मंसिर ८, २०८०
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि निवृत्तको स्मरण बढी आउँदो रहेछ । निवृत्त भएको पनि तीन वर्ष पुगेछ । यो तीन वर्ष कसरी गुज्रेछ भन्ने घोत्लिँदा यस्तो पाइयोः
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाबाट निवृत्त भएको अर्कोदिन नै विशिष्ट सामाजिक काममा सघाएर हिड्ने मौका मिल्यो । प्रक्रिया पहिलेदेखि नै थालेको भएपनि आफँैले टुङ्ग्याउन सकिँदैन कि भन्ने लागिरहेको थियो । मानवसेवा आश्रमलाई एउटा सवारीसाधन उपलब्ध गराउने कुरा थियो । त्यस्तै भएको थियो कर्णाली प्रदेशमा कर्यरत रहँदा एम्बुलेन्स उपलब्ध गराउने कुरा पनि । त्यहाँ पनि हिँड्ने (सरुवा) बेलामा हस्तान्तरण गर्ने मौका मिलेको थियो । यहाँ पनि आफ्नै समयमा टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने चाहना थियो । सोचेजस्तै निवृत्त भएको अर्कोदिन नै एक भव्य कार्यक्रममा मानवसेवा आश्रमलाई सवारीसाधन उपलब्ध गराउने मौका मिल्यो । यसका लागि त्यहाँका सचिवद्वय राधिका अर्याल र सञ्जीव बराल लगायतका साथीहरू धन्यवादका पात्र हुनुहुन्छ । यसबाट मलाई पनि जिल्ला छोड्दा उच्च सन्तुष्टिको आत्मानुभूति भयो । कता–कता अबको गन्तव्य यतैतिर तय गरेजस्तो लाग्यो । भलै म सेवामा बहाल रहँदा पनि यो संस्था र अभियानप्रति गहिरो लगाव थियो ।
निवृत्ति स्वभाविक थियो, किनकि निजामती सेवामा यही एउटा अवस्था हो जुन सहजतापूर्वक हुन्छ । त्यसैले पींजडाबाट मुक्त भएको सुगाजस्तो महशुस भइरहेको थियो । लामो हवाइयात्राबाट जमिनमा उत्रेजस्तै लागिरहेको थियो, एउटा स्वतन्त्र नागरिकका रुपमा । त्यसको मैले भरपुर उपयोग गर्नु थियो । मलाई उन्मुक्त भएर स्वतन्त्रताको पखेटा फिँजाइ मस्तले कतिबेला हिँडु–हिँडु लागेको थियो । अर्कोदिन नै घरबाट निस्किएँ, टेम्पु चढेँ र जावलाखेलमा पुरानो नास्ता पसल खोज्दै गएँ । जावलाखेल चोकको एउटा कुनामा त्यो साधारण नास्ता पसल, विद्यार्थी छँदा यता आउँदा प्रायः त्यहीँ चिया–नास्ता खाइन्थ्यो । त्यो पसल त्यही करिब उस्तै–उस्तै अवस्थामा रहेछ । पसले उनै हुन् वा अरु नै ठम्याउन सकिनँ । उतिबेला जस्तै चिया–माल्पुवा अर्डर गरेर एउटा कुनामा प्रतीक्षा गरिरहेँ । त्यो कुनामा बसिरहँदा उ बेलाका विभिन्न घटना–परिघटना मानसपटलमा एक–एक गरी बर्सिन थाले । त्यो बेला अभावमा जेलिएको कष्टकर समय, काठमाडौं आउँदाको क्षण, संघर्षका ती पल अनि साथीभाइ, हन्डर र प्रेरणाका ती अविष्मरणीय छापाहरू । पसलेले चिया–माल्पुवा ल्याएपछि मात्र त्यो स्मरणमग्नता भंग भयो । निवृत्त भन्नेबित्तिकै मलाई यो दिनको उन्मुक्तताको महशुसीकरण दिमागमा आइहाल्छ ।
