०५ साउन २०८३, मंगलबार
ललितानिवास प्रकरण

सीआईबीले मुद्दा चलाउनुपर्दैन भनेका सचिव राउत प्रतिवादी, सुधीर साहको हकमा मुद्दा चलेन

भदौ १०, २०८०
काठमाडौं
सीआईबीले मुद्दा चलाउनुपर्दैन भनेका सचिव राउत प्रतिवादी, सुधीर साहको हकमा मुद्दा चलेन

ललितानिवास प्रकरणमा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी बनाउनु नपर्ने राय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेश गरे पनि उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतवार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाउँदा सञ्चार सचिव राउतको नाम समेत समेटिएको हो ।

राउतले उठाएको टिप्पणीका आधारमा सरकारी जग्गा हिनामिना भएकाले उनलाई समेत प्रतिवादी बनाइएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले लोकान्तरलाई बताए ।

‘उहाँको संलग्नता देखिएकाले प्रतिवादी बनाएर मुद्दा दायर भएको छ,’ जिल्ला न्यायाधिवक्ता खत्रीले लोकान्तरसँग भने ।

सीआईबीले राउतलाई असार २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । तर, पछि उनी सर्वोच्च अदालतको आदेशबाट रिहा भएका थिए ।

राउतले उक्त टिप्पणी उठाएबापत कुनै लाभ लिएको नदेखिएको भन्दै सीआईबीले प्रतिवादी बनाउनुनपर्ने राय पेश गरेको थियो ।

'मन्त्रिपरिषदमा प्रस्तुत प्रस्तावमा निज कृष्णबहादुर राउतले मिति २०६७/३/१७ मा पेश गरेको टिप्पणीलाई आधार लिएको नदेखिएको, उक्त प्रस्ताव पेश भएबापत निज कृष्णबहादुर राउतले कुनै किसिमको आर्थिक वा अन्य लाभ समेत लिएको नदेखिएको र निजले आफ्नो पदीय दायित्व पूरा गर्ने क्रममा टिप्पणी उठाएको देखिएकाले निजको हकमा मुद्दा नचल्ने निर्णय हुन अनुरोध गरिएको छ,’ सरकारी वकिलको कार्यालयमा सीआईबीले पेश गरेको प्रतिवेदनमा भनिएको छ ।

यता पूर्व निर्वाचन आयुक्त सुधीर साहलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छैन ।

‘उहाँको प्रत्यक्ष संलग्नता नदेखिएकाले प्रतिवादी बनाएका छैनौं,’ जिल्ला न्यायाधिवक्ता खत्रीले लोकान्तरसँग भने । 

सीआईबीले भने उनलाई मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्