
सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमिरहेका हुन्थे । उनी जुनसुकै बटुवालाई पनि रोकेर सोध्ने गर्थे, मित्र तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुहुन्छ । के तपाई धन सम्पत्ति र मानसम्मान मात्रै थुपार्न लाज मान्नुहुन्न ? तपाई नीति, सत्य र आत्माको शुद्धताप्रति किन ध्यान दिनुहुन्न ?
सुकरातको प्रसंग यहाँ किन उल्लेख गरिएको भने प्रदीप गिरिका विचारहरू पनि सुकरातका झैँ असल नागरिक निर्माण गर्नेतर्फ हुन्थे । सुकारत एथेन्सका नागरिक महान्, शक्तिशाली र बुद्धिमान होऊन् भन्ने चाहन्थे । त्यसका लागि आत्मशुद्धि चाहन्थे । अर्कातर्फ प्रदीप गिरिले सदन, सडक, सम्भाषण र साहित्य संवाद जहाँ अभिव्यक्ति दिए पनि सारमा मानिसको असल आचरणको कुरा नै हुन्थ्यो ।
सुकरातझैँ उनको जीवन पनि बेपर्वाह थियो । पद, प्रतिष्ठा र पैसाप्रति कुनै लोभ–लालसा देखिँदैनथ्यो । एउटा राजनीतिक दलको सदस्यको हैसियतमा रहेर पनि दलभन्दा माथिको व्यवहार गरेको देखिन्थ्यो । सदन, संवाद जहीँतहीँ राजनीतिक कार्यकर्ताभन्दा राजनीतिक विचारकका रूपमा देखिन्थे । कसैप्रति आग्रह र द्वेष देखिँदैनथ्यो ।
सदनमा व्यक्त विचारहरूमा पनि दलभन्दा माथि, विचारभन्दा माथि जनताको कुरा राखेको देखिन्थ्यो । सदनमा गरमागरम बहस हुँदा पनि प्रदीप गिरि बोल्दा सबै निमग्न भएर सुन्थे । प्रदीपले के बोल्लान् भन्ने उत्कण्ठाले सदनमा पिन ड्रप साइलेन्समा हुन्थ्यो । कुनै राष्ट्रिय विषयमा त गिरिले बोलेर सहमति खोजिदिएहुन्थ्यो, नयाँ कुरा बोलिदिएहुन्थ्यो भन्ने भावना सभामुख र सभासदहरूमा समेत हुने गर्थ्यो । उनी हाँसिमजाकका रूपमा पनि गहन कुरा गर्थे । गहन विषयलाई पनि सामान्यीकरण गर्न सक्थे ।
आर्थिक वर्ष २०७६/७७ को बजेटको प्रतिक्रियाको प्रसंग यहाँ उल्लेख गरौं । बजेटमा भनिएको थियो, आधुनिक सभ्यताको मानक सुविधायुक्त शहर भएको र मुलुकको विकासको स्वरूप शहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थलाई ध्यान दिँदै शहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु ।
सांसद गिरिले केबल एउटा शब्द परिवर्तनको आवाज उठाएका थिए । शहरको सट्टा गाउँ वा आधुनिक शहरको मानक सुविधायुक्त गाउँ उल्लेख भए बजेटलाई समर्थन गर्न सकिने घोषणा गरिदिए । यो भनाइ सामान्यजस्तो लागे पनि यसभित्र खास अर्थ छिपेको थियो । शहरहरू कहरमा गएर बर्वाद भए । गाउँमा आधारभूत सेवा भएन । मानिसहरू शहरमा आए, तर शहरले सुविधा दिएन, बरु जोखिम दियो । गाउँ शहर अन्तरसम्बन्धबाट समाजवाद स्थापना गर्न सकिन्छ भन्ने दृष्टिकोण उनको थियो । आश्चर्यको कुरा के थियो भने प्रदीप गिरिले बजेटको विरोधमा कुरा राखिराख्दा बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म, प्रतिपक्षदेखि सहयोगी गिरिले के भन्लान् भनेर एकाग्रतामा डुबेका थिए ।
उनको बोलीमा न कसैको विरोध थियो, न उनले बोलेका बोलीमा कसैले विरोध गरे । यसको अर्थ उनी सदनका साझा स्वर रहेछन् । यो प्रतिनिधि घटना मात्र हो । यस्ता कैयन घटनाहरू छन्, जसमा उनको फराकिलो र सर्वस्वीकार्यता देखिन्थ्यो । उनले प्रतिपक्षका सांसदका रूपमा सदनमा बोल्दा भनेका थिए, म ती वक्तामध्ये होइन, त्यस्ता सांसदमध्ये होइन, जसले विनाकारण अत्तो थापेर सरकारलाई विरोधका लागि विरोध गर्ने गरेको छ । इतिहासमा यस्ता व्यक्ति साह्रै कम जन्मन्छन् । अथवा इतिहास बनाउने यस्ता मानिसलाई समयले सधैं जन्माउँदैन ।
