१३ असार २०८३, शनिबार

मन्त्रालयका कर्मचारी वर्षको आठ महिना विदेश भ्रमणमा, धेरै घुम्नेमा महिला मन्त्रालयका अगाडि

कात्तिक २०, २०७४
मन्त्रालयका कर्मचारी वर्षको आठ महिना विदेश भ्रमणमा, धेरै घुम्नेमा महिला मन्त्रालयका अगाडि
काठमाडौं, २६ माघ – सहसचिव निजामती सेवामा मुख्यसचिव र सचिवपछिको तेस्रो ठूलो पद हो । सहसचिव मन्त्रालयमा महाशाखा प्रमुख र विभागहरूमा महानिर्देशक, कार्यालय प्रमुखका रूपमा खटाइन्छन् । पछिल्ला वर्षमा सरकारले महत्त्वपूर्ण जिल्लामा सहसचिवलाई नै प्रमुख जिल्ला अधिकारीका रूपमा खटाउने गर्छ ।

तर यति ठूलो जिम्मेवारी बोकेका उच्चपदस्थ सरकारी कर्मचारीले पाएँ भन्दैमा सबै छोडेर विदेश गएको गयै गर्न मिल्छ ? प्रशासनविद्का भनाइमा, अति आवश्यकबाहेक अघिपछि सहसचिवजस्तो व्यक्ति जिम्मेवारी छोडेर विदेश गइरहनु राम्रो होइन । तर हाम्रोमा सहसचिवहरू महिनौंपिच्छे विदेश जाने गरेको घटना सार्वजनिक भएको छ ।यसको पछिल्लो उदाहरण हो – महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय ।

उक्त मन्त्रालयका एक महिला सहसचिव एकै वर्षमा आठपटक विदेश भ्रमणमा गएको तथ्य बाहिर आएको छ । समाजकल्याण मन्त्रालयकी सहसचिव राधिका अर्याल प्रायः महिनैपिच्छे सरकारी खर्च र सुविधामा विदेश भ्रमणमा गएको देखिएको छ ।

उनी गत आर्थिक वर्ष (आव) मा मात्रै विभिन्न कार्यक्रमका नाममा आधा दर्जन मुलुक चहारिन् । गत आवको जुलाईमा दुईपटक पाकिस्तान, सेप्टेम्बरमा एकपटक रुस, नोभेम्बरमा स्विट्जरल्यान्डको जेनेभा र श्रीलंका, फेब्रुअरीमा कम्बोडिया र मार्चमा दुईपटक अमेरिका भ्रमण गरिसकेकी छिन् ।

आर्थिक वर्ष (आव) २०७१\७२ मा झण्डै दर्जन देश घुमेकी उनी गत आवमा मन्त्रालयबाट सबैभन्दा धेरै विदेश भ्रमणमा जानेमा पर्छिन् । उनी सम्भवतः धेरै विदेश भ्रमणमा जाने कर्मचारीकै कोटिमा पर्ने अधिकारीहरू बताउँछन् ।

आव २०७१\७२ मा उनले बंगलादेश, इन्डोनेसिया, दक्षिण कोरिया, थाइल्यान्ड, श्रीलंका, भारत, अमेरिका लगायतका मुलुकको भ्रमण गरेकी थिइन् ।

त्यस्तै, गत वर्ष नै मन्त्रालयका सहसचिव शंकरप्रसाद पाठक विभिन्न चार देशको भ्रमणमा गएका छन् । यस मन्त्रालयका अधिकांश सहसचिव र उपसचिव वर्षैभरि विदेश भ्रमणमा हिँडेका देखिन्छन् ।

कोटा पाँचवटा तर ४४ वटा कार्यक्रममा सहभागिता

गत आवमा सामान्य प्रशासन मन्त्रालयले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका लागि तालिम र अध्ययन गरी पाँचवटा मात्र विदेश भ्रमणका कार्यक्रमको स्वीकृति दिएको थियो । तर सो अवधिमा मन्त्रालयले विभिन्न ४४ वटा वैदेशिक अध्ययन तथा तालिममा सहभागिता जनाएको छ ।

सहसचिव र उपसचिव घुमेका घुम्यै, अरूलाई छैन अवसर

गत आवमा विदेश भ्रमणमा जानेमध्ये अधिकांश सहसचिव र उपसचिव तहका छन् । वर्षभरि विदेश भ्रमणमा सहभागी कर्मचारीको सूची हेर्दा उपसचिवभन्दा माथिल्लो तहका कर्मचारी मात्र त्यस्ता वैदेशिक भ्रमणसम्बन्धी कार्यक्रममा सहभागी देखिन्छन् । मन्त्रालयका सीमित निश्चित सहसचिव, उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, केन्द्रीय बालकल्याण परिषद् र जिल्लाका केही प्रतिनिधि मात्र विदेश भ्रमणसँग सम्बन्धित त्यस्ता कार्यक्रममा गएका देखिन्छन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार गत आवमा नेपाल सरकारलाई अध्ययन, भ्रमण तथा तालिमका नाममा ७ सय ५५ सिट प्राप्त भएको थियो ।

मन्त्रालयका अनुसार सरकारले एकद्वार प्रणालीबाट छात्रवृत्तिमा जाने व्यवस्था गरेपनि मन्त्रालयका कर्मचारीहरू आफूखुुशी विदेश भ्रमणमा जाने गरेका छन् ।

