०९ साउन २०८३, शनिबार

अर्कै विद्यार्थीको उत्तरपुस्तिका प्राध्यापककी छोरीकोमा जोडेको भन्दै आन्दोलन, गाडीमा आगजनी

असोज ३, २०८०
विराटनगर
अर्कै विद्यार्थीको उत्तरपुस्तिका प्राध्यापककी छोरीकोमा जोडेको भन्दै आन्दोलन, गाडीमा आगजनी

महेन्द्र मोरङ क्याम्पस विराटनगरका एक प्राध्यापकले अर्कै विद्यार्थीको उत्तरपुस्तिकाको ‘थप अंश’ आफ्नी छोरीकोमा राखेको भन्दै भएको विरोधले उग्ररूप लिएको छ ।

मानविकी संकायको स्नातक तहमा अध्ययनरत छात्रा सन्ध्या कायस्थले थप गरेको उत्तरपुस्तिका गायब भएपछि शुरू भएको विरोधले उग्ररूप लिएको हो ।

सन्ध्याले २०७८ मंसिरमा परीक्षा दिएकी थिइन् । 

२०७७ सालमै हुनुपर्ने परीक्षा कोभिड– १९ का कारण २०७८ मा मात्रै भएको थियो । ऐच्छिक अंग्रेजी विषयको परीक्षामा उत्तर पुस्तिका थप गरेर लेखेकोमा थप गरिएको जति हराएको उनको गुनासो छ ।

उक्त उत्तरपुस्तिका निकालेर सोही क्याम्पसका प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तकोमा ‘अट्याच’ गरिदिएको आरोप लगाउँदै आन्दोलन चर्किएको हो ।

सन्ध्या र आस्थाले एउटै कक्षाकोठामा परीक्षा दिएका थिए ।

आक्रोशित विद्यार्थीले बुधवार बिहान डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको त्रिवि परीक्षा नियन्त्रकको बा. १७ च. ८२३८ नम्बरको गाडीमा आगो लगाइदिएका छन् । 

यसबीचमा सन्ध्यालाई थामथुम पार्न २०८० वैशाखमा पुनः परीक्षा दिन पनि लगाइएको थियो । दोस्रो वर्षको नियमित परीक्षाफल आइसक्दा पनि उक्त परीक्षाको नतिजा आएको छैन ।

त्यसपछि यही असोज असोज २ गते साँझ डिग्री क्याम्पसमा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिएर क्याम्पस प्रमुख बाबुराम तिमिल्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईँलाई विद्यार्थीले कार्यकक्षमै थुनेका थिए ।

छलफल निष्कर्षविहीन भएपछि राति १ बजे मोरङ प्रहरीले ताला फुटाएर उनीहरूलाई कोठाबाट निकालेको थियो ।  

यस्तो छ घटनाको नालीबेली 

परीक्षा २०७८ मंसिरमा भएकोमा १५ महिनापछि रिजल्ट आएको थियो । अन्य विषयमा समग्रमा ७० प्रतिशत अंक ल्याए पनि सन्ध्या ऐच्छिक अंग्रेजीमा भने फेल भइन् ।

४ पृष्ठ थपेर समेत लेखेको विषयमा फेल भएपछि उनलाई शंका लाग्यो । 

प्राध्यापक राजन दत्तले आफ्नो उत्तरपुस्तिका २ पटक पल्टाएर समेत हेरेको सम्झिएपछि शंका लागेको उनको भनाइ छ । पछि ‘रिटोटलिङ’ गर्दा उही नम्बर आयो ।

त्यसपछि उनी उत्तरपुस्तिका ‘रिचेक’ गर्न मागसहित काठमाडौं गइन् ।

त्यतिखेर उत्तरपुस्तिका हेर्दा थप गरेको अंश गायब भएको र स्टिच समेत नगरिएको पाइएको उनी बताउँछिन् । उत्तर पुस्तिका थप गर्दा माथि प्लस वान, प्लस टु लेख्ने गरिन्छ । तर, त्यो प्लस वान, प्लस टु लेखेको भाग नै च्यातेको उनको आरोप छ ।

उनलाई कन्ट्रोलर पुष्पराज जोशीले २०८० वैशाख ४ गते विराटनगर जाऊ, तिम्रो रिजल्ट पोजेटिभ हुन्छ भनेर आश्वासन दिएका थिए ।

‘परीक्षा दिएपछि रेगुलर मार्कसिटमै तिम्रो मार्क्स एड् गर्दिन्छु, स्टार लाग्दैन, दुई/तीन दिनमै रिजल्ट दिन्छौं भनेर मलाई जोशी सरले ‘कन्भिन्स’ गर्नुभयो । त्यसबेला प्रिन्सिपल बाबुराम तिमिल्सिनाले पनि त्यो कुराको जिम्मा लिनुभयो । त्यसपछि मैले परीक्षा पनि दिए,’ उनले भनिन्, ‘तर, दुई/तीन दिनमा रिजल्ट आउँछ भने पनि वैशाख १९ गते दिएको परीक्षाको रिजल्ट अहिलेसम्म आएको छैन । फोन गर्दा कन्ट्रोलर सरले रिसिभ गर्नुहुन्न । यहाँ सरलाई सोध्दा आज–भोलि मात्र भन्नुहुन्छ ।’

यता क्याम्पस प्रमुख बाबुराम तिमिल्सिनाले भने उत्तरपुस्तिका सन्ध्याले भनेजस्तो प्राध्यापककी छोरीकोमा नपरेको दाबी गर्छन् । उत्तरपुस्तिका हराएको भने उनको स्वीकारोक्ति छ ।

उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेकाले सत्यतथ्य बाहिर आउने तिमिल्सिनाले बताए ।

सन्ध्या र आस्थाले एउटै कोठामा बसेर बसेर परीक्षा दिएका थिए । परीक्षाको गार्ड भने  प्राध्यापक राजन दत्त नै थिए । आफ्नै छोराछोरी भएको कोठामा गार्ड भएर बस्न पाइँदैन ।

आस्था राजन दत्तको छोरी भन्ने कुरा त्यतिबेला आफूलाई थाहा नभएको तिमिल्सिना बताउँछन् । बाँकी कुरामा अनावश्यक आशंका गरिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्