०८ असार २०८३, सोमबार

महासमिति बैठकमा विदेशका प्रतिनिधि : कांग्रेसको नेतृत्व अब युवाको हातमा आउनुपर्छ

फागुन ९, २०८०
काठमाडौं
महासमिति बैठकमा विदेशका प्रतिनिधि : कांग्रेसको नेतृत्व अब युवाको हातमा आउनुपर्छ

नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिबाट पनि प्रतिनिधिहरू नेपाल आएका छन् ।

ललितपुरको गोदावरीमा ७ फागुनदेखि जारी महासमिति बैठकमा सहभागी विभिन्न देशका सहभागीहरूले वीपीको आदर्श र सिद्धान्तमा जन्मिएको पार्टी व्यापारीको कब्जामा पुगेको र पैसामा बिकेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

विभिन्न देशमा जनसम्पर्क समितिमा पदाधिकारी र सदस्य रहेर महासमिति बैठकमा आएका प्रतिनिधिले पार्टीमा युवाको नीति र नेतृत्वको लागि पनि जोड दिएका छन् । 

विदेशमा लाखौं नेपाली रहेकाले उनीहरूको सीप, क्षमता र योग्यता नेपालको समृद्धिमा लगाउन राज्यले अधिकतम पहल गर्नुपर्ने उनीहरूको माग छ । साथै उनीहरूले राजनीतिक परिवर्तनको नेतृत्व गराएको जसमात्रै नभई देश विकास, समृद्धि र परिवर्तनको नेतृत्व गर्न पनि पार्टीलाई सुझाएका छन् । 

'नागरिक सरोकारको अगुवाइ कांग्रेसले गर्नुपर्छ'

सीता सापकोटा, अध्यक्ष एनआरएन बेल्जियम एवं पूर्वअध्यक्ष ​नेपाली जनसम्पर्क बेल्जियम

पक्कै पनि विदेश र हाम्रो देशको राजनीतिमा धेरै अन्तर छ । विदेशमा सिस्टममा चलेको छ, तर यहाँको राजनीतिमा बेथिति छ । पार्टीको सिद्धान्त मर्म र आस्था मन परेकाले वीपीको यो पार्टीमा हामी आबद्ध भएका हौं । तर हाम्रो पार्टीमा पनि केही बेथिति भने छन् । हिजो दुःख पाएका, खुट्टामा चप्पल नभएका, आङमा कपडा नलगाएका साँच्चिकै कांग्रेसले प्रतिपादन गरेको सिद्धान्तभित्र रहेका भन्दा नरहेका व्यापारीको हातमा कताकता पार्टी गएको हो कि, पैसामा पार्टी बिकेको हो कि भन्ने आभाष हामीलाई भएको छ । 

यस्तो हुन दिनु हुन्न । वीपीको पार्टीलाई उहाँले देखाएकै आदर्शमा चलाउनुपर्छ भन्ने मूल्य र मान्यता लिएर आएका हौं । तीन दिनको महासमिति बैठकलाई दुई लाखको टिकट काटेर हामी आएका छौं । पार्टी र प्रजातन्त्रप्रतिको मोहको कारण हामी आएका हौं ।

मुलुकमा भएका सबै ठूला उपलब्धि कांग्रेसको अगुवाइमा भएको हो । यसलाई गुम्न नदिइ नागरिकका सरोकारको अगुवाइ गर्ने पार्टी कांग्रेस बन्नुपर्छ । 

विदेशमा २०/२५ वर्ष बसे पनि म आफैं नेपाली नागरिक भएरै पासपोर्ट नछोडी बसेको छु । यहाँ आन्दोलन हुँदा, नेता चुन्दा नियमित आउने गरेका छौं । तर हामीले चुन्न पाएका छौं ।  चुनिन भने पाएका छैनौं । यस्तो संरचनालाई महासमितिले बदलोस् भन्ने चाहन्छौं । हामीले चुन्ने मात्रै होइन चुनिन पनि पाउनुपर्छ । पार्टीमा लगानी भएपछि हामी पनि लड्न पाउनुपर्छ ।​