निवृत्त हुँदाको क्षण साथीभाइहरूका प्रश्नहरूले केही दिनसम्म पच्छाइ रह्यो । सायद यो स्वभाविकै पनि होला ! जस्तै एउटा प्रश्न, भाउजु के गर्नु हुन्छ, छोराछोरी कत्रा छन्, के गर्दैछन् आदि । सायद साथीभाइहरूलाई मेरो निवृत्त जीवनयापनको पृष्ठभूमि कत्तिको दरिलो छ भन्ने हमदर्दीले पनि होला । दोस्रो प्रश्न– अब के गर्नु हुन्छ ? यो प्रश्नले साह्रै अलमलमा पार्थ्यो । भर्खर निवृत्त व्यक्तिलाई यो प्रश्नले अलि घोच्दो रहेछ, व्यङ्गात्मकजस्तो लाग्ने । तेस्रो प्रश्न– तपाईंलाई त राज्यले खोजी हाल्छ, इतिहासमै त्यो समुदायबाट सचिव भएको व्यक्ति, समावेशीकरणको लहरमा तपाईँ खाली बस्नु पर्दैन आदि–आदि । कतिपयको त एउटा राजनीतिक दल समाएर संवैधानिक पदमा गइहाल्न सुझाव हुन्थ्यो । यी कुरा अलि पीडादायक, व्यङ्गात्मक र उत्पीडनजन्यजस्तो लाग्ने रहेछ । आफैँ राज्य संरचनाभित्रै रहेर विभिन्न अवस्थामा ‘कास्ट पेनाल्टी’को भुक्तभोगी व्यक्तिलाई यी कुराले जिस्काएजस्तो लाग्दो रहेछ । स्वभाविक प्रक्रियाबाट बढुवा हुनुपर्ने कुरामा त कति पापड बेल्नुपरेको थियो, म आफैँ भुक्तभोगी थिएँ । भाषण र लेखनमा समावेशीको लहर देखिए पनि शासकीय मनोवृत्ति भने उही पुरानो एकल जातीय हैकम । त्यसैले यो सुझाव नदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।
पछि त यस्ता सुझाव आउन कम हुँदै गए । अहिले यो कसैले भन्दैनन् । बरु केही सांसदले कर गरेरै सत्ताका प्रभावशाली नेताहरूकोमा लिएर जानु भयो । मलाई त विश्वास थिएन तर पनि उहाँहरूको मन राख्न एक–दुई पटक देशका निर्णायक तहका नेताहरूकोमा गइयो । कुरा मीठो गरेपनि नतिजा शून्य हुने कुरा त यकिन थियो नै, तर त्यो तहका पदासिन व्यक्तिहरूको प्रतिक्रिया÷मनोबृति बुझ्ने मौका पाइयो । मुलुकले समावेशीताको सिद्धान्त अंगिकार गरेको अवस्थामा एउटा ठूलो समुदायको तर्फबाट कर्मचारीतन्त्रको त्यो तहसम्म पुगी ‘ब्रेक थ्रू’ गरेकोमा अनुग्रहित हुनुभन्दा पनि त्यही एउटा पद पनि खोसिएको हो किजस्तो भावभंगी र अभिव्यक्ति झल्किन्थ्यो । एक जनाको ‘तपाईँले त सबै भ्याउनु भएको रहेछ’ भन्ने अभिव्यक्ति मेरो दिमागमा अझै पनि गुन्जिरहन्छ । त्यो बेला मलाई पनि थामीसक्नु भएन, अन्यको हकमा त निवृत्त हुने समयसमेत बाँकी रहँदै वा एकाध दिनको सचिव बनाएर लगेका केही दृष्टान्त सुनाएँ । त्यसले उनलाई खास फरक परेकोजस्तो लागेन । किनकि अरु र ममा उनले ठूलो फरक देखेका थिए । सायद आफैँले देख्दै-गर्दै आएका थिए । यस्तो लाग्थ्यो अरुको हकमा यो स्वभाविकै थियो, म ‘अरु’ थिइनँ । नत्र त ती समुदायको आडमा राजनीतिक विरासत बनाएका यी नेताको सोच–समझ यस्तो हुने थिएन । सायद जस्तो समाज उस्तै नेता, जस्तो नेता उस्तै शासकीय शैली भन्ने शास्त्रीय मान्यता यसैगरी विकास भएको होला । यस्तो मान्यताले समाज रुपान्तरणमा ‘ब्रेक थ्रू’ कसरी होला भन्ने तर्कना मनमा आयो । यही सेरोफेरोमा सम्भाव्य व्यक्तिलाई राजनीतिक-संवैधानिक नियुक्तिका लागि कुरा मिलाउन सकिने भन्ने गिरोहको मोलमोलाइको प्रस्ताव पनि अलि टाढाबाट छुस्स कानमा आइपुग्यो । यो अलि भरपर्दो हुन्छ रे ! भरोसा दिलाउँदै थियो । मलाई त्यो बाटो लाग्नु नै थिएन । तर अधिकांश राजनीतिक÷संवैधानिक नियुक्ति कसरी हुँदो रहेछ अर्थात यस्तो कुराका लागि पनि गिरोह परिचालित हुँदा रहेछन् भन्ने सुसूचित हुने मौका भने मिल्यो ।
