१४ असार २०८३, आइतबार
उपनिर्वाचन विशेष

बारा- २ को चुनाव : राजनीतिक मैदानमा कि उपेन्द्र जिताउने, कि त हराउने अभियान !

बैशाख ७, २०८०
बारा- २ को चुनाव : राजनीतिक मैदानमा कि उपेन्द्र जिताउने, कि त हराउने अभियान !

बारा- २ मा तापक्रम बढ्दै जाँदा चुनावी गर्मीको पारो पनि उत्कर्षमा पुगेको छ । आममतदाताले नयाँ प्रतिनिधि कसलाई छान्ने भन्ने मुड बनाइसकेको देखिन्छ । ३४ जना उम्मेदवार उठेको भएपनि मुख्य प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाबीच नै देखिएको छ ।

कुशवाहा यसअघि सम्पन्न भएको निर्वाचनमा तत्कालीन पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भएर झिनो मतान्तरले पराजित भएका थिए । अहिले उनी जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।

null

त्यसबाहेक नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आमजनता पार्टीबाट अरुणकुमार ज्ञवाली समेत चुनावी मैदानमा भिडेका छन् ।

२०७९ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा जसपाले जीत हात पार्न सफल भएपनि वैशाख १० गते हुने उपनिर्वाचनमा भने जसपालाई विरासत जोगाउन चुनौती थपिएको छ ।

null

२०७९ मंसिरमा जसपाका रामसहाय प्रसादयादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा- २ मा उपनिर्वाचन हुन लागेको हो ।

बाहिरबाट झट्ट हेर्दा चुनावी गणितमा उपेन्द्र धेरै अगाडि देखिए पनि ग्राउन्डमा भने उनलाई जिताउने र हराउने दुवै अभियान सँगसँगै अगाडि बढेको देखिन्छ ।

यसअघि सप्तरी- २ मा उपेन्द्रलाई पराजित गरेका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत नै अहिले उपेन्द्रका लागि सबैभन्दा ठूलो तगारो बनेका छन् ।

null

उपनिर्वाचनबाट संसद छिर्ने तयारी गरेका उपेन्द्रलाई रोक्न सीके राउत आफैं अग्रसर भएपछि उनलाई सहज देखिएको छैन ।

संगठन नै नभए पनि बारा-  २ मा जनमत पार्टीको पक्षमा जबरजस्त माहोल देखिन्छ ।

महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर घर भएका रामअशिषेप्रसाद साह जनमत पार्टीलाई नै मतदान गर्ने बताउँछन् ।

बाराको प्रसिद्ध गढीमाई मन्दिरकै छेउमा सिंगार पसल सञ्चालन गरेका साहले यसपटक जनमतका उम्मेदवार शिवचन्द्र  कुशवाहालाई मतदान गर्ने बताए ।

null

'पटक-पटक जसपाले चुनाव जिते पनि क्षेत्रमा विकासको केही काम भएको छैन,' साहले लोकान्तरसँग भने, 'विगतमा पनि पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेका कुशवाहाले जित्न सकेनन् । यसपटक पनि गठबन्धनको उम्मेदवार उपेन्द्रजीलाई मुस्किल नै छ ।'

दलगतभन्दा पनि जातिगत आधारमा यादव तथा गैरयादवबीच ध्रुवीकरण भएका कारण कुशवाहा जित्ने सम्भावना रहेको उनको दाबी छ ।

'गत निर्वाचनमा स्वतन्त्रबाट रामकिशोर यादव, रवीन्द्रप्रसाद यादव उम्मेदवार थिए । तर यसपटक उपेन्द्रकै लागि तीमध्ये कोही पनि उम्मेदवार नहुँदा यादव जातिको ध्रुवीकरण भएको जस्तो हामीलाई लागेको छ,' उनले थपे, 'त्यसैले यादव बाहेकका अन्य जाति पनि एकजुट भएको स्थिति छ ।'

null

महागढीमाई नगरपालिकाको बबुआइन गाउँमा भेटिएका जगरनाथ गिरी भने उपेन्द्र यादवले नै जित्ने ठोकुवा गर्छन् । उनी कांग्रेसका कार्यकर्ता हुन् ।

