२६ जेठ २०८३, मंगलबार
सन्दर्भ : संसद् अधिवेशन अन्त्य

महाभियोगमा खेलाँची मान्य छैन, प्रतिपक्षले विशेष अधिवेशन बोलाउन पहल गरोस्

महाभियोगमा खेलाँची मान्य छैन, प्रतिपक्षले विशेष अधिवेशन बोलाउन पहल गरोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । 

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले गरेको सिफारिश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १ गते मध्यरातिदेखि संसद् अधिवेशन अन्त्य गरिन् ।

कार्यसूची नै तय भइसकेको अवस्थामा प्रतिनिधि सभाको अधिवेशन यसरी अन्त्य गर्नु सरकारको गैरजिम्मेवार काम हो । जगजाहेर कुरा हो, प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद् ६ महिनादेखि राम्रोसँग चल्न सकेको छैन । 

संसद् अवरोध हटाउनुको सट्टा सरकारले अधिवेशन नै अन्त्य गर्ने गलत निर्णय गरेको छ । हठात् अधिवेशन अन्त्य गरिनु महाभियोगलाई अल्मल्याउने नियत हो भनेर बुझ्न सकिन्छ ।

महाभियोग सिफारिश समितिले कामकारवाही थालेको ३ महिनाभित्र यसको टुंगो लागिसक्नुपर्छ, तर गठबन्धनमा अबद्ध दलहरूको भित्री मनसाय चोलेन्द्रलाई निलम्बित अवस्थामै घर फर्काउने देखिन्छ । फागुन १ गते संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव एक महिना ढिला गरी २९ गते प्रतिनिधि सभामा पेश गरिएको थियो । 

महाभियोग प्रस्ताव गरिएको पात्र को हो र कस्तो छ भन्ने कुरा गौण हो । चोलेन्द्रप्रति कसैको पनि सहानुभूति नहुन सक्छ, तर महाभियोग प्रस्ताव ल्याइसकेपछि समयमै त्यसको निरुपण हुनुपर्छ । 

चोलेन्द्र दोषी हुन् भने उनलाई संवैधानिक प्रक्रियाबाट पदमुक्त गर्नुपर्छ । यदि उनीमाथि लागेका आरोप प्रमाणित हुन नसके उनले सफाइ पाउनुपर्छ । 

महाभियोगको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याएर निलम्बित अवस्थामै घर फर्काउने प्रपञ्च गैरजिम्मेवारपन र तानाशाही प्रवृत्तिको पराकाष्ठा हो । 

यसरी महाभियोग प्रक्रिया लम्ब्याइराख्दा अरूको न्याय निसाफ गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्तो व्यक्तिमाथि अन्याय हुन जान्छ । 

त्यसैमाथि चोलेन्द्रकै नेतृत्वमा रहेको संवैधानिक इजलासले पुनःस्थापित गरिदिएको प्रतिनिधि सभाले उनीमाथिको महाभियोगबारे समयमै निर्णय नलिनु उनीमाथिको घोर अन्याय हो । 

केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेका शक्तिहरू अहिले सरकारमा छन्, जसले सर्वोच्चमा कानूनी लडाईं लडेर प्रतिनिधि सभा पुनःस्थापना गराएका थिए  । दुर्भाग्य, उनीहरूले नै संसद्लाई हदैसम्म उपेक्षा गरेका छन् । 

गठबन्धनका नेताहरूले कहिले प्रतिनिधि सभा विघटनको कुरा गर्छन्, कहिले प्रतिनिधि सभालाई पेन्डुलम बनाउने हर्कत गरिरहेका छन् ।

कमसेकम संसदीय व्यवस्थालाई आदर्श मान्ने कांग्रेसको नेतृत्वमा रहेको सरकारले संसदलाई यो हदसम्म अपमान गर्नु आश्चर्यको विषय हो । 

अविलम्ब संसद्को अधिवेशन बोलाएर चोलेन्द्रविरुद्धको महाभियोगलाई किनारा लगाउन सत्तापक्ष राजी भएन भने प्रतिपक्षी दलले विशेष अधिवेशन बोलाउनका लागि पहल गर्नुपर्छ । 

प्रतिनिधि सभाका एक चौथाइ सदस्यले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिसँग आग्रह गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

एमालेले असली प्रतिपक्षको भूमिका खेल्ने समय आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्