अध्ययन–अध्यापन मेरो रुचिको विषय हो । म सेवामा बहाल रहँदा पनि यो काम गरि नै रहन्थेँ । निवृत्त भएपछि झन् बढी लाग्ने मौका मिल्यो । कोभिड–१९ महामारीले विश्वको अर्थतन्त्र डामाडोल पारेको अवस्था थियो । त्यसबारेमा विश्व बैंक, संयुक्त राष्ट्र संघ र विभिन्न विश्वविद्यालयले अध्ययन–अनुसन्धान गरिरहेका थिए । जुमकन्फ्रेन्स पनि व्यापक रुपमा आयोजना हुने गरेका थिए । अर्थशास्त्रकै विद्यार्थी भएकाले यो मेरो रुचिको विषय थियो । तसर्थ यही क्षेत्रलाई मेरो अध्ययन अनुसन्धानको विषय बनाए । हुन त मैले अमेरिकामा फुलब्राइट फेलोसिपअन्तर्गत उत्तर विद्यावारिधि गर्दा ‘प्रोटेक्टिभ लिवरालाइजेसन’को अवधारणा विकास गरेको थिए । आर्थिक प्रणालीको त्यो अवधारणा यो समय व्यावहारिक रुपमै लागू भएको र अबको विश्व अर्थिक संरचना यही अवधारणा अनुरुप निर्माण गरिनुपर्नेबारे विभिन्न छलफल भइरहेका थिए । मैले त्यो अवधारणामा ‘ग्रीन ग्रोथ डेभलपमेन्ट’समेत जोडेर परिमार्जन गर्ने मौका मिल्यो । त्यही सन्दर्भमा अमेरिकाको युनिभर्सिटी अफ न्यू मेक्सिकोबाट आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्ना यी अवधारणा प्रस्तुत गर्ने मौका मिल्यो । त्यही कार्यक्रममा एकामाई विश्वविद्यालयकी अध्यक्ष डा मेरी जो पनि हुनुहुँदो रहेछ । मेरो प्रस्तुतीकरणलगत्तै मलाई सम्पर्क गरी आफ्नो विश्वविद्यालयमा प्राध्यापनमा संलग्न हुन प्रस्ताव राख्नु भयो । यो मेरा लागि ठूलो मौका थियो । मैले नस्वीकार्ने कुरै भएन । त्यहाँ मेरीसँग मिलेर ग्रीनग्रोथ डेभलपमेन्टको पोस्टग्राजुयट कोर्स बनाएर अध्यापन गराउन थाल्यौं । कार्यक्रम निर्देशकका रुपमा मैले नै त्यसको अगुवाइ गरेको थिएँ । सम्भवत उच्च शिक्षामा शैक्षिक कार्यक्रमका रुपमा यो कोर्स पहिलो नै होला । निवृत्त हुँदा मैले गरेको जीवनका बाँकी दिन शैक्षिक क्षेत्रमै बिताउने उद्घोषले मलाई त्यतै डोर्याएजस्तो लाग्यो । विकसित मुलुक त्यसै विकसित भएका रहेनछन् । तिनीहरूले व्यक्तिको क्षमता र योग्यताको कदर गर्दा रहेछन् । त्यहाँको राजनीतिले व्यक्तिको सामर्थ्यको पूर्ण उपयोग गर्ने वातावरण बनाउँदो रहेछ, यहाँको राजनीतिले निषेध र दमन ।
तथापि मलाई आफ्नै मुलुक र समुदायलाई समय खर्चिने हुटहुटीले छोडेन । प्रत्येक पल देशका लागि समय गुमेजस्तो लाग्थ्यो । त्यसैले मुलुककै शिक्षा क्षेत्रमा केही गर्नुपर्ने कुराले घच्घच्याइ रह्यो । हाम्रो शिक्षा प्रणालीले युवाहरूलाई देशभित्रै राख्ने भन्दापनि मुलुक छोड्न प्रेरित गरेजस्तो लाग्थ्यो । मुलतः बोर्डिङ स्कूल नामका व्यापारिक प्रतिष्ठानहरूबाट । शिक्षा मन्त्रालयको तथ्याङ्कले यो कुरा भनिरहेको थियो । विद्यार्थी