०८ साउन २०८३, शुक्रबार
शक्ति राष्ट्रको टसल

अमेरिकामा जोडतोडले चलेको बहस– चीन र रुससँग एकैचोटि लड्न सकिन्छ ?

साउन २५, २०७९
अमेरिकामा जोडतोडले चलेको बहस– चीन र रुससँग एकैचोटि लड्न सकिन्छ ?
Photo Credit : Shutterstock

युक्रेनी भूमिमा रुसविरुद्ध छद्मयुद्ध चलाइरहेको अमेरिकाले सँगसँगै ताइवानमा चीनविरुद्ध छद्मयुद्ध शुरू गर्न खोजेको छ । विश्लेषकहरू अमेरिका यसरी एकैपटक दुईवटा मोर्चामा लड्न सक्षम छ कि छैन भनी बहस गरिरहेका छन् । 

अगस्ट १ मा द न्युयोर्क टाइम्समा स्तम्भकार टमस फ्रिडम्यानले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको आलोचना गर्दै अमेरिकाले एकैपटक दुईवटा मोर्चा लड्न नसक्ने ठोकुवा गरेका थिए । युक्रेन युद्ध अझै जारी रहेको र त्यसमा अमेरिकाको सहयोग अपरिहार्य रहेको अवस्थामा अमेरिकाको ध्यान ताइवानतर्फ जानु प्रत्युत्पादक हुने तर्क फ्रिडम्यानले गरेका छन् । दुई अन्य महाशक्तिसँग एकैपटक युद्धमा नहोमिनु भूराजनीतिको पहिलो पाठ भएको उनको भनाइ छ ।

तर द वाशिङटन पोस्टमा स्तम्भकार जोश रोगिनले फ्रिडम्यानको दाबी गलत रहेको बताएका छन् । पलोसीले ताइवान भ्रमण गरेर दुस्साहसी कदम चालेको नभई चीनले ताइवानलाई थर्काएर दुस्साहस देखाएको उनको दाबी छ । 

पलोसीले ताइवान भ्रमण गर्दा आकाश नखसेको र तेस्रो विश्वयुद्ध शुरू नभएको उनी लेख्छन् । अमेरिकाको शक्तिबाट हच्किएरै चीन सैन्य अभ्यासमा सीमित रहेको र युद्धमा जान नसकेको उनको तर्क छ । 

त्यससँगै रोगिनले चीन र रुस दुवै विस्तारवादी निरंकुशतन्त्र भएको अनि उनीहरूले मिलेरै अमेरिकाको सुरक्षा, समृद्धि र स्वतन्त्रतालाई आघात गर्न खोजेको लेखेका छन् । त्यसैले ती दुवैलाई अमेरिकाले एकैपटक प्रतिकार गर्नुपर्ने उनको भनाइ छ । तर त्यसरी एकै समयमा दुई महाशक्तिविरुद्ध लड्ने क्षमता अमेरिकासँग छ कि छैन भन्ने विषयमा रोगिन मौन छन् । 

रोगिनले नभनेको कुरा अमेरिकाको केन्टकी विश्वविद्यालयको प्याटरसन स्कूलमा सुरक्षा तथा कूटनीति विषयका प्राध्यापक डा रोबर्ट फार्लीले आफ्नो लेखमा भनेका छन् । उनी पनि अमेरिका एकैपटक चीन र रुससँग भिड्न समर्थ रहेको दाबी गर्छन् । 

आणविक हतियार भएका मुलुक चीन र रुससित सिधै भिड्न जाने जोखिम अमेरिकाले उठाउला भन्ने कुरामा पंक्तिकार विश्वस्त छैन । युक्रेनलाई उपयोग गरेर रुसलाई कमजोर बनाउने अमेरिकी रणनीति विफल भए पनि ताइवानलाई चीनविरुद्ध त्यसैगरी अमेरिकाले उपयोग गर्न सक्छ । तर प्रत्यक्ष भिडन्तमै जाने सम्भावना शंकाको घेरामा छ । 