जीवनको अध्ययन ‘म’ वा आफैंबाट शुरू हुनुपर्छ भन्ने मान्यता प्रदीप गिरिको थियो । जीवनमा कहिल्यै निराश हुन नहुने र जीवनलाई बोझका रूपमा लिन नहुने मान्यता उनमा थियो । उनको जीवनलाई केले खार्यो ? विचारमा परिस्कार त्यत्तिकै आएको होइन, भन्ने सबैलाई लाग्न सक्छ । उनमा पुस्तक प्रेम अत्यधिक थियो, यानेकि पुस्तकले ज्ञानको भोक जगाएको थियो । राजनैतिक आन्दोलनमा नख्खुजेलमा बिताएका झण्डै दुई वर्षमा उनले पुस्तकलाई खुबै चिने, पुस्तकबाटै संसार चिने र आफूले चिनेको संसार अरूलाई चिनाउन खोजे । जेलले पुस्तक चिनायो, पुस्तकले जीवन चिनायो । त्यसैले अध्ययन र प्रदीप गिरि पर्यायजस्तै भए । भनिन्छ, प्रदीप गिरि मार्क्सवादी थिएनन्, ठूला मार्क्सवादीभन्दा गहन मार्क्सवादी ज्ञाता र व्याख्याता थिए । अर्थशास्त्री थिएनन्, तर बजार अर्थतन्त्र र पुँजीको अध्ययनमा उनी लेसेज फेएर अर्थशास्त्रीभन्दा उम्दा थिए । साहित्य, संस्कृति, कला र इतिहास खारेका थिए, त्यसैले उनका विचारमा स्पष्टता हुन्थ्यो, आग्रह हुन्नथ्यो ।
गान्धीका अनुयायी, मार्क्सवादका व्याख्याता, समाजवादी चिन्तक थिए । उनका वार्ता, सम्वार्ता, भाषण र लेखनमा विश्वका महान व्यक्तिको जीवनी पढेको महसुस हुन्थ्यो । पुराण, वेद, उपनिषद, महाभारत, रामायण, श्रीमद्भागवतगीता खारेको महसुस हुन्थ्यो । उनी वार्ताका क्रममा महाभारतका पात्र र गीताका प्रसंगहरू बारम्बार ल्याउँथे । द्रोणाचार्य, द्रौपदी, कृष्ण, अर्जुन, विदुर, भीष्मपितामह, कुन्ती, कर्ण, सकुनीहरूको प्रसंग उल्लेख गर्थे ।
राजनीतिका कुरा गर्दा गान्धी, लेहिया, विनोवा भावे, जय प्रकाश नारायण, विली ब्रान्ट, बीपी, नेहरुहरूका कुरा ल्याउँथे । समाजवादी, साम्यवादी र बजारवादी अर्थव्यवस्थाको व्याख्या गर्थे । उनका यी प्रसंगले के बुझाउँथ्यो भने राजनैतिक व्यक्तित्वले एकसाथ धेरै कुरा, धेरै विचार, धेरै व्यक्ति, धेरै घटनाक्रम र इतिहासलाई बुझ्नुपर्दछ, अनिमात्र समय र गतिशीलता पछ्याउन सकिन्छ । राजनीति गर्नेहरू अगतावधिक हुनुहुन्न, अद्यावधिक हुनुपर्छ । हरारीले भने जस्तै अहिलेका राजनीतिज्ञहरू गतावधिक भैसकेका छन्, समयलाई पछ्याउन सकिरहेका छैनन् । त्यसैले राजनीति र समाज छुट्टिएको छ ।
प्रदीप गिरि समाजवादी चिन्तक र बीपीका अनुयायी भए पनि अन्धभक्त चाहिँ थिएनन् । विचार र व्यक्तिलाई अलग गरेर हेर्ने, व्यक्ति पूजा होइन, विचारलाई प्रधानता दिने र विचारको सामयिकता विश्लेषण गर्ने प्रवृत्ति गिरिमा थियो । कतिपय प्रसंगमा बीपीको समाजवादलाई परिमार्जन गर्नुपर्ने उनको तर्क थियो ।
प्रत्येक ऐतिहासिक व्यक्ति एउटा विशिष्ट किसिमको परिवेश, परिस्थिति र समयमा जन्मिएको, हुर्किएको र प्रशिक्षित भएको हुन्छ, तर बीपी कोइराला यसका अपवाद थिए भन्ने निष्कर्ष प्रदीप गिरिको थियो । यति हुँदाहुँदै पनि उनी बीपीका समाजवादी चिन्तनको परिस्कारका पक्षमा थिए । उनले भनेका थिए, बीपी कोइराला र उहाँका समकालीन समाजवादी नेतालाई उपर्युक्त परिवर्तनको आभाष थिएन ।
