२६ असार २०८३, शुक्रबार
स्थानीय चुनाव

भीमदत्तको चुनावी चित्र: अन्तर्घात बिर्साउने कांग्रेस रणनीति, नतिजा दोहोर्‍याउने एमाले दाउ

भीमदत्तको चुनावी चित्र: अन्तर्घात बिर्साउने कांग्रेस रणनीति, नतिजा दोहोर्‍याउने एमाले दाउ

कञ्चनपुरको सदरमुकाममा भीमदत्त नगरपालिकामा अघिल्लोपटक एमाले उम्मेदवार सुरेन्द्र विष्टसँग जम्मा १६६ मतले पराजित भएका पदम बोगटी नेपाली कांग्रेसबाट दोहोर्‍याएर प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेले भने यसपटक युवा राजनीतिज्ञ महेश पन्तलाई मेयरको उम्मेदवार बनाएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयर हारे पनि उपमेयरसहित ७ वटा वडामा जितेको थियो । 

विगतमा भएको कमजोरी सच्चाउँदै यसपटक मेयरसहित सबै वडामा जीत हात पार्ने लक्ष्यसहित कांग्रेस चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

एमालेको रणनीति भने विगतको नतिजा कायम राख्दै थप सफलता हासिल गर्ने छ । विगत ५ वर्षमा गरेका कामको जनताले राम्रो मूल्यांकन गरेकाले यसपटक पुनः जीत हात पार्ने दाबी एमाले नेताहरूले गर्दै आएका छन् ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र भने गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा छन् । मेयर समाजवादीले लिएको छ भने उपमेयर माओवादीको भागमा परेको छ ।

यसपालि राप्रपा पनि ठूला दललाई टक्कर दिने रणनीतिसहित मैदानमा छ । विकल्प खोजिरहेका मतदाताहरूले आफूलाई रोज्ने राप्रपा नेताहरू बताउँछन् ।

केही स्वतन्त्र उम्मेदवारले पनि जोडतोडले प्रचार–प्रसार गरिरहेका छन् । भीमदत्तनगरका स्थानीय व्यवसायी कोमलबहादुर सिंहले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

होटल व्यवसाय सञ्चालन गर्दै आएका सिभिल इन्जिनीयर सिंह विकास निर्माणको काम गर्न आफूले उम्मेदवारी दिएको बताउँछन् ।

हिजो आफ्नै पार्टीमा धोका पाएर हारें, यसपालि जित्छुः बोगटी, कांग्रेस

भीमदत्तनगर कांग्रेसको पुरानो प्रभाव क्षेत्र हो ।

२००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनसम्म कांग्रेसले नेतृत्व गरेकाले भीमदत्तनगरमा कांग्रेसको राम्रो प्रभाव रहेको मेयरका उम्मेदवार पदम बोगटी बताउँछन् ।

‘जब देशमा संकट आउँछ, जब विकास निर्माण गर्नुपर्छ, तब जनताले सम्झने पार्टी हो कांग्रेस,’ बोगटीले भने, ‘सबै दललाई मिलाएर लान सक्ने खुबी कांग्रेसमा छ ।’

व्यवस्थित विकास आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए ।

‘भौतिकरूपमा सडक बनाउनु मात्रै अबको प्राथमिकता हैन । अहिलेको नेतृत्वले सडक खनेर र पानीपिच गरेर छाडेका छन् । हामीले व्यवस्थित ढंगले विकास गर्छौं,’ बोगटीले भने, ‘सीमान्तकृत समाजलाई अगाडि सार्ने काम नेपाली कांग्रेसले गर्छ । ८० वर्ष उमेरमाथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र आवश्यकताअनुसार अस्पतालमा उपचारको सुविधा दिने काम हामी गर्छौं ।’

युवा जनशक्तिको पलायन रोक्न आफूले काम गर्ने उनले बताए ।

‘युवा जनशक्ति बेरोजगारीका कारण भारत पलायन हुने गरेका छन् । ती युवालाई स्वादेशमै रोजगारी दिने, युवा स्वारोजगार कोष खडा गर्ने र युवा स्वरोजराका लागि काम गर्ने पनि कांग्रेसको अठोट छ,’ बोगटीले लोकान्तरसँग भने ।

