०६ साउन २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

चुनावी मैदानमा पूर्व प्रहरी अधिकृत: सर्वेन्द्रदेखि रमेश खरेलसम्मको क्षेत्रमा के छ अवस्था ?

असोज २६, २०७९
चुनावी मैदानमा पूर्व प्रहरी अधिकृत: सर्वेन्द्रदेखि रमेश खरेलसम्मको क्षेत्रमा के छ अवस्था ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्व प्रहरी अधिकृतहरू पनि चुनावी मैदानमा उत्रिएका छन् ।

प्रहरी सेवामा रहँदा विभिन्न तरिकाबाट ख्याति कमाएका पूर्व प्रहरी अधिकारीहरू विभिन्न पार्टीबाट निर्वाचनमा सहभागी हुन लागेका हुन् । 

सेवामा रहँदा कमाएको नाम र पैसाले निर्वाचनमा पनि काम गर्ने विश्वासमा उनीहरू राजनीतिमा होमिएका छन् । २०७४ सालको निर्वाचनमा एमालेबाट पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

चर्चित आईजीपी प्रकरणमा प्रहरी प्रमुख बन्न नपाएपछि प्रहरी सेवाबाट अलग भएका पूर्व डीआईजी सिलवालले सांसद बनेर राजनीतिमा छलाङ हान्न सफल भए ।

तत्कालीन सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउन चाहेको थियो । सिलवालले आफू कासमुमा सबैभन्दा अगाडि रहेको जिकिर गरेका थिए ।

अन्तिममा कासमु खोल्दा प्रकाश अर्याल पहिलो नम्बरमा रहेको पाइयो र उनी प्रहरी प्रमुख बने । त्यसपछि प्रहरी छाडेर सिलवाल एमाले प्रवेश गरेका थिए ।

अहिले सिलवालकै बाटो पछ्याउँदै पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । प्रहरी सेवामा ३० वर्ष काम गरेर खनाल २०७६ माघ २८ गते सेवानिवृत्त भएका थिए । त्यसयता उनले नेकपा एमालेसँग निकट भएर विभिन्न गतिविधि गर्दै आएका छन् । अहिले एमालेले उनलाई निर्वाचन क्षेत्र नम्बर ६ बाट टिकट दिएको छ । 

नेपाली कांग्रेसको बलियो पकड भएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट चुनाव जित्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानलाई माओवादी, नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धन छ ।

स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेसको १७ हजार २७७ मत, माओवादीले २ हजार ४६२ मत र नेकपा एसले १ हजार ८१६ मत गरी २१ हजार ५९८ मत पाएका छन् ।

एमालेको १४ हजार ३०३ मत मात्रै छ । काठमाडौंमा एमाले र राप्रपाबीच समेत तालमेल हुन सकेको छैन । त्यसो त राप्रपाले सहयोग नै गरे पनि झण्डै २ हजार (१ हजार ८१६) मत मात्र थपिने स्थानीय तहको नतिजाले देखाउँछ ।

प्रहरी प्रमुखमा सर्वेन्द्रले बाजी मारेपछि डीआईजीबाटै राजीनामा दिएका रमेश खरेल पनि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।

आईजीपीका दाबेदार रहेका खनाल सर्वेन्द्र आईजीपी बनेपछि २०७४ चैत २८ गते राजीनामा दिएर प्रहरी सेवाबाट अलग भएका थिए ।

खनाल अहिले आफ्नो नयाँ दल ‘नेपाल सुशासन पार्टी’का तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् । उनको नयाँ पार्टीको खासै चर्चा देखिँदैन ।

काठमाडौं क्षेत्र नम्बर १ मा अहिले चर्चित अनुहारहरू चुनावी मैदानमा छन् । गठबन्धनले कांग्रेसका प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ । सिंह यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद समेत हुन् ।

यस्तै एमालेबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा तत्कालीन विवेकशील साझा पार्टीका मिश्र र कांग्रेसका सिंहबीच प्रतिस्पर्धा भएको थियो । 

यो क्षेत्रमा गठबन्धनको ११ हजार भोट छ भने एमालेको ९ हजार ५४१ मत स्थानीय तह निर्वाचनमा आएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसका सिंहले १० हजार ९३६ मत ल्याएका थिए भने मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

काठमाडौं उपत्यकाको ललितपुर क्षेत्र नम्बर ३ बाट पूर्व सशस्त्र प्रहरीका डीआईजी कृष्णभक्त ब्रह्माचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

यो क्षेत्रमा गठबन्धनबाट ऊर्जामन्त्री पम्फा भुसाल चुनावी मैदानमा छिन् । भुसाल यही क्षेत्रबाट २०६४ र २०७४ मा निर्वाचित भएकी थिइन् । २०७० मा भने उनी उम्मेदवार नै बनिनन् ।

स्थानीय चुनावमा नेपाली कांग्रेसले १८ हजार ५४५ र माओवादी केन्द्रले ७ हजार ७२७ मत ल्याएका थिए । यो क्षेत्रमा नेकपा एसको मत ५ हजार १२९ रहेको छ ।

यहाँ नेकपा एमालेले १७ हजार ७०९ र राप्रपाले ४ हजार ३४२ मत ल्याएका थिए । प्रहरी संगठनमा कमाएको चर्चाले चुनावी मैदानमा काम गर्ला कि नगर्ला, हेर्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्