फागुन ७, २०८०
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
बैशाख १५, २०८०
श्री शेरबहादुर देउवाज्यू,
सभापति नेपाली कांग्रेस ।
राजनीतिक भूकम्पको केन्द्रबिन्दु तनहुँको सदरमुकाम दमौली बजारबाट खुलापत्र लेख्दैछु । तपाईंसम्म निमुखाहरूको आवाज पुग्छ कि पुग्दैन थाह छैन । तर, मनभित्रका ज्वारभाटा रोक्न नसकेर यो पत्र लेख्दैछु । सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भान शायद तपाईंलाई पनि होला । शान्त भएर आफूमा समाधान खोज्नेभन्दा पनि अरूलाई खराब देख्ने तपाईंको बदलिएको आदतबाट निराश छु । जनजीविकाको सवालभन्दा तपाईंको प्राथमिकता सरकारमा पुग्ने र टिक्नेमा सीमित रह्यो ।
२०४७ सालको राजनीतिक परिवर्तन हुँदा तोते बोली बोल्दै गरेको म आज ४० वर्षको भएँ । तपाईं २०४८ सालमा गृहमन्त्री भइसकेको मान्छे । २०८० सालमसम्म निरन्तर सरकार सञ्चालनको केन्द्रबिन्दुमा हुनुहुन्छ । नागरिकले तपाईंप्रति भरोसा र विश्वास नगरेको हुन् र ? पहिलो/दोस्रोपटक प्रधानमन्त्री हुँदासम्म तपाईंप्रति जनताको उभार कस्तो थियो ? सम्झना छ ?
तपाईं साँच्चिकै क्रान्तिकारी हुनुहुन्थ्यो । तर ती सबै विगत भइसके । तपाईंका लागि ज्यानको बाजीसम्म लगाउन तयार जनमत थियो । तर अब तपाईंसँग समय छैन । नागरिकले तपाईंप्रति कुनै भरोसा नै राख्दैनन् । छ दशक हाराहारीकी मेरी आमाले रुख चिह्नमा मतदान गर्दा हात कमाउनुभयो‚ कारण अरू होइन तपाईं र तपाईंको कार्यशैली हो । तनहुँमा आएर गोविन्दलाई मन्त्री बनाउँछु‚ चितवन गएर जीतनारायणलाई मन्त्री बनाउँछु भन्दा पनि मतदाताले पत्याएनन् । सबैले एक साथमा भने, 'देश बनाउने कुरा गर, एकथान मन्त्री हामीलाई चाहिएको छैन ।'
तपाईंकै जिल्लाबाट सुरु भएको फिलिङ्गो तनहुँसम्म पुगेको छ । कांग्रेस अब दुर्घटनाको डिलमा छ । २५० वर्ष लामो इतिहास बोकेको राजतन्त्र सकिएजस्तै पनि हुन सक्छ । कांग्रेस सच्चिनुको विकल्प छैन । यथास्थितिमा रहनुभयो भने सक्किने कुरा आगामी निर्वाचनको परिणामले पुष्टि गर्नेछ । तपाईंहरूले झण्डै-झण्डै गुमाइसकेको राजनीतिक वैधता २०६२/०६३ सालको आन्दोलनले पुनःस्थापित गरिदिएको हो । सबै गल्तीलाई माफी दिएर पुनः अनुमोदित हुनुभएको थियो । तर, सम्झनुस् त नागरिकको जनजीविकाको सवालमा तपाईंहरू कति इमान्दार हुनुभयो ? तपाईंले ५३ दिन विपक्षी दलको सुविधा पाउँ भनेर संसद् सचिवालयमा निवेदन दिँदा मलाई कुरीकुरी लाग्यो । नियमले पाउने सुविधा किन छाड्ने भन्ने तपाईंको तर्क होला । तर यो पछौटेपनको उपजभन्दा केही होइन । राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा धनकुटे काजीलाई पठाउँदा अलिकति लोकलाजको ख्याल गर्नुभएन ? राजनीतिमा तपाईं अनि तपाईंको पार्टी टिकिरहन केही निर्मम कदमहरू चाल्नै पर्ने देखिन्छ । करिब दुई दशक पार्टीको शुभेच्छुकका नाताले बुँदागत रूपमा निम्नानुसारका सुझावहरू प्रस्तुत गरेको छु ।
