२६ जेठ २०८३, मंगलबार
नेम्वाङको स्मरणमा वामदेव

‘राष्ट्रपति नआएपनि संविधान जारी हुन्छ भनेर रामवरणलाई बाध्य पार्नुभएको थियो’

भदौ २६, २०८०
काठमाडौं
‘राष्ट्रपति नआएपनि संविधान जारी हुन्छ भनेर रामवरणलाई बाध्य पार्नुभएको थियो’

त्यसबेला सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुहुन्थेन भने वर्तमान नेपालको संविधान दोस्रो संविधानसभाबाट पनि जारी हुन सक्ने थिएन ।

पहिलो संविधानसभालाई अन्तर्राष्ट्रिय स्वार्थका कारण योजनाबद्ध रूपमा असफल गराइयो । दोस्रोपटक आयोजित संविधानसभालाई असफल गराउन फेरि त्यही खेल भिन्न तरिकाबाट शुरू भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई अविश्वासको प्रस्तावबाट हटाएर राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा त्यो विषय अगाडि बढाइएको थियो । जसलाई संविधानसभा बैठकमा डा.बाबुराम भट्टराईले प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावको समर्थनमा प्रचण्ड, झलनाथ खनाल र माधव नेपालले सम्बोधन गर्नुभएको थियो ।

त्यसलगत्तै बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अगाडि सारियो । तर, पछि स्वयं झलनाथ खनाल र माधव नेपालले संविधानसभामा आफूहरूले व्यक्त गरेको विचार गलत रहेको स्वीकार गर्दै यो संविधान जारी हुन नदिने षड्यन्त्र भनेपछि बैठकले त्यो प्रस्तावलाई अस्विकार गर्‍यो ।

त्यसपछि प्रचण्डले पनि आफूलाई 'करेक्सन' गर्नुभयो । यसरी संविधानसभाबाट संविधान जारी हुन नदिने दोस्रो विदेशी चलखेल असफल भयो । यो घटना २०७२ साल साउनको पहिलो हप्तामा घटेको थियो । 

संविधान जारी हुन नदिने तेस्रो र अन्तिम विदेशी चलखेल भदौदेखि तीव्र गतिमा शुरू भयो । संविधानसभा अध्यक्षलाई विदेशी खेलबारे जानकारी भएपछि जुनसुकै हालतमा संविधान जारी गर्न उहाँको सक्रियता अगाडि बढ्यो । भदौको दोस्रो सातासम्ममा संविधान जारी गर्ने तयारी अन्तिम अवस्थामा पुग्यो । त्यसपछि  संविधान जारी गर्ने विषयलाई असफल बनाउन राष्ट्रपति रामवरण यादवलाई प्रयोग गर्ने खेल शुरू भयो । तर, यो सबै जानकारी संविधानसभा अध्यक्षलाई गुप्तरूपमा भइरहन्थ्यो ।

अध्यक्षले धैर्यतापूर्वक संविधानसभाको बैठकबाट नेपालको संविधान जारी गर्ने प्रक्रिया सबै पूरा गराउनुभयो । त्यसपछि राष्ट्रपतिलाई संविधानसभाबाट संविधान जारी गर्ने सहमतिका लागि अनेकपटक अनुरोध गर्नुभयो । राष्ट्रपतिले सिंगो तराईका राजनीतिक पार्टीहरू तयार नभएको तर्क दिँदै संविधान जारी गर्न मानिरहनुभएको थिएन । आफ्ना विनम्र प्रयत्नहरू असफल भएपछि पनि संविधानसभा अध्यक्षले आश्विन २ गते राष्ट्रपति भवन गएर यो युगीन महत्त्वको ऐतिहासिक अवसर नगुमाउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।

राष्ट्रपतिलाई यो पनि जानकारी गराउनुभयो कि उहाँ नआए पनि संविधानसभाबाट नेपालको संविधान जारी हुनेछ । संविधान जारी गर्ने पूर्ण अधिकार संविधान सभालाई नै रहेको पनि राष्ट्रपतिलाई जानकारी गराउनु भयो । उहाँ फर्केर निवास आएपछि राष्ट्रपतिले फोन गरी संविधान जारी गर्ने ऐतिहासिक कर्तव्य मैले पूरा गर्छु भनेर जानकारी गराउनुभएको थियो । सोहीअनुसार २०७२ साल आश्विन ३ गते  नेपालको संविधान जारी भयो । 

म आज सम्झन्छु, ठीक समयमा ठीक निर्णय गर्ने त्यो बौद्धिकता र साहसी व्यक्तित्वसहितको सुवास हुनुहुँदैनथ्यो भने त्यस समयमा अकल्पित घटना पनि हुनसक्ने थियो । कमरेड एवं सहयोद्धा तथा नेपाली जनताका प्रिय नेता सुवास लाल सलाम ! तपाईं नेपाली जनताको मनमा युगौंयुगसम्म बाँचिरहनुहुनेछ !!

salt training

कमेन्ट गर्नुहोस्