३२ असार २०८३, बिहीबार
प्रदेशसभा निर्वाचन

प्रदेश–१ मा भावी मुख्यमन्त्री भन्दै चुनाव प्रचारप्रसार, यी हुन् मुख्य दाबेदार

कात्तिक २०, २०७९
प्रदेश–१ मा भावी मुख्यमन्त्री भन्दै चुनाव प्रचारप्रसार, यी हुन् मुख्य दाबेदार

ठूला राजनीतिक दलबाट प्रदेश–१ सभा सदस्यमा उम्मेदवार भएका हेवी–वेट उम्मेदवारले आफूलाई मुख्यमन्त्रीको दाबेदार भन्दै भोट मागिरहेका छन् । 

मुख्य ४ दलका करिब एक दर्जन नेता मुख्यमन्त्रीको दावी गर्दै चुनावी मैदानमा छन् । प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको नामाकरण नै गर्न नसकेका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म दोस्रो कार्यकालमा पनि मुख्यमन्त्रीका आकाङ्क्षी छन् । 

यसअघि मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता शेरधन राई र भीम आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् भने बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेशसभा सदस्यमै उम्मेदवार बनेका छन् । उनी भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट उम्मेदवार बनेका छन् ।

हुन त मुख्यमन्त्री राईले पनि प्रतिनिधि सभा सदस्यकै उम्मेदवार बन्ने चाहना राखेका थिए । तर, सत्तारूढ गठबन्धमा भोजपुर माओवादीको भागमा पर्दा नेता सुधन किँरातीले टिकट पाएपछि उनी राई प्रदेश सभा सदस्यकै उम्मेदवारकोरूपमा दोहोरिन बाध्य भए । राईलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फेरि पनि मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेशमा उम्मेदवार बनाएका हुन् ।  

प्रदेश–१ सरकार बनेपछि बीचमा केही समय बाहेक निरन्तर आर्थिक मामिलामन्त्री बनेका नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पनि आफूलाई मुख्यमन्त्रीको दाबेदारकोरूपमा मतदातामाझ प्रस्तुत गरिरहेका छन् । 

प्रदेश सरकारमा सबैभन्दा लामो समय मन्त्री भएका उनी कुनै विवादमा नपरेका नेता हुन् । माओवादीबाट उनी मुख्यमन्त्रीका एक्ला दाबेदार हुन् । उनी पाँचथरको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट दोस्रो कार्यकालको लागि प्रदेशसभा सदस्यको उम्मेदवार भएका छन् ।

कुटनीतिक र चलाख राजनीतिज्ञको पहिचान बनाएका उनी आगामी निर्वाचनपछि बन्ने गठबन्धन सरकारमा मुख्यमन्त्रीको प्रमुख दाबेदारकोरूपमा रहेको प्रदेश–१ का नेताहरू बताउँछन् । उनलाई पनि प्रचण्डले मुख्यमन्त्री बनाउने आश्वासन दिएको उनी निकट नेताहरू दावी गर्छन् ।

नेपाली काँग्रेसबाट प्रदेशको मुख्यमन्त्रीको दावीसहित चुनावी मैदानमा आएका नेताहरू धेरै छन् । मोरङ क्षेत्र नम्बर–५ (२) बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल र ४ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका गुरूराज घिमिरेले आफूलाई मुख्यमन्त्रीको दाबेदारकोरूपमा मतदातामाझ चिनाइरहेका छन् । 

यसअघि संविधानसभा सदस्य भइसकेका अर्याल यस पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहेका थिए । तर, मोरङको क्षेत्र नम्बर–५ माओवादी केन्द्रको भागमा परेपछि उनी मुख्यमन्त्रीको दावीसहित प्रदेशसभाको उम्मेदवार बन्न राजी भएका हुन् । उनलाई काग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएको कांग्रेस बृत्तमा चर्चा छ । 

कांग्रेसमा प्रभावशाली मानिएका नेता गुरूराज घिमिरे पनि कांग्रेसबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिएका छन् । 

पहिलो प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता रहिसकेका पार्टीका केन्द्रीय सदस्य राजिव कोइराला पनि मुख्यमन्त्री आकांक्षासहित सुनसरी क्षेत्र नम्बर–२ (२) बाट उम्मेदवार बनेका छन् । कांग्रेसमा डा.शेखर कोइराला निकट मानिने उनी पनि प्रतिनिधिसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा थिए । सुनसरी क्षेत्र नम्बर–२ मा कांग्रेसले निवर्तमान सांसद सिताराम मेहतालाई उम्मेदवार बनाएपछि कोइरालाले प्रदेश सभा उम्मेदवारमा चित्त बुझाउनु परेको हो ।

काँग्रेसको प्रदेश–१ सभापति उद्धव थापा पनि मुख्यमन्त्रीको दावीसहित प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार छन् । समानुपातिक सूचीमा खस आर्य कोटामा उनको नाम पहिलो नम्बरमा राखिएको छ । उनी कांग्रेसमा नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

नेकपा एमालेबाट अहिलेसम्म प्रदेश–१ मा दुई जना मुख्यमन्त्रीको दाबेदार देखिएका छन् । झापा क्षेत्र नम्बर–५ (२) बाट उम्मेदवार बनेका एमलोका स्थायी समिति सदस्य हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दावीसहित चुनावी प्रचार गरिहेका छन् । शेरधन राई नेतृत्वको सरकारमा कार्की आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । 

मोरङ क्षेत्र नम्बर–४ (२)बाट उम्मेदवार बनेका एमाले नेता जीवन घिमिरेले पनि आफूलाई मुख्यमन्त्रीको दाबेदारकोरूपमा चिनाइरहेका छन् । जनता समाजवादी पार्टी (जसपा)सँगको तालमेलको क्रममा मोरङ–४ (२) एमालेले शुरूमा छाडेको भए पनि मनोनयनको अन्तिम समयमा एमालेले उनलाई टिकट दिएको थियो । 

शेरधन राई नेतृत्वको सरकारमा घिमिरे सामाजिक विकासमन्त्री थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै पदबाट राजीनामा दिएका उनी एमालेमा १० बुँदे सहमति पक्षधर नेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्