
जनकपुरधाम – लामो समयदेखि रेल सेवा सञ्चालनमा नभएपनि नेपाल रेल्वे कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाममा छ । कार्यालयमा १६ जना स्थायी कर्मचारी समेत कार्यरत छन् ।
भारतको जयनगरदेखि जनकपुरसम्म रेल सेवा सञ्चालन गर्न पूर्वाधार निर्माणको काम चलिरहँदा एकाएक रेल्वे कम्पनीका कर्मचारीलाई हटाउने कुरा चल्यो । पूराना कर्मचारीलाई अनिवार्य अवकाश दिएर रेल सेवा सञ्चालनमा नयाँ नियुक्त गर्ने प्रक्रिया समेत अगाडि बढ्यो ।
रेल्वेका पुराना कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रक्रिया रोकेर हाल कार्यक्षेत्रमा खटाइएको छ । विगत लामो समयसम्म जनकपुर, खजुरी र जयनगर रेल स्टेसनमा भएपनि कामविहीन रहेका कर्मचारीले अब काम पाएका छन् । निर्माणाधीन रेल सञ्जालका संरचनाको रेखदेख गर्न सबै कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको छ ।
कर्मचारीलाई रेल विभाग काठमाडौंले २०७५ मंसिर ३ गतेदेखि काममा खटाएको छ । अर्को व्यवस्था नभएसम्म निर्माणाधीन ‘ब्रोडगेज’ रेल स्टेसनमा नियमित उपस्थित भएर काम गर्ने जिम्मेवारी रेल विभागका महानिर्देशक बलराम मिश्रले दिएका छन् ।
स्टेसन अन्तर्गत निर्माणाधीन स्टेसन भवन, कर्मचारी आवास भवन लगायतका संरचना र प्रयोगमा रहेका सरसामानको विवरण तयार गरी राख्ने र स्टेसन अन्तर्गत अन्य भैपरी आउने कामकाज समेत गर्ने गरी जिम्मेवारी तोकिएको रेल्वे कम्पनीका निमित्त प्रशासकीय अधिकृत तुलाबहादुर डाँगीले बताए ।
भारतको जयनगर स्टेसनमा गंगाराम मण्डल र रफिद कबाडी, धनुषाको इनरुवा स्टेसनमा मुनिलाल पासवान र रामनारायण धानुक, धनुषाको खजुरी स्टेसनमा उत्तिमलाल पण्डित र सैलुन कबाडीलाई खटाइएको छ । धनुषाकै महिनाथपुर स्टेसनमा हेमबहादुर कटुवाल, बैदेही स्टेसनमा नन्दकिशोर राय र सुरज मण्डल, परबाहा स्टेसनमा आलम कबाडी, जनकपुरधाम स्टेसनमा तुलाबहादुर डाँगी, रामचन्द्र साह, केवल नेपाली र बालेश्वर गद्दी, कुर्था स्टेसनमा सीताशरण यादव र रामअशिष भगतलाई खटाइएको छ ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । रेल्वे कम्पनीसँग रेल सञ्जालमा काम गरेका अनुभवी स्थायी कर्मचारी १६ जना मात्र छन् । थप कर्मचारीका लागि रेल विभागले करारमा जनशक्ति भर्ना गर्ने तयारी भित्रभित्रै गरिरहेको छ ।
कानून शाखाको असहमतिले जोगियो जागिर
पुराना १६ जना स्थायी कर्मचारी नयाँ ‘ब्रोडगेज’ सेवाका लागि काम नलाग्ने भन्दै अनिवार्य अवकाश दिने तयारी रेल विभागले गरेको थियो । कात्तिक ८ गते रेल विभागका महानिर्देशक मिश्रले पुराना कर्मचारीहरूलाई अवकाश दिने भन्दै उठाएको टिप्पणी सहितको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएका थिए ।
मन्त्री रघुवीर महासेठ धनुषा आएका बेला कर्मचारीहरूले जनकपुरस्थित उनको निवासमा भेटेरै अनिवार्य अवकाश नलिने भन्दै गुहार मागे । कम्पनीको कानून शाखाले पनि अनिवार्य अवकाश दिन नमिल्ने भनेपछि १६ जना कर्मचारीको जागिर जोगिएको हो । रेल्वे कम्पनी अन्तर्गत दर्ता भएर सञ्चालित भएकाले सञ्चालक समितिको बैठकबाट निर्णय नगरेर विभागले मात्र निर्णय गरेर नहुने भन्दै कम्पनीको कानून शाखाले प्रतिवाद गरेपछि अनिवार्य अवकाशको प्रक्रिया रोकिएको छ ।
करारमा कर्मचारी भर्ना गर्ने तयारी
रेल सञ्चालनका लागि मन्त्रालयले करारमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले तत्काल रेल सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति करारमा भर्ना गर्ने कार्यविधि नै बनाइरहेको छ । कार्यविधि बनाउन परामर्शदाताको रूपमा विज्ञ नियुक्त गरेर जिम्मेवारी दिइएको छ । तर रेल सेवा र प्राविधिक जनशक्तिबारे जानकार नै नरहेका व्यक्तिलाई रेल विज्ञको रूपमा मासिक ८० हजार रुपैयाँ पारिश्रमिक दिने गरी बिशुकुमार केसीलाई जिम्मेवारी दिइएको स्रोतको दाबी छ ।