१. तपाईं राजनीतिक घटनाक्रमलाई आफूअनुकूल बनाएर लाभ लिन माहिर हुनुहुन्छ । धुमिल हुँदै गरेको छविमा केही सुधार गर्न चाहनुहुन्छ भने जनतासामु उदाहरणीय बन्नुस् । सरकारबाट प्राप्त हुने सबै सुविधाहरू त्याग गर्छु भन्ने हिम्मत गर्नुस् । तलब, भत्ता, औषधि उपचार लगायतका सबै प्रकारका सुविधा त्यागेको स्वघोषणा गर्नुस् ।
२. संसद्मा देखिएको बेथिति अन्त्य गर्न सांसदहरूलाई इमानमा रहन लगाउनुस् । बैठकमा नबस्ने हाजिरी गरेर भाग्ने कामचोर प्रवृत्ति त्याग्नुस् । सांसदलाई तलब-भत्ता पठाउँदा बैठक नबसेको, घर मर्मत, बिजुली पानी लगायत अनावश्यक शीर्षकका रकमहरू राज्यकोषमा फिर्ता गर्न लगाउनुस् । विकृतिको पुलिन्दा बनेको संसद् विकासको बजेटका विषयमा पार्टीभित्र बहस गर्न प्रतिबन्ध लगाउनुस् ।
३. कांग्रेसबाट निर्वाचित/मनोनीत मन्त्री‚ सासंदलगायत स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आर्थिक पारदर्शिता‚ जवाफदेहिताको लगाम लगाउनुस्‚ कर्मकाण्डी होइन यथार्थमा ।
तपाईंका अर्बपति सांसद धनाड्यको पहिलो सूचीमा उक्लिँदै जाने अनि कर तिर्नेमा सयौं पछाडि पर्ने कस्तो अचम्म ? तपाईंलाई उदेग लाग्छ कि लाग्दैन सभापतिज्यू ? पार्टीका अघिपछि घुम्ने यस्ता सबै अर्बपतिलाई करको दायरामा ल्याउनुस् ।
४. राजनीतिक सहमतिको पुलिन्दाका रूपमा रहेको प्रदेश सरकार आवश्यकता र औचित्यका विषयमा पार्टीभित्र बहस गर्न ढिला नगर्नुस् । दुई तहका सरकार नेपालका लागी पर्याप्त छ । यसको नेतृत्व गर्नुस् ।
५. राष्ट्रपति‚ प्रधानमन्त्री‚ सांसददेखि वडा सदस्यसम्म राज्यकोषबाट सुविधा लिने निर्वाचित जनप्रतिनिधिको संख्या करिब ३७ हजार १२ छ । सल्लाहकारलगायत अन्य सुविधा लिनेको संख्या थप २० प्रतिशत हुन आउँछ । सेवा-सुविधा कटौतीसम्बन्धी छलफल प्रस्ताव दर्ता गरी ठोस निर्णय गर्नुस् । तपाईंका केही हजार जनप्रतिनिधि रिसाउँदैमा केही हुँदैन । आर्थिक भार पनि कम पर्नेछ ।
६. खर्च कटौतीका लागि निजामती, सेना, प्रहरी सबैको संख्यामा कटौती गर्नुस् । द्वन्द्व व्यवस्थापन भइसकेपछि ठूलो संख्यामा सेना‚ प्रहरी आवश्यक छैन । सबैका चाहनाले राखिएका जातीय/धार्मिक प्रकृतिका संवैधानिक आयोगहरू खारेज गर्नुस् ।
