
लुम्बिनी विकास कोषभित्र गुम्बाका नाममा कंक्रिटका ठूला एवं अनावश्यक संरचना बनिरहेका छन् । विकास कोषले विहार क्षेत्रलाई उपलब्ध गराएको जग्गामा गुम्बा (मोनास्टी)का नाममा होटलका संरचना धमाधम निर्माण भइरहेका हुन् ।
सम्पदा क्षेत्रको मूल्य मान्यताविपरीत बनेका संरचनाले लुम्बिनीको स्वरूपमा नै आघात पुगेको पुरातत्वविद् र सरोकारवालाले बताउँदै आएका छन् ।
मापदण्डविपरीत धमाधम होटलका लागि संरचना बनाउँदा समेत विकास कोष मौन छ । विहार/गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाविपरीत होटलसरह सेवा सञ्चालन चलिरहेका छन् ।
लुम्बिनी क्षेत्रभित्र निर्माण भएका र निर्माणाधीन अवस्थमा रहेका विहारहरूलाई व्यवस्थित र निश्चितअनुसार सञ्चालन गर्न मापदण्ड बनेको छ । तर, विकास कोषका पदाधिकारीहरूको मौनताका कारण मोनास्टी क्षेत्रमा जग्गा लिएका विभिन्न मुलुकले मापदण्डविपरित काम गरिरहँदा समेत विकास कोष रमिते बनेको छ ।
पछिल्लो समय मलेसियाले निर्माण गरिरहेको मोनास्टी होटलको रूपमा निर्माण भइरहेको छ । अन्डरग्राउन्डसहित ६ तलासम्मका भवन बन्दा समेत विकास कोष मौन देखिन्छ । १५० बढी एट्याच बाथरूमसहितको बनिरहेको गुम्बा निर्माणको संरचना हेर्दा ‘स्टार लेभल’ का होटलभन्दा कम छैन ।
पुरातत्वविद् तथा लुम्बिनीका जानकार वसन्त बिँडारीका अनुसार विकास कोषका कर्मचारीको ‘ग्रीन सिग्नल’ पाएपछि यस्ता संरचनाहरू बन्ने गर्छन् ।

‘विकास कोषको विनियम छ,’ बिँडारी भन्छन्, ‘यस्ता संरचना कर्मचारी स्वार्थमा परेर बन्ने गर्छन् । सुविधासम्पन्न विहार छन् । नदी नै फोहोर भएपछि अरू राम्रो हुन्छ भन्ने सोच्नु नै हुँदैन ।’
मलेसियाले लुम्बिनीको ४२ वटा प्लटमध्ये एक प्लट लिजमा लिएर निर्माण शुरू गरेको हो । कुनै पनि देशले ९९ वर्षका लागि प्लट लिजमा लिएर विहार तथा गुम्बाहरू बनाउँदै आएका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विहारहरूलाई आफूहरूले व्यावसायिक रूपमा भिक्षुहरू राख्न नदिएको बताउँछन् ।
‘ठूला मोनास्टी बने भन्दैमा त्यसमा व्यावसायिक गतिविधि भए भन्न मिल्दैन,’ शाक्य भन्छन्, ‘विहारमा धेरै लामाहरूले अध्ययन गर्छन् । सुविधा राम्रा भए भन्दैमा होटल भए भन्न हुँदैन । धार्मिक आस्थाका रूपमा आउने भिक्षुहरू विहारमै बस्न रुचाउँछन् ।’
कोषभित्र गुरुयोजनाविपरीत निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचीबाट हटाउन सक्ने युनेस्कोले चेतावनी दिँदै आएको छ ।
लुम्बिनी सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो । लुम्बिनी विकास कोष विहार क्षेत्रमा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नका लागि पाँचजना भिक्षु/भिक्षुणी र उनीहरूको सहयोगीको रूपमा थप पाँचजना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ ।

विश्वका विभिन्न देशले लुम्बिनीमा मोनास्टीहरू बनाएका छन् । श्रीलंकन, थाई, ब्रजयान विहारमा धेरै भिक्षुहरू बस्ने गरेका छन् । धर्मशाला बनेका गुम्बामा हरेक दिन २ हजार जति धार्मिक आस्थाले आउनेहरू पैसा तिरेरै बस्ने गर्छन् ।
गुम्बामा बस्नेहरूलाई पैसा लिन नपाइने हो, तर त्यहाँ प्रतिव्यक्ति हरेक दिन ५०० देखि ७०० रुपैयाँसम्म लिएर राख्ने गरिएको छ । लुम्बिनीमा आउने पर्यटकलाई सबै सुविधासहित होटलको स्वरूपमा बनेका मोनास्टीले पर्यटन क्षेत्र उकासिन नसकेको लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरुषोत्तम अर्यालले बताए ।
बौद्ध धर्मगुरू श्याल्पा तेञ्जिङ रिन्पोछेले लुम्बिनीमा सात वर्षअघि शुरू भएको विश्वशान्ति धामको निर्माण फेरि अघि बढाएका छन् ।
५ अर्ब रूपैयाँ लागत अनुमान गरिएको धाम ४४ मिटर उचाइको चार तले र कमलको फूल आकारको बन्दैछ । विश्वशान्ति धाम निर्माणका लागि ६६ रोपनी जग्गा उपलब्ध गराइएको छ । धामको हरेक तला ३४ सय वर्गमिटर क्षेत्रफलका हुने र त्यहाँ १ हजार ५०० जना अट्ने शान्ति वार्ता हल, शान्ति संग्रहालय, शान्ति पुस्तकालय, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्स्टिच्युट, रिट्रिट सेन्टरलगायतका संरचना बनाइँदैछ । यस्तै केही समयअघि निर्माण सम्पन्न भएर उद्घाटन गरिएको नेपाल थेरबाद विहार पनि पहुना अनुकूल छ । १ करोड ९० लाखमा बनेको बिहारको केही दिनअघि उद्घाटन गरिएको थियो ।

विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भटटराईले मोनास्टीमा गतिविधि नबढेसम्म लुम्बिनीको समग्र क्षेत्र चलायमान नहुने दाबी गर्छन् ।
उनले भने, ‘संरचनागत गतिविधिबारे हामीले पत्राचार गरेका छौं, छिट्टै केही आउला ।’ लुम्बिनीको गुरूयोजनाअनुसार त्यहाँ बनाइएका गुम्बा, चैत्य, विहार ध्यान केन्द्रलाई कोषको विहार क्षेत्र विनियमावली– २०५८ अनुसार थप मापदण्ड बनाउनुपर्नेमा कोषका कर्मचारी र पदाधिकारीहरूले मौन स्वीकृत दिँदा गुम्बा सञ्चालकहरूको मनोमानी बढ्दै गएको लुम्बिनीका स्थानीयवासीहरूले गुनासो गर्ने गर्छन् ।
वि.सं.२०७७ साउनमा कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन तत्कालीन पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईलाई वृहत् लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत निर्माण गरिएका र निर्माणाधीन बाँकी प्लटहरू (विहारहरू) को वस्तुस्थितिको अध्ययनसम्बन्धी प्रतिवेदन बुझाइएको थियो । कोषको विनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुँचको भरमा दुईदेखि तीन वटासम्म दिइएको छ । लुम्बिनीमा ४२ वटा संस्थालाई निर्माण गर्ने अनुमति पाएका छन् ।
लुम्बिनी विकास कोष विहारक्षेत्र विनियमावली, २०५८ मा थप स्पष्टतासहित निश्चित मापदण्ड निर्धारण गरी नियमित अनुगमनको थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने, विहार क्षेत्रभित्र विनियमावलीमा उल्लेख भएबमोजिम धार्मिक गतिविधिमा संलग्न हुने सुझाव दिइएको छ ।

लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली– २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नका लागि ५ जना भिक्षु–भिक्षुणी र उनीहरूको सहयोगीको रूपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर, विहारमा अहिले सम्झौताविपरीत संरचना निर्माण गरी दैनिक सयौँ पर्यटकहरूलाई राख्दै आएका छन् । पाहुनाहरूलाई आतिथ्यता प्रदान गर्न सकिने तर, व्यावसायिक दृष्टिले होटल लगायतका संरचना निर्माण र सञ्चालन गर्न नपाइने, लुम्बिनीको विहार व्यवस्थापनको अभ्यासबाट पाठ सिक्दै वृहत् लुम्बिनी क्षेत्रको रूपमा रहेको रामग्राम, तिलौराकोटलगायत क्षेत्रमा पनि विहार क्षेत्र किटान गरी व्यवस्थापनको कार्य गर्न सकिने लगायतका सुझावहरू प्रतिवेदनमा उल्लेख छ ।
लुम्बिनी विकास गुरुयोजना ४६ वर्ष पूरा हुँदैछ । सन् १९७८ मा शुरू गरिएको गुरुयोजना १४ वर्षभित्र पूरा गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको थियो । गुरूयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने कतिपय संरचनाहरू निर्माण भइसके पनि कतिपय महत्त्वपूर्ण संरचनाहरूको निर्माण कार्य अझै बाँकी छ । जापानी वास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजनाअन्तर्गत १ हजार १५५ बिघामा पवित्र उद्यान, मोनास्टी जोन र न्यू लुम्बिनी भिलेजका रूपमा विकास गर्ने योजना रहेको छ ।

सदस्य सचिव शाक्यले भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरूपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रूपमा स्थापित गर्न हुन अनुरोध गर्दै व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न आग्रह गरिएको बताए । विहार क्षेत्र विनियमावली, २०५८ मा रहेको प्रावधानअनुसार सम्बन्धित विहारमा आउने कुनै नयाँ विदेशी नागरिक बस्न आउने भएमा आउने मिति र फर्कने मितिसमेत उल्लेख गरी कोषमा जानकारी गराउनुपर्ने पत्रमा उल्लेख छ ।
बौद्ध विहार/गुम्बा, ध्यान केन्द्रहरू निर्माण भई सञ्चालनमा रहेको अवस्थामा हालका दिनमा विहार/गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटलसरहका कोठा तयार गरी व्यापारिक प्रयोजनले पर्यटक राखिएको भन्दै लुम्बिनी होटल संघ विकास कोषलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ ।