फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
लागूऔषध ‘ड्रग्स’ नशामा फसेर जिन्दगी सधैंका लागि बर्बाद भइहाल्छ भन्ने बुझाइ सत्य होइन, लागूऔषधको कूलतबाट निस्किएर पनि सफलता चुम्न सकिन्छ भन्ने उदाहरण बनेका छन् हेटौंडाका सौजन डिसी ।
उनी यतिबेला लागूऔषध दुर्व्यसनीमा फसेका युवापुस्तालाई नयाँ जिन्दगी जिउन उत्प्रेरणा जगाइरहेका छन् ।
उमेरले ३० वर्ष लागेका सौजन डिसी स्कूले जीवनकालमा लागूऔषध दुव्र्यसनीमा फसेका युवा हुन् । मकवानपुरको मनहरी गाउँपलिकामा जन्मेका उनको परिवारमा बुवा, आमा, दिदी र दाइ थिए । सानै उमेरदेखि गीतसंगीतमा रुचि रहेका उनी साथीसंगत र एक्लोपनका कारण लागूऔषध दुर्व्यसनीमा फसे । सानै उमेरदेखि म्युजिक ब्यान्डमा आवद्धता जनाएका उनले ब्यान्डमा रहँदा हेटौंडा विभिन्न स्थानमा प्रस्तुति दिएको सम्झिए ।
उनी भन्छन्, ‘मनहरीमा जन्मे पनि बसोबास हेटौंडामै थियो । घरमा सानैदेखि दाइदिदीहरूसँगै बस्ने, खाने, सुत्ने, खेल्न सँगसँगै हुन्थ्यो । म पनि बढ्दै गएँ । दिदीदाइहरू पनि अध्ययनको सिलसिलामा काठमाडौं जानुभयो तर म चाहिँ हेटौंडामै रहे ।’ ७ कक्षामा अध्ययन गर्दैगर्दा दिदीदाइहरू काठमाडौं गएपछि घरमा एक्लो हुन पुगेको महसूस भएको उनले बताए ।
त्यसलगत्तै एक्लोपनकै कारण सौजन नयाँ–नयाँ साथी बनाउन पुगे । यसैक्रममा उनको साथीसंगत म्युजिक ब्यान्डका साथीहरूसँग भयो । गितार, ड्रम र बासुरी बजाउन जानेका उनी सजिलै म्युजिक ब्यान्डका साथीहरूसँग नजिक भए । ब्यान्डमा रहँदा अन्य साथीहरूसँगै चुरोटबाट शुरू गरेका उनले लागूऔषध हिरोइनसम्म प्रयोग गर्न थाले ।
उनी भन्छन्, ‘मेरो घर फरेस्टी नजिक छ । तर त्यो समयमा म चुरोट खानकै लागि हेटौंडा–१० राप्ती खोलामा लुकीलुकी ढुंगा पछाडि पुगेको हुन्थे ।’ सानै उमेरमा गाँजा समेत खान सिकेका उनी मकवानपुरको भिमफेदी गाउँपालिकास्थित खोप्लाङमा एक वृद्धले आफूलाई गाँजा बिक्री गर्ने गरेको सम्झिन्छन् ।
उनले भने, ‘त्योे समयमा त्यहाँ रहेको वृद्धमार्फत नै हेटौंडामा गाँजा आउने गरेको थियो । त्यहीँबाट गाँजा खाने युवाहरूले किनेर ल्याउँथे र खाने गर्थे । म पनि साथीहरूमार्फत नै त्यहाँ पुगेको थिएँ ।’ चुरोटबाट गाँजा खान शुरू गरेका उनले २ वर्षसम्म गाँजाको प्रयोग गरेको सुनाए । त्यसपछि अन्य ड्रग्स, हिरोइन, ब्राउन सुगरसम्म प्रयोग गर्न पुगेको उनले बताए । ११ वर्षसम्म लागूऔषध दुर्व्यसनीमा फसेका उनी त्यसबखत आफूलाई आवश्यक लागूऔषध किन्न हेटौंडाबाट रक्सौलसम्म पुग्थे ।
