इटाली घुमेपछि : प्राकृतिक स्रोत व्यवस्थापन गर्ने हो भने यस्तै बन्छन् हाम्रा डाँडाकाँडा

युरोप महादेशमा पर्ने एक शक्तिशाली र सुन्दर देश हो इटाली । इटाली आफ्नै मौलिक सभ्यता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यही सौन्दर्यले भरिपूर्ण देशमा डोलोमाइट्स (इटालेली भाषामा डोलोमिटी भनिने) पहाडले भौगर्भिक, ऐतिहासिक र प्राकृतिक महत्त्व राख्दो रहेछ । डोलोमाइट्स इटालीको उत्तरपूर्वमा पर्नेे बेलुनो, साउथ टायरोल र ट्रेन्टिनो प्रान्तको पहाडी श्रृंखला रहेछ । प्राकृतिक स्रोत व्यवस्थापनमा यो पहाडी श्रृङ्खलाका आफ्नै मौलिक विशेषता रहेका छन् ।

भ्रमणको सन्दर्भ पादोभा विश्वविद्यालय, इटालीबाट वन पर्यावरण तथा व्यवस्थापनसम्बन्धी विषय र समय थियो सन् २०१८ अक्टोबर ९ देखि ११ गतेसम्म । यही समय र सन्दर्भले डोलोमाइट्सको पर्यावरण तथा वन व्यवस्थापन सम्बन्धी विषयमा भ्रमण गर्ने मौका जुर्‍यो । समयको गतिले मानिसलाई कहाँदेखि कहाँ पुर्‍याउँदो रहेछ भन्नै नसकिने । अस्तिसम्म नेपालको घुम्टे, गाजा, निलुवा, पञ्चासे, तीनचुले, सोले, ढोरपाटनका डाँडापाखामा रमाउने ठिटो एकाएक डोलोमिटीमा पुग्नु आश्चर्यको विषय त छँदै थियो । शरीर र आँखा डोलिमिटीमा रमाएपनि मन उनै घुम्टे र सोलेमा थियो । नेपाल र इटाली अनि घुम्टे र डोलिमिटीलाई तुलना गरिरहेको थियो ।


Advertisement

समुद्रमाथिको विशाल शहर भेनिसदेखि नजिकै रहेकोे लिनारो भन्ने स्थानबाट दुई प्राध्यापकसँग सोह्रजना विद्यार्थीको भ्रमण टोली डोलोमिटीतर्फ लम्क्यो । प्राचीनकालदेखिका पुराना चर्च, थोत्रा बिल्डिङ, अहिलेका गगनचुम्बी पुल, पहाड छेडी बनाएका मोटरबाटो जस्ता प्राचीन र आधुनिक विकास र विनाशका दृश्यावलोकन गर्दै यात्रा अगाडि बढिरह्यो । यात्रामा पादोभा विश्वविद्यालयका प्राध्यापक मारियो पिभिडोरी र प्राध्यापक मार्को कारिअर अनि स्कटल्यान्ड, रुस, इटाली, जर्मनी, नाइजेरिया, चीन, इथियोपिया, ताजकिस्तान लगायतका देशबाट पढ्न आएका विद्यार्थी साथीहरू थिए । यात्राका क्रममा सबैको मुहार हँसिलो थियो । सबैले भित्री मनको भाव व्यक्त गर्न नसकेपनि ‘वाउ, हाउ नाइस’ भन्ने सबैको साझा भाषा थियो । सबैको हाउभाउमा मेरा जस्तै ‘सेम टु घुम्टे’ जस्ता वाक्यहरू उनीहरूका मुखबाट पनि निस्किन्थे ।