बाहिर जाँदाको तत्कालीन असर त छँदै छ । यसको दूरगामी प्रभाव भयावह छ । खोतल्दै जाँदा यसको एउटा कारण हामीले नयाँ तथा आधुनिक शिक्षाका नाममा दिइने विषयवस्तु नै रहेछ । हुन पनि हाम्रो औपचारिक शिक्षा अंग्रेजी पढाउनका लागि नै शुरू भएको रहेछ । उच्च शिक्षा पनि आयातीत पश्चिममा ज्ञान सम्प्रेषण गर्ने माध्यमका रुपमा विकास भएको रहेछ । भूमण्डलीकरणले त त्यसमा झन् उकेरा लगाइ मलजल गर्यो । परिणामतः युवाहरू बाहिर जानका लागि लर्को लाग्ने जनशक्ति उत्पादन गरेछौं । शिक्षामा हाम्रो माटोमा उद्गम भएका ज्ञान, सीप, कला, कौशल तथा संस्कृति नजोडिएको मात्र होइन विस्थापित नै भएछन् । राष्ट्रिय पहिचान नै हराउने अवस्थामा पुर्याइएको रहेछ । यस्ता रैथाने सीप, ज्ञान, कला–कौशल भएकाहरू अनपढ श्रमिकका रुपमा हेपिने अवस्था भएछ । खुला बजारले पनि यिनीहरूको परम्परागत पेशा–व्यवसायलाई निमिट्यान्न पारिदिएछ । राज्य र शैक्षिक संस्थाहरू बेखबरजस्ता रहेछन् । यो विषय एकदमै संवेदनशील लाग्यो । र, यही विषयबाट कामको थालनी गर्ने सोच बन्यो ।
यही सन्दर्भमा यससम्बन्धी अध्ययन अनुसन्धान गरिरहनु भएका प्राडा विद्यानाथ कोइराला, प्राडा गोविन्द टण्डन, डा गोविन्द नेपाली, अध्येता डीबी नेपाली, डा लीला न्याइच्याईँ, डा सुरेश तामाङ लगायतका व्यक्तिहरूसँग सम्पर्क भयो । सोही सम्बन्धमा २०७८ भाद्र ३० गते शैक्षिक क्षेत्रका जानकार व्यक्तित्व, शिक्षाविद् तथा युवाहरूको उपस्थितिमा ललितपुरको फेडोको सभाहलमा भएको एक छलफलले उच्च शिक्षासम्म रैथाने शिल्पकला तथा संस्कृतिको अध्ययन अनुसन्धान गराउन संस्थागत विकासको पहल गर्न मेरो संयोजकत्वमा एक समिति नै गठन गर्यो । पछि म आफू संलग्न भएको अमेरिकाको एकामाई विश्वविद्यालयको सहकार्यमा सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान स्थापना गरियो । र, विभिन्न कार्यक्रम सञ्चालन गर्न थालियो ।
विभिन्न चरणको छलफलबाट उच्च शिक्षासम्म यो विषयको अध्ययन अनुसन्धानका लागि एक विशिष्टिकृत विश्वविद्यालय नै स्थापना गर्न पहल गर्ने निष्कर्ष निक्लियो । हाम्रोमा विश्वविद्यालय सरकारी तबरबाट मात्र स्थापना गर्न सकिने हुँदा सरकारलाई नै सहमत गराउनु पर्ने अवस्था रह्यो । तसर्थ, विश्वविद्यालय खोल्ने सम्बन्धमा धेरैपटक विभिन्न मन्त्री र सरकारी निकायमा पहल गरियो । तथापि विषयवस्तु राम्रो त भन्ने तर विभिन्न बाहाना बनाएर आफू चाहिँ पन्छिन खोज्ने गरेको महशुस भयो । तरपनि हामीले वकालत गर्न छोडेका थिएनौं । यो फेरि राष्ट्रिय शिक्षा नीति २०७६ मा उल्लेख भइसकेको विषय पनि रहेछ । त्यस अर्थमा हामीले त त्यसको कार्यान्वयनका लागि राज्यलाई सघाएको अवस्था भयो । मन्त्री फेरिनेबित्तिकै यो विषय लिएर भेट्न जाने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीसँग भेट भएपछि यसले थप सार्थकता पायो । उहाँले पहिलो भेटमै प्रस्तावित विश्वविद्यालय