०३ साउन २०८३, आइतबार
जहाजलाई चराको जोखिम

फ्लाई दुबई प्रकरणले बल्झाएको चिन्ता: आसपासका रेस्टुरेन्ट, सेकुवा र वधशाला नहटाए सधैं जोखिम !

दिनमा चरा धपाउन डिभाइसको प्रयोग, रातिमा छैन कुनै विकल्प
बैशाख १२, २०८०
फ्लाई दुबई प्रकरणले बल्झाएको चिन्ता: आसपासका रेस्टुरेन्ट, सेकुवा र वधशाला नहटाए सधैं जोखिम !

साेमवार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको जहाजमा चरा ठोकिएको दाबी जहाज सञ्चालक वायुसेवा कम्पनी फ्लाई दुबईले गरेको छ ।

उक्त विमानमा ठूलो तथा अस्वाभाविक आवाज आएको तथा तलैबाट आगोको मुस्लो देखिएको थियो ।

फ्लाई दुबईका प्रवक्ताले विमानमा चरा ठोकिएको दाबी गरे पनि तत्कालीन अवस्थामा चालक दलका सदस्यले त्रिभुवन विमानस्थलस्थित टावरलाई अर्कै जानकारी गराएका थिए ।

'चालक दलले जहाजमा चरा ठोकिएको भन्ने जानकारी गराएका थिएनन् । हामीलाई त 'सस्पेक्टेड इन्जिन प्रोब्लम' मात्र भनेका थिए,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले लोकान्तरसँग भने, 'चालकले कम्पनीको 'फ्रिक्वेन्सी'मार्फत कम्पनीलाई उक्त कुराको जानकारी गराएको हुनाले कम्पनीले त्यसरी भनेको हुनसक्छ ।'

यद्यपि त्यस विषयको सत्यता बुझ्ने प्रयास गरिरहेको तिवारीले बताए ।

उडिरहेको जहाज भारतको दिल्ली नपुग्दै फ्लाई दुबईले उक्त कुरा सार्वजनिक गरेको थियो ।

विमानमा टावरसँग सम्पर्क हुने फ्रिक्वेन्सीजस्तै विमान कम्पनीसँग सम्पर्क गर्न सक्ने फ्रिक्वेन्सी पनि जडान गरिएको हुन्छ । नेपाल वायु सेवा निगममा पनि कम्पनी फ्रिक्वेन्सी छ ।

अन्य विभिन्न कम्पनीका जहाजहरूको आफ्नै कम्पनी 'फ्रिक्वेन्सी' हुन्छ । सोही 'फ्रिक्वेन्सी'मार्फत चालकले इमर्जेन्सी पर्दा सम्पर्क गरेर आफ्नो कम्पनीलाई विमानको स्थितिबारे जानकारी गराउने गर्छन् ।

चरा धपाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही जनशक्ति परिचालन पनि गरिएको महाप्रबन्धक तिवारीले बताए । 'तर, राति उड्ने 'नक्चर्नल बर्ड' ठोकिएको पनि हुनसक्छ,' तिवारीले लोकान्तरसँग भने, 'यद्यपि त्यस विषयमा हामी अहिले बुझ्ने क्रममा नै छौं ।'

विमानस्थल उच्च स्रोतका अनुसार विमानस्थलमा चरा धपाउनका लागि ३/४ वटा 'डिभाइस' समेत जडान गरिएको छ ।

चरा आउनेबित्तिकै त्यो डिभाइस लगेर ठूलो आवाजमा पड्काउने र चरा धपाउने काम गरिन्छ । तर, रातिको समयमा चरा नदेखिने भएकाले उक्त डिभाइस प्रयोग नहुने गरेको उक्त स्रोतले बतायो ।

'खास गरेर विमानस्थल वरिपरि सेकुवा पसलदेखि रेस्टुरेन्ट र वधशाला उल्लेख्य संख्यामा भएका कारण चराहरू आउने गरेका छन्,' विमानस्थलका ती उच्च अधिकारीले लोकान्तरसँग भने, 'अन्य देशमा शहरभन्दा धेरै टाढा अन्तर्राष्ट्रिय विमानस्थल हुन्छ, तर हाम्रोमा बीच शहरमै हुनाले पनि छेउछाउको खोचदेखि अग्लो रुखसम्म चराहरू बसेका हुन्छन् ।'

ती चराहरू बेलाबेला विमानस्थलमा उड्ने गरेको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्व महानिर्देशक पनि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षामा 'बर्ड स्ट्राइक'  ठूलो चुनौती रहेको बताउँछन् ।

'बर्ड स्ट्राइक हाम्रो 'एयर सेफ्टी'का लागि ठूलो चुनौती हो । त्यो कुरा विभिन्न प्रतिवेदनमा पनि उल्लेख छ । विमानस्थल वरपरका बधशाला, सेकुवा कर्नर, रेस्टुरेन्टहरू हटाउने विषयमा कुनै 'बोल्ड डिसिजन' नगर्ने हो भने यो दीर्घकालसम्म हाम्रा लागि चुनौती रहिरहन्छ,' ती पूर्व महानिर्देशकले लोकान्तरसँग भने, 'दिनमा त गाडीमा चढेर 'डिभाइस' पड्काएर चरा धपाउन सकिन्छ । तर, रातिको समयमा त्यसो गर्न नसकिने हुनाले चुनौती देखिन्छ ।'

प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री भने 'बर्ड स्ट्राइक' नेपालको मात्र नभएर 'ग्लोबल' समस्या भएको बताउँछन् ।

'हिजो मात्र अमेरिकामा एउटा जहाज चरासँग ठोक्किएर आगो लागेपछि जहाज ओहायोमा ल्यान्ड गर्‍यो भन्ने समाचार मैले पढेको थिएँ,' क्षेत्रीले लोकान्तरसँग भने, 'त्यसैले 'बर्ड स्ट्राइक'को 'इस्यु' नेपालमा मात्र नभएर ग्लोबल नै हो ।'

उनले थपे, 'उडिरहेको जहाजमा यदि चरा ठोक्कियो भने उसको वास्तविक तौलको १० गुणा बढी भार पर्छ । उदाहरणका लागि १ किलो तौल भएको चरा १० किलो तौल बराबरको भारले ठोक्किने गर्छ । त्यसकारण जहाजमा आगो समेत लाग्छ ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरपर तीन किलोमिटरसम्म रहेका सेकुवा पसल, होटल, रेस्टुरेन्टसहित स्थानीय बासिन्दाले बाहिर फाल्ने फोहोरका कारण चराहरू आकर्षित हुने जोखिम बढ्ने गरेको उनले बताए ।

'मेरै कार्यकालमा त्यस्ता पसलहरूलाई व्यवस्थित पार्नका लागि काठमाडौं महानगरलाई चिठ्ठी लेख्नेदेखि जनचेतना जगाउने कार्यक्रमहरू पनि गरेको थिएँ,' उनले थपे, 'वरपरका ठूल्ठूला रूखदेखि झारसम्म काट्न लगाएको थिएँ ।

सेकुवा पसल सञ्चालन गरे पनि मासुलाई बाहिर नराख्ने, वधशालादेखि रेस्टुरेन्टसम्मको मासुजन्य फोहोर बाहिर नफाल्ने काम गरेर बर्ड स्ट्राइकको जोखिमबाट बच्न सकिने उनको सुझाव छ । 'वरपर रुख तथा झारहरू नहुनु पर्ने हो, यदि त्यो छ भने पनि काट्नुपर्‍यो,' क्षेत्रीले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्