
२०४८ सालदेखि लगातार संसदीय निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई २०७४ सालमा पहिलोपटक झड्का लाग्यो ।
पाँच वर्षअघिको पीडा बिर्सने गरी पौडेलले फेरि प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।
तनहुँ १ बाट सर्वसम्मत सिफारिश हुन नसकेका पौडेलले आफ्नो जीत सुनिश्चित गर्नका लागि कयौं नेताहरूको व्यवस्थापन गर्नु परेको थियो । तनहुँमा शंकर भण्डारीका लागि सीट सुरक्षित गर्न पौडेलले प्रदीप पौडेललाई काठमाडौं– ५ मा व्यवस्थापन गरे ।
रामचन्द्रले यसपटक अरूका लागि त्यति जोडबल गरेनन् जति प्रदीपका लागि गरेका थिए । तनहुँ– १ दावी गरेका शंकर भण्डारीलाई २ मा व्यवस्थापन गर्न २ का सशक्त उम्मेदवार प्रदीप पौडेललाई काठमाडौं– ५ मा व्यवस्थापन गरियो । आफ्नालाई टिकट मिलाउन नसकेपनि पौडेलले तनहुँमा कांग्रेसका नेताहरूको व्यवस्थापन गरे ।
तर, यसपटक पनि गोविन्दराज जोशी रामचन्द्र पौडेलका लागि तगारो बन्न कोशिश गरिरहेका छन् । तनहुँको राजनीतिमा रामचन्द्र र गोविन्दराज जोशीको दुस्मनी दशकौंदेखि चल्दै आएको छ ।
पौडेलले अन्तिमपटक चुनाव लड्न लागेको भनेर बताएपनि जोशीले यसपटक पनि पौडेललाई चयनका साथ बस्न दिएका छैनन् ।
तनहुँमा कति छ जोशीको सामर्थ्य ?
भ्रष्टाचार मुद्दा लाग्नुअघि तनहुँको राजनीतिमा गोविन्दराज जोशी हावी थिए । गिरिजाप्रसाद कोइराला शक्तिमा रहुञ्जेल सत्ता राजनीतिको मियो जस्तो रहेका जोशीले कार्यकर्तालाई विशेष संरक्षण गरेका थिए ।
गृहमन्त्री हुँदा प्रहरी र अनुसन्धान विभागमा तथा शिक्षामन्त्री हुँदा एसएलसी पास गरेका सबैलाई विभिन्न क्षेत्रमा जागिर लगाएको चर्चा तनहुँमा व्याप्त छ । पार्टीले कारवाही गर्दा समेत जोशी तिनै कार्यकर्ताको आडमा राजनीति गरेका छन्, जसलाई उनले शक्तिमा छँदा संरक्षण गरेका थिए ।
पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर गतिविधि गरेपछि जोशी कांग्रेसबाट पटक–पटक कारवाहीमा परेका छन् । पार्टीबाट कारवाहीमा परेसँगै उनको राजनीतिक शक्ति र सामर्थ्य क्रमशः क्षयीकरण हुँदै गएको छ ।
गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको समर्थन प्राप्त गर्दा पनि छोरा दीपकराज जोशीले ब्यासको मेयर जित्न नसकेपछि तनहुँमा गोविन्दराज जोशीको राजनीति संकटमा परेको ठानिएको छ । आफैँ कमजोर अवस्थामा पुगेका जोशी पौडेलको संसद् यात्राको तगारो बन्ने सम्भावना भने न्युन छ ।
कस्तो छ तनहुँको राजनीतिक समीकरण ?
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेल तत्कालीन वामपन्थी उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए । माओवादीको समेत समर्थनमा एमालेका उम्मेदवार श्रेष्ठ ३४ हजार ४ सय ८९ मत पाएर विजयी हुँदा पौडेलले २७ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए ।
नेकपा एमाले विभाजनका बेला नेकपा एकीकृत समाजवादीमा लागेका श्रेष्ठ पौडेललाई सहज बनाइदिन भन्दै बारा गएका छन् । तनहुँ– १ मा नेकपा एमालेले एकबहादुर राना मगरलाई उम्मेदवार बनाएको छ ।
प्रदेशमा रामचन्द्र प्यानलबाट कांग्रेसका अशोककुमार श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान उम्मेदवार छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा नेपाली कांग्रेसको एकल बहुमत छ ।
स्थानीय तह निर्वाचनमा वडागत मतको आधारमा कांग्रेसले ३३ हजार १ सय ६ मत प्राप्त गरेको छ । नेकपा एमालेले २२ हजार २ सय १० मत प्राप्त गरेको थियो ।
माओवादीले ८ हजार ४ सय ७४ र नेकपा एसले ९८२ मत प्राप्त गरेका थिए । गठबन्धनका दलको भोट एमालेको भन्दा झण्डै दोब्बर ४२ हजार ५ सय ८ छ ।
कांग्रेसको ३३ हजार भोटबाट केही गोविन्दराज जोशीले काट्ने सम्भावना छ ।
स्थानीय तह निर्वाचनमा छोरा दीपकराज जोशीले लडेकै कैँची चिह्न जोशीले रोजेका छन् ।
‘तनहुँमा अहिले पनि जोशीको एउटा राम्रो गुटको अस्तित्व छ । ब्यासमा छोराले पाएको मत र जन्मथलो भानुमा बाँकी प्रभावका कारण उनले सम्मानजनक भोट पाउने सम्भावना छ,’ तनहुँ कांग्रेसका एक नेताले लोकान्तरसँग भने ।
संविधानसभा सदस्य रहेकी पार्वती थापा र जिल्ला तहका केही नेताले जोशीलाई साथ दिएका छन् ।
जोशी चुनाव जितेर संसद्मा पुग्ने सम्भावना क्षीण भएपनि रामचन्द्र पौडेलका लागि तगारो बन्न सक्ने सम्भावना भने छ ।
पढ्नुहोस्, यो पनि :