१९४५ डट्कम नामक वेबसाइटमा प्रकाशित उनको लेखमा अमेरिकाले एसिया र युरोप दुवै मोर्चामा लड्न सक्ने सामर्थ्य भएको सेना तयार पारेको छ । दुई मोर्चामा फरक–फरक हतियार उपयोग गरिन सक्ने उनको भनाइ छ । 

भिन्नाभिन्नै युद्धमोर्चाका माग र आवश्यकता फरक भएकाले अमेरिकी सेना दुवैतिर एकैचोटि लड्दा पनि भयंकर दबाबमा नपर्ने उनी लेख्छन् । आफ्ना साझेदारहरूको सहयोग लिएर अमेरिका दुवै मोर्चामा हावी हुने उनी दाबी गर्छन् ।

रोगिन र फार्ली जस्ता युद्धपरस्त टिप्पणीकारहरूलाई बाइडन प्रशासनले प्रोत्साहन गरेको भए पनि अमेरिकाले रुस र चीनसँग प्रत्यक्ष नभई परोक्ष वा छद्म युद्ध (प्रोक्सी वार) गर्ने हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । युक्रेनमा रुससँग सिधै भिडन्तको स्थिति आउन नदिन अमेरिका र नेटो अत्यन्तै सावधान रहेको तथ्यले नै यसलाई प्रमाणित गर्छ । 

हुन पनि आणविक हतियार भएका मुलुक चीन र रुससित सिधै भिड्न जाने जोखिम अमेरिकाले उठाउला भन्ने कुरामा पंक्तिकार विश्वस्त छैन । युक्रेनलाई उपयोग गरेर रुसलाई कमजोर बनाउने अमेरिकी रणनीति विफल भए पनि ताइवानलाई चीनविरुद्ध त्यसैगरी अमेरिकाले उपयोग गर्न सक्छ । तर प्रत्यक्ष भिडन्तमै जाने सम्भावना शंकाको घेरामा छ । 

बाइडन प्रशासनमा रहेका भिक्टोरिया नुल्यान्ड र कर्ट क्याम्पबेल जस्ता प्रभावशाली अधिकारीहरूले बाइडनलाई दुवै मोर्चामा एकैपटक लड्न सकिने भनी उचाल्न कोशिश चाहिँ गरिरहेका छन् । गत फेब्रुअरी महिनामा फरेन पोलिसी पत्रिकामा प्रकाशित सामग्रीले पनि बाइडन प्रशासनको यही युद्धपरस्त सोचलाई प्रतिबिम्बित गरेको थियो ।

उक्त लेखअनुसार, अमेरिका विश्वव्यापी स्वार्थ बोकेको संसारको अग्रणी शक्ति भएकाले युरोप र हिन्द–प्रशान्त क्षेत्रमध्ये एक छान्ने विकल्प उससँग छैन । बरू वाशिङटन र उसका साझेदारहरूले रुस र चीनलाई एकैपटक हराउन सक्ने रक्षा रणनीतिक विकसित गर्नु जरूरी छ । जोश रोगिनको तर्क यस्तै किसिमको छ ।

यस्तो लेख लेख्ने व्यक्ति म्याथ्यु क्रोएनिग हुन् । उनी स्काउक्रफ्ट सेन्टर फर स्ट्राटेजी यान्ड सिक्योरिटी– एटलान्टिक सेन्टरमा आबद्ध छन् । अमेरिकाको प्रमुख रक्षा थिंकट्यांक भएको हैसियतले यस संस्थाले छपाएको आलेखबाट चीन तथा रुसप्रति अमेरिकाको अभिजात वर्गले बनाएको धारणा बुझ्न सकिन्छ । 

