काश्मीरमा केन्द्रित भारत-पाकिस्तान तनाव र नेपाल

दक्षिण एसियामा तनाउ चर्केको छ । १४ फागुन (मङ्गलवार) झिस्‌मिसे बिहानै इण्डियाको वायुसेनाका एक दर्जन लडाकू विमानले पाकिस्तानमा प्रवेश गरी आतङ्ककारीका गढ ठानिएका इलाकाहरू विस्फोटनद्वारा ध्वस्त पारेको घटनाले परिस्थिति जटिल भएको छ । दिल्ली र इस्लामाबादबीच अहिलेको भनाभनको सिलसिला मत्थर हुन केही समय लाग्ने अवस्था छ । किनभने यस्तो हवाइ कारवाही दिल्लीले सन् १९७१ को लडाञीपछिको अवधिमा गरेको थिएन । पाकिस्तानले आफ्नो हवाइक्षेत्र इण्डियाका विमानले उल्लंघन गरेको स्वीकार गर्दै त्यसको प्रत्युत्तर ‘उचित समयमा’ दिइने वक्तव्य सार्वजनिक गरेको छ । यसो गर्न पाकिस्तानसित सामरिक क्षमता पनि होला तर अफगानिस्तान र इरानसितका बिग्रँदो सम्बन्धले उसको मनोबल खस्केको अवस्था छ ।

मङ्गलवारको घटनाबारे जानकारी दिने क्रममा दिल्लीका अधिकारीहरूले १२ दिन पहिले भारत-प्रशासित काश्मीरमा पाकिस्तानको संरक्षण पाएको आतङ्ककारी समूहको एक आत्मघाती हमलावरले अर्ध्दसैनिक बल (सिआरपीएफ्) का ४० जना सिपाहीको ज्यान लिएको हुँदा त्यसको प्रतिवादमा गरिएको हो भनेका छन् । अर्थात् अहिले तनाउ चर्किने स्थिति आएको पाकिस्तान-संरक्षित जिहादी समूहका आक्रामक गतिविधि नै हुन् भन्ने दिल्लीको दाबी छ । र, पाकिस्तानले यस्तो दाबीको प्रतिवाद चित्तबुझ्दो ढङ्गबाट दिन सकेको पनि छैन । सन् २००८ को नोभेम्वरमा मुम्बईमा लस्कर-ए-ताइबा नामक आतङ्ककारी समूहले सयभन्दा बढी निर्दोष मानिसको ज्यान लिएयता पटक-पटक यस्ता कृयाकलाप भएका विषयबारे दिल्लीमा चर्चा हुनु अस्वाभाविक होइन । दिल्लीले आफ्नो हैसियत र क्षमतालाई चुनौति दिइएको ठान्नु नाजायज पनि होइन । 


Advertisement

काश्मीरमा यस पटकको घातक आक्रमण जैश-ए-मुहम्मद नामक समूहले गराएको मानिएको छ । आवरणमा लोकतान्त्रिक पध्दति भए पनि पाकिस्तानमा सैनिक बल प्रधान मानिन्छ जसको जानकारी र दुरुत्साहनमा जिहादी समूहहरू भारत-प्रशासित काश्मीरलाई अशान्त गराइरहन्छन् । काश्मीर खण्डित भै भारत र पाकिस्तानमा विभाजित नभएको हुँदो हो त दक्षिण एसियाक्षेत्रले शायद दीर्घकालीन तनाउ बेहोर्नु पर्ने थिएन । जग-जाहेर छ, विगतका भारत-पाक युद्धमा मूलत: काश्मीर नै कारण बनेको छ ।

अहिलेको मामिला पनि काश्मीरसितै गाँसिएको हुनाले दक्षिण एसिया, एसिया र बाँकी विश्व नै सीमावर्ती तनाउ चर्केर फेरि युध्दमै परिणत हुने हो कि भनेर सशंकित बनेका हुन् । युध्द भयो भने त्यसका परिणाम भारत र पाकिस्तानले मात्र बेहोर्दैनन्---असरहरू पर-परसम्म पर्ने कुरामा सन्देह छैन । त्यसमाथि भारत र पाकिस्तान दुबैसँग आणविक हतियारको शक्ति समेत छ । नेपालको उत्तरी छिमेकी चीन पनि आणविक शक्ति हो । नेपाल यी तीनको चेपुवामा छ । (यो वास्तविकता बुझ्नु जरुरी छ, र नेपाल पश्चिमी देशका मान्यता र लहै-लहै वा सल्लाहमा हिंड्नु उचित हुँदैन भनिएको हो ।) ताजा घटनाहरूले निम्त्याउने जोखिम टरेको छैन । हामी संवेदनशील राजनीतिक भूगोलमा छौं ।

तथापि मङ्गलवारको भारतीय हवाइ कारवाहीलाई दिल्लीले लडाञीको स्तरसम्म नपुर्‍याउने सङ्केत देखिएका छन् । वायुसेनाको कारवाहीको सार्वजनिक जानकारी सैनिक प्रवक्ताको साटो विदेश सचिव विजय गोखले मार्फत दिइनु एउटा सूचक हो । अर्को, गोखलेको वक्तव्यमा हवाइ कारवाहीलाई ‘गैरसैनिक’ कदमको कोटिमा राखिएको छ र सम्भाव्य आतङ्की गतिविधिलाई निषेध गर्ने प्रयासमा सीमित गरेको भनिएको छ । थपमा, निर्वाचनको संघारमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले देशमाथि व्यापक र दीर्घकालीन असर हुने गरी ठूलो लडाञी गराउने निर्णय नलिने अनुमान गर्न सकिन्छ । यस कोणबाट हेर्दा तत्कालको सङ्कट टर्ने अड्कल गर्न मिलेको हो यद्यपि सार्कक्षेत्रका सबै सदस्य-राष्ट्रले सहज वातावरण पाउन भने निकै समय लाग्नेछ ।

कमेन्ट गर्नुहोस्