०५ असार २०८३, शुक्रबार

माओवादी ‘जनयुद्ध’ का घाइते लडाकु :  राजनीति त्यागेर गृहिणी महिला पढाउन व्यस्त

कात्तिक २०, २०७४
माओवादी ‘जनयुद्ध’ का घाइते लडाकु :  राजनीति त्यागेर गृहिणी महिला पढाउन व्यस्त


काठमाडौं, १ फागुन – प्रसंग हो २०५८ सालतिरको । सूर्यबहादुर रावत हुम्लाको जैरस्थित सरस्वती माविमा पढाउँदै थिए । उनी स्कूलका अस्थायी शिक्षक थिए, जतिबेला देशमा माओवादी ‘जनयुद्ध’ उत्कर्षतर्फ पुग्दै थियो । जिल्लाभरि माओवादीको सन्त्रास थियो । माओवादीले लग्ने डरले गाउँमा युवाहरू शहरतिर पसेका थिए । स्कुले विद्यार्थीदेखि शिक्षकसम्म सबै लुकेर हिँड्थे ।

सूर्यबहादुरका बाजे हुम्लाको जैर गाउँको मुखिया थिए । मुखियाको दुई—तीनवटा घर हुन्थे, त्यतिकै बस्तुभाउ, रासन लगायत सुविधाको कमी थिएन । तर माओवादीले हप्कीदप्की गरेर उनीहरूलाई खुब सताउँथे । सूर्यले आफ्नो तलबको आधी भाग माओवादी ‘जनसरकार’लाई ‘कर’ बुझाउनुपर्थ्यो । उनका दुईवटा घर माओवादीले आफ्नो सेल्टर बनाएका थिए भने रासन, खाद्यान्न सबैमा माओवादीकै मर्जी थियो ।

माओवादी जनयुद्ध उत्कर्षमा रहेको समयमा माओवादीले सूर्यबहादुरसहित २१ जना हुम्ला जिल्लाका शिक्षकहरूलाई युद्धमा लग्न अपहरण गरेर लगे । जान नमान्नेहरू माओवादीको ‘जनकारबाही’मा परे, सात जना शिक्षकले ज्यान गुमाएको सूर्यबहादुरको स्मरण छ ।

माओवादी ‘जनयुद्ध’मा लाग्नु दुर्गम क्षेत्रका जनताको बाध्यता थियो । नगए ज्यान गुमाउनुपर्ने । त्यही भएर मन मारेर भएपनि सूर्यबहादुर माओवादी सँगसँगै युद्धमा सामेल भए । करीब साढे तीन वर्ष उनी माओवादीको सुदुरपश्चिम, मध्यपश्चिम लगायतका पैंतीसवटा जिल्लामा माओवादी ‘जनसेनाको’ लडाकुको रूपमा युद्धको मोर्चामा सामेल भए । अछाम, बाजुरा, बर्दिया र दाङको भालुवाङ लगायतका छवटा स्थानमा सेनासँगको भिडन्तमा उनी पनि सामेल थिए । शिक्षित भएका कारण उनी कमाण्डर पोस्टमा नियुक्त भएका थिए । उनका कमाण्डमा दुईवटा सेक्सनमा लडाकुहरू बाँडिएका थिए । र एक सेक्सनमा एक दर्जन लडाकु सङ्ख्या हुने गर्थे ।

माओवादीमा पसेपछि उनको वास्तविक नाम सूर्यबहादुर रावत हटाएर ‘विकल’ राखियो । हुलिया परिवर्तनका लागि कहिले जुङ्गा पाल्ने कहिले जुङ्गा फाल्ने, कहिले भरिया भएर नचिन्ने भएर मोर्चामा सामेल भएको उनले सुनाए । राजतन्त्र, महिलामुक्तिका कुरा अनेकन नारा दिएर गाउँगाउँ डुले उनी । उनको गाउँ जैरेबाट सिमिकोटसम्म पुग्न तीन दिन लाग्ने गर्दथ्यो ।

माओवादीमा लाग्दालाग्दै उनी सुदूरपश्चिम र मध्यपश्चिमको डिभिजन कमाण्डरसम्म अपग्रेड भएका थिए ।


मरेर बाँचेका विकल
 

युद्ध चलिरहेकै बेला सरकारले बर्दिया, गुलरियाबाट हातहतियार भित्र्याउँदैछ भन्ने सुराकी पाएर हतियार लुट्न ठूलै फोर्ससहित त्यहाँ पुगेका उनीसहितको डफ्फा युद्धकै क्रममा सेनाको घेराबन्दीमा परे । चारैतिरबाट सेनाको आधुनिक हतियारसहित सेनाको हवाई कारबाहीमा धेरै माओवादीले ज्यान गुमाउन पुगे । उनी पनि गोलीको छर्राले घाइते हुन पुगे । ज्यान बचाउँदै उनी भिडन्तस्थलबाट भाग्न सफल भए ।

‘भाग्दाभाग्दै शरीरबाट रगत बगिरहेको समेत पत्तो पाइनँ, पछि ३ घण्टापछि थाहा पाउँदा त धेरै रगत बगेर शरीर शिथिल अवस्थामा पुगेको रहेछ,’ उनी जीवन मरणको त्यो क्षणको स्मरण लोकान्तरसँग साट्दा केही भावुक देखिए । बर्दियाको भिडन्तमा घाइते भएका उनीसहित ९२ जना माओवादी लडाकुहरूलाई भारतमा उपचारका लागि लगिएको थियो । भारतमा उपचारपछि घाइते लडाकूलाई फेरि माओवादी सेनामै फर्काउने कुरा थियो । कैयौं साथीहरू फर्के भने कैयांै कताकता भए । उनी भने भारतमै पन्जाबी सेनाको घरमा काम गर्ने गरी नफर्की उतै बस्न थाले ।

जनसेना छाडेर भारतीय सेना

 पछि पन्जाबी सेनाका हाकिमसँग लागेर इण्डियन आर्मीमा समेत भर्ती भएका थिए उनी । त्यहाँ उनले करीब तेह्र महिना काम गरे । पछि नेपाल फर्किए । उनी नेपालगन्ज आइपुगे । उनको गाउँमा माओवादी र सरकारी दुवै तर्फबाट दमन शुरु भएको थियो । गाउँ फर्किने स्थिति थिएन ।

 त्यतिखेरसम्म उनलाई माओवादी लडाइँप्रति निकै वितृष्णा लागिसकेको थियो । आफैंले सुरक्षा दिएका माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेतृत्वले चिन्न छाडेपछि उनी साँच्चिकै हतोत्साहित भएका थिए । जनसेनाको सही सम्बोधन नभएकोप्रति पनि उनको दुःखेसो छ ।

एकातर्फ अस्थायी शिक्षकको जागिर पनि गुमाए भने माओवादी पार्टीले पनि अयोग्य लडाकुको गणनामा उनलाई पारेर दुवै ठाउँबाट हिस्स पर्नुप—यो उनले । अयोग्य लडाकुलाई दुईलाख दिने घोषणा थियो तर त्यो पर्याप्त थिएन । त्यो दुईलाख पैसाले उनले गुमाएको परिवार र पीडालाई समेट्ने पक्कै थिएन ।

लडाकुको पैसा हिनामिना गरेको आरोपमा पार्टी नेतृत्वमा चितवनमा विरोध जनाएपनि त्यसको खासै सुनुवाइ भने भएन भन्ने उनको भनाइ छ । ‘हामीसँगै युद्धमा लागेका साथीहरू श्रीमती परिवार छोडेर, ज्यान त्यागेर लागेका र अङ्गभङ्ग भएकालाई पार्टी नेतृत्वबाट बेवास्ता भयो,’ माओवादीप्रति कार्यकर्ताको वितष्णा बढ्नुको कारण औंल्याउदै उनले भने ।

गाउँमा रहेको उनको सबै सम्पत्तिमा माओवादीले कब्जा गरेको थियो । र परिवारसँगको बिछोडले विक्षिप्त उनी माओवादी पार्टी त्यागेर आफ्नो पुरानै शिक्षण पेशामा फर्किने सुरमा थिए । त्यसपछि उनले माओवादीको साधारण सदस्यसमेत त्यागे । र नयाँ जीवनको मार्ग खोज्दै उनी साथीको सहयोगमा काठमाडौं छिरे र नागरिक आवाज नामक सामाजिक सेवामा दुई वर्ष काम गरे ।

गृहिणी महिलालाई प्रौढ शिक्षा 

शिक्षण पेशाप्रतिको आस्थालाई निरन्तरता दिन उनी २०६५ सालतिर काठमाडौंको जोरपाटीमा प्रौढ शिक्षा सञ्चालनतिर लागे । पछि जिल्ला शिक्षा कार्यालयबाट शिक्षक तालिम, अभ्यास पुस्तिकाबाट उनले शिक्षण पेशालाई निखार्दै लगे । त्यतिखेर प्रौढकक्षामा ७ सयभन्दा बढी महिलाहरू सहभागी भएका थिए ।

शुरुमा भुइँमा राखेर कक्षा सञ्चालन गरेका सूर्यबहादुरले पछि पढ्न आउने महिला थपिँदै गएपछि जिल्ला शिक्षा कार्यालयको समवन्यमा आदर्श महिला वैकल्पिक विद्यालय खोले । जोरपाटीमा ठाउँ अभावका कारण उनले दुई महिना अघिमात्रै जोरपाटीस्थित खाली जग्गा भाडामा लिएर अशिक्षित महिलाका लागि स्कूल सञ्चालन गर्दै आएका छन् । अहिले उनको स्कूलमा ९५ जना महिलाहरू पढ्न आउने गर्छन् ।

