
२०६१ चैत ७ गते रातीवेनी आक्रमणमा बायाँ हात र खुट्टामा गोली लागेको घाउका कारण धनबहादुर विक हिमाललाई उकालोओरालोमा हिँड्न त्यति सहज छैन । तर, पार्टीले ताराखोला गाउँपालिका अध्यक्ष पदको टिकट दिएपछि फेरि उनी एकपटक जनताको घरआँगनमा घाइते शरीर लिएर पुगिरहेका छन् ।
प्रायः आफ्नै जन्मस्थान ताराखोलाको करिमेलामा वरिपरि देखिरहने हिमाललाई ताराखोलामा नचिन्ने कमै छन् ।
स्कुले केटाकेटीहरूले पनि भन्ने गर्छन्- यो अंकलले कपडा पनि सधैँ पुरानो लगाएर गाउँमै बस्नुहुन्छ ।
अधिकांश नेताहरू शहर केन्द्रित गतिविधि गरिरहँदा उनले भने गाउँ छाडेका छैनन् । उनको जीवनशैली एकदमै सादगी छ ।
रमझम, फुर्तीफार्ती र हाटहुट गर्न कमै रुचाउने हिमाल जनताको नजरमा एक साधु जस्तै छन् । ४५ वर्ष पुग्दासमेत उनले बिहे गरेका छैनन् । जीवनको ऊर्जाशील समय राजनीतिमा सक्रिय हुँदा बिहे गर्ने फुर्सद पाएनन् रे उनले ।
नेकपा माओवादी ताराखोला गाउँपालिकाका इन्चार्ज पदम खत्री दिवस भन्छन्, 'हिमाल दाइलाई पार्टीले टिकट दिएर शहीद परिवार, घाइते तथा उत्पीडित वर्गका लागि न्याय दिलाएको छ । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा हिमालको योगदान कसैको भन्दा कमी छैन ।'
त्यसो त २०५० सालमा लडाकूदल सदस्य तथा तारा गाविसको किसान संघको अध्यक्ष हुँदा र अहिले गाउँपालिका अध्यक्षको उम्मेदवार हुँदै गर्दा हिमालको जीवनमा धेरै तीतामीठा अनुभवहरू पनि छन् ।
आफूसँगै माओवादी युद्धमा होमिएका सहयात्री प्रकाश घर्तीमगरले उनीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । घर्ती निवर्तमान गाविस अध्यक्ष हुन् । यसपालि पार्टीले दोहोर्याएर टिकट नदिएपछि उनले स्वतन्त्र भएर उमेदवारी दिएका छन् ।
२०५८ सालमा तत्कालीन संकटकालको समयमा सेनाले हिमालको घरमा बम बिस्फोट गराइदिएको थियो । त्यसक्रममा उनी पनि मारिएको हल्ला चलेको थियो । तर, उनी भाग्न सफल भएका थिए । उनको साइँला दाजुका छोरी लक्ष्मी विकसमेत युद्धमै मारिएका थिए ।
पार्टीका कार्यकर्तासँग घरदैलौ अभियान गरिरहेका हिमाल भन्छन्, 'केही सहयात्रीहरुले मलाई हराउन तिर लागे पनि ताराखोलाका जनताले मलाई नै जिताउँछन् भन्ने पूर्ण विश्वास लिएको छु । साथीहरूलाई पनि बधाई नै छ, तर योगदानमा आधारित अवसर पार्टीले दिएको हो, मैले खोज्दै हिँडेको होइन ।'
उनले पार्टीले नेता बनाउने भएकाले व्यक्तिभन्दा विचार ठूलो भएको बताए । 'अहिलेसम्म म कुनै लाभको पदमा थिइनँ, साथीहरूलाई जिताएरै पठाएको हो, अहिले टिकट नपाएको भए पनि पार्टीको निर्णयविपरीत उठ्ने थिइनँ,' उनी भन्छन् ।
२०६२ सालमा नेपाल दलित मुक्ति मोर्चाको गण्डक क्षेत्रको संयोजक भएर गण्डकी, धौलागिरि र लुम्बिनी अञ्चलमा काम गरेका हिमाल अब भने आफ्नै जन्मभूमि ताराखोलामा काम गर्ने अवसर पाएका छन् । ताराखोलाको एकीकृत विकासका निम्ति उनले थुप्रै योजनाहरू डायरीमा टिपेर राखेका छन् ।
सस्तो लोकप्रियताका लागि आफूले अनावश्यक कुरा भाषणबाजी गर्ने स्वभाव नभएको भन्दै ताराखोलाका जनताको लागि के चाहिएको हो त्यो आफूलाई राम्रोसँग थाहा भएको उनले बताए । उनी भन्छन्, 'यहाँको कृषि र पर्यटनका लागि महत्त्वपूर्ण कदम उठाउनु छ र मुख्य कुरा सडकको स्तरोन्नति गर्नुछ ।'
भ्रष्ट्राचार नगर्ने संकल्प गरिएको प्रतिबद्धता पत्रमा हिमालले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन रोजगारलगायतका योजना तथा नीति कार्यक्रममा समेटेका छन् । कृषि उपजको भण्डार, कृषि बिमालाई प्रोत्साहन गरेर र वितरणमा आफ्नो विशेष ध्यान रहेको बताएका छन् । छिमेकी जिल्ला सँगको सडक मार्ग विस्तार पनि उनको योजना रहेको छ ।
आफ्नो पार्टी नेकपा माओवादीले उठाएको मुद्दालाई स्थापित गर्ने जिम्मेवारी पनि आफूहरूकै भएको हिमाल बताउँछन् । भन्छन्, 'धेरै युद्ध जितियो, कठिन परिस्थितिमा देशैभरिका आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह पनि गरियो, अब आफ्नै जन्मभूमिमा मेरो परीक्षा चलेको छ ।'
उनले गठबन्धनसँगको सहकार्य पनि मजबुत भएकाले जित्ने अपेक्षा रहेको बताए । उनले भने, 'ताराखोलाको विकसित हुने सपना पूरा गर्नुछ । हेरौँ के-के हुन्छ ।'