
चुनावका बेला चर्चामा आइरहने र केन्द्रदेखि नै चासोका साथ हेरिएको गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा चुनावी चहलपहल उत्कर्षमा पुगेको छ ।
गाउँपालिकाको नेतृत्वका लागि दुई युवा नेता नेकपा एमालेबाट हिमाल श्रेष्ठ र माओवादीका यदु ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।
२०७४ सालमा नेकपा एमालेले जितेको यो गाउँपालिकामा एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ भने सत्ता गठबन्धन एमाले विरासत भत्काउने रणनीतिमा लागेको छ । माओवादी, नेपाली कांग्रेसलगायत गठबन्धनका दलहरूको मोर्चा बनेको छ ।
गाउँपालिका बन्नुअघि अहिले वडा रहेका अधिकांश गाविस एमालेको गढ भएको क्षेत्र हो । साविकको बलेटक्सार गाविसको चुनावको चर्चा काठमाडौंसम्म हुने गरेको थियो । गत निर्वाचनमा एउटा वडामा माओवादी केन्द्रले जितेको थियो ।
रुरुक्षेत्र नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको गाउँपालिका हो । ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको निर्वाचन क्षेत्रमा समेटिने रुरुक्षेत्र गाउँपालिका जित्नको लागि दुवै उम्मेदवारले बल गरिरहेका छन् ।
२०७४ सालमा माओवादी र कांग्रेसबीच तालमेल हुँदा पनि एमालेले सहज चुनाव जितेको थियो । नेकपा एमालेका नीलकण्ठ गौतमले ५ हजार २ सय भोट पाउँदा यसअघि पनि अध्यक्षको उम्मेदवार रहेका यदुले ३ हजार ७ सय मत पाएका थिए । उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी दुर्गा ज्ञवाली र एमालेको तर्फबाट मीना गौतम उम्मेदवार छन् ।
रुरुमा गठबन्धनको जोर चल्दैन– हिमाल श्रेष्ठ

नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार हिमाल श्रेष्ठ नेकपा एमालेको अवस्था विगतको भन्दा सुदृढ रहेकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।
‘रुरुक्षेत्रमा गठबन्धन नाम मात्रको हो, कतिपय वडामा उनीहरूको कमिटी पनि छैन,’ श्रेष्ठले भने, ‘विगतमा गरेको राम्रो कामका कारण पनि मतदाताले एमालेलाई भोट हाल्नु हुन्छ ।’ नेकपा एमाले विभाजनको असर रुरुक्षेत्रमा नरहेको उनले दाबी गरे ।
बसाइँ सरेर गएकोलाई गाउँ फर्काउने हिसाबले काम गर्ने श्रेष्ठ बताउँछन् । ‘विकास पहाड चढेर गाउँ पस्दैछ, जनता बसाइँ सरेर तल (तराई) झर्दैछन् । विकास पुराना घरको लागि मात्र भएको छ,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘बसाइँ सरेर तराई गएकोलाई पनि गाउँ फर्किने गरी रुरुक्षेत्रको विकास गर्छु ।’
अध्यक्षका उम्मेदवार श्रेष्ठ आफूले चुनाव जितेको खण्डमा सार्वजनिक विद्यालय सुधारका लागि विशेष कार्यक्रम ल्याउने बताउँछन् । ‘यस क्षेत्रका सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको छ, निजी स्कुललाई टक्कर दिने गरी सार्वजनिक विद्यालयको गुणस्तर सुधार्ने मेरो योजना छ,’ श्रेष्ठले भने ।
यस्तै युवालाई कृषिमा आकर्षित गर्ने, धार्मिक पर्यटकीय क्षेत्र रिडीको विकास गर्ने उनको भनाइ छ ।
