
काठमाडौं, ३१ साउन – काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति न्यून देखिएको छ । आज मगंलवार प्रदर्शनीको छैठौं दिनसम्म आइसक्दा ‘२१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ मा पछिल्ला वर्षका तुलनामा यस वर्ष कम दर्शकको उपस्थिति रहेको आयोजक तथा बिक्रेताले जनाएका छन् ।
पाठकलाई पढ्न प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष हुने पुस्तक प्रदर्शनीमा यस वर्ष पनि नेपाली तथा विदेशी लेखकका साहित्यिक कृतिहरू प्रदर्शनीमा राखिएका छन् । भारतीय बिक्रेता पनि स्टल लिएर बिक्रीमा बसेका छन् ।
किताबको कम बिक्रीसँगै बिक्रेताले लगानी समेत उठाउन नसक्ने स्थिति आएपनि कुनै प्रकाशकलाई घाटा चाहिँ नहुने आयोजकले बताए ।
‘प्रदर्शनीले आर्थिक फाइदा पु–याएको त छ भन्ने स्थिति छैन तर प्रकाशकले आफ्नो पुस्तकको प्रचार गर्न पाएका छन्,’ आयोजकमध्येका एक शुभम् अग्रवालले भने, ‘तराईको बाढी र देशको परिस्थितिले गर्दा कमै पाठक आउनुभएको छ ।’
उनले भने, ‘दैनिकजसो हुने पुस्तक विमोचन, हस्ताक्षर र सबैखाले विदेशी पुस्तक एकैठाउँमा पाइने भएकाले दर्शकलाई लाभ मिलेको छ ।’
रीडमोर पब्लिकेशनका मार्केटिङ म्यानेजर राजकुमार गिरीले पहिलेको तुलनामा यसपटक पुस्तकप्रेमीको कम उपस्थिति देखिएको स्वीकारे । निरन्तर परिरहेको पानीले पनि प्रदर्शनीलाई प्रभाव पारेको उनले अड्कल काटे ।
‘प्रदर्शनीको कम प्रचार हुँदा समेत दर्शकको उपस्थिति कम भएको हो,’ गिरीले थपे, ‘अलिअलि पाठक त आउनुभएको छ तर हामीले सोचेजति पाठकको उपस्थिति भएन ।’

उनले काठमाडौंका शैक्षिक संस्थामा गएर प्रदर्शनीको निमन्त्रणा पठाएपनि विद्यालयले खासै चासो नदेखाएको बताए । ‘सरकारी विद्यालयमा परीक्षा चल्दै गरेकाले विद्यार्थी आएनन्, प्राइभेट स्कूलको उपस्थिति पहिलेभन्दा कम देखिएको छ ।’
‘विद्यार्थीको पुस्तक पढ्ने बानी घट्दै गएको हुनसक्छ । प्रविधिले पनि पुस्तक किन्ने पाठकलाई प्रभावित पारेको छ,’ उनले थपे ।
प्रदर्शनीमा भेटिएका नेसनल ल कलेजमा कानून पढ्दै गरेका रौनिक अर्यालले हरेक वर्ष पुस्तक प्रदर्शनीमा आएर आफूलाई मनपर्ने पुस्तक किन्ने गरेको बताए । सबैखाले पुस्तक एकैस्थानमा पाउने भएकाले पनि प्रदर्शनी आफ्नो रोजाइमा परेको उनले बताए ।
‘यहाँ आफूले खोजेको पुस्तक पाइने गरेकाले पनि हरेक वर्ष केही पुस्तक किनेर जाने गरेको छु,’ उनले थपे, ‘प्रदर्शनीमा प्रवेश गर्न टिकटको व्यवस्था हुँदा केही पाठकलाई अप्ठ्यारो पार्न सक्छ तर साँचो पुस्तकप्रेमीले टिकटको मतलब गर्नुहुन्न ।’
विद्यालय पोशाकमा आएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था भएपनि सर्वसाधारणले तीस रुपैयाँको टिकट काट्ने व्यवस्था छ । परिचयपत्र हुनेले भने पन्ध्र रुपैयाँको टिकट काटे पुग्छ ।

मनोविज्ञानका विद्यार्थी श्रेया सिजापती र रिता श्रेष्ठले भने प्रदर्शनीमा आफूले खोजेजस्तो पुस्तक नपाएको बताए । ‘मनोवैज्ञानिक थ्रिलर उपन्यास खोजेका हौं, केही त पायौं तर सबै पाएनौं,’ सिजापतीले सुनाइन्, ‘मनोविज्ञानको विद्यार्थी भएकाले यस्ता खालका उपन्यासमा अलि बढी रुचि छ ।’
त्यस्तै श्रेयासँगै आएकी रिता श्रेष्ठले गतवर्ष भन्दा यस वर्ष दर्शकको संख्या धेरै कम भएको बताइन् । ‘पहिले भीड नै हुने गर्थ्यो, अहिले भने धेरै कम आउनुभएको देखियो,’ उनले मुस्कुराउँदै सुनाइन्, ‘यसपटक बालबालिका स्टल पनि बढी रहेछन् ।’
सांग्रिला बुक्सको स्टलमा बसेकी अञ्जु दाहालले पहिलेको तुलनामा पुस्तकप्रेमीको कम उपस्थिति रहेको बताइन् । ‘व्यापारको हिसाबले त हाम्रो लगानी उठ्न पनि गाह्रो छ, पाठकको उपस्थिति कम छ,’ उनले भनिन् ।
उनकै कुरालाई समर्थन गर्दै पाँचपोखरी बुक्सका राम श्रेष्ठले पनि पैसाको हिसाबलाई हेर्ने हो घाटा हुने बताए ।
‘हामीले यहाँ आएर व्यापार गर्दा व्यापारिक हिसाबले त हरेक वर्ष घाटा नै खाएका हुन्छौं तर यसलाई प्रचारको हिसाबले हेर्ने हो भने फाइदा नै हो,’ उनले भने, ‘पत्रिकामा विज्ञापन प्रकाशन गर्दा जम्मा एकचोटि प्रचार हुन्छ तर एक हप्तासम्म प्रदर्शनीमार्फत हामीले विज्ञापन गर्न पाएका छौं ।’

बुधवारसम्म चल्ने प्रदर्शनीले प्रकाशकलाई प्रचारका लागि फाइदा पु–याएको र पाठकलाई एकैठाउँ छानेर पुस्तक किन्ने अवसर दिएकोले प्रदर्शनीले फाइदै गरेको शुभम् अग्रवालले बताए ।
उनले भने, ‘यस्ता प्रदर्शनीले पाठकमा पुस्तक पढ्ने बानीको विकास र लेखकसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पनि जुटाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।’