स्थापनाका लागि मेरै संयोजकत्वमा एक समिति बनाइदिनु भयो । अध्ययन हामीले गरिरहेकै थियौं । तसर्थ समयमै प्रतिवेदन पेश गरियो । त्यही प्रतिवेदनका आधारमा मेरै संयोजकत्वमा १० सदस्यीय रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समिति गठन भयो । समिति गठन त भयो तर बजेट र सचिवालय व्यवस्था नहुँदा कामले तीव्रता पाउन सकेको छैन । तथापि प्रारम्भिक प्रतिवेदन बुझाइसकिएको छ र थप कामका लागि हामी लागिरहेकै छौं ।
रैथाने सीप, ज्ञान, कला र संस्कृतिलाई उच्च शिक्षामा कसरी जोड्न सकिन्छ भन्ने सन्दर्भमा मधेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यसँग भेट भयो । नयाँ विश्वविद्यालय शैक्षिक कार्यक्रम विकास गरी सञ्चालन गर्नुपर्ने दबाब थियो । सघाउन मलाई उहाँले आग्रह गर्नु भयो । मधेशप्रति मेरो बेग्लै लगाव छ । मधेशप्रतिको दृष्टिकोण बदल्न ज्ञानसत्तामा नै हस्तक्षेप गर्नुपर्ने महशुस मधेशतिर काम गर्दा नै भएको थियो । प्राडा शाक्य पनि मानवसेवा आश्रममा संलग्न व्यक्ति । हाम्रो वेभलेन्थ पनि मिल्ने । आग्रह स्वीकार गरी कोर्स बनाउने कामको नेतृत्व मैले गरेँ । दुईवटा कार्यक्रमको कोर्स त निर्माण भयो, अब पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था थियो । उपकुलपतिबाट त्यसको पनि व्यवस्थापकीय नेतृत्व गर्न आग्रह गरिएअनुसार मलाई मधेश विश्वविध्यालयको पहिलो डीन हुने संयोग जुर्यो । यो पनि एउटा इतिहास नै बन्यो । यसरी म बेग्लै सांस्कृतिक धरातलमा ज्ञानसत्ता निर्माण गर्ने कार्यमा पनि संलग्न हुँदै आएको छु । रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानको नेतृत्वबाट त्यस्तो ज्ञानसत्ता रैथाने सीप, कला, ज्ञान र संस्कृतिमार्फत नै दीगो रुपमा निर्माण हुन सक्ने कुराको वकालतमा पनि लागिरहेकै छु । विभिन्न सामाजिक अभियानप्रतिको समर्पण त छँदैछ।
यो अवधिमा आफैँले विभिन्न समयमा लेखेका कविताहरूको संग्रह ‘मान्छे र माटो–२’ र ‘प्रचीन नेपालमा गणतन्त्रको अभ्यास’ (सम्पादन) भन्ने पुस्तक तथा दर्जनौं लेख र कार्यपत्रहरू प्रकाशन भएका छन् । उद्घोष गरिएअनुसार आफ्नैबारेको पुस्तक लेखन भने अगाडि बढाउन सकिएको छैन । विभिन्न समयमा लेखिएका कथाहरू साहित्यकार मित्र आरबी निश्चलले सम्पादन गरिदिनु भएको छ, तर छाप्न बाँकी छ । आफ्नो जीवनका लागि सार्थक काम बुहारी नानी भित्र्याउन सफल भएका छौं । छोरीको अभाव मेटिएको छ । घर झन् उज्यालिएको छ । जीवनले कोल्टे फेरेको छ । स्वास्थ्य दुरुस्त छ । धन्यवाद !
(नेपाल सरकारका पूर्वसचिव डा बीके हाल अर्थशास्त्रका प्राध्यापक तथा मधेश विश्वविध्यालयमा डीन छन् ।)
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
इप्क्षिता दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित । अघि बढ्दै जाँदा मेरो चिन्ता ...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...