यस किसिमको परिस्थिति निर्माण गर्नका लागि अमेरिकाले सन् २०२२ को रक्षा बजेट पनि त्यस्तै किसिमको बनाएको छ । पंक्तिकारले यस विषयमा अघिल्लो लेखमा टिप्पणी गरिसकेको छ ।

पढ्नुहोस् यो पनि:

यी सब कुराका बावजूद अमेरिका एकैचोटि दुईवटा मोर्चामा उभिँदा उसका दुई शत्रुको समन्वय घातक हुन सक्ने तथ्यलाई भुल्न मिल्दैन । 

त्यसो त चीन र अमेरिकाबीच युद्धको प्रतिरूप अभ्यास गरिँदा चिनियाँ सेनाले अमेरिकाका कैयौं हतियार नष्ट गरेकाले पेन्टागन चिन्तामा परेको खबर ब्लूमबर्ग पत्रिकाले छापेको छ । रुस एक्लैलाई पनि अमेरिकाले कम आँक्न नमिल्ने सैन्य विश्लेषकहरू बताउँछन् ।

अहिले युक्रेनमा चलिरहेको द्वन्द्वमा चीनले रुसलाई कुनै किसिमको पनि सैन्य सहयोग गरेको छैन । तर अमेरिकाले ताइवानमा युद्ध शुरू गरेमा चीनले रुसलाई सामरिक सहयोग गर्ने र रुसले चीनलाई ताइवान जित्नका लागि सहयोग गर्ने परिस्थिति निर्माण हुन सक्छ । 

यस्तै किसिमको परिस्थितिलाई आकलन गरी ती दुई देशले गोप्य रूपमा हतियार प्रणालीको संयुक्त डिजाइन तथा सैन्य अनुसन्धान र विकास गरिरहेको देखिन्छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयमा राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा अलेक्जेन्डर कोरोलेभका अनुसार, दुई देशले प्रविधि हस्तान्तरणमा साझेदारी गरेका छन् । हतियार निर्माणमा अग्रणी मुलुक रुसले चीनलाई दिने सैन्य उपकरणको भोलुम बढेको पनि छ । 

भन्नुको आशय, चीन र रुस दुवैका विरुद्ध अमेरिका एकैपटक युद्धमा होमियो भने ती दुई देशका सेनाबीच सहकारवाही (इन्टरअपरेबिलिटी) मा समस्या आउने छैन । एकअर्काको हतियार प्रणाली उनीहरूले समस्या नआइकन चलाउने स्थिति आएमा अमेरिकाविरुद्ध प्रतिकार गर्न सहज हुनेछ । हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेका यी दुई देशको समन्वयले अमेरिकी मुख्यभूमिलाई समेत जोखममा पार्न सक्छ । 

अमेरिका किन दुई महाशक्तिसँग लड्न खोजिरहेको छ त ? आफ्नो एकध्रुवीय प्रभुत्व अकण्टक रहोस् भन्ने अभीष्टका साथ ऊ यस युद्धमा होमिन खोजेको हो । विरोधी दुई महाशक्तिले विशाल भूमि, लामो इतिहास र आणविक हतियारको बलमा अमेरिकाको विश्वव्यापी प्रभुत्वमा जोखिम तेर्स्याएको निष्कर्ष निकाल्दै उनीहरूलाई पन्छाउन युद्धको हदसम्म जानका लागि अमेरिका तयार भएको पत्रकार डेबोरा भेनेजियाल लेख्छिन् । 

रुसको कुरा गर्नुपर्दा अमेरिकाले उसलाई युक्रेनमा अल्झाएर राख्न र कमजोर बनाउन खोजेको हो । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले यसको संकेत पहिले नै दिइसकेका छन् । कमजोर भएको रुसलाई छिन्नभिन्न बनाउने र उसको आणविक हतियार नष्ट गर्ने अमेरिकाको आकांक्षा हो । त्यसो गर्न सके रुसले विश्वका विभिन्न भागमा पार्न खोजेको प्रभावको प्रयास विफल हुने अमेरिकाको सोच देखिन्छ । 