उनको दिनचर्या यसरी नै बित्दै थियो । उनको पढाइ क्रमशः बिग्रिँदै गयो । उनी पहिलेको तुलनामा दुब्लाउँदै गएको, घरमा पैसा हराउन थालेको र साथीभाइहरूसँग झगडा हुन थालेपछि लागूऔषध खान्छ कि भनेर घरमा शंका भएको उनले बताए । ‘त्यसपछि मलाई खान छोड्छ कि भनेर धामीझाँक्री सबैतिर लानुभयो,’ उनले भने, ‘शुरूशुरूमा मैले ड्रग्स युज गर्छु भन्ने कुरा घरमा थाहा नहुँदा सबै कुरा ठीक थियो । मागेको पैसा पाउँथें भने विश्वास थियो सबैको तर पछि त्यो रहेन । मैले विश्वास गुमाए भने पैसाको अभाव हुन थाल्यो । ड्रग्स खान पैसा नभएपछि म झनै अर्कै भए । साथीभाइलाई थर्काउने, मोबाइल लिने र बेच्ने, घरका सामानहरू लगेर बिक्री गर्ने र आएको पैसाले ड्रग्स किनेर खाने गर्न थाले । यो क्रम निरन्तर चल्यो ।’ यसबीच परिवारले उनलाई लागूऔषधको दलदलबाट उम्काउन अनेक उपाय लगाए तर सफल हुन सकेन ।
त्यसबीच उनले विवाह समेत गरिसकेको बताए । उनले भने, ‘मेरो लभ म्यारिज भएको थियो ।’ ११ वर्ष ड्रग्स युज गरेका उनले जिन्दगीमा अनेकौं उतारचढावहरू भोगेको बताउँदै त्यो जीवनकै पीडादायी क्षण रहेको बताए । उनी भन्छन्, ‘२०७२ सालमा हामीले पहिलो सन्तानको रूपमा छोरा सियान पायौं । छोरो जन्मिँदा पनि भूकम्प र त्यसको पराकम्पन आइरहेकै थियो । छोरो भइसकेपछि मलाई पनि अब ड्रग्स छोड्छु, छोराका लागि भए पनि ड्रग्स छोड्नुपर्छ भन्ने लाग्यो । त्यही क्रममा म अचानक धेरै बिरामी भएँ । अस्पताल जचाउन जाँदा लिभरमा धेरै खराबी देखियो । अहिले पनि लिभरकै समस्या छ, मेडिटेसन गरिरा’को छु । ड्रग्सकै कारणले लिभर वरिपरि फोहोर र टक्सिनहरू जम्मा भएर बिग्रेको रहेछ । लिभरलाई फेर्न नमिल्ने तर रिकर्भर गर्न मिल्ने कुरा अस्पताल पुगेपछि थाहा पाएँ ।’
यसबीच पनि भूकम्पको पराकम्पन गइरहेकै थियो, सबै जना खुला ठाउँमा बस्ने गर्दथे । सौजनको परिवार पनि खुला चौरमै बसेको थियो । अस्पतालबाट घर गएका उनी बेलुका परिवारका सदस्यहरू सबैलाई आफूले ड्रग्सले छाड्न चाहेको इच्छा व्यक्त गर्छन् । उनका गलत क्रियाकलाप देखेर वाक्क भएका परिवारका सदस्यको मुहारमा त्यसबेला हर्ष प्रकट हुन्छ ।
उनको कुराले खुशी भएका दिदीदाइले पुनःस्थापना केन्द्र लैजाने र ड्रग्स छुटाउन सहयोग गर्ने बताए । उनको कुराले परिवारमा छाएको खुशीसामु सौजनले एउटा आग्रह गरे – अब सधैं छाड्छु, काठमाडौं जान्छु तर अन्तिमपटक खाएर छोड्छु । उनले अन्तिम पटकका लागि आमासँग पैसा मागे । आमाले पनि छोराले भोलिदेखि खान छोड्छ भन्दै खुशी हुँदै जसोतसो पैसा दिइन् । आमाबाट पैसा पाएपछि उनले काठमाडौं जाने भनिएको अघिल्लो दिन साँझ ड्रग्स ल्याए र खाए ।
