१४ असार २०८३, आइतबार

अत्यधिक बेरुजु भएका कार्यालय महालेखाको विशेष निगरानीमा

कात्तिक २०, २०७४
अत्यधिक बेरुजु भएका कार्यालय महालेखाको विशेष निगरानीमा

काठमाडौं, १५ असार
–सरकारी कार्यालयको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकले अत्यधिक बेरुजु देखिएका सरकारी कार्यालयको विशेष निगरानी गर्ने भएको छ । बेरुजु रकम वर्षेनी बढ्न थालेपछि महालेखाले बढी बेरुजु देखिएका कार्यालयमा विशेष अनुगमनसमेत गरिने जनाएको छ ।

बिहीवार कार्यालयको ५९ औं वार्षिकोत्सव शमारोहमा बोल्दै महालेखा परीक्षक टंकमणि शर्माले अत्यधिक बेरुजु भएका कार्यालयलाई उच्च जोखिमयुक्त समूहमा बर्गीकरण गरी विशेष निगरानी तथा अनुगमनको व्यवस्था गरिने बताए ।

महालेखा परीक्षक शर्माले यही वर्षदेखि वित्तीय जवाफदेहिताको मूल्याङ्कन गरी कार्यालयका जिम्मेवार पदाधिकारीको बर्गीकरणसमेत गरी प्रतिवेदनमार्फत सार्वजनिक गरिने बताए ।

‘सार्वजनिक व्यवस्थापन तथा सेवाप्रवाहमा अत्यधिक अनियमितता, हिनामिना तथा हानीनोक्सानी तथा भ्रष्टाचारको जोखिम रहेका क्षेत्रहरु पहिचान गरी आवश्यकता अनुसारका प्रक्रिया चालिनेछ,’ वार्षिकोत्सव शमारोहमा बोल्दै महालेखा परीक्षक शर्माले भने ।

मुलुकको वित्तीय अनुशासन र लेखापरीक्षणमा सुधारका लागि ६ वर्षे कार्ययोजना २०७४–२०८० कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै उनले संघ, प्रदेश र स्थानीय तहसम्मको स्थलगत लेखापरीक्षण गर्ने व्यवस्थासमेत गरिने बताए ।

नागरिक समाजको सहभागीतामा सामाजीक लेखापरीक्षण, जोखिममा आधारीत लेखापरीक्षण जस्ता पद्धतिहरु पनि अवलम्बन गरिने कार्यालयले जनाएको छ ।

लेखापरीक्षणसँग सम्बन्धित नीतिगत तथा कानूनी सुधारहरु, विद्यमान लेखा ढाँचा परिमार्जन, ऐन नियमहरुमा संशोधन र अर्थतन्त्रका विविध क्षेत्रको कारोबारको सन्दर्भमा लेखापरीक्षकले हेर्नुपर्ने विषयबारे सम्बन्धित नियमनकारी निकायहरुमार्फत आवश्यक नीतिगत र कानूनी व्यवस्था गरिने पनि शर्माले उल्लेख गरे । लेखापरीक्षणको प्रभावकारीता र गुणस्तर सुधारका लागि लेखापरीक्षणको प्रक्रियागत प्रणालीमा सुधार गरिने पनि बताए ।

कार्यालयको वार्षिक साधारणसभामा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु रकम चाँडो फस्र्योट गर्न महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिइन् । सरकारी कार्यालयमा बेरुजु रकम बढ्दै गईरहेको उल्लेख गर्दै उनले वित्तीय अनुशासन, जवाफदेहीता र पारदर्शिता कायम राख्न महालेखा परीक्षक कार्यालयले शसक्त भूमिका खेल्नुपर्ने बताईन् । राष्ट्रपति भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग पारदर्शी ढंगले खर्च गर्नुपर्ने बताईन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सङ्घीय संरचनाअनुसार आगामी आवदेखि स्थानीय तहमा खर्च हुन लागेको बजेटको पारदर्शीता र अनुशासन कायम गर्न कार्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

बढेको बढ्यै बेरुजु
कार्यालयको ५४ औं वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा सरकारी कार्यालयको कुल बेरुजु ८८ अर्ब ८५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यस्तो बेरुजु अंक अघिल्लो आव २०७१/७२ मा ४८ अर्ब ७७ करोड ८८ लाख रुपैयाँ थियो । यो बेरुजु अघिल्लो आव २०७०/७१ को भन्दा ४ दशमलव ६७ प्रतिशतले बढी हो । त्यस्तै, २०७०/७१ मा बेरुजु अंक अघिल्लो आव २०६९/७० को भन्दा ४ दशमलव ३८ प्रतिशतले बढेर ३७ अर्ब ४० करोड ५७ लाख रुपैयाँ पुगेको थियो ।

कार्यालयको ५४ औं प्रतिवेदन अनुसार, गत वर्ष ४ हजार ७ सय ८६ कार्यालयको लेखापरीक्षण गरिएको छ । गत वर्ष कार्यालयले करीव ३३ खर्ब ३९ अर्ब रुपैयाँको लेखापरीक्षण गरेको थियो । गत वर्ष कार्यालयले ३ हजार ९ सय ४४ सरकारी निकायको भण्डै १३ खर्ब रुपैयाँ, ६३ संगठित संस्थाको झण्डै १८ खर्ब रुपैयाँ, ६ सय ९३ समिति तथा अन्य संस्थाको १ खर्ब २२ अर्ब रुपैयाँ र ७५ जिल्ला विकास समितिको १ खर्ब २३ अर्ब रुपैयाँ लेखापरीक्षण गरेको थियो ।

स्थानीय तहले बढायो कार्यभार, यो वर्ष ५५ सय सरकारी कार्यालयको अडिट गरिने
महालेखा परीक्षक टंकमणि शर्माले संघीयता कार्यान्वयनसँगै स्थानीय तह लागू भएपछि यस वर्ष लेखा परीक्षण गर्नुपर्ने कार्यालयको संख्या झण्डै ७ सय भन्दा बढीले थपिने बताएका छन् ।

‘हाल थपिएका स्थानीय तहकोसमेत यसवर्ष लेखा परीक्षण गर्ने संख्या करीव ५ हजार ५ सय भन्दा बढी हुने अनुमान गरिएको छ,’ कार्यालयको ५९ औं वार्षिकोत्सव समारोहमा बोल्दै महालेखापरीक्षक शर्माले भने ।

salt training

कमेन्ट गर्नुहोस्