
दक्षिण अफ्रिकाका विश्वविख्यात राजनेता नेल्सन मण्डेलालाई एकपटक पत्रकारले सोधेछन्- 'नेताजी,तपाईं आफूसँग असहमतहरूका बारे के धारणा राख्नुहुन्छ ?' उनले सहजै जवाफ दिएछन्, 'मेरो दिमागमा हरदम मसँग असहमति राख्नेहरूको चेहरा र उनीहरूको विचार नाचिरहन्छ । सोच्छु, यिनीहरूलाई के गरेर सहमत गराउने ? सम्झाएर, बुझाएर या उनीहरूका कुरा मानेर ।'
यसलाई शायद उच्च राजनीतिक संस्कार र चरित्र मानिन्छ । सबै नेता मण्डेला बन्न सक्दैनन्, तर राजनीतिमा सक्रिय व्यक्ति अझ लोकतान्त्रिक राजनीतिमा विश्वास राख्ने व्यक्तिमा मण्डेलाको केही अंश हुनैपर्छ । तर विडम्बना नै मान्नुपर्छ, नेपालको राजनीतिमा यस्तो चिज खोजेर पनि पाइन छाडेको छ । व्यक्तिगत महत्त्वाकांक्षा, संकीर्णता, सत्तालोलुप प्रवृत्ति र अवसरवादको अधिकतम अभ्यास हुने समाजको रूपमा नेपाली समाज चिनिन थालेको छ ।
सह-अस्तित्वमा विश्वास र सहकारी भावना विलुप्त हुँदै जान थालेको छ । षड्यन्त्र, तिकडम, छलछाम र विवेकशून्यता हावी हुँदै गएको छ । यसले समाजमा द्वन्द बढाएको छ । अराजकता र तनाव थपिदिएको छ । यस बाटोबाट नेपाली समाज कुन दिशातर्फ अग्रसर हुन्छ भन्ने चिन्ता समेत बढेको छ ।
नेपालको राजनीतिमा नेपाली कांग्रेस सर्वाधिक पुरानो लोकतान्त्रिक पार्टी हो । यसले अंगिकार गरेको दर्शन, सिद्धान्त र विचारले आजसम्म नेपाली समाजलाई डोहोर्याएको छ । त्यति मात्र होइन, बारम्बारका राजनीतिक संघर्षहरूमा नेतृत्व प्रदान गरेको छ ।
भिन्न दर्शन तथा सिद्धान्तमा विश्वास गर्ने समूह वा राजनीतिक दलहरू समेतलाई साथ लिएर ठूल्ठूला परिवर्तनहरू सम्भव तुल्याएको छ । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र समेत स्थापना गरेको छ । यो चानचुने सफलता होइन ।
यस ऐतिहासिक कार्यमा नेतृत्व प्रदान गर्ने जननायक बीपीलगायत हाम्रा आदरणीय नेताहरू सम्मानित तथा प्रातः स्मरणीय हुनुहुन्छ । उहाँहरूमा संकल्प, दृढ इच्छाशक्ति र कसिलो एकता नभएको भए यति धेरै परिवर्तन सम्भव नै थिएन ।
उहाँहरूको कार्ययोजना, संगठन र संघर्षले नै राजनीतिक गन्तव्य भेट्टाएको हो । यसमा एउटा प्रश्न सँगसँगै जोडिएर आउने हुनाले अब त्यस विषयमा थोरै चर्चा गरौं ।
आजसम्म भएका ठूल्ठूला संघर्षको परिणामस्वरूप स्थापना र पुनःस्थापना भएको लोकतान्त्रिक राजनीतिक प्रणाली नै हाम्रो गन्तव्य हो त ? कि नेपाली जनताको जीवनलाई सुखद् बनाउँदै नेपालको भौतिक विकास समेत सम्पन्न गरी राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई चुल्याउनु हाम्रो गन्तव्य हो ? आज गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।
के हामीले स्थापना गरेको राजनीतिक प्रणाली सुरक्षित भइसक्यो ? के नेपालले अन्तर्राष्ट्रिय स्तरको पर्याप्त भौतिक विकास गरिसक्यो ? के नेपाली जनताको जीवनमा समृद्धि आइसक्यो ? के नेपालको प्रतिष्ठा चुलिइसक्यो ? यी प्रश्नहरूको सकारात्मक उत्तर हामीसँग छैन । नेपालका कम्युनिस्ट पार्टीहरू वर्तमान राजनीतिक प्रणालीमार्फत अर्थात् यसैलाई माध्यम बनाएर आफ्नो गन्तव्यमा पुग्न खोजिरहेका छन् ।
राजाको स्थान खोजिरहेको शक्ति क्रियाशील छ । यसको अर्थ मौजुदा प्रणाली सुरक्षित छैन । र, अर्को कुरा नेपाली कांग्रेसले आफ्नो संगठनलाई जरैदेखि मजबुत बनाउनै बाँकी छ ।
स्थानीय चुनाव निकट भविष्यमा छ । आमचुनाव आउँदैछ । यस्तो घडीमा पार्टीभित्र एकता चाहिन्छ कि चाहिँदैन ? अनि एकता कसको पहलकदमीबाट हुन्छ ? जित्नेको कि हार्ने को ? चौधौं महाधिवेशनको परिणाम जसरी र जस्तो आयो, निर्वाचन प्रणाली नबदल्ने हो भने पार्टीको आन्तरिक जीवनमा सुधार असम्भव नै देखिन्छ ।