भोलिपल्ट बिहान उनी सुधार केन्द्र काठमाडौं गए । उनी सुधार केन्द्रमा बस्ने प्रक्रिया मिलाइरहेका थिए । राति श्रीमतीले ‘छोरा एकदम बिरामी छ, काठमाडौं ल्याउनुपर्ने भयो’ भन्दै फोन गरिन् । उनले जवाफ दिए, ‘त्यसो भए छोरा ल्याएर तिमीहरू काठमाडौं आऊ ।’
उनले भने, ‘भोलिपल्ट बिहान बाबु ल्याएर उनी आइन्, म बल्खु गए । त्यहाँ पुगेर छोरा बोक्दा छोरामा श्वास नै थिएन । हतारहतार गर्दै नजिकै रहेको अस्पताल लग्यौं । त्यहाँ उपचार हुन नसकेपछि कान्ति हस्पिटल लग्यौं । कान्ति हस्पिटलमा पनि २–४ घण्टा उपचारको प्रयास भए तापनि सफल हुन सकेन । पहिलो सन्तान सियान छोरालाई गुमाउनुपर्यो ।’
त्यसबीच पनि उनी हेटौंडाबाट लगेको ड्रग्स प्रयोग गरिरहेका थिए । साँझ प्रयोग गरेको ड्रग्सको नसा पूर्णरूपमा सकिएको थिएन । छोरा बित्दाको क्षण सम्झिएर निराश हुँदै उनी भन्छन्, ‘मलाई त्यो समय सपना जस्तै भएको थियो । मलाई ड्रग्सको नसाले छोडेकै थिएन । म एउटा आँखाले देख्दा कस्तो हुन्छ ? त्यस्तै ब्लर देखिरहेको थिए, झुमझुम भइरहेकै अवस्था थियो । मलाई मेरो बच्चा बितेको नि थाहा भइरहेको थियो, सब देखिरहेकै थिए तर पनि मेरो आँखाबाट १ थोपा पनि आँसु झरेन । त्यो समय म ड्रग्सकै नसामा थिए ।’
एउटा सानो औषधिको कार्टुनभित्र राखेर अस्पतालले बच्चालाई फिर्ता दिएको उनले बताए । त्यो कार्टुनभित्र रहेको बच्चा काँखमा राखेर उनले काठमाडौंदेखि हेटौंडा ल्याए । प्रेम विवाह भएकाले त्यतिञ्जेलसम्म पनि उनले श्रीमतीलाई घरमा भित्र्याएका थिएनन्, सौजनले बाहिरै कोठा लिएर राखेका थिए ।
‘छोरा सियानको ज्युँदो रहदाँसम्म १ घण्टा पनि कहिल्यै काँखमा राखेर खेलाइनँ, मैले त्यो मौका नै पाइनँ । ड्रग्सकै नसामा हुन्थें, प्रायः त्यसैको कारण खेलाउने अवसर नै पाइनँ तर मरेपछि भने काँखमा छोराको शव बोकेर ४ घण्टाको बाटो हुँदै हेटौंडा ल्याएँ,’ उनी भन्छन्, ‘मैले त्यो समय आएर बुझें – ड्रग्सले के गर्दो रहेछ भन्ने । बच्चा ज्युँदो हुँदासम्म मैलै कहिल्यै वास्तै गरिनँ, मैले गर्नुपर्ने कामहरू केही पनि गरिनँ । त्यो बेला आएर बुझे – ड्रग्सले मलाई मात्र होइन, परिवारलाई पनि मार्ने रहेछ ।’ उनकी श्रीमती पनि सौजनको घर पहिलोपटक त्यही दिन छोरा निधन भएपछि प्रवेश गरिन् भने सौजन छोराको शव बोकेर खोलातिर गए ।
