त्यसमध्ये पोखरेललाई वरिष्ठ उपाध्यक्ष र नेम्वाङलाई उपाध्यक्ष बनाउने तयारी ओलीले गरेका छन् । एमालेले राजकीय जिम्मेवारी पाएको अवस्थामा नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएर ओलीले फकाइरहेको स्रोतले बताएको छ ।
नेम्वाङले भने निर्वाचन हुने अवस्थामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने ओलीलाई बताएको स्रोत बताउँछ ।
नेम्वाङ निर्वाचनमा आउँदा वरिष्ठ उपाध्यक्ष हारिने डरमा पोखरेल छन् ।
त्यसबाहेक महासचिव पदमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन् । उनीहरू दुवै जना नेतालाई आपसमा सहमति गरेर आउन ओलीले भनेको स्रोतले बतायो ।
पौडेल र पोखरेलले आपसमा एक चरणको छलफल पनि गरिसकेका छन् । छलफलमा पोखरेले अहिले आफू महासचिव बन्ने र पौडेललाई उपाध्यक्ष बन्न सुझाव दिएका स्रोत बताउँछ ।
‘पोखेरेलले पौडेललाई अहिले महासचिव बन्न सघाउनुहोस्, ११ औं महाधिवेशनमा अध्यक्ष बन्न सहयोग गर्छु भन्ने प्रस्ताव गर्नुभएको रहेछ । पौडेलले त्यसमा सहमति जनाएका छैनन्,’ उनीहरू निकट स्रोतले बतायो ।