लोङ्गारोना गाउँ


Advertisement

बीचबीचमा प्राध्यापकले कस्तो लाग्यो, केकस्ता विशेषताहरू पायौ जस्ता प्रश्न पनि गरिरहन्थे । यात्राकै क्रममा पिआभे नदीको किनारमा पुग्दा एउटा प्राकृतिक विपत्तिको दृश्यावलोकन भयो । प्रा. मारियोले इटालीमा भएको दुःखद पहिरोको घटना सुनाए । हाम्रो यात्रा भएकै अक्टोबर ९ को दिन ५५ वर्षअगाडि सन् १९६३ मा त्यो दुःखद घटना भएको रहेछ । उत्तरी इटालीमा विद्युत् आपूर्ति गर्न पिआभे नदीमाथि ८७५ फिट अग्लो बाँध बनाइएको रहेछ । उचित भौगर्भिक स्थानको छनौट नभएका कारण उक्त बाँधमाथि रहेको चट्टान खसेर लोङ्गारोना गाउँका रहेका सम्पूर्ण घर बगाई दुईहजारभन्दा बढी मानिसको ज्यान गएछ । अदालतमा सो बाँध बनाउने इन्जिनियरलाई मुद्दा पेश हुँदा त्यसको अदालती फैसला हुनुपूर्व नै उनले आत्महत्या गरेका रहेछन् । मारियो घटनाको विवरण सुनाउँदा सुनाउँदै स्तब्ध भए र सबैलाई भावविह्वल बनाए ।

१९६३ मा बाँध भत्किएको स्थल

भौगोलिक, भौगर्भिक, सामाजिक र वातावरणीय पक्ष राम्रोसँग ख्याल नगरी विकास निर्माण गर्दा हुने मानवीय क्षतिको डरलाग्दो रूप त्यो घटना थियो । सो घटना सुनेर मलाई मेरै गाउँ ठाउँले झस्कायो  । हिजोआज त मेरो गाउँमा विकासको लहर आएको छ । विकासको नाममा जुन भूगोलमा पनि मोटरबाटो खनिन्छ । जस्तो भूभागमा पनि जलविद्युतको सपना बाँडिन्छ । सडक खन्न डोजर बाह्रै महिना चल्छ । भूक्षय कति भो, कतिका घरबास र खेतबारी उठिसके त्यो हिसाबकिताब भएको छैन । कमजोर भूगोल भएको मेरो गाउँ ठाउँले यस्तो नरसंहार कहिल्यै भोग्न नपरोस् भनी भगवानलाई सम्झे । गाउँको विकास गर्छु भन्ने बिचरा अभियन्ताहरू कतै दैवी विपत्तिसँगै आत्महत्या गर्नुपर्ने परिस्थिति मेरो देशमा नआओस् भन्ने मनमनै परिकल्पना गरें ।

डोलोमाइट क्षेत्रमा फूलहरूले सजाइएको घर

यात्राको क्रम चलिनैरह्यो । बाटोमा फेला परेका सल्ला र धुपीका रुखहरू प्रा. मारियो र प्रा. मार्कोले चिनाउँदै लगे । कति ठाउँमा बस रोकी डढेलो लागेका डाँडाहरू देखाउँथे उनीहरू । हेलिकप्टरबाट वन डढेलो निभाएको कथा सुनाउँथे । सय वर्षपहिले र सय वर्षपछिको बारेमा अनुमान लगाउन लगाउँथे । आपूmलाई भने गाउँमा डढेलो लाग्दा माटो र पातपतिंगरले डढेलो निभाउन दौडेको कुराले झसंग पार्दथ्यो । वन्यजन्तु र वनबीचको सम्बन्धका बारेमा घटना सुनाउँथे उनीहरू । कतै मांसाहारी जनावर लोप भएर हरिणले जंगल नाश गरेका घटना सुनाउँथे, कतै जंगली जनावर र मानवबीचको द्वन्द्वका घटनाहरू सुनाउँथे । मलाई यी सबै मेरै गाउँघरका कथा र व्यथा हुन कि जस्तो लाग्थ्यो ।

करीब चार घन्टाको यात्रापछि हामी डोलोमिटीको विशाल क्षेत्रमा पुगियो । तीनवटा प्रान्तमा पर्ने डोलोमिटी भनेका त नाङ्गा पत्रेदार पहाडहरू पो रहेछन् । अनगिन्ती संख्यामा जता पुग्यो उस्तै नाङ्गा चुचुरो देखिने । काटीकुटी मेरै गाउँका घुम्टे पहाडजस्ता तर मेरो गाउँको घुम्टे जस्तो बलियो होइन । खोइ, घुम्टे लेकको सम्झनाले उस्तै पो लागेको हो कि कुन्नि ।

