२६ जेठ २०८३, मंगलबार
नमूना जनप्रतिनिधि

जनताको स्वास्थ्य जाँच्न घर–घर पुग्ने 'अपवाद' वडाध्यक्ष [भिडियो स्टोरी]

असोज ६, २०७९

भक्तपुर नगरपालिका वडा नम्बर– ५ को त्रिपुरासुन्दरी टोलमा बुधबार विहान वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे आफै‌ं स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका थिए ।

त्यसदिन मात्रै उनले स्थानीयको स्वास्थ्य जाँच गरेका होइनन् । यो उनको नियमित रुटिन नै हो । गत वैशाखमा भएको चुनावमा बिजुक्छे वडाध्यक्ष निर्वाचित भएका थिए ।

भक्तपुर नगरपालिकाभित्रका हरेक टोलमा स्थानीय सरकारले घरदैलोमै गएर जनताको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम चलाएको छ । सबै वडाले स्वास्थ परीक्षणको कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेका छन् ।

त्यही कार्यक्रममा वडा अध्यक्ष बिजुक्छे पनि खटिन्छन् । हरेक दिन बिहान स्थानीयको घरघरमा गएर स्वास्थ्य परीक्षण हुन्छ ।

बिजुक्छे भने सबै दिन स्वास्थ्य परीक्षणमा खट्न भ्याउँदैनन् । समय मिल्दा उनी आफ्ना प्राविधिक टीमसँगै स्थानीयको स्वास्थ्य परीक्षणमा जान्छन् र आफैँले स्थानीयको ब्लडप्रेसर जाँच्छन् । 

बुधवार उनी भक्तपुरको वडा नम्बर ५ त्रिपुरासुन्दरी टोलमा स्थानीयको ब्लड प्रेसर जाँच गरिरहेका थिए । वडाध्यक्ष आफैँ ब्लड प्रेसर जाँच्न आएको देखेपछि अरू स्थानीयहरू पनि क्रमशः जम्मा हुन थाले । 

सोही क्रममा स्थानीय सानुमाया नापितले वडाध्यक्षसँगै प्रेसर जँचाइन् । उनको प्रेसर ठीक रहेछ । बिजुक्छेले नापितको प्रेसर ठीक रहेको जानकारी आफ्नो मेडिकल टीमलाई दिए ।

मेडिकल टीमले रेकर्ड तयार गर्‍यो । रिपोर्ट राम्रो आउँदा नापित खुशी भइन् । वडाध्यक्ष आफ्नै टोलमा आएर ब्लड प्रेसर जाँच गरिदिँदा नापित अझ बढी खुशी देखिइन् । 

उनले भनिन्, ‘वडाध्यक्षसँगै प्रेसर जचाउन पाएँ । धेरै खुशी लाग्यो । हाम्रो वडाध्यक्षले धेरै राम्रो काम गर्नुभएको छ ।’ 

वडाको मेडिकल टीम हरेक टोलमा पालैपालो पुग्छ र स्थानीयलाई बोलाएर स्वास्थ्य जाँच गर्छ ।

नापितले भनिन्, ‘उहाँहरू स्वास्थ्य परीक्षण गर्न आउनुहुन्छ । उहाँहरू आएको हामीले थाहा पाएनौं भने घन्टी बजाएर बोलाएर जाँच गरेरै जानुहुन्छ ।’

वडाले घरमै आएर स्वास्थ्य जाँच गरिदिएकोमा स्थानीय खुशी छन् । 

‘प्रेसर जचाउन अस्पताल गयो भने घन्टौं लाइन बस्नुपर्छ । यहाँ त घरघरमा आएर जाँच गरिदिनुहुन्छ । हामीलाई असाध्यै सजिलो भएको छ’, नापितले भनिन् ।

स्थानीय लक्ष्मी अवाले मर्निङवाकबाट आउँदै गर्दा वडाको टोलीले स्वास्थ्य जाँच गरिरहेको देखिन् । उनलाई पनि आफ्नो प्रेसर जचाउन मन लाग्यो । वडाध्यक्ष बिजुक्छेसमक्ष गइन् र प्रेसर जँचाइन् । 

अवाले भन्छिन्, ‘वडा अध्यक्षसहितको स्वास्थ्य टोली हाम्रै घर आँगनमा आउँदा सम्बन्ध घनिष्ट हुन्छ । हाम्रा केही समस्या भए पनि सजिलै राख्न पाइन्छ ।’

भक्तपुर नगरपालिकामा स्थानीय सरकारले राम्रो काम गरिरहेको र भक्तपुरवासी हुन पाएकोमा आफूहरूलाई असाध्यै खुशी लाग्ने अवालेले बताइन् ।

‘हाम्रा जनप्रतिनधिले राम्रो काम गरिरहनुभएको छ । मलाई त म भक्तपुरवासी भएकोमा गर्व लाग्छ,’ उनले भनिन् । 

स्थानीयको घरघरमा स्वास्थ्य परीक्षण गर्न जाने वडाध्यक्ष बिजुक्छे आफैं भने स्वास्थ्यकर्मी होइनन् । स्वास्थ्य टीमसँग जाँदा उनले स्थानीयको ब्लड प्रेसर मात्रै जाँच्छन् । यो पनि काम गर्दागर्दै उनले जानेका हुन् । 

‘म स्वास्थ्य चिकित्सक होइन ।  कुनै औपचारिक तालिम लिएको पनि छैन तर मलाई राम्रोसँग प्रेसर नाप्न आउँछ’, बिजुक्छेले भने ।

उनी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा भाइ हुन् । उनको परिवार नै राजनीतिमा थियो ।  

पञ्चायतकालमा राजनीतिक गतिविधिमा संलग्न भएका कारण उनीहरू पक्राउ परिरहन्थे । लामो समयसम्म जेलमा बस्नुपर्ने हुन्थ्यो । तर, उनको आमालाई भने मानसिक तनाव हुन्थ्यो । त्यही कारण आमाको ब्लड प्रेसर बढ्यो । प्रेसरकै कारण पक्षघात भयो ।

त्यसपछि भने आमालाई निरन्तर ब्लड प्रेसर जचाउन अस्पताल लैजानुपर्ने भयो । यो जिम्मेवारी कान्छो छोरा योगेन्द्रमानको काँधमा आयो ।

पक्षघात भएको बिरामीलाई निरन्तर अस्पताल लैजाने ल्याउने कठिन र झञ्झटिलो काम थियो । बिरामीलाई पनि उत्तिकै पीडादायी हुन्थ्यो ।

यस्तो समस्या नियमित देखिरहेकी स्थानीय नर्सले बिजुक्छेलाई ब्लड प्रेसर जाँच्न सिकाइन् ।

आफैँले आमाको ब्लड प्रेसर जाँच्न थालेपछि परिवारका सदस्यले घरमा आफूलाई स्वास्थ्य मन्त्री भनेर जिस्क्याउने गरेको उनले सुनाए । 

त्यसबेला, बाध्यताले सिकेको काम अहिले सामाजिक सेवामा प्रयोग गर्न पाएकोमा बिजुक्छे खुशी छन् । 

‘अरूले जनतासँग भोट मात्रै माग्छन् । तर, नेमकिपाले जनताको सेवा गर्छ’, उनले भने ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्