वर्तमान 'दिग्भ्रमित' राजनीति : प्राप्त उपलब्धि संरक्षणमा अस्थिरतावादी बाह्य शक्तिबाट खतरा !

साउन ११, २०७५

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४०औं स्मृति दिवस प्रायः सबै कम्युनिस्ट घटकहरूले भर्खरै मनाएका छन् । यो कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले पुष्पलालको योगदानको मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, पुष्पलालका विचारहरू यथार्थपरक रहेको स्वीकार पनि गरे ।

नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालले पुर्‍याएको योगदानका साथै वर्तमान स्थितिमा उनका विचारहरूको सान्दर्भिकताका विषयमा कम्युनिस्ट पार्टीका नेताहरूले सतही र छिपछिपे कुराहरू मात्र प्रस्तुत गरे । पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलन निर्माणमा मात्र होइन, यो आन्दोलनलाई जुन दिशा र गति दिए र त्यसपछिका दिनमा नेपाली प्रजातान्त्रिक आन्दोलनलाई वैचारिकीकरण गर्नमा उनले खेलेको भूमिकाका विषयमा नेताहरूको त्यति ध्यान गएन । विगतमा पुष्पलालले नेपाली राष्ट्रिय राजनीतिलाई पुर्‍याएको योगदान भन्दा पनि वर्तमान परिस्थितिमा उनका विचारहरू कति सान्दर्भिक र उपयोगी छन्, यसतर्फ विचार विमर्श हुन आवश्यक छ ।


ADVERTISEMENT

पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनलाई सैद्धान्तिकरण र नेतृत्व गर्न निभाएको भूमिका उल्लेखनीय छ । पुष्पलाल कम्युनिस्ट बन्ने भनेर कम्युनिस्ट बनेका होइनन् । राष्ट्रिय राजनीतिको उतारचढावमा हेलिँदै राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न उनी कम्युनिस्ट बनेका र कम्युनिस्ट पार्टी स्थापनामा नेतृत्वदायी भूमिका निभाएका हुन् ।

राणा शासनविरुद्धको संघर्षमा दाजु गंगालालको सहादत भएपछि दाजुकै प्रेरणामा पुष्पलाल नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । तत्कालीन अवस्थाको राष्ट्रिय कांग्रेसका कार्यालय सचिव भई निभाएको भूमिकाबाट उनको राजनीतिक यात्रा प्रजातान्त्रिक आन्दोलनबाट शुरु भएको पाइन्छ ।

तत्कालीन अवस्थामा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका साथै राष्ट्रियताको संरक्षण र संवद्र्धन गर्नु पर्ने प्रमुख दायित्व रहेकोमा आफू कार्यरत रहेको पार्टीले राणा शासन (सामन्तवादी शक्ति) र भारतसँग सम्झौतापरस्त नीति अबलम्बन गरेकोबाट असन्तुष्ट भई उनी कम्युनिस्ट बनेको र नेपाल कम्युनिस्ट पार्टी आफ्नो नेतृत्वमा स्थापना गरेको पाइन्छ ।

पुष्पलालले सामन्तवादी व्यवस्थालाई समूल नष्ट गर्न र राष्ट्रियताको संरक्षण गर्न कम्युनिस्ट पार्टी आवश्यक रहेको कुरालाई गम्भीरतापूर्वक विश्लेषण र मनन गरेर यो पार्टी स्थापना गरेका थिए । २००७ सालको क्रान्तिलाई कांग्रेस, राणा र भारतबीच त्रिपक्षीय दिल्ली सम्झौता गरी टुङ्ग्याइएकोप्रति पुष्पलालाको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले गरेको चर्को आलोचना यसको उदाहरण हो ।

राजनीतिक उपलब्धि संस्थागतको प्रक्रियामा प्रमुख दलहरूबीच देखिएको असमझदारी र द्वन्द्वले प्रप्त उपलब्धिहरू संकटमा पर्दै गएको परिदृष्यहरू सतहमा देखिन थालेका छन् ।

यो  दिल्ली सम्झौताले ढल्दो राणा शासन (सामन्तवाद)लाई टिकाउन र भारतीय हस्तक्षेपको ढोका खोलिदिएको मात्र थिएन, राष्ट्रिय स्वतान्त्रता र राष्ट्रिय स्वाभिमानमा गहिरो चोट पुगेको थियो । नेपाली कम्युनिस्ट आन्दोलनलाई सामन्तावादविरोधी सम्झौताहीन संघर्ष र राष्ट्रियताको संरक्षणको प्रश्नलाई सैद्धान्तिकरण गर्नमा जीवनपर्यन्त पुष्पलालले अथक प्रयास गरेका थिए । नेपाली कम्युनिस्ट आन्दोलनलाई आमूल परिवर्तनकारी र राष्ट्रियतावादी आन्दोलनका रूपमा स्थापना गर्न उनले निभाएको भूमिका स्मरणीय छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा आमूल राजनीतिक परिवर्तनलाई प्राथमिकता दिँदा राष्ट्रियतालाई बेवास्ता गर्ने, राष्ट्रियतालाई प्राथमिकता दिँदा आमूल राजनीतिक परिवर्तनलाई भुल्ने विचलनहरू पटक–पटक देखा परे, जुन विचलनले नेपाली कम्युनिस्ट आन्दोलनलाई पटक–पटक दिग्भ्रमित बनायो । पुष्पलालको राजनीतिक दृष्टिकोण आमूल परिवर्तनको राजनीति र राष्ट्रियताको एजेण्डालाई साथसाथै लिएर हिँड्नु पर्ने रहेको थियो ।