७. आगामी बजेटलाई लोकप्रियभन्दा पनि श्रोत सुनिश्चित गराएर अधुरा योजनाहरू पूरा गराउनुस् । देशभरी भएका अधुरा योजनाहरूको नियमन गराएर कुनै पनि माध्यमबाट पूरा गराउनुस् । चाहे राष्ट्रिय गौरवका आयोजना हुन् वा ग्रामीण सडक वा आमा समूहको भवन । सरकारले विश्वनीयता गुमाउनु हुँदैन ।
८. नियुक्ति सरुवा बढुवालगायत प्रक्रियालाई पारदर्शी बनाउनुहोस् । संसद्मा पम्फा देवीका नामबाट चर्चा भएको सुन्नुभएकै होला । ठूला खरिद नियुक्तिहरूमा तपाईंहरूको रोजाइ क्षमता विज्ञता भएका व्यक्तिभन्दा कम्फर्टेबल रोजाइ त्याग्नुस् ।
९. श्रममा भएका विदेशी नागरिकहरूको सुरक्षित वातावरण बन्दै बनेन । कहाली लाग्दा घटनाहरू दिनदिनै घटिरहेका छन् । सरकारी संयन्त्र नभएको होइन । तर कामै नलाग्ने र पैसा जम्मा गर्ने अखडाका रूपमा सीमित छन् । आयोग गठन गर्नुस् । वर्तमान अवस्थामा श्रोत सम्भावनाको विश्लेषण गरौँ । २० औं वर्ष विदेशिएका नागरिकहरूको मनमा परिवार अनि देशप्रति कति ज्वारभाटा उठिरहेका होलान् ?
१०. नेपालीहरू ठूलो संख्यामा विदेशिएका छन् । उनीहरूसँग ज्ञान, सीप क्षमता र सम्भावना प्रचुर छ । ती सम्भावनाहरूलाई नेपालमा लगानीयोग्य वातावरण बनाउनुस् । विदेशमा बसेका नागरिकप्रति उदार बन्नुस् । राज्यप्रति विदेशमा रहेका नेपालीको मायालाई पुँजीकृत गर्नुस् ।
रूपान्तरणको सवाल अब तपाईंसँग मात्र सीमित रहेन । पार्टी सभापति र सरकारमा भएको ठूलो दलको हैसियतले तपाईंको दायित्व धेरै हुनसक्छ । अहिलेको सवाल नेतृत्व परिवर्तन मात्र होइन कार्यशैलीमा परिवर्तन हो । सवाल देउवा कि कोइराला भन्ने नै होइन ।
आदरणीय सभापतिज्यू,
बैठकहरूमा तपाईंले प्रस्तुत गर्नुभएका हावादारी तर्कले निरास बनाउँछ । तपाईं सच्चिने कुरा नगर्ने अनि नागरिकमा बदलिएको चेतना स्तरलाई हलुका टिप्पणीले पुग्दैन । उपनिर्वाचनमा गोविन्द भट्टराईको पराजयले नसच्चिए आगामी दिनमा सक्किने पालो तपाईंहरूकै हो । सक्नुहुन्छ भने साधारण नागरिक भएर कुनै दूरदराजको बस्तीमा पुग्नुस् । दु:ख के हो महसूस गर्नुस् । अनि थाहा हुन्छ वास्तविकता । नागरिक भएर कल्पना गर्नुस् त बजार भाउ दिनदिनै बढेको छ । बैंकले ऋण दिँदैन । उद्योगी व्यवसायी धरासायी भइरहेका छन् । नागरिकमा चरम निराशा छ । तपाईं र तपाईंको पार्टीलाई ज्ञानेन्द्रपथमा दौडाएर गूगलमा खोज्ने बनाउने कि बीपी बनेर फुल्ने-फल्ने ? रोजाइ तपाईंकै ।
सन्तोष गोदार‚ दमौली
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
इप्क्षिता दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित । अघि बढ्दै जाँदा मेरो चिन्ता ...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...