यही प्रणालीबाट चयन हुने नेतृत्वले समय सापेक्ष पार्टी रुपान्तरणको मुद्दालाई सार्थक तुल्याउन सक्दैन । यसमा लामो बहस गर्न सकिए पनि परिणाममा कसैले प्रश्न उठाएको छैन । तर महाधिवेशनको परिणामपछि पार्टीको मूल नेता हिँड्न खोजेको बाटो ठीक छ त ? आज गम्भीर प्रश्न उठेको छ ।
चौधौं महाधिवेशनपछि पनि पुरानै नेतृत्वले निरन्तरता पाएकाले के अब पार्टीको कार्यशैली फेरिँदैन त ? पार्टीका आमसाथीहरूको चाहना र राष्ट्रको आवश्यकता मुताविक पार्टीमा रुपान्तरण हुँदैन त ? हाम्रा अगाडि यस्ता अनगिन्ती प्रश्नहरूको ठूलो चाङ खडा भएको छ । यसले समुचित उत्तर खोजेको छ ।
कांग्रेसलाई चौधौं महाधिवेशनपछि दह्रोसँग उभ्याउने संकल्पलाई सार्थक बनाउन आजैबाट पार्टीले क्रियाशीलता बढाउनु पर्ने आवश्यकता छ । पार्टीलाई उभ्याएर मात्र नपुग्ने अवस्था छ । गत आमचुनावबाट थला परेको पार्टीलाई राम्रोसँग हिँडाउनु छ र अझ दौडाउनु पनि छ । नत्र राजनीति जितिँदैन । पार्टीको महाधिवेशनमा नेताहरूले आफ्नो पक्षमा नतिजा निकालेर मात्र पुग्दैन । स्थानीय र आमचुनावमा पार्टीको पक्षमा नतिजा कसरी निकाल्ने भनेर आजैबाट गृहकार्य थाल्नुपर्छ ।
यो विषय सोच्ने बेलामा महाधिवेशनमा झण्डै आधा मत ल्याउने समूहलाई निस्तेज पारेर पुगिन्छ कहाँ ? लोकतन्त्रले असहमतलाई पनि आफूसँगै राख्ने र सँगसँगै हिँडाउने कार्यदिशा अंगाल्न सकेन भने त्यो लोकतन्त्र वास्तविक लोकतन्त्र नै रहँदैन ।
संसदमा चाहिँ भिन्न सिद्धान्त भएका दलहरूसँग सहकार्य गरेर अघि बढेको पार्टीले आफ्नो दलभित्र एकता कायम गर्न सकेन भने मतदाताको विश्वास जित्नेगरी आमचुनावको सामना कसरी गर्छ ? घरझगडा कायम राखेर विपक्षीसँग कुन शक्तिले लड्ने ? तसर्थ कांग्रेस सभापतिले यतिबेला आफ्ना भनिएका वा ठानिएकाहरूबाट घेरिएर होइन, एक्लै बसेर सोच्नुपर्छ ।
पार्टीभित्र र बाहिर कुनै कदम चाल्दा वा निर्णय लिँदा दश पटक सोच्नुपर्छ । पार्टीको मूल नेता सबै सदस्यहरूको अभिभावक पनि हो । संरक्षक र मार्गदर्शक पनि हो । उसले लिने निर्णय सबै साथीहरूका निम्ति उत्साहजनक हुनुपर्छ । अन्यथा पार्टीको हित हुँदैन ।
चौधौं महाधिवेशनपछिको शुरूआतले नकारात्मक सन्देश दिएको छ । यसलाई तुरुन्तै सच्याएर अघि बढ्ने अग्रसरता सभापतिले लिनुपर्दछ ।
आफ्ना सबै प्रतिस्पर्धीहरूलाई सँगै राख्ने सभापतिले मूल प्रतिस्पर्धीलाई किनारामा धकेल्नु पर्ने उद्देश्य र कारण के हो बुझ्न सकिएन । यस्तो निरर्थक तथा चरम गुटगत मानसिकताले पार्टी चल्दैन । लोकतन्त्रमा आफूलाई मत नहाल्ने नागरिकलाई समेत राज्यले विभेद गर्दैन भन्ने कुरा बेलायत बसेर आउनुभएका सभापतिलाई भन्दा अरूलाई बढी थाहा हुने कुरै भएन । तसर्थ पार्टीमा द्वन्द्व गहिरिन नदिने हो भने बेलैमा ध्यान पुर्याउन आवश्यक छ ।
यसमा पनि फेरि मण्डेलाकै भनाई स्मरण गर्नुपर्ने हुन्छ । उनले भनेका छन्, 'चुनाव जित्ने व्यक्तिसँग हार्ने व्यक्तिलाई अपहेलना गर्ने अधिकार हुँदैन भने हार्ने व्यक्तिसँग जित्ने व्यक्तिलाई असहयोग गर्ने सुविधा हुँदैन । यसमा पहिलो हात जित्ने व्यक्तिले नै बढाउनुपर्छ र यो हेक्का राख्नुपर्छ कि अपहेलना शुरू भयो भने असहयोगको ढोका पनि खुल्छ ।'
तसर्थ बल सभापतिको कोर्टमा छ । समयले दर्शाउँदै लानेछ । कांग्रेस सभापतिसँग आफ्नो र पार्टीको इतिहास रच्ने ऐतिहासिक अवसर छ । यसको सदुपयोग गर्न जान्ने र सक्ने हो भने लोकतन्त्र, पार्टी र आउने पुस्ताको भविष्यलाई सुरक्षित तुल्याउन सकिन्छ, अन्यथा इतिहासको कालो गर्तले हामीलाई पर्खिरहेको छ ।