पार्टीभित्रको एउटा तप्काले २०१७ सालको राजाको प्रजातन्त्रविरोधी काण्डलाई राष्ट्रियताका नाममा समर्थन गर्‍यो । तर पुष्पलाल त्यो काण्डको विरुद्धमा रहनुभयो । प्रजातन्त्रविनाको राष्ट्रियता अपाङ्ग हुन्छ भन्ने उहाँको दृष्टिकोण थियो । राजनीतिक घटनाक्रमले उनको यो विचार सही थियो भन्ने कुरा पुष्टि भएको छ ।

२०१७ सालभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनमा मूलतः दुई धार– संघर्षशील (सन्तुलित) र दक्षिणपन्थी धार रह्यो । २०१५ सालको संसदीय आमनिर्वाचनमा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत थियो भने कम्युनिस्ट पार्टीले जम्मा चार सिटमा मात्र विजय हासिल गरेको थियो । तर जनमतको हिसाबले कांग्रेसपछिको प्रभावशाली नेपाल कम्युनिस्ट पार्टी नै थियो ।

राजाले प्रजातन्त्रको अपहरण गरेपछि यो आन्दोलनमा स्पष्टरूपमा तीन धार देखा परे, जसमा उग्रवामपन्थीधार, सन्तुलित र दक्षिणपन्थी धार । त्यतिबेला कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी धारमा कांग्रेसलाई टाढा र राजालाई नजिक राख्ने प्रवृत्ति थियो । तर पुष्पलालको कांग्रेसप्रतिको दृष्टिकोण एकता र संघर्षको थियो ।

कांग्रेसले जनविरोधी काम गर्दा विरोध गर्ने र जनपक्षीय कार्य गर्दा समर्थन गर्ने उनको विचारले यही कुराको पुष्टि हुन्छ । त्यसैले पुष्पलाल सधैँ सन्तुलित धारमा खडा भएको पाइन्छ । प्रजातान्त्रिक आन्दोलन भित्रैबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाउँदा मात्र सफलता हासिल गर्न सकिने दृष्टिकोण उनको थियो ।

तत्कालीन अवस्थामा कम्युनिस्ट आन्दोलनमा देखापरेको दरबारलाई सहयोग पुर्‍याउने दक्षिणपन्थी प्रवृत्ति  र उग्रवामपन्थी भड्काउबाट अभिप्रेरित भई प्रजातान्त्रिक आन्दोलनलाई कमजोर बनाउने प्रवृत्तिसँग पुष्पलालले गरेको सैद्धान्तिक संघर्ष यसका ज्वलन्त उदाहरण हुन् । यही क्रममा पुष्पलालबाट पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि संयुक्त जनआन्दोलनको नीति प्रतिपादन भयो । यो संयुक्त जनआन्दोलनको नीतिलाई उग्रवामपन्थीहरूबाट कांग्रेस परस्त नीति भन्दै प्रहार गर्दा पनि पुष्पलाल विचलन हुनु भएन । आखिरमा यही नीतिको आधारमा पञ्चायतको मात्र होइन, राजतन्त्रको पनि अन्त्य भयो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धमा पनि पुष्पलालको धारणा सन्तुलित र यथार्थपरक रहेको पाइन्छ । अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट पार्टीहरू रुस र चीनको नाममा विभाजित हुँदा सबै देशका कम्युनिस्ट पार्टीहरू कोही रूसवादी र कोही चीनवादी बने । त्यसको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलनमा पनि पर्‍यो । माओवाद र तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ नै हाम्रो अध्यक्षजस्ता भ्रमपूर्ण दृष्टिकोणहरू नेपाली कम्युनिस्ट आन्दोलनमा निकै प्रभावी रहे ।