डोलोमिटीकै पुछारमा रुखविरुवाको उमेर पत्ता लगाउने र रुखबाट विगतबारे अध्ययन गर्न मिल्ने पादोभा विश्वविद्यालयको अनुसन्धान केन्द्र रहेछ । प्रा. मारियोले यही केन्द्रअगाडि लन्च खाँदै अफ्रिकी प्लेट र युरोपेली प्लेटको घर्षणबाट तीन सय मिलियन वर्षअघि यो डोलोमिटी बनेको कुरा सुनाए । अनुसन्धान केन्द्र नजिकका वनमा घुमाउँदै विविध प्रजाति, क्षत्र घनत्व, प्रतिहेक्टर रुख संख्या, उमेर, विगत, वर्तमान र भविष्यबारे अनुमान गर्न लगाए । वन जंगल घुमेर बेलुका छ बजे मात्रै डोलोमिटी नामकै होटलमा आराम गरियो ।

अर्को दिन अक्टोबर १० गते बिहानको ब्रेक फास्टपछि डोलोमिटीको अध्ययन जारी रह्यो । डोलोमिटीको मानव वस्ती कति सुन्दर ! पर्यटन व्यवसाय कस्तो राम्रोसँग मौलाएको । हरेक घरमा अघिपछि माथि तल जता हेरेपनि राता र पँहेला रंगका रंगीन फूलहरू रोपेका । सडक, चोक र कुनाकन्दरा समेत कति सफा ! भिराला मैदानमा स्किइङ खेल्ने ठाउँ बनाइएका । हरेक ठाउँमा साइक्लिङ गरी पुग्न मिल्नेगरी बनाइएका । अझ वन जंगल पनि व्यवस्थित बनाई पर्यटन प्रवर्द्धन गरिएका । ती नाङ्गा डोलोमाइट्सका पहाडहरू हेर्नलाई कति व्यवस्थित ठाउँ बनाइएको ! तर मलाई भने मेरै गाउँका डाँडाकाँडा, घोडाबाँधे र घुम्टे पहाड यी डोलोमाइटभन्दा धेरै राम्रो लाग्यो । म र मेरो गाउँलाई प्रकृतिले वरदान दिएर मात्र के गर्नु, घरका गमला र वरिपरि फूल रोप्ने अनि सरसफाइ गर्न कहिल्यै सिकाइएन । प्रकृतिलाई पर्यटनसँग जोड्नलाई मेरो ठाउँका नेतालाई गफ गर्न आएपनि काम गर्ने छाँट नै आएन । मेरो गाउँ पनि कसरी बनोस्, माथिल्लो घरे जेठोदेखि पुछाराघरे कान्छोसम्म डोलोमिटी जस्तै ठाउँका होटेलमा भेटिन्छन् । अनि त मेरो गाउँ पनि कसरी डोलोमिटी जस्तै बनोस् । हुन त गाउँमा बूढा भएका बुबाआमाले धन्न यतिसम्म त गरेका छन् । खै प्रा. मार्कोले वन जंगलको अनुमान लगाएजस्तो मेरो गाउँको अनुमान लगाउने हो भने त अबको बीस  वर्षपछि मेरो गाउँमा कस्तो होला । सम्झँदा पनि मन झसंग हुन्छ ।

कोर्टिनाको गाउँ हेर्दै घुम्दै करीब २,२०० मिटरको पासो जिआउमा पुगियो । अनेकथरीका नाम भएका डोलोमाइट्सका पहाडहरू देखिए । प्राध्यापकहरूले त्यस पासो जिआउबाट बोटबिरुवा चिनाउँदै ओरालो झारे । मेडिटेरेनियन क्षेत्र भएकोले मेरो गाउँको वन जंगलभन्दा प्रजातिहरू नै बेग्लै थिए । हेर्दै जाँदा गुराँसका साना प्रजाति यहाँ भेटिँदा अचम्ममा परें । प्राध्यापक मार्कोले मलाई ‘तिम्रो देशमा जत्रा ठूला र धेरै गुराँस प्रजाति होइन यहाँ त साना दुई प्रजातिका पाइन्छन्’ भने । मेरो गाउँमा त अनेकथरीका फूल फुल्ने ठिक्क उचाइका गुराँस पाइन्थे तर यहाँ त कस्तो वामपुड्के गुराँसका प्रजाति । पाइनस मुङ्गो प्रजातिका पुड्के सल्लाहरू पनि । जति हेरे पनि जहाँ घुमे पनि मेरै गाउँको पालेवनमा पाइने जति प्रजातिका वनस्पति नभेटिने ।