'यसपटकको चुनावमा कांग्रेस इमान्दारीपूर्वक लागेको छ । त्यस कारण पनि उपेन्द्रजी फराकिलो मतान्तरले चुनाव जित्नुहुन्छ,' गिरीले लोकान्तरसँग भने ।

महागढीमाई नगरपालिका वडा नम्बर ६ लक्ष्मनवा गाउँमा भेटिएका अतिउल्लाह देवान पनि जसपा र जनमतबीच नै प्रतिस्पर्धा रहेको बताउँछन् ।

'यहाँ कि छाता को भोट छ कि त हर्न छापको भोट छ । दुवैबीच कडा टक्कर छ । दुईमध्ये एकले चुनाव जित्ने हो,' देवानले लोकान्तरसँग भने, 'यादव जाति एकत्रित रहन सक्यो भने उपेन्द्रजीको जीत ठोकुवा हो । विभाजित भयो भने जनमतले जित्छ ।' आफूहरूले भने हर्न छापमा मतदान गर्ने उनले खुलाए ।

null

पचरौता नगरपालिका वडा नम्बर ९ कुडवा गाउँमा भेटिएका ५७ वर्षीय हितलाल यादव उपेन्द्र यादवको जीत सुनिश्चित रहेको ठोकुवा गर्छन् ।

'मधेश आन्दोलनको नेतृत्वकर्ता तथा पार्टी अध्यक्ष समेत भएकाले पनि मतदाताले उपेन्द्रजीलाई मतदान गर्छन्,' उनले लोकान्तरसँग भने, 'जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा दबंग तथा बाहुबली नेता भएकाले धेरैले उनलाई रुचाएका छैनन् ।'

पचरौता नगरपालिका वडा नम्बर ८ बजिरपट्टिमा भेटिएका  ८० वर्षीय विरण राउत यादव भने आफूहरूले नेकपा एमालेमा मतदान गर्ने बताउँछन् । 'नेकपा एमालेकै कारण वृद्ध पेन्सन हामीले पाएका छौं । नुन खाएपछि नुनको त सरियत दिनैपर्छ,' यादवले लोकान्तरसँग भने, 'गाउँका मानिसले छाता र हर्न भने पनि म सूर्यमा नै मतदान गर्छु ।'

null

सोही गाउँमा भेटिएका २९ वर्षीय गौरीशंकर प्रद यादव पनि आफूहरू सूर्यमा नै मतदान गर्ने बताउँछन् ।

'मेरो बुवा गोबरीप्रसाद यादव एमालेबाट नै २० वर्षसम्म मुखिया बन्नुभयो,' उनले लोकान्तरसँग भने, 'जातिको नाममा हामीले छाता छापलाई भोट हाले पनि जसपावालाहरूले पत्याउँदैनन् । त्यसैले आफ्नै पार्टी एमालेमा मतदान गर्छु ।'

आफ्नो गाउँमा जसपाको ६ सय, एमालेको ४ सय  र जनमतको २ सय मत आउने अनुमान उनले सुनाए ।

महागढीमाई  नगरपालिका वडा नम्बर ४ मा भेटिएका शिवा पासवान भने हर्न छापमा नै मतदान गर्ने बताउँछन् ।

null

सोही नगरपालिकाको वडा नम्बर ८ धर्मपुरमा भेटिएका भल्लुप्रसाद यादव र जयचन्द्रप्रसाद यादव दुवैले छाता र हर्नबीच नै प्रतिस्पर्धा रहेको बताए ।

'जसपा र जनमतबीच प्रतिस्पर्धा रहे पनि यो गाउँमा छाताकै माहोल छ,' उनीहरूले लोकान्तरसँग भने ।

सोही वडाको बेतौनामा भेटिएका श्यामकुमार प्रसाद बरईले आफ्नो गाउँमा छाता, हर्न र मोबाइल (प्रभु साहको पार्टी)को मात्र भोट रहेको बताए । तीनै पार्टीबीच यहाँ प्रतिस्पर्धा हुने उनले बताए ।

पचरौता नगरपालिकाको वडा नम्बर १ पिपरपातीमा भने अधिकांश मत हर्नको रहेको लोसपाका एक नेताले बताए ।

null

 चौकमै १२ जना जतिको समूहमा चियापसलमा भेटिएका उनीहरूले नाम र फोटो नलिन आग्रह गरेका थिए ।

'यो वडामा लोसपाका विनय सिंह वडाध्यक्ष छन् । तर लोसपाको मत उपेन्द्रमा नगएर हर्नमा जान्छ,' उनीहरूले भने, 'यो गाउँमा जसपा र लोसपाबीच नै संघर्ष हुँदै आएकाले गठबन्धनबाट लोसपा सन्तुष्ट छैन ।'

करीब १ हजार जति मत हर्नमा जाने, ४०० मत छातामा र १२५ मत सूर्यमा जाने उनीहरूले अनुमान गरे । लोसपाका वडाध्यक्ष सिंहलाई कुल २३ सयमध्ये १७ सय मत परेको थियो ।

त्यसो त पचरौता नगरपालिकामा एमालेका जलन्धर सिंह मेयरमा निर्वाचित भएपनि समग्र पालिकामा एमालेभन्दा जसपा र जनमतमा नै मत जाने उनीहरू बताउँछन् ।

'प्रदेश सभामा स्वतन्त्र उम्मेदवार रहेका प्रभुनाथ पटेल जनमत पार्टीमा प्रवेश गरेका कारण पनि जनमतको माहोल बढेको छ,' उनीहरूले लोकान्तरसँग भने ।

देवताल गाउँपालिकाको वडा नम्बर ४ पिपराढीको एक पसलमा भेटिएका तीनजनाले आफूहरूले हर्नमा मतदान गर्ने बताए ।

null

७५ वर्षीय भोला गिरी, ६० वर्षीय सुदामा सहनी र ७० वर्षीया अमिरका ठाकुरले हर्नकै माहोल रहेको एक स्वरमा बताए ।

'उपेन्द्र यादव बाहिरबाट आएको उम्मेदवार हो । हामीले यहीँका स्थानीय नेतालाई जिताउनका लागि पनि जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई मतदान गर्छौं,' उनीहरूले लोकान्तरसँग भने ।

उक्त गाउँपालिकाका पूर्वअध्यक्ष चन्दन सिंह, जिल्ला समन्वय समितिका पूर्व प्रमुख समेत रहेका लोसपाका बारा अध्यक्ष नवलकिशोर सिंह समेतका नेताहरू जनमतको पक्षमा लागेकाले पनि जनमतको माहोल राम्रो भएको उनीहरू बताउँछन् ।

तर, सोही गाउँमा भेटिएका मनोज सिंह र सराजुल मियाँले भने आफूहरूले छातामा नै मतदान गर्ने बताए ।

'उपेन्द्रजी राष्ट्रिय नेता भएकाले पनि हामी उहाँलाई नै मतदान गर्छौं,' उनीहरूले लोकान्तरसँग भने ।

null

उनीहरूले पनि उक्त वडामा जसपा कमजोर रहेको स्वीकार गरे । तर, सोही पालिकाको वडा नम्बर २ गम्हरियामा भने अधिकांश मत छाताकै रहेको उनीहरूको भनाइ छ ।

'जसपाबाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष उदयचन्द्र यादव नै उक्त गाउँको भएकाले त्यहाँ छाताको वर्चस्व छ,' उनीहरूले लोकान्तरसँग भने । 

सोही गाउँमा भेटिएका अमरेश कुमार पाण्डे भने गाउँमा माहोल हर्नकै भए पनि आफ्नो परिवारले रमेश खरेललाई मतदान गर्ने बताउँछन् ।