विद्यालयमा विज्ञान, गणित, अंग्रेजी, नेपाली, सामाजिक विषयमा पढाइ हुने गर्छन् । तेह्र वर्ष उमेरदेखि ७५ वर्षसम्मका वृद्ध पनि उनको कक्षामा विद्यार्थी छन् । जोरपाटी, थली, सुन्दरीजल, गोकर्ण र गोठाटार लगायतका ठाउँबाट महिलाहरू पढ्न आइपुग्छन् ।

बिहान पाँँच बजेदेखि सात बजेसम्म एउटा सिफ्ट र दश बजेदेखि बाह्रबजेसम्म अर्को सिफ्ट गरी दिनको दुई सिफ्टमा पढाइ सञ्चालन हुन्छन् । विद्यालयकी सबैभन्दा जेठी विद्यार्थी चै ७५ वर्षीया पासाङ शेर्पा हुन् । पहिला स्कूल ड्रेसको व्यवस्था गरेपनि घरबाट ड्रेस लगाएर महिलाहरूलाई बाहिर निस्कँदा खिस्याउने भएका कारण अहिले आउट ड्रेसमा नै पढाइ हुन्छ । अहिले त्यहाँको कक्षा पाँचवटा गु्रपमा सञ्चालन हुँदै आएका छन् ।

विद्यालयमा आठ तहसम्मको अनौपचारिक शिक्षा छ । त्यस स्कुलबाट पढेर यसै साल सोनु तामाङ, डोमा शेर्पाले एसएलसी तहसम्मको पढाइ पूरा गरेका उदाहरण पनि छन् ।

सासु बुहारी एउटै कक्षामा 

गृहिणी महिलाहरू विशेषतः घरायसी कामहरू सकेर मात्र स्कूलमा पढ्न आउने हुँदा उनीहरूको उपयुक्त समय अनुसार नै कक्षाहरू चलाइएका छन् । ‘एउटै कक्षामा सासु र बुहारी सँगै कक्षामा उपस्थित हुन्छन्,’ उनी सुनाउँछन्, ‘दुवै मिलेर होमवर्क गर्छन् र सँगै घर फर्कन्छन् ।’

पैतालीस वर्षीया अम्बिका नेपाली आफ्नो नाति बोकेर कक्षामा आउँछिन् । उनी खाना बनाइसकेर दश बजे कक्षामा आइपुग्छिन् । एक वर्षअघि मात्र कखरा सिकिरहेकी उनी अहिले भने नेपाली अक्षर लेख्न र पढ्न खप्पिस भइसकेकी छिन् । कतै जाँदाखेरी नहराउन र बोर्डहरू पढ्न पनि सजिलो भएको उनी बताउँछिन् ।

छोराछोरीलाई खाना खुवाएर स्कूल पु—याएर मात्र महिलाहरू स्कूल पुग्छन् । शिक्षकले दिएको ज्ञानी बच्चाले झैं होमवर्क गर्छन् । ‘कतिले पसल चलाउनलाई भएपनि मलाई हिसाब मात्र सिकाइदेउ भनी आउँछन् त्यसै अनुसार उनीहरूलाई सिकाउने गर्छु,’ सूर्यबहादुर भन्छन् ।

साग बेच्ने गीताले सिकिन् अंग्रेजी 

बौद्धमा सागसब्जी पसल थाप्दै आएकी गीता भुजेल कक्षा पाँचमा पढिरहेकी छन् । उनले हाँस्दै आफ्नो परिचय अंग्रेजीबाट दिइन् । ‘पहिलादेखि पढ्ने इच्छा भएपनि पढ्न नपाएको र अहिले स्कूलमा पढ्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् ।

बिहान दश बजेदेखि बाह्रबजेसम्म पढ्नका लागि पसल बन्द गरेरै आउँछिन् उनी । पढ्न आउनुअघि हिसाब गर्न नआउने अहिले उनी क्यालकुलेटर थिचेर हिसाब गर्न जान्ने भइसकेकी छिन् । अरूबेला पसल सकेपछि बेलुकी घरमा सरले दिएको होमवर्क गर्न भ्याउँछिन् ।

अहिले पढ्न आउने महिला धेरै भएका कारण त्यसै अनुसारको शिक्षकको व्यवस्थापन गर्न आर्थिक अभाव देखिएपछि स्वयंसेवक शिक्षकले पढाइरहेका छन् ।

कक्षा राम्रोसँग सञ्चालन गरिराखेको देखेर जोरपाटी नगरपालिकाले विद्यालयलाई दश जोर बेन्च सहयोग गरेका थिए भने एक भारतीय नागरिकले पाँच सेट बेन्च सहयोग दिएका थिए । कतिले झोला सहयोग गर्छन् । यसरी नै चलिरहेछ महिला विद्यालय । आफूलाई महिलाको लगनशीलता देखेर प्रेरणा मिल्ने सूर्य बताउँछन् ।

*अार्काइभबाट

salt training

कमेन्ट गर्नुहोस्