सिंगो पृथ्वी नै अहिले प्राकृतिक विनासले आक्रान्त छ । जयप्रकाश, लोहिया र बीपी कोइरालाको पुस्ताले यस्तो विनासको कल्पना गरेको थिएन । उनीहरूको समाजवाद अपेक्षाकृत सुबोध र सरल थियो । यति हो, उनीहरूले युरोपेली समाजवादको सामान्य सिद्धान्त मात्र ग्रहण गरेका थिए । कोइरालासमेतले प्रतिनिधित्व र नेतृत्व गर्नुभएको एसियाली समाजवादको सपना तेस्रो किसिमको व्यवस्था, विचारधारा र सभ्यताको आह्वान थियो ।
प्रदीप गिरि पनि के कुरामा सहमत थिए भने विश्वलाई तेस्रो किसिमको विचार प्रणालीको आवश्यकता छ । क्रुर र निर्मम नाफामा आधारित पूँजीवादले दुनियाँलाई शान्ति र सुव्यवस्था दिन सक्दैन । सँगसँगै नागरिक स्वतन्त्रताको चिहानमा उभिएको कुनै पनि व्यवस्थाले समता र स्वतन्त्रता प्राप्तिको समाजवादी लक्ष्यमा पुर्याउन सक्दैन ।
तर, आज विश्वमा तेस्रो यस किसिमको समाजवादी चिन्तनसँग हुनुपर्ने शक्ति र संगठन छैन । विश्वव्यापीकरणले ल्याएको नवउदारवाद र बर्लिन पर्खाल ढलेपछिको विश्व अर्थतन्त्रमा पूँजीवादको अनुहार क्रुरतम भयो । आफूलाई कम्युनिस्ट भन्ने मुलुकहरूमा उत्पादन प्रणाली र जीवनशैली पूर्ण रूपमा पुँजीवादी मान्यतामा आधारित छ ।
त्यसैले तेस्रो विचार वा एसियाली समाजवाद, समृद्धि र न्याय साथसाथै जाने प्रणाली, आवश्यकता र क्षमता विकास साथसाथै जाने प्रणालीको कुरा प्रदीप गिरि उठाउने गर्थे । मूलतः त्रिमूर्ति (लोहिया, बीपी र जयप्रकाश नारायण) ले उठाएको समाजवादी धारको व्याख्या गर्थे । व्याख्यामा विरोध गर्थे र परिस्कारका तर्क राख्थे । यसका लागि उनीसँग व्यावहारिक तर्क थिए ।
समकालीन राजनीतिमा बीपी कोइरालापछि कसैको निधनमा सबैले दुख मानेका थिए भने प्रदीप गिरिको निधनमा हो । प्रदीप गिरिको निधनपछि डा. बाबुराम भट्टराईले भनेका थिए, ‘अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य र सहयात्रा अझै आवश्यक थियो ।’ वामपन्थी विचारक घनश्याम भुसालले ‘अविश्रान्त समाजवादी नेता’ भनेका थिए । प्रदीप ज्ञवालीले ‘गिरिको अभाव सधैं खड्किरहने’ भनेका थिए । नेपाली कांग्रेसका बौद्धिक नेता विश्वप्रकाश शर्माले त ‘एउटा विश्वविद्यालय, जो आजबाट सधैंका लागि बन्द भयो’ भनेका थिए । के विरोधी, के सहयोगी, सबैले समान रूपमा उनको बौद्धिकता, चिन्तन र संयमलाई एकसाथ सम्मान गरेका थिए ।
मलाईचाँहि के लाग्छ भने प्रदीप गिरि आफैंमा जीवन्त पुस्तकालय हो । उनका विचार र दर्शनबाट अहिलेको राजनीति र भेलिको पुस्ताले पनि प्रशस्तै सिक्न सक्छ । त्यो सिक्ने कुरा भनेको जनताका दैनिकीलाई सम्बोधन गर्ने राजनीति, संयमता र सदाचारिताको राजनीतिक संस्कार र राष्ट्रिय सवालमा सबै राजनीतिक दलको सहमति हो । स्वार्थको समर्पण र निष्ठाको राजनीति हो । साथै राजनीति सधैं भावावेश र संवेग (इमोसन र एक्साइटमेन्ट) मा होइन, यथार्थमा हिँड्नु पर्छ भन्ने सारभूत कुरा हो । राजनीति गर्नेले यस प्रकारको असल समझ, असल विचार र असल व्यवहारका लागि अध्ययनचाँहि प्रशस्तै गर्नुपर्छ । राजनीति गर्नेले धेरै पढून्, बुझून् र असल बनून् । (@mainaligopi)