०४ साउन २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

रवीन्द्रको लिगेसी रहेको कास्की- २ : विद्या र श्रीनाथमा को बलियो ?

कात्तिक २, २०७९
रवीन्द्रको लिगेसी रहेको कास्की- २ : विद्या र श्रीनाथमा को बलियो ?

२०७६ मंसिरमा भएको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत कास्की–२ मा नेकपा एमाले उम्मेदवार विद्या भट्टराईको चुनावी कमाण्डर थिए धनराज आचार्य ।

एमालेका तत्कालीन नेता रवीन्द्र अधिकारीको निधनपछि कास्की २ मा भएको उपनिर्वाचनमा रवीन्द्र पत्नी विद्या उम्मेदवार बनेकी थिइन् । 

रवीन्द्र जस्तै विद्याले पहिलो प्रयासमै चुनाव जितिन्, जसको चुनावी कमाण्डर आचार्य थिए । रवीन्द्र अधिकारीका बालसखा रहेका आचार्यले विद्यालाई चुनाव जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

नेकपा एमाले विभाजनसँगै आचार्य नेकपा एसमा लागे र पोखरा महानगरको मेयर निर्वाचित भए । 

भर्खरै गठन भएको पार्टी नेकपा एसका उम्मेदवारले पोखरा महानगरमा चुनाव जित्नुको एउटा फ्याक्टर रवीन्द्रसँगको लिगेसीलाई जोडेर हेर्ने गरिएको थियो ।
 
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विद्या एमालेबाट पुनः उम्मेदवार बनेकी छन् तर यसपटक उनको चुनावी कमाण्डर अरु नै छन् । यसपटकको निर्वाचन आचारसंहिताले जनप्रतिनिधि कसैको प्रचारमा हिँड्न नपाउने भएकाले आचार्यले नेकपा एसका उम्मेदवारको पनि प्रचार गर्न पाउने छैनन् । यो क्षेत्रमा विद्याको प्रतिस्पर्धा नेकपा एसका नेता श्रीनाथ बरालले गर्नेछन् । 

बराल गठबन्धनका साझा उम्मेदवार भए पनि नेपाली कांग्रेसको तर्फबाट पूर्व सांसद महादेव गुरुङ बागी उम्मेदवार छन् । कात्तिक १ गतेसम्म उनले उम्मेदवारी फिर्ता गरेका छैनन्, जसले गठबन्धनका लागि चुनौती थपिदिएको छ । 

जीत दोहोर्‍याउने विद्याको दाउ, महानगरको जस्तै नतिजा उल्ट्याउने श्रीनाथको विश्वास

रवीन्द्र अधिकारीले २०६४ देखि २०७४ साल कास्कीबाट लगातार ३ पटक चुनाव जितेर इतिहास बनाएका थिए । रवीन्द्रको निधनपछि पनि विद्या १ पटक कास्की–२ बाट विजयी भएकी छन् । रवीन्द्रले बनाएको विरासतमा उभिएर विद्याले चुनाव जित्ने लक्ष्य राखेकी छन् ।

‘विद्या भट्टराईप्रति पोखरेली जनताको सद्भाव कायम छ, यसपटक पनि चुनाव जित्न कठिन छैन,’ नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष राजेन्द्र आचार्यले लोकान्तरसँग भने, ‘सम्भवतः गण्डकी प्रदेशकै सबैभन्दा सुरक्षित ठाउँको रूपमा कास्की–२ लाई लिएका छौं ।’

प्रतिनिधि सभामा गएपछि खेलेको भूमिकाका कारण पनि विद्यालाई पोखरेली जनताले अनुमोदन गर्ने नेकपा एमालेका अर्का एक स्थानीय नेताले बताए । 

स्थानीय तह निर्वाचनमा गठबन्धनको सहाराले पोखरा महानगरमा जीत हात पारेको नेकपा एसले प्रतिनिधिसभा निर्वाचनमा पनि त्यही अपेक्षा राखेको छ तर कास्की–२ मा पर्ने पोखरा महानगरका ११ वडामध्ये ५ वटामा एमालेले जितेको छ । वडा नम्बर ८, १५, १७, २० र २१ मा एमालेले जितेको छ ।

३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीका ३ वटै क्षेत्रमा पोखरा महानगरका केही वडा पर्छन् ।

महानगरको जितका कारण सहज जीत हात पार्ने नेकपा एसको विश्वास छ । २ नम्बर क्षेत्रमा पर्ने निर्मलपोखरी एमालेको गढको रूपमा चिनिन्छ ।