करारमा कर्मचारी भर्ना गर्ने र रेल्वे कम्पनीको प्रशासनिक विनियामावली बनाउने जिम्मेवारी केसीलाई प्रदान गरिएको छ । केसीले केही महिनाअघि २ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवबाट अवकाश पाएका थिए । अवकास पाएलगत्तै उनलाई विज्ञ नियुक्त गरिएको छ ।
कार्यविधि निर्माणको प्रगतिबारे बुझ्न खोज्दा केसीले भने, ‘त्यो अहिले मैले भन्ने कुरा हुँदैन । म त परामर्शदाता मात्र हो । रेल विभागका प्रवक्तासँग सोध्नुस् ।’ रेल विभागका प्रवक्ता अमन चित्रकारलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । स्रोतका अनुसार १ सय ७८ जना नयाँ कर्मचारी जनशक्ति करारमा भर्ना गर्ने तयारी गरिएको छ ।
कर्मचारी संरचना
रेल सञ्जाल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक र अप्राविधिक जनशक्ति थप्ने तयारी भइरहेको छ । धेरै काम कम्प्यूटर प्रणालीसहित हुने भएकाले प्राविधिकतर्फ नयाँ शाखा थपिने तयारी भइरहेको स्रोतको दाबी छ ।
ब्रोडगेज रेल सेवामा इलेक्ट्रोनिक एण्ड कम्यूनिकेसन शाखा राखिने छ । रेल आइरहेको संकेत इलेक्ट्रोनिक माध्यमबाट हुने भएकाले शाखा थपिन लागेको हो ।
प्राविधिकतर्फ सिभिल शाखा हुन्छ । जसअन्तर्गत सिभिल इन्जिनियर, सिभिल ओभरसियर, पर्मानेन्ट वे इन्स्पेक्टर (पीडब्ल्यूआई) रहन्छ । रेल गुड्ने लीगलाई दिनहुँ निरीक्षण गर्ने काम पीडब्ल्यूआईको हुने गर्छ । लीगलाई केही निश्चित दूरीमा विभाजन गरेर ‘फोर म्यान’लाई समूहमा विभाजन गरिन्छ । १ जना समूहमा इन्चार्जको मातहत सबै समूहले लीगको अवस्थाबारे दिनहुँ निरीक्षण गर्ने गर्छन् ।
एउटा समूहलाई ५ किलोमिटरसम्म लीग दिनहुँ निरीक्षण गर्ने जिम्मेवारी हुन्छ । समूहमा की म्यान, ग्याङ म्यान लगायतका पद हुने गर्छ । रेल सञ्जालमा ‘गेट म्यान’ पद पनि हुन्छ । रेल आउँदा–जाँदा ठाट उठाउने र बन्द गर्ने काम गर्ने व्यक्तिलाई ‘गेट म्यान’ भनिन्छ । २३ ठाउँमा गेट म्यान राख्नुपर्ने छ ।
रेल सेवा सञ्चालनका लागि इन्जिनियरिङ शाखा र ट्राफिक शाखा पनि हुन्छन् । इन्जिनियरिङ शाखामा इन्जिनको मर्मत, सञ्चालन, ड्राइभर, सहायक ड्राइभर लगायत कर्मचारी हुन्छन् । ट्राफिक शाखामा स्टेसन मास्टर, रेल गार्ड, प्वाइन्ट म्यान, ट्राफिक अफिसर हुन्छन् । स्टेसनको सम्पूर्ण जिम्मेवारी ‘स्टेसन मास्टर’को हुन्छ भने रेल सञ्चालन अबस्थाको सम्पूर्ण जिम्मेवारी रेल गार्डको हुन्छ ।
रेल चलन तथा रोक्न झण्डा देखाउने रेल गार्डले नै रेललाई प्रस्थान गर्न लगाउने वा रोक्न लगाउने, रेलको गति कति राख्ने, समय व्यवस्थापनदेखि रेलमा बुक गरिएको लगेज लगायत सम्पूर्ण जिम्मेवारी गार्डकै हुन्छ । बुक गरिएको लगेज मालसामानको स्टेसनमा सुरक्षा गर्ने काम वाच म्यानको हुन्छ ।
एउटा स्टेसनबाट अर्को स्टेसनमा रेल पुग्दा रेललाई कुन लीगमा पठाउने, लीगको नम्बर मिलाउने लगायतको काम ‘प्वाइन्ट म्यान’को हुने गरेको रेल्वे कम्पनीका सिभिल ओभरसियर रामचन्द्र साहले बताए ।
रेलमा चढेका यात्रुको टिकट जाँच्ने टिटीई पनि हुन्छ । ‘ट्राभल टिकट इक्जामिनर’ (टिटीई) ले यात्रुलाई टिकट जाँच्नेदेखि लगेजको बुकिङ समेत जाँच्ने, टिकट अनुसार यात्रुलाई सिटको व्यवस्थापन गर्ने लगायतका काम गर्छन् ।
रेलमा कति जना यात्रु चढे, सामान कति बुकिङ भयो, सबैको लागत राख्ने काम ट्राफिक अफसरले गर्छ । रेल प्ल्याट फर्ममा १ जना टिसी (टिकट कलेक्टर) हुन्छ । टीसीले यात्रुबाट टिकट फिर्ता लिने गर्छ । रेल सञ्चालनका लागि प्रशासन शाखा, लेखा शाखा समेत हुने गर्छ ।