थाहै नदिई एनजीओको कार्यक्रममा सुटुक्क

अधिकारीहरूका अनुुसार मन्त्रालयका कर्मचारीहरू त्यस्ता अध्ययन तथा तालिमको अवसर आउँदा औपचारिक बाटोबाट नगई मन्त्रालयबाटै प्रक्रिया पु–याएर विदेश भ्रमणमा जान्छन् ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले नेपालमा सञ्चालित सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वय र नियमन गर्ने भएकाले पनि तिनै संस्थामार्फत विदेश जान सजिलो हुन्छ । तसर्थ अवसर आउँदा मन्त्रालयबाटै कार्यक्रम स्वीकृत गरेर विदेश भ्रमणमा गइहाल्छन् । तर कानूनतः कर्मचारी विदेश भ्रमणमा जाँदा सोको आधिकारिक जानकारी समितिमा गराउनुपर्छ ।

अनावश्यक गएको छैन : प्रवक्ता

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता डोरेन्द्र निरौलाले त्यहाँका कर्मचारी धेरै विदेश भ्रमणमा गएको स्वीकारे । ‘तर अनावश्यक रूपमा चाहिँ गएको छैन,’ उनले लोकान्तरसँग भने । ‘विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यक्रममा सहभागिताका लागि गइएको हो,’ उनले भने, ‘कतिपय अन्तर्राष्ट्रिय संघसंस्थाले सिधै मन्त्रालयलाई नै बोलाउने भएकाले प्रक्रिया पु–याएर मन्त्रालयले कर्मचारी पठाउँछ ।’

स्मरणीय के छ भने महिला, बालबालिका तथा समाजकल्याण अन्तर्गत समाज कल्याण परिषद् पर्छ र उक्त परिषद्ले मुलुकमा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको अनुगमन, कार्यक्रम स्वीकृति, निरीक्षण लगायतको काम गर्छ । त्यसैले धेरैजसो गैरसरकारी संस्थाका प्रतिनिधिहरू समाजकल्याण मन्त्रालयको सोझो सम्पर्कमा हुन्छन् ।

‘विदेश भ्रमणलाई कर्मचारीले व्यक्तिगत अवसरका रूपमा हेरे’

सामान्य प्रशासन मन्त्रालयका उपसचिव नमराज घिमिरे वैदेशिक अध्ययन तथा तालिमको दुरुपयोग भएको स्वीकार्छन् । ‘कानूनतः कर्मचारी वैदेशिक अध्ययन तथा तालिममा जाँदा सोको जानकारी सामान्य प्रशासन मन्त्रालय र छात्रवृत्ति समितिलाई गराउनुपर्छ,’ उनी भन्छन्, ‘तर अधिकांश मन्त्रालयले यसको पालना गरेका छैनन् ।’ उनका अनुसार कुनै पनि सरकारी कर्मचारी गैरसरकारी संस्थाको कार्यक्रममा विदेश जान मिल्दैन ।

अधिकांश मन्त्रालयले वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी नियम, निर्देशिका र प्रोटोकल पालना नगरेको उपसचिव घिमिरेले बताए । ‘विदेश भ्रमणलाई उच्चपदस्थ कर्मचारीले व्यक्तिगत अवसरका रूपमा हेरेका छन्,’ उनले थपे । साना तहका कर्मचारी पठाउँदा हुने ठाउँमा ठूला तहकै जाने गरेको गुनासो पनि मन्त्रालयमा प्राप्त भएको उनले बताए ।

के हो भ्रमणको प्रक्रिया ?

सरकारले विदेशमा विभिन्न तालिम तथा अध्ययन भ्रमणमा जाने व्यवस्थाको व्यवस्थापनका लागि एक समिति गठन गरेको छ । सरकारले निजामती सेवा ऐनको दफा ४० ‘ख’ बमोजिम छात्रवृत्ति समिति गठन गरेको छ ।

मुख्यसचिवको अध्यक्षतामा कानून मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सामान्य प्रशासन लगायतका मन्त्रालयका पदाधिकारीको यस समितिमा सहभागिता रहन्छ । यही समितिले कुन मन्त्रालयमा के तालिम तथा अध्ययन आवश्यक छ र कसलाई कस्तो अवसर दिने भन्ने बाँडफाँट गर्छ ।

के भन्छ सर्तकता केन्द्र ?

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले पनि कर्मचारीको विदेश भ्रमणका सम्बन्धमा अध्ययन गरेको थियो । उक्त अध्ययनअनुसार अधिकांश मन्त्रालयले वितरण गरेको छात्रवृत्ति पारदर्शी नभएको निष्कर्ष निकालेको थियो । उक्त अध्ययनले छात्रवृत्ति वितरण गर्दा श्रेणीगत र समानुपातिक वितरण नअपनाइएको निष्कर्ष निकालेको थियो ।

‘गत तीन आवमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कुनै पनि राजपत्रअनङ्कित कर्मचारीलाई अवसर नदिएको देखाउँछ,’ महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सम्बन्धमा केन्द्रले भनेको छ ।

‘हाम्रो छात्रवृत्तिको वितरण प्रणालीमा थुप्रै सुधार गर्नुपर्ने देखिन्छ,’ केन्द्रको अध्ययनको निष्कर्षमा भनिएको छ । अध्ययनमा सहभागी केन्द्रका अधिकारीका अनुसार सामान्य प्रशासनले नै छात्रवृत्ति वितरणमा पारदर्शिता अपनाएको छैन ।

‘सामान्य प्रशासन मन्त्रालयमा नै प्राप्त छात्रवृत्ति आफैंले लिने र सम्बन्धित अधिकारीले आफू निकटकालाई दिने प्रचलन छ,’ केन्द्रका एक अधिकारीले भने । ती अधिकारीका अनुसार केन्द्रमा विगत तीन वर्षदेखि एउटा पनि छात्रवृत्ति कोटा परेको छैन ।

कमेन्ट गर्नुहोस्