२६ जेठ २०८३, मंगलबार
सम्पादकीय

चुनाव अनिश्चित पारेर गठबन्धन लम्ब्याउने काम मात्र नहोस्

चुनाव अनिश्चित पारेर गठबन्धन लम्ब्याउने काम मात्र नहोस्

निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्नका लागि चुनावको मिति घोषणा गर्न दिएको समय शुक्रवार सकिँदैछ । पुस ३० गते सर्वदलीय बैठक राखेर आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्नका लागि माघ पहिलो साताभित्र चुनावको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेको थियो । आयोगले पहिलो दुई चरणमा गर्ने भए वैशाख १४ र २२ तथा एकै चरणमा गर्ने भए वैशाख २२ गते चुनाव गर्ने प्रस्ताव सरकारलाई पठाइसकेको छ । 

सामान्य अवस्थामा चुनाव गर्नका लागि १ सय २० दिन समय आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । तर, राजनीतिक दलहरू तयार भए र सरकारले मिति घोषणा गरे सय दिनमा चुनाव गर्न सक्षम रहेको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने काम आयोगले गरिरहेको छ । कोरोना महामारीको जोखिमको पर्वाह नगरी लाखौं युवाले मतदाता नामावलीमा नाम लेखाएका छन् ।

चुनावको मिति घोषणाका लागि चौतर्फी दबाब परिरहेको समयमा सत्ता गठबन्धन र सरकार अलमल गरिरहेका छन् । स्थानीय तहका पदाधिकारीको कार्यकालबारे संविधानमै प्रस्ट व्यवस्था छ । वैशाखमा स्थानीय तहको चुनाव नभए संविधान कार्यान्वयनमा धक्का पुग्छ । विगतमा पनि स्थानीय निकायको चुनाव नगरी लामो समयसम्म कर्मचारीको भरमा छाडिएको थियो । जनप्रतिनिधिको अभावमा जनताका काम प्रभावित भए । भ्रष्टाचार पनि मौलायो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्लंघन गर्दै स्वेच्छाचारी शासन चलाए भनेर कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो । त्यही गठबन्धनको बलमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवाले सरकारको नेतृत्व लिएको ६ महिना पूरा भएको छ, किन्तु सरकारले उल्लेख्य काम गर्न सकेको छैन । 

वैशाखमा चुनाव सुनिश्चित गर्नुपर्नेमा गठबन्धनका केही दल स्थानीय तहको चुनाव पछि धकेलेर पहिला प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने लबिङ गरिरहेको बाहिर आएको छ । स्थानीय तहको चुनावपछि सार्नुमा राजनीतिक स्वार्थ लुकेको छ । प्रतिनिधि सभा चुनावमा तालमेल गरेर केही सीट सुरक्षित गर्ने ध्याउन्नमा गठबन्धनका केही दल लागेका छन् । 

कुनै दलको नाफा घाटालाई हेरेर स्थानीय तहको चुनावपछि धकेल्ने कुरा किमार्थ स्वीकार्य हुँदैन । लोकान्तरसँगको कुराकानीका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका छन्– यो गठबन्धन संविधान कार्यान्वयनका लागि बनाइएको हो, जानीजानी संविधान उल्लंघन गरेर गठबन्धन कायम राख्नैपर्ने केही छैन । 

संविधान कार्यान्वयन गर्न बनेको गठबन्धनका सामु आवधिक निर्वाचन सार्ने कुरा लज्जाको विषय हो । कोरोना या अरू कुनै बहाना देखाएर वैशाखमा चुनाव नगर्नुको औचित्य पुष्टि हुने छैन । अहिले पिकमा पुगेको कोरोना संक्रमण त्यो बेलासम्म सामान्य अवस्थामा फर्किने जनस्वास्थ्यविद्हरूले बताएका छन् । कोरोना महामारीकाबीच अमेरिका र भारतमा चुनाव सम्पन्न भएका छन् । भारतमा अहिले पनि प्रान्तीय चुनाव भइरहेका छन् । 

स्थानीय तहलाई जनप्रतिनिधिविहीन  हुन नदिन र संविधान कार्यान्वयनलाई प्रभावित हुन नदिन नागरिकस्तरबाट पनि सरकारमाथि दबाब सिर्जना गर्नुपर्छ ।

चुनाव सारेर गठबन्धनको आयु लम्ब्याउनु अराजनीतिक मात्र होइन, अनैतिक हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्