गत चुनावमा आफ्नै पार्टीका वडा कमिटी सदस्यले मत काटेका कारण आफूले चुनाव हारे पनि यो पटक भने सबै वडाबाट मिलार ल्याएको दाबी बोगटीले गरे ।

टोल—टोलमा प्रचारको जिम्मा कमिटीलाई नै दिएकाले खर्च गरेर प्रचार गरिराख्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

अनावश्यक खर्च नगरी चुनाव प्रचार गरेको बताए पनि उनको टोलमा आयोजित सभामा भने सहभागीका लागि मासुचिउराको व्यवस्था थियो ।

संगठन र युवा मतदाताको भरमा पन्त

मेयर पदका एमाले उम्मेदवार महेश पन्त स्पष्ट भिजन र सुशासनका एजेन्डा अगाडि सारेकाले आफूले जित्ने दाबी गर्छन् । पछिल्लो ५ वर्षको अवधिमा गरेको काम पनि आफूहरूले चुनाव जित्ने आधार भएको उनको दाबी छ ।

‘विगतमा गरेका कामका कारण पनि हामी जित्नेछौं । केही दल गठबन्धन गरेर प्रतिस्पर्धामा आएका छन् भन्ने सुनेको छु, तर जनताले गठबन्धन चिन्दैनन्, एमालेको सूर्य चिह्न मात्रै चिन्ने वातावरण हामीले बनाएका छौं,’ पन्तले भने ।

उनले आफ्नो व्यक्तित्व र पारिवारिक पृष्ठभूमिका कारण पनि जीत सहज रहेको दाबी गरे ।

‘कुनै राजनीतिक नियुक्ति नलिएको, लाभको पद धारणा नगरेको र युवा भएकाले काम गर्न सक्ने जोश जाँगरलाई जनताले मूल्यांकन गरेर मलाई भोट दिन्छन् भन्ने विश्वास लिएको छु । अहिलेसम्म गरेको योगदान र मेरो परिवारको स्वाभिमानका कारण पनि म जित्छु,’ पन्तले भने ।

आफू भीमदत्तनगरमा जन्मिएको तथा युवाहरू स्वदेशमै काममा रमाउनुपर्छ, युवालाई सीप दिनुपर्छ भनेर लागेकाले युवा मत आफूतर्फ नै केन्द्रित हुने उनको विश्वास छ ।

एमालेको संगठन बलियो भएकाले आफू अनावश्यक पैसा खर्च नगरी संगठनकै बलमा अगाडि बढेको उनले बताए ।

‘पैसाले मात्रै जित्ने हो भने विदेशमा काम गरेर आउने तथा स्वदेशमै पनि पैसा कमाएको व्यक्तिलाई टिकट दिए हुन्छ । पैसाले चुनाव जित्ने हो भने कार्यकर्ता किन चाहियो ? कार्यकर्ता भर्ती किन गर्नुपर्ने थियो ? पैसाले चुनाव जितिन्न, कार्यकर्ता चाहिन्छ । म तिनै कार्यकर्ता र संगठनको बलमा चुनावी मैदानमा छु,’ पन्तले भने ।

हामी विकल्प बन्दैछौं : चन्द, राप्रपा

अहिलेसम्म जनताले ठूला पार्टीलाई बढी विश्वास गरेर भोट दिइरहे पनि जनअपेक्षा पूरा नभएकाले यसपालि आफूहरूलाई रोज्ने विश्वास राप्रपाबाट मेयरको उम्मेदवार बनेका गजेन्द्रबहादुर चन्दको छ ।

‘३० वर्षसम्म अवसर दिँदा पनि काम नगर्ने र जनताको विश्वास नजित्ने पार्टीको विकल्पमा हामी छौं । हामी राम्रो गर्छौं भनेर अगाडि आएको हो,’ चन्दले लोकान्तरसँग भने ।

गौशाला सञ्चालन गर्ने, विपन्न वर्गलाई भारतमा जस्तै रासन कार्ड दिने, १२ कक्षासम्म निःशुल्क शिक्षा दिने, आमजनताको अपेक्षा अनुसारको विकास गर्ने उनको चुनावी घोषणा छ ।

‘अहिलेसम्म अरूलाई रोज्दा उत्पन्न वितृष्णा मेटाउन पनि जनताले राप्रपालाई भोट दिएर जिताउँछन् भन्ने विश्वास छ,’ चन्दले भने ।

salt training

कमेन्ट गर्नुहोस्