उनी खोलाबाट फर्किंदा घरमा रुवाबासी चलिरहेको थियो तर उनी भने ड्रग्स नै खोजिरहेका थिए । ‘बाहिर परिवारका सदस्यहरू शोकमा रोई–कराई गरिरहँदा म भने भित्रै साथीले लुकाएर ल्याइदिएको ड्रग्स प्रयोग गर्दै थिए । छोराको शोकमा घरभित्र बसिरहँदा पनि निरन्तर ड्रग्स प्रयोग गरें,’ उनी भन्छन्, ‘जुठो सकिएपछि अन्तिममा लाग्यो – जसका लागि सुध्रिन भनेर पुनःस्थापना केन्द्र जाँदै थिएँ, उही नरहेपछि किन सुध्रिन ? त्यसपछि झनै मैले ड्रग्सको प्रयोग बढाएँ ।’ यसबीच घरपरिवार, समाज र साथीसंगीबाट विश्वास गुमाइसकेका उनले ड्रग्सको प्रयोगका साथै बिक्रीवितरण गर्न पनि शुरू गरे ।
ड्रग्सको प्रयोग गर्न आर्थिक समस्या भएपछि भारतीय सिमाना रक्सौलसम्म पुगेर ड्रग्स हेटौंडा ल्याउने र पाएको पैसाले फेरि आफूले ड्रग्स किनेर खाने गरेको उनले सम्झिए । उनी फेरि भन्छन्, ‘त्यस्तै गर्दै मेरा दिनहरू बितिरहेका थिए, पछि परिवारले अब यो पनि मर्छ, यसलाई जसरी भए पनि एउटा पुनःस्थापना केन्द्रमा लैजाने भनेर निर्णय गरे ।’ परिवारले पुनःस्थापना केन्द्रमा पुर्याइसकेपछि आफू सुध्रिएको उनले बताए ।
केन्द्रमा गएको १०–१५ दिन निकै गाह्रो भए पनि बिस्तारै आफूमा परिवर्तन आएको उनले बताए । उनी २ महिना २ दिन केन्द्रमा बसेर सुध्रिए भने छोरा पनि जन्मेको २ महिना २ दिनमै बितेको संयोग मिल्न पुग्यो ।
छोराकै सम्झनामा सिआन पुनःस्थापना केन्द्र
केन्द्रमा रहँदा जीवनको महत्त्व बुझेर फर्केका उनले समाजमा रहेका आफूजस्तै लागूऔषध दुर्व्यसनीमा फसेका युवाको जीवन रूपान्तरणमा योगदान गर्ने निधो गरे । ‘मैलै आफ्नो कुरा आमालाई भनें, आमाले तैले त्यसरी ट्यापे, मुन्द्रेलाई हेर्न थालिस् भने तेरो परिवारको ईज्जत कहाँ पुग्छ भन्दै प्रश्न गर्नुभयो । घरमा आमा, दाइ, दिदी, श्रीमती सबैलाई भनें तर गर्नु भनेर कसैले भनेनन् । त्यसको अलवा मैले आफन्तहरूलाई पनि भनें तर उनीहरूले तँ सुध्रिस्, भैहाल्यो नि भने । मैले बल्लबल्ल घरमा कन्भिन्स गराएँ र आमाले ७५ हजार रुपैयाँ हातमा थामिदिनुभयो,’ उनी त्यो दिन सम्झिँदै भन्छन्, ‘आमाले ७५ हजार तलाई ऋण भयो, तैले तिनुपर्छ भन्दै दिनुभयो ।’ त्यसलगत्तै २०७३ मंसिर २२ गते छोरा सिआनको नाममा सिआन पुनःस्थापना केन्द्र हेटौंडाको जन्म भएको उनले बताए ।