कास्कीका ३ क्षेत्रमध्ये कांग्रेस, माओवादी र एसले १/१ सिट बाँडेका छन् । २०५१ सालका सांसद माधव गुरुङ कांग्रेसको तर्फबाट बागी उठेकाले नेकपा एसलाई चुनौती देखिएको छ । 

‘स्थानीय तह चुनावमा जस्तै यसपटक पनि कास्कीमा गठबन्धन बलियो छ, अन्य क्षेत्रमा जीत निकाल्नका लागि पनि सहयात्री दलले साझा उम्मेदवारलाई विजयी गराउँछन्,’ नेकपा एसका स्थायी कमिटी सदस्य चूडामणि विश्वकर्माले लोकान्तरसँग भने । कास्की–१ मा गठबन्धनको तर्फबाट कांग्रेसका किशोरदत्त बराल र कास्की–३ मा माओवादी केन्द्रका रामजी बराल उम्मेदवार छन् ।

पोखराको पीएन क्याम्पसबाट राजनीति शुरू गरेका बराल कास्कीको जिविस उपसभापति बनेका थिए । बागी उम्मेदवार भए पनि प्रदेश सभातर्फ कांग्रेसका प्रभावशाली नेता विन्दुकुमार थापा र माओवादीका विश्वप्रकाश लामिछाने उम्मेदवार छन् । विन्दुकुमार यसअघि प्रदेश सरकारका मन्त्री थिए । उनले पोखराको मेयरको टिकटका लागि लबिङ गरेका थिए । प्रदेश सभाका प्रभावशाली उम्मेदवारका कारण पनि जीत सहज हुने बराल पक्षको विश्वास छ । 

एमालेको तर्फबाट प्रदेश सभाका लागि भीमबहादुर कार्की र मीना गुरुङ उम्मेदवार छन् । गठबन्धन र एमाले दुवै तर्फका उम्मेदवारले चुनावी तयारी तीव्र बनाएका छन् ।

यस्तो छ कास्की–२ को चुनावी अंकगणित

कास्कीको २ नम्बर क्षेत्र पञ्चायतकालदेखि नै कम्युनिस्ट किल्लाको रूपमा परिचित छ । २०६४ सालमा देशभर एमाले बढारिँदा पनि कास्की–१ बाट रवीन्द्र अधिकारीले एमालेका लागि खाता खोलेका थिए । २०७० सालको चुनावमा पनि उनले सहज जीत निकाले ।

२०७४ सालको प्रतिनिधि सभ निर्वाचनमा रवीन्द्रले कास्की–२ बाट चुनाव जितेका थिए । रवीन्द्रले २७ हजार २०७ मत पाउँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गरेका थिए ।

पर्यटनमन्त्री रहेकै समयमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा रवीन्द्रको निधन भएपछि २०७६ सालमा भएको उपनिर्वाचनमा विद्या २४ हजार ३९४ मत प्राप्त गरेर विजयी भएकी थिइन् । त्यो बेला नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका थिए । 

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कास्की–२ मा एमालेको अवस्था राम्रो छ । पोखराको मेयरमा पराजित भए पनि वडाहरूमा एमालेले राम्रो मत पाएको छ । वडा तहको मतको हिसाबमा कास्की–२ मा एमालेले २१ हजार १६४ मत पाउँदा कांग्रेसले १९ हजार ८ मत पाएको छ । राप्रपाले २ हजार ७९ मत पाउँदा नेकपा एसले २ हजार ५३ र माओवादीले १ हजार १९८ मत पाएका छन् । स्थानीय तह निर्वाचनको वडा तहको मतमा गठबन्धन थोरै मात्र अगाडि छ । 

एमाले नेता राजेन्द्र आचार्य रवीन्द्र अधिकारीले शुरू गरेका विकासका कामको निरन्तरता विद्याको एउटा चुनावी एजेण्डा बन्ने बताउँछन् । ‘रवीन्द्रले आफ्नो चुनावी क्षेत्र मात्र नभई समग्र कास्की र गण्डकी प्रदेशको विकासमा जोड दिनुभएको थियो, त्यसैले विद्याप्रति कास्कीका जनताको सहानुभूति छ,’ रवीन्द्र मन्त्री रहेको समयमा उनका पीए समेत रहिसकेका आचार्यले लोकान्तरसँग भने । 
 

salt training

कमेन्ट गर्नुहोस्