
नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुले ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने महोत्सव जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर उत्प्रेरणा दिन महोत्सव गर्न लागिएको जानकारी दिए ।
महोत्सवमा अहिले पिढीका विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने उनको भनाइ छ ।
महोत्सवका संयोजक तथा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनको साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझावसमेत लिने बताए ।
महोत्सवमा नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारीलगायत विषयमा सामुहिक छलफल हुनेछ ।
महोत्सव संयोजक गिरीका अनुसार महोत्सवमा विद्यार्थीलाई कसरी उत्पादनँंग जोड्ने र र पढ्दै–कमाउँदै सम्भावनाका बारेमा पनि छलफल गरिने छ ।
महोत्सवमा २५० भन्दा बढी शैक्षिक, पर्यटक र सांस्कृतिक स्टल राखिने छन् ।
महोत्सवमा उपत्यकाकासहित बाहिरबाट करिब एक लाख विद्यार्थीलाई अवलोकन गराइने छ । महोत्सवमा सातै प्रदेशका रहनसहन, भेषभुषा झल्कने सांस्कृतिक कार्यक्रम पनि दिउँसो ३ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
यस्तै महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको वहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने अनेरास्ववियुले जनाएको छ ।