१८ असार २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

कांग्रेस पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न दुवै समूहलाई सकस, को–को बन्दैछन् उम्मेदवार ?

मंसिर २३, २०७८
कांग्रेस पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न दुवै समूहलाई सकस, को–को बन्दैछन् उम्मेदवार ?

नेपाली कांग्रेसको चौधौं महाधिवेशन उद्घाटन हुन एकदिन मात्रै बाँकी छ  । 

शुक्रवार दिउँसो एक बजे कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमण्डपमा सजाइएको विशेष मञ्चबाट कांग्रेसको चौधौं महाधिवेशन विधिवत उद्घाटन गर्दैछन् ।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन आज महाधिवेशनबाट पार्टीको हाइ–कमाण्डमा पुग्न चाहने नेताहरू चाहेको पदअनुसार प्यानलमा पर्न दौडधूप र रस्साकस्सीमा छन् ।

भोलि अर्थात् मंसिर २४ गते महाधिवेशन उद्घाटन हुनेछ र लगत्तै २५ गते उम्मेदवारी दर्ता गर्नुपर्छ । 

भोलि महाधिवेशन उद्घाटनमा व्यस्त हुने भएकाले नेताहरू आजै आ–आफ्नो प्यानल तयार पार्ने अन्तिम कसरतमा छन् ।

देउवालाई दबाब

कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनबाट पुनः पार्टी नेतृत्वमा दोहोरिने तयारीमा छन् । तर, उनले निर्वाचनमा सहभागी हुन आफ्नो तर्फको पदाधिकारीसहितको प्यानल भने बनाउन सकेका छैनन् । 

देउवा पक्षबाट उपसभापति पदका लागि विजय गच्छदार, गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्काले उम्मेदवारी दाबी गरेका छन् । 

कांग्रेसको विधानअनुसार दुईजना उपसभापति हुने व्यवस्था छ । तर, देउवाले कसलाई उपसभापतिको उम्मेदवार बनाउने टुंगो लगाउन सकेका छैनन् ।

उपसभापतिको दाबी गरिरहेका नेताहरू देउवाका पुराना सहयोगी हुन् । 

देउवाले मूल पार्टीबाट छुट्टिएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा गोपालमान श्रेष्ठ उपसभापति थिए भने विजय गच्छादरले पनि देउवालाई सहयोग गर्दै आएका छन् । 

पूर्णबहादुर खड्का कांग्रेसका वर्तमान महामन्त्री हुन् । देउवा नेतृत्वको वर्तमान सरकार गठन र सञ्चालनमा खड्काले सहयोग गरिरहेका छन् । 

देउवा यी तीनै नेतालाई चिढ्याउने पक्षमा छैनन् । 

उनीहरूलाई समेट्नकै लागि देउवाले महाधिवेशनको अघिल्लो दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विधान संशोधन गर्न लागेका छन् । 

विधान संशोधनबाट एक उपसभापति र दुई उपमहामन्त्री थप्ने देउवाको तयारी छ । विधान संशोधन गरेर तीन उपसभापति बनाउँदा अहिले दाबी गरिरहेका तीनैजना नेतालाई देउवाले समेट्न सक्छन् । 

त्यसबाहेक, देउवाका लागि सबैभन्दा चुनौतीपूर्ण विषय बनेको छ, महामन्त्री पद । महामन्त्री पदमा देउवा पक्षकै ६ जनाले दाबी गरेका छन् । 

कांग्रेसको विधान अनुसार दुईजना महामन्त्री हुने व्यवस्था छ । 

गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँण, सञ्चारमन्त्री रहेका नेता ज्ञानेन्द्र कार्कीले महामन्त्रीको दाबी गरेका छन् । 

अहिले सहमहामन्त्री रहेका र कांग्रेसमा निरन्तर देउवाको पक्षमा रहेका डा. प्रकाशशरण महत पनि महामन्त्रीको आकांक्षी हुन् । त्यसैगरी, केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्माले पनि महामन्त्रीको दाबी गरेका छन् । 

कांग्रेसको प्रवक्ता रहेका शर्माले त महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेर आक्रामक प्रचारसमेत गरिरहेका छन् । 

गृहमन्त्री खाणले कांग्रेसको महामन्त्री हुँदा गृहमन्त्री पद समेत छाडिदिने बताएका छन् । महामन्त्रीमा उम्मेदवार तय गर्नका लागि देउवालाई फलामको च्युरा चपाउनु जत्तिकै कठिन भइरहेको छ ।

संस्थापनइतरको सकस

चौधौं महाधिवेशनबाट देउवालाई जसरी पनि विस्थापित गर्ने उद्घोष गरेको संस्थापनइतर पौडल–कोइराला खेमालाई भने सभापतिको उम्मेदवार टुंगो लगाउनकै लागि माहाभारत परिरहेको छ ।

सभापतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले दाबी गरिरहेका छन् । 

संस्थापनइतर खेमाबाट सभापतिका लागि साझा उम्मेदवार बनाउने बताउँदै आएको यो समूहले सभापतिको उम्मेदवार छान्न पटक–पटक छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन ।

पछिल्लो समय शशांक कोइरालाले भने सहमतिमा बाधक नबन्ने भन्दै सभापतिको उम्मेदवार बन्ने दाबी छाडेका छन् । 

प्रकाशमान सिंहले उम्मेदवारीको दाबी नछाड्ने र रामचन्द्र पौडेल र शेखर कोइराला प्रकाशमानको नाममा सहमत हुन नसक्दा उम्मेदवार छान्न उनीहरूलाई सकस भइरहेको छ ।

सभापतिको उम्मेदवार टुंगो लाग्न नसक्दा संस्थापनइतरले अरू पदाधिकारीको उम्मेदवार पनि छान्न सकेको छैन ।

संस्थापनइतर समूहमा रामचन्द्र पौडेल साझा उम्मेदवार भएको अवस्थामा शशांक, प्रकाशमान र शेखर उपसभापतिका उम्मेदवार हुन् । 

तर, शेखर कोइराला साझा उम्मेदवार बनेको अवस्थामा भने शशांक, प्रकाशमान र चन्द्र भण्डारी उपसभापतिका दाबेदार हुनसक्छन् । 

त्यसबाहेक, संस्थापनइतर समूहकै महेश आचार्यले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेर प्रचार थालिसकेका छन् । 

संस्थापनइतर समूहमा महामन्त्री पदका लागि गगन थापा, मिनेन्द्र रिजाल र धनराज गुरूङले दाबी गरेका छन् । थापा यसअघि १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यसबेला उनी पराजित भएका थिए ।

वर्तमान सरकारमा रक्षामन्त्री रहेका रिजाल अहिले पार्टीमा केन्द्रीय सदस्य छन् । गुरूङ पनि केन्द्रीय सदस्य हुन् । 

सिटौला फ्याक्टर     

कांग्रेसभित्र तेस्रो धारको रूपमा आफूलाई उभ्याउँदै आएका नेता कृष्णप्रसाद सिटौला महाधिवेशनबाट पार्टीको वर्चश्व बढाउने योजनामा छन् ।

प्रतिनिधि चयनमा धेरै ठाउँमा संस्थापन पक्षसँग सहकार्य गरेको सिटौला समूहले महाधिवेशनमा पनि सभापति देउवासँग बार्गेनिङ गरिरहेको छ । 

सिटौलाले उपसभापतिको दाबी गरेका छन् भने आफू पक्षका नेता प्रदीप पौडेललाई महामन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

संस्थापन  पक्षबाट उपसभापति र महामन्त्री दुवै नपाउने अवस्थामा सिटौलाले आफू उपसभापति र पौडेललाई सहमहामन्त्रीको उम्मेदवार बनाउने र केही केन्द्रीय सदस्य संस्थापनको प्यानलमा समेट्ने प्रयास गरिरहेका छन् । 

सिटौलाको प्रस्तावमा देउवा भने सकारात्मक देखिएका छैनन् ।

यो दुवै विकल्पमा देउवा राजी नभए सिटौला आफैँ सभापतिको उम्मेदवार बनेर महामन्त्रीमा प्रदीप पौडेलसहितको प्यानल बनाएर चुनावमा जाने तयारीमा छन् ।

त्यसबाहेक, सिटौलाले संस्थापनइतर समूहसँग पनि समन्वय गरिरहेका छन् ।

रामचन्द्र पौडेल आफैँ सिटौलानिवास पुगेर महाधिवेशनमा सहकार्यको प्रस्ताव गरेका थिए । त्यसबेला सिटौलाले पौडेलसँग सहकार्यको ठोस प्रस्ताव मागेका थिए । 

रामचन्द्र पौडेलले आफ्नै समूहमा सहमति बनाउन नसकेकाले सिटौलालाई स्पष्ट जवाफ दिन सकेका थिएनन् । 

र, विमलेन्द्र निधि...

वर्तमान उपसभापति विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी घोषणा गरेर लामो समयदेखि तयारीमा छन् । यद्यपि उनी प्यानलसहित लड्छन् कि सभापतिमा मात्र उम्मेदवारी दिन्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्