
ब्रिटिस काउन्सिलले वार्षिक रुपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ ।
प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ ।
विजेता हुनेमा रिजु अधिकारी – प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार), उज्ज्वल भेटुवाल – द्वितीय पुरस्कार जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार) र रिशिका शाह – तृतीय पुरस्कार जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार) रहेका छन् ।
यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् ।
काउन्सिलले विश्वभर अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार रुपैयाँ)सम्मको ट्युसन शुल्क छुट दिने गरेको छ ।
यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो ।

हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए ।
दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिस काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ ।
‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं’, ब्रिटिस काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन्, ‘हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ ।’
आईएलटीएसबारे
अन्तरराष्ट्रिय अंग्रेजी भाषा परीक्षा प्रणाली (आईईएलटीएस) उच्च शिक्षा र आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपूर्णता परीक्षा हो ।
विश्वभर झन्डै १२ हजार संगठनहरूले आईईएलटीएसलाई विश्वास गरिरहेका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी र पेशागत निकायहरू प्नि छन् ।
आईईएलटीएस ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीएस अष्ट्रेलिया र क्याम्ब्रिज एसेसमेन्ट इंगलिशको संयुक्त स्वामित्वमा रहेको छ ।