डोलोमाइट्स क्षेत्रमा पाइने गुराँस प्रजाति (रोडोडेन्ड्रम फेरुजिनियम)

प्रा. मार्को पनि सगरमाथा क्षेत्रका रुखहरूको उमेरबारे अध्ययन गर्न नेपाल आएका रहेछन् । त्यसैले त पढाउँदा हिमालय क्षेत्रको उदाहरण दिँदै भन्ने गर्दथे । पाँच किलोमिटर लामो मोटरबाटो हिँड्दै विविध किसिमका वनजंगलको अध्ययन गर्दै थकित भई उही सान भिटोको होटेलमा आई वास बसियो ।

पादोभा फर्किने दिन अनुसन्धान केन्द्रमा मार्कोले रुखहरूको उमेर पत्ता लगाउने विधिका बारेमा सिकाए । अनि फेरि रुखबिरुवा हेर्दै डाँडोमा पुग्दा इटाली र अस्ट्रियाबीच भएको पहिलो विश्वयुद्धकालका रुखहरू र उतिबेलाको परिवेशबारे सुनाए । वन, जंगल, बाटो र सुन्दर बस्तीले मेरो मनलाई लिनारो पुगुन्जेल आनन्द दिलाइरहे ।

डोलोमाइट्समा पत्रेदार चट्टानहरू मात्र नभएर इतिहास पनि जोडिएको थियो । भूगोल अनि प्रकृति पनि बिल्कुलै भिन्दै थियो । सबैभन्दा मननयोग्य कुरा त प्रकृतिको सही व्यवस्थापन थियो, जसले गर्दा डोलोमाइट्सको पर्यटनलाई प्रवर्धन गरिरहेको थियो ।  

डोलोमाइट्सको तीन दिनमा धेरै कुरा देखियो । जे देखे पनि यहाँभन्दा मेरै गाउँ वरिपरिका हरिया डाँडाकाँडा अनि घुम्टे पहाड नै राम्रो । मेरै गाउँमा यहाँका भन्दा धेरै प्रजातिका बोटबिरुवा अनि वन्यजन्तुहरू । तर किन मेरो गाउँ पनि डोलोमाइट्स जस्तै बन्न सकेन आफैं एकछिन घोत्लिएर सोचें । आखिर प्राकृतिक स्रोतसाधनको सही उपयोग तथा मानवीय स्रोत व्यवस्थापन नै विकासको मुख्य आधार रहेछ ।

आफूसँग सुनको थाल भए पनि मेरो गाउँ परनिर्भर छ । डोलोमिटी जस्ता ठाउँहरूबाट विप्रेषण (रेमिटान्स) नपुगी खान लाउन नै पुग्दैन । दिगो प्राकृतिक स्रोत व्यवस्थापन कार्य नजान्दा मेरो गाउँ विनाशतर्फ धकेलिएको छ । काम गर्ने माथिल्ला घरे ठुलारेदेखि तल्लो घरे कान्छोसम्म डोलोमाइट्स जस्तै कुनाकन्दरामा पुगुन्जेल मानवीय स्रोत मेरो गाउँले कसरी पाउनु ।

अनि कसरी बनोस् त मेरो गाउँ डोलोमाइटभन्दा राम्रो । हे पशुपतिनाथ, मेरो देशलाई प्रकृतिले सबै थोक दिएको छ, अब तिमीले हामीलाई प्राकृतिक स्रोत व्यवस्थापन गर्ने सद्वुद्धि देऊ ।

डोलोमाइट क्षेत्रका थप तस्वीहरू :

थापा पादोभा विश्वविद्यालय इटालीमा प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययनरत छन् ।

प्रकाश थापा
प्रकाश थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्