हाल १ छोरा र १ छोरी भए तापनि पहिलो सन्तानकै सम्झना स्वरूप सिआनकै नामबाट चलेको संस्थाले लागूऔषध दुर्व्यसनीहरूको उपचारबाहेक टोल समाज र विद्यालयमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू गर्ने गरेको छ ।
हेटौंडा–९ सिमेन्टं रोडमा ७ कोठामा ५ जनाका लागि भनेर शुरू भएको संस्थामा १ महिनामै थप २०–२२ जना राख्ने कुरा आएको उनले बताए । त्यसपछि आफूजस्तै युवा पुस्ता लागूऔषध दुर्व्यसनीको दलदलबाट निस्किने बाटो खोजिरहेकोप्रति काम गर्न झनै इच्छा बढेको उनले बताए । २ वर्ष त्यहाँ रहेको संस्था पछि लामसुरे हुँदै अहिले आफ्नो जग्गा र भवनमा सञ्चालनमा छ ।
हालसम्म लागूऔषध दुर्व्यसनीमा लाग्दै गरेका ४ हजार ५८६ जनालाई उनले पुनःस्थापना केन्द्रमार्फत सुधार गरिसकेका छन् । संस्थाले अहिले लागूपदार्थ दुर्व्यसनीमा लाग्दै गरेका र लागेका ७५ जना विभिन्न उमेर समूहका व्यक्तिको उपचार गरिरहेको छ । मकवानपुरसहित देशका विभिन्न जिल्ला र भारतबाट पनि उपचारका लागि आउने गरेका उनले बताए । सिआन पुनःस्थापना केन्द्र स्थापनापछि र संस्थाले गरेको काम देखेर सबैले साथ, सहयोग गरिरहेका भन्दै उनले खुशी व्यक्त गरे ।
‘सिआनमा हालसम्म राज्यका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीदेखि नेतासम्म आएर बसेका छन्,’ उनले भने, ‘लागूपदार्थ दुर्व्यसनीमा फसेर यहाँ आएपछि निस्केर गएकाहरू अहिले विभिन्न क्षेत्रमा क्रियाशील भएको देख्दा खुशी लाग्छ ।’
प्रतिव्यक्ति १५ हजार रुपैयाँ मसिक लिएर उपचार गरिरहेको सिआनले आर्थिक स्थिति कमजोर भएकाहरूलाई निःशुल्क राख्ने गरेको छ । लागूपदार्थ दुर्व्यसनीमा फसेका र फस्न सक्ने युवा पुस्ताको जमात ठूलो भए तापनि यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकार चिन्तित भए पनि कार्यक्रम नदेखिएकोमा उनले दुःख व्यक्त गरे ।
उनले भने, ‘युवा पुस्ता लागूपदार्थ दुव्र्यसनीमा फस्ने क्रम दिन प्रतिदिन बढ्दो छ । पहिले चुरोट, गाँजा हुँदै अन्य ड्रग्सको प्रयोग गर्थे तर अहिले सिधैं सजिलै औषधि पसलमा फार्मेटिकल ड्रग्स पाइन्छ । अहिलेका युवा त्यहीँबाट शुरू गर्छन् भने कोही चुरोटबाट सिधैं सूइँमा पुगेको पनि हामीले भेटेका छौं । औषधि पसलहरूमा सम्बन्धित सरकारका निकायहरूले अनुगमन बढाउनुपर्ने देखिन्छ ।’
सरकारले लागूपदार्थ आयात हुनसक्ने क्षेत्र भारतीय सीमामा कडाइ गर्ने, दुर्व्यसनीहरूको पहिचान गर्दै उपचारमा पठाउने र नयाँ युवामा जनचेतना अभिवृद्धिका कार्यक्रम ल्याएर कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...