'विदेशकै जस्तै भिजनरी र पारदर्शी कांग्रेस बन्नुपर्छ'

चिन्तामणि सापकोटा, महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति स्पेन

हामीले विदेशबाट पनि भाग लिइरहेका छौं । नेपाली कांग्रेस नेपालको माटो सुहाउँदो राजनीतिक पार्टी हो । यसैले हामी यो पार्टीमा आबद्ध छौं । नेपालमा बस्दा पनि विदेशमा जाँदा जाँदा पनि निकास दिने पार्टी कांग्रेस नै हो । प्रत्येक आन्दोलनको नेतृत्व यही पार्टीले गर्दै आएको छ । परिवर्तनको मुद्दाको अगुवाइ गर्ने मात्रै होइन संविधान दिने नेतृत्व पनि कांग्रेसले गर्‍यो । जहाँ जो जे अवस्थामा आए पनि अन्ततः निकास दिने पार्टीको रुपमा कांग्रेस स्थापित भएको छ । 

अहिलेको अवस्थामा केही समस्या पार्टीभित्र अवश्य छन् । तर हामी सुध्रिएको कांग्रेस देख्न चाहन्छौं । पार्टीमा नेतृत्व परिवर्तन नहुनु, नीति परिवर्तन नहुनु जस्ता समस्या छन् । यसैले समयानुकूल कांग्रेस सुध्रिनुपर्छ । विदेशमा पनि हामीले राजनीतिक पार्टी हेरिरहेका छौं, देखिरहेका छौं । 

त्यहाँका नीति पनि हेरिरहेका छौं । त्यहाँ हुने नीतिभन्दा धेरै फरक छैन । तर विदेशमा नेपालमा जस्तो भ्रष्टाचार छैन । राजनीतिक पार्टीका भिजन क्लिएर र उनीहरू पारदर्शी छन् । यस्तै कुरा कांग्रेसमा देख्न पाए यो भन्दा राम्रो पार्टी अरु हुने छैन । यसैले हामी विदेशमा हुँदा पनि यो पार्टीमा आस्थाले लागेका छौं । जहाँ बसे पनि देशको उन्नतिको लागि समर्थन गर्न यहाँ आइपुगेका हौं । ​

'कांग्रेसको नेतृत्व अब युवा पुस्ताले गर्नुपर्छ'

गौतम दाहाल, नेपाली जनसम्पर्क समिति अमेरिका

महासमिति कांग्रेसको आन्तरिक अभ्यास हो । कांग्रेसका प्रति विश्वास र भरोसा छ । यो ठूलो, पुरानो र अन्तर्राष्ट्रिय रुपमा नै चर्चामा रहेको पार्टी हो । डेमोक्रेटिक पार्टीको रुपमा कांग्रेसको जुन लिगेसी छ । तर पछिल्लो समय विभिन्न कारणले गर्दा कांग्रेसको भरोसा टुट्दै गएको हो कि, नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने कडी टुट्न थालेका हुन् कि भन्ने चिन्ता हामी सबैलाई छ । महासमितिबाट हामी भरोसा र विश्वासलाई टुट्न दिन हुँदैन भन्ने अपेक्षा यो महासमितिबाट गर्छौ । पुन जागृत गर्नुपर्छ । कांग्रेसमा युवा पुस्ता क्रियाशील भएर आएका छन् । अबको महाधिवेशनले युवा पुस्तालाई नै नेतृत्व गर्छ । निराशाका कुरा मात्रै गरेर हुँदैन, आशाको संचार र उत्साह पैदा गराउन सक्नुपर्छ ।​

भूगोलबाहिर रहेकाको अपेक्षा कांग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निभाउनुपर्छ भन्ने छ । खाली राजनीतिक आन्दोलन र परिवर्तनको मात्रै होइन सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्नुपर्छ । 

पुस्तान्तरणको समय आएको छ । यस्तोमा पुस्तालाई आकर्षण गर्ने योजना खै त ? हामी १५/१६ वर्षको हुँदा नेविसंघमा एकदमै आकर्षण थियो । आज कहाँ छ ? हामीले त्यो पुस्तालाई कसरी कांग्रेससँग जोड्ने ? तरुण युवालाई कसरी कांग्रेससँग ल्याउने ? 