यसपटक मप्रति मतदाताको सहानुभूति छ, चुनाव जित्छु– यदु ज्ञवाली
माओवादीका उम्मेदवार यदु ज्ञवाली विगतमा चुनाव हारे पनि निरन्तर सामाजिक काममा लागेकोले यसपटक मतदाताले आफूप्रति सहानुभूति राख्ने दाबी गर्छन् ।
नेकपा एमालेको अवस्था विगतको तुलनामा खस्किएको र गठबन्धनका दलहरूबीच तालमेल रहेकोले यसपटक रुरुमा जित निकाल्ने उनले दाबी गरे । रुरुक्षेत्रलाई पूर्वाधारले सम्पन्न सबै बस्नयोग्य गाउँ बनाउने आफ्नो चुनावी एजेण्डा रहेको बताउँछन् ।
‘गाउँमा युवालाई रोजगारी सिर्जनाका लागि कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनमा आधारित अनुदान दिने नीति बनाउँछौँ,’ ज्ञवालीले भने, ‘मानिसहरू आफ्ना छोराछोरीको पढाइको लागि गाउँ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै यहाँका स्कुललाई देशकै नमूना बनाउँछौँ ।’
आफूले चुनाव जितेमा विज्ञहरूसँगको परामर्शमा सबै वडामा जनताको आवश्यकताअनुसारको विकास गर्ने ज्ञवालीको एजेण्डा छ । ‘वडादेखि पालिकाको केन्द्रसम्म पहुँचमार्ग विस्तार गर्नेछौँ । खानेपानी समस्या समाधानका लागि स्रोत नभएको ठाउँमा लिफ्टिङ आयोजनामार्फत सबै ठाउँमा पानी पुर्याउँछौँ,’ ज्ञवालीले भने ।
सामान्य स्वास्थ्य समस्यालाई लिएर पाल्पा–बुटवल जानुपर्ने बाध्यता अन्त्य गर्न रिडीको स्वास्थ्यचौकीमा डाक्टर राख्न पहल गर्ने उनले बताए ।
हिमाललाई विगतको भरोसा, यदुलाई लीलामणिको आड

देशका अन्य नगर र गाउँपालिकामा जस्तै गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको चुनावी रौनकतामा एउटा दृश्य फरक छ । एक जना उम्मेदवारको पक्षमा पूर्व मुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेलको सक्रियता ।
गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षमा लडेका माओवादीका ३२ वर्षीय युवा यदु ज्ञवालीको मनोनयनको दिन पौडेलले ब्यानर समातेर हिँडेको दृश्यले धेरैको ध्यान आकर्षित गर्यो ।
गाउँका अन्य सर्वसाधारण सरह पौडेल चुनावी कार्यक्रममा हिँडेको देखिन्छन् । उनले समर्थन गरेको प्यानललाई निर्वाचन आचारसंहिता विपरीतका काम गर्न दिँदैनन् ।
‘सामाजिक क्षेत्रमा मैले गरेको कामका कारण लीलामणि दाइ मेरो समर्थनमा हिँड्नु भएको छ । उहाँको समर्थनका कारण मैले चुनाव जितेजस्तै महसुस भएको छ,’ यदुले भने ।
माओवादी केन्द्रका नेता सुदर्शन बराल लुम्बिनी सरकारको सामाजिक विकास मन्त्री रहेको समयमा आफूले रुरु गाउँपालिकामा विकास बजेट ल्याएकोले पनि मत पाउने उनको विश्वास छ ।
रुरुक्षेत्रमा पहिलो कार्यकालमा भएको विकासका कारण पनि आफूहरूले जित्नेमा एमाले ढुक्क छ । गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी नेकपा एमालेकी नेतृ लक्ष्मी पन्थ पहिलो कार्यकालमा गरेका कामका कारण एमालेप्रतिको आकर्षण बढेको बताउँछिन् । ‘चुनाव जित्न हामीलाई कुनै अप्ठेरो छैन, विगतभन्दा फराकिलो मतान्तरले चुनाव जित्छौँ,’ पन्थले भनिन् ।