'म रवि लामिछानेको फ्यान नै हो । त्यसकारण पनि म र मेरो परिवारको मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई जान्छ,' पाण्डेले खुलाए ।

null

महागढीमाई नगरपालिकाको वडा नम्बर ७ बेनौलीको एक पसल अगाडि भेटिएका ५-७ जनाको समूहमध्ये कसैले छाता त कसैले हर्न र कसैले मोबाइलको माहोल रहेको बताए ।

३१ वर्षीय अनिल साह र ५० वर्षीय भुट्टाप्रसाद पासवानले छातामा मतदान गर्ने बताए भने ६५ वर्षीय पल्टुप्रसाद कलवारले हर्नमा मतदान गर्ने बताए ।

यसरी बारा-२ को विभिन्न पालिकामा अन्यको केही मत भए पनि मुख्य प्रतिस्पर्धा छाता र हर्नमै हुने देखिन्छ । धेरैजसो स्थानीयले माथि गठबन्धन भए पनि आम जनतामा त्यसको प्रभाव नरहेको दाबी गरे । बारा- २ मा उपेन्द्र यादव जिताउ र हराउ दुवै अभियान चलिरहेको देखिन्छ । कतिपय स्थानमा हराऊ अभियानकै स्वर ठूलो सुनिन्छ ।

पार्टी र उम्मेदवारभन्दा पनि  यादव भर्सेस गैरयादव, यादव भर्सेस पच्कुनियाको ध्रुवीकरण देखिएको  छ । जनमत पार्टीको संगठन नै नभए पनि उपेन्द्र यादवलाई हराउनका लागि भन्दै एन्टी उपेन्द्र यादवको मत जनमत पार्टीतर्फ जाने स्थानीयहरू बताउँछन् ।

गठबन्धनका कारण  नेपाली कांग्रेस र लोसपाको आफ्नै उम्मेदवार लामो समयदेखि नउठ्दा माथि नेताहरूले गर्ने गठबन्धनविरुद्ध गठबन्धनका उम्मेदवारलाई हराउनका लागि कांग्रेस र लोसपाका कार्यकर्ताहरूले विद्रोह गर्ने गरेको हुनाले पनि जनमत पार्टीलाई देखिनेगरी भन्दा चुपचाप मतदान हुने धेरैजसोले बताए ।

null

त्यसो त कतिपय भने प्रभु साहका उम्मेदवारले ल्याउने मतले चुनावी नतिजा प्रभावित पार्न सक्ने दाबी गर्छन् । उनले जसपाभन्दा जनमतमा जाने मत काट्ने सम्भावना रहेको स्थानीयको दाबी छ ।

१ लाख ५ हजारभन्दा बढी मतदाता रहेको उक्त क्षेत्रमा सबैभन्दा बढी झन्डै १८ प्रतिशत यादव जातिका मतदाता छन् । १४ हजार १६७ पुरुष र १० हजार ३३३ महिला गरी कुल २४ हजार ५ सय यादव जातिका मतदाता छन् ।

त्यसैगरी थारु र कलवार समेत गरी चौधरी थरका ७.१ प्रतिशत मतदाता छन् । जसमध्ये ३.८ प्रतिशत थारु र ३.३ प्रतिशत कलवार जातिका छन् । ६ हजार ४९२ मुस्लिम मतदाता छन् भने ४ हजार ६७२ मतदाता कुशवाहा छन् । ३.१ प्रतिशत कानु, २ .१ प्रतिशत तेली छन् ।

मधेशमा पार्टीगतभन्दा पनि जातिगत आधारमा मतदान हुने गरेकाले सबै उम्मेदवारहरूले त्यहीअनुसार रणनीति बनाएर चुनावमा विभिन्न जातिका जातिगत अगुवा, माइजन तथा नेताहरूलाई आ-आफ्नो तर्फ मत तान्न परिचालन गरेका छन् ।

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्