चीनको कुरा गर्नुपर्दा त्यहाँ कम्युनिस्ट पार्टीको स्थिर सरकार रहेको अमेरिकालाई चित्त बुझेको छैन । राष्ट्रवादको सवालमा जनताले सरकारलाई पूर्ण समर्थन गरेको अमेरिकाका लागि असह्य भइरहेको छ । कोभिडपछि अर्थतन्त्रमा केही समस्या देखिए पनि अन्य मुलुकको भन्दा स्वस्थ अर्थतन्त्र चीनमा छ तर अमेरिकी भाष्यमा चिनियाँ अर्थतन्त्र लगातार ओरालो लागिरहेको छ । 

डरलाग्दो कुरा त, अमेरिकी संस्थापन पक्षको आकांक्षालाई प्रतिबिम्बित गर्ने क्रोएनिगको लेखमा अमेरिकालाई गैर–रणनीतिक आणविक हतियार समेत उपयोग गर्न सुझाव दिइएको छ । अर्थात्, अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम राख्न त्यहाँ सम्भ्रान्तहरू मानवताको समूल विनाश गर्न सक्ने आणविक हतियारको उपयोगमा पनि नहिचकिचाउने संकेत पाइन्छ । 

चीनलाई कमजोर बनाउन सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध घृणा फैलाउने र सत्ता पल्टाउने विद्रोह (कलर रिभोल्युसन) गराउने अमेरिकाको योजना देखिन्छ । त्यसैले अमेरिकी सांसदहरू हिजोआज लगातार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को विरोध गरिरहेका छन् । चीन र सीसीपी फरक हुन् भन्ने किसिमको भाष्य उनीहरू निर्माण गर्न खोज्दैछन् । 

हुँदाहुँदा ट्विटरका संस्थापक ज्याक डोर्सीले समेत अमेरिकी प्रचारबाजीलाई बल दिने गरी सीसीपी अन्त्य हुनुपर्ने भनी ट्वीट गरेका छन् । यसरी कम्युनिस्ट पार्टीप्रति चिनियाँ जनतामा वितृष्णा फैलाएर शासन परिवर्तन गर्ने ध्येय अमेरिकाले लिएको देखिन्छ । 

ताइवान संकट पनि सीसीपीको दमनकारी नीतिका कारण चर्किएको दाबी अमेरिकीहरूले गरिरहेका छन् । त्यहाँ युद्ध गराएर चीनको शासन परिवर्तन गराउन सकिने आशा उनीहरूले गरिरहेका छन् । तर विश्वको कारखानाका रूपमा रहेको चीन अस्थिर भएमा विश्वव्यापी आपूर्ति शृंखला भत्किएर संसारै अस्तव्यस्त हुने खतरा आइलाग्नेछ ।

डरलाग्दो कुरा त, अमेरिकी संस्थापन पक्षको आकांक्षालाई प्रतिबिम्बित गर्ने क्रोएनिगको लेखमा अमेरिकालाई गैर–रणनीतिक आणविक हतियार समेत उपयोग गर्न सुझाव दिइएको छ । अर्थात्, अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम राख्न त्यहाँ सम्भ्रान्तहरू मानवताको समूल विनाश गर्न सक्ने आणविक हतियारको उपयोगमा पनि नहिचकिचाउने संकेत पाइन्छ । 

यस्ता अभिव्यक्तिहरू आइरहेको सन्दर्भमा चीन र रुसविरुद्ध अमेरिकाको शीतयुद्ध कुनै पनि बेलामा वास्तविक युद्धमा परिणत हुन सक्ने सम्भावना देखिँदैछ । छद्मयुद्ध पनि एक तह उक्लेर प्रत्यक्ष भिडन्तमा परिणत भइदिन सक्ने कुरालाई नकार्न सकिन्न । त्यस युद्धले पार्ने विश्वव्यापी असर भयावह हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्