विदेशमा बसेका हामी युवा पुस्ता, मध्यम पुस्तालाई यो भूगोलसँग कसरी जोड्ने ? यी कुरामा कांग्रेस नेतृत्व र हामी महासमिति सदस्यले ध्यान दिनुपर्छ । किनकि महाधिवेशनपछि महासमिति कांग्रेसको शक्तिशाली पार्टी फोरम हो । 

विदेशमा रहेका नेपालीको सीप, क्षमता र योग्यतालाई प्रयोगलाई देश हितमा लगाउन सरकारले पहल गर्नुपर्छ । महामन्त्रीको प्रस्ताव सबै दलबीच साझा सहमति हुनुपर्ने बताउनुभएको छ । विदेशमा भएका नेपालीको सीप, पूँजी र ज्ञानलाई ल्याउन एउटा राजनीतिक दलले मात्रै पहल गरेर हुँदैन ।

अधिकार दिने कुरामा हामीलाई आशा देखाउने मात्रै कुरा भएको छ । अधिकार दिने कुरामा पनि दलका बीचमा साझा राष्ट्रिय सहमति होस् । गैरआवासीय नेपाली, जनसम्पर्क समितिमा आबद्ध साथीहरू ज्ञान, सीप र विवेकको धनी हुनुहुन्छ । उहाँहरूको क्षमता र योग्यतालाई कसरी ल्याउन सकिन्छ यसको लागि सामूहिक पहल गर्नुपर्छ ।

'पुराना नेताले अवकाश लिनुपर्छ​'

पदमसुन्दर गुरुङ, सभापति​ बहराइन जनसम्पर्क समिति

यहाँ भूगोल, रहनसहन, वातावरण हरेक हिसाबले विदेशभन्दा हामी फरक छौं । तर नैतिकताको विषय भने विश्वभर उठ्ने विषय हो । वचनवद्धता र प्रतिज्ञाको कुरामा पनि हाम्रो नेताहरूको कमीकमजोरी छ । आज एउटा कुरा गर्ने तर भोलि अर्कै बोल्ने प्रवृत्ति नेताहरूमा छ ।

यस्तो शैली सुधार्नुपर्छ । यस्तो शैली सुधार्नुस् भनेर जनसम्पर्क समितिले बेलाबेलामा निमन्त्रणा गरेर नेताहरूलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउने, राजनीतिबारे सूचना दिने, विभिन्न सेक्टरकासँग साक्षात्कार गराउने काम गर्दै आएका छौं । यद्यपी हामी आशावादी छौं । 

नेपालको राजनीतिमा अब एक तहका एक उमेरसमूहका र हिजो धेरै योगदान दिएकाहरू माथि क्यापलक गरेर बस्नुभएको छ । अब विस्तारै अवकाश लिएर नयाँ सोच, विचार र चिन्तन भएका युवा नेतालाई सहयोग गर्नुपर्छ ।​

विदेशमा रहेकालाई मतदानको अधिकार दिनुपर्छ​

हरिबोल भण्डारी, महासमिति​, नेपाली जनसम्पर्क समिति अमेरिका

जनसम्पर्क समिति महामानव विपीले खोल्नुभएको हो । यसैले यसमा विदेश र स्वदेश भन्ने नै हुँदैन । विदेश र स्वदेशमा भए पनि हामी नेपाली कांग्रेस हो । विदेश र नेपालको पार्टी अभ्यास धेरै फरक छ । हामी सानो देश छौं तर डेमोक्रेटिक अभ्यासमा हामी धेरै अगाडि छौं । तर पनि हामीले विदेशबाट सिक्ने कुरा धेरै छन् ।