त्यतिबेला पुष्पलालले चिनियाँ काम्युनिस्ट पार्टी र रुसी कम्युनिस्ट पार्टीलाई गुण र दोषको आधारमा समर्थन र विरोध गरेबाट मार्क्सवाद र लेलिनवादलाई नेपाली मौलिकतामा ढालेर प्रयोग र अभ्यास गर्नुपर्ने दृष्टिकोण उनको रहेको पाइन्छ । यही दृष्टिकोण नेपाली राजनीतिमा कारगर सावित भयो । जुन देशमा मार्क्सवाद र लेलिनवादको प्रयोग अन्य देशको नक्कल गरेर भयो, त्यहाँ परिणाम सकरात्मक आएन । नेपालमा पनि त्यस्तो नक्कल गर्ने प्रयोग असफलतामा टुङ्गियो । झापा विद्रोह र माओवादी जनयुद्ध यसका उदाहरण हुन् ।

विकसित राजनीतिक घटनाक्रमहरूलाई सुक्ष्म विश्लेषण गर्दा पुष्पलालका विचारका आधारमा मात्र नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई सही दिशा र गति दिन सकिने पुष्टि हुँदैछ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा प्रायःजसो उग्रवामपन्थी भड्काउ प्रभावी हुँदा प्रजातान्त्रिक आन्दोलन कमजोर बनेको छ । यो भड्काउले कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनलाई एक अर्काको विरोधिको रूपमा अवलम्बन गरेको पाइन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी भड्काउ प्रभावी रहेका बेला राष्ट्रिय राजनीतिमा हलचल पैदा गरे पनि त्यसले उपलब्धि भने दिन सकेको पाइँदैन । झापा विद्रोहको जगमा खडा भएको तत्कालीन माले २०४६ सालमा प्रजातान्त्रिक धारमा आएपछि मात्र नेपाली कम्युनिस्ट आन्दोलनले उल्लेखनीय उपलब्धि हासिल गरेको हो ।

त्यसैगरी जनयुद्धबाट प्रजातान्त्रिक धारमा तत्कालीन माओवादी आएपछि मात्र सामन्तवादको समूल नष्ट भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । नेपाली समाजको यथार्थपरक वर्गीय विष्लेषण गरी कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने पुष्पलालको दृष्टिकोणकै आधारमा २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनस्र्थापना र २०६२/६३ को जनआन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।

मुलुकको राष्ट्रिय राजनीति संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रियाबाट अघि बढिरहेको छ । सौभाग्यवश संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी नेपाली जनताले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदान गरेका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट निर्मित नेपाल कम्युनिस्ट पार्टीले यसका लागि नेतृत्वदायी भूमिका निभाउनुपर्ने स्थिति छ । तर यो पार्टीले परिवर्तित सन्दर्भमा सैद्धान्तिक, राजनीतिक मार्ग तय गर्न सकेको छैन । यो पार्टीले राज्यसत्ताको लगाम समातेको ५ महिनासम्म पनि देखिने गरी काम गर्न नसक्नुको कारण पनि स्पष्ट राजनीतिक मार्ग तय गर्न नसक्नु नै हो । चाँडोभन्दा चाँडो आफ्नो लक्ष्य निर्धारण गर्न सकेन भने यो पार्टी गोलचक्करमा फस्ने वा दुर्घटनाग्रस्त हुने खतरा मडारिन थालेको छ ।

अबको नेपाली कम्युनिस्ट आन्दोलनको बाटो के हो ? यस विषयमा अझैसम्म पनि अन्यौल र अनिश्चितता छ । विशेष परिस्थितिलाई सम्बोधन गर्न ल्याइएका बहुदलीय जनवाद वा एक्काइसौं शताब्दीको जनवादले वर्तमान राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न नसकिने पुष्टि भएको छ । यो कुरा पार्टीको नेतृत्व पंक्तिले पनि स्वीकारेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलन उग्रवामपन्थी भड्काउबाट सन्तुलित धारमा आउने त्यसपछि दक्षिणपन्थी धारमा छलाङ मार्ने गरेको पाइन्छ । अहिले यही खतरा सत्तासिन नेपाल कम्युनिस्ट पार्टीको अगाडि छ । जुन दिशा र गतिमा यो पार्टी दक्षिणपन्थी मार्गतर्फ अग्रसर भरहेको छ, यसलाई समयमा नै सन्तुलित वैचारिक धारमा फर्काउन सकिएन भने २०६२/६३ सालका जनआन्दोलनका उपलब्धिहरू खतरामा पर्ने सम्भावनाहरू बढ्दै गएको छ ।

कम्युनिस्ट पार्टीलाई सही राजनीतिक लिकमा ल्याउन अभ्यासमा सही सावित भएका पुष्पलालका विचारहरू उपयोगी र कारगार हुने प्रबल सम्भावना छ । राजनीतिक परिवर्तनको लागि जति संयुक्त आन्दोलनका आवश्यकता हुन्छ । त्यति नै आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न पनि संयुक्त प्रयासको आवश्यकता रहने पुष्पलालको विचार वर्तमान सन्