१२ असार २०८३, शुक्रबार
नक्कली शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा अर्को भुइँचालो ल्याउन सक्ने बिचौलिया– शीर्ष नेतृत्वको 'बेड'सम्मै पहुँच !

जेठ ७, २०८०
शरणार्थी प्रकरणमा अर्को भुइँचालो ल्याउन सक्ने बिचौलिया– शीर्ष नेतृत्वको 'बेड'सम्मै पहुँच !

नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ ।

उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरजु राणा देउवासहित कांग्रेस-एमालेका शीर्षस्थ नेताहरूसँग सेटिङ मिलाउने काम गरेका थिए ।

ठूला नेताहरूको 'किचन र बेडसम्मै पहुँच' राख्ने झाको नाममा काटिएको २ करोड रुपैयाँको चेक समेत फेला परेको छ ।

नक्कली शरणार्थी गिरोहका सदस्य रामशरण केसीले झाको नाममा काटेको २ करोड रुपैयाँको चेक लोकान्तरले सार्वजनिक गरेको हो ।

बेचन झाबारे खुलासा भएपछि उनीबारे चासो व्यक्त हुन थालेको छ । विश्वस्त स्रोतका अनुसार झा भारतीय नागरिक हुन् ।

नेपालमै बिहे गरेका उनको ससुराली सिरहाको देउरिपट्टी हो । बेचन तराई कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् ।

जेठाससुरा बेदानन्द झाकै लिगेसीबाट बेचन काठमाडौंमा स्थापित भएको र उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क स्थापित गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरू धमाधम पक्राउ पर्न थालेपछि बेचन फरार छन् । प्रहरीले उनलाई खोजिरहेको छ ।

अहिले बेचनको स्थायी बसोबास काठमाडौंमै हो । उनको घर मध्यबानेश्वरस्थित चेल्सी कलेज र पाठशाला स्कूलको बीचमा छ ।

भारतीय नागरिक भए पनि बेचन ४० वर्षदेखि काठमाडौंमा बस्दै आएको उनका एक निकटस्थले बताए ।

शुरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग उनको राम्रो सम्बन्ध थियो ।

पछि शेरबहादुर देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाउन आफूले नै भारततर्फ 'च्यानल' मिलाउने काम गरेको उनले आफ्ना निकटस्थहरूसँग बताउने गरेका छन् ।

'एआर देव सन् (१९८६-१९८९) नेपालका लागि भारतीय राजदूत छँदा झाजीले निकै राम्रो सम्बन्ध बनाउनुभएको थियो । त्यही सम्बन्धको बलमा भारतीय दूतावासमा उहाँको निकै राम्रो पहुँच थियो । त्यतिबेला देखिकै सम्बन्धको बलमा देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाएको हुँ भनेर उहाँले भन्ने गर्नुहुन्थ्यो,' बेचननिकट स्रोतले लोकान्तरसँग भन्यो ।

ठेक्कापट्टाको काम गर्ने बेचनले भाइ भुषण राणामार्फत आरजुसँग पनि नयाँ ढंगले सम्बन्ध स्थापित गरेको स्रोतको दाबी छ ।

'भुषण राणासँग राजनीतिकभन्दा पनि व्यापारिक सम्बन्ध बनेको थियो,' बेचननिकट विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो, 'भुषणले नै आरजुसँग भेटघाट र चिनजान गराएका हुन् ।'

झा जलविद्युत् क्षेत्रका ठूला ठेकेदार हुन् । विद्युत् प्राधिकरणका ठूला ठेक्काहरू प्राय: उनकै कम्पनीले पाउने गरेको छ । 'यतिसम्म कि प्राधिकरणमा हुने सरुवा/बढुवामा समेत उनकै सोर्स-फोर्स चल्थ्यो,' स्रोतले भन्यो ।

शुरूमा ठेक्कापट्टा गर्दै आएको 'वेलकम ट्रेडर्स' कालोसूचीमा परेपछि बेचनले 'विभांशु ब्रदर्स' नामबाट कारोबार अगाडि बढएका थिए ।

ट्रान्सफर्मरदेखि 'एसआर कन्डक्टर' खरिद र अन्य ठूला ठेक्काहरू हात पार्दै आएका बेचनले तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि नजिकको सम्बन्ध बनाए । यही प्रकरणमा टोपबहादुर पनि पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

'भारतीय दूतावासमा समेत सहज पहुँच राख्ने झाको सम्बन्ध प्रधानमन्त्री निवास बालुवाटारदेखि सिंहदरबारसम्म थियो । टोपबहादुर ऊर्जामन्त्री छँदा नै उनीसँग बेचनले सम्बन्ध विस्तार गरेका थिए,' स्रोतले भन्यो ।

अहिले भारतीय दूतावाससँग उनको सम्बन्ध बिग्रिएको बताइन्छ । भारतीय प्रहरीले पनि बेचनलाई 'मोस्ट वान्टेड'का रूपमा खोजिरहेको स्रोतको दाबी छ ।

भारतको मेघालयमा सञ्चालित सीएमजे युनिभर्सिटीका चान्सलर डा. चन्द्रमोहन झासँग २ करोड भारतीय रुपैयाँ लिएर फरार भएपछि बेचनविरुद्ध भारतमा मुद्दा चलेको छ ।

चन्द्रमोहन र बेचन आफन्त पनि हुन् । एकपटक उनले जनकपुरको जानकी मेडिकल कलेज खरिदका लागि भन्दै चन्द्रमोहनलाई हेलिकप्टरमा जनकपुर ल्याएका थिए ।

'त्यतिबेला के कुरा मिलेन, उहाँले जानकी मेडिकल कलेज किन्नुभएन,' विश्वस्त स्रोतले भन्यो ।

बेचन जनमत पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेकी ममता झाका सम्धी समेत रहिसकेका छन् ।

बेचनका जेठा छोरा विभांशुको विवाह ममताकी छोरीसँग भएको थियो । अहिले उनीहरूबीच सम्बन्धविच्छेद भइसकेको छ ।

रोचक तथ्य त के भने विभांशु भारतमा दुईपटक अपहरणमा समेत परेका थिए ।

'करीब १५ वर्षअघि आईएस्सी पढ्दै गर्दा पटनाबाट र त्यसपछि दिल्लीबाट विभांशु किडन्याप भएका थिए,' बेचननिकट स्रोतले भन्यो, 'त्यति बेला फिरौती बुझाएर छुटाइएको थियो ।'

पढ्नुहोस्, यो पनि :

salt training

कमेन्ट गर्नुहोस्