महामन्त्रीले प्रस्ताव गर्दा उम्मेदवार छान्ने प्रक्रिया पारदर्शी भएन भन्ने कुरा उठाउनुभएको छ । विदेशको सिको गर्दै भूगोल अनुसार प्राइमरीबाट उम्मेदवार छान्नुपर्छ भन्ने प्रस्ताव उत्साहप्रद छ । कतिपय विदेश र यताको कुरा राम्रो छैन । तर विदेशका राम्रा कुराबाट सिक्दै जानुपर्छ । 

धेरै बाध्यताले विदेश जाने क्रम बढेको छ । आर्थिक विकास गर्ने विषय विदेशमा रहेका नेपालीविना सम्भव छैन । रेमिट्यान्स मात्रै होइन दक्ष जनशक्ति, सीप हरेक हिसाबले विदेशमा रहेका नेपाली पनि देशको लागि उत्तिकै ठूला पूँजी हुन् । यस्ता विदेशमा रहेका नेपाली नजोडिएसम्म नेपालमा प्रभावकारी विकास गर्न गाह्रो हुन्छ ।

विदेशमा रहेका नेपालीलाई सर्वोच्च अदालतले नै मतदानको व्यवस्था गर्न गाँठो फुकाएको छ । तर कार्यान्वयनमा गएको छैन । निर्वाचन आयोगले पनि यसलाई कार्यान्वयनमा लाने कुरा भएको छ । एक दुईवटा देशबाट प्रयोग गर्ने आयोगले जनाएको छ । विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने मात्रै होइन भोट खान पनि पाउनुपर्छ भन्ने माग बाहिर रहेका नेपालीको छ । 

'विदेशको एक्सपर्टिजलाई जोड्ने निर्णय गरोस्'

कुल आचार्य, निवर्तमान अध्यक्ष, गैरआवासीय नेपाली संघ

सबै दलको आ आफ्नो विधान र छलफल गर्ने क्रम भएको छ । कांग्रेसले पनि महासमितिको बैठक गरिरहेको छ । म कांग्रेसको महासमिति सदस्य होइन । म एनआरएनको निवर्तमान अध्यक्ष भएको नाताले हामी सबै पार्टीसँग काम गर्छौ । पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेसले उदार नीति ल्याएको छ । यो नीति ल्याउँदै गर्दा धेरै विदेशमा रहेका नेपालीलाई कसरी नेपालको हितको निम्ति जोड्ने भन्ने प्राथमिकतामा पर्नुपर्छ । 

नेपालको लागि विकासको लागि कसरी सच्चा साझेदार बनाउने भन्ने विषयमा सबै पार्टीले संलग्नता गरोस् भन्ने चाहन्छु । भर्खरै मात्रै गैरआवासीयलाई नागरिकता दिने विषय प्रारम्भ भएको छ । पहिलो नागरिकता मैंल प्राप्त गरेको छु । तर नागरिकताको विषय कानुनमा राम्रोसँग व्यवस्था भएको छैन ।

यस्ता कुरामा ख्याल गर्नुपर्छ । देशको विकासको लागि विदेशमा बस्नेलाई सामाजिक सुरक्षाको कोषको शुरूआत भएको छ । हामी यसलाई स्वागत गर्न चाहन्छौं । झण्डै ९० अर्ब रुपैयाँ पैसा जम्मा भएको छ । यसलाई सदुपयोग गर्नुपर्छ । देशमा पार्टीले शासन गर्ने हो । सुशासन पनि दिने हो । यसैले पार्टीहरूले देश बाहिर रहेका एक्सपर्टिजलाई जोड्ने गरी पार्टीले निर्णय गरिदेओस् भन्ने हाम्रो अपेक्षा छ ।

salt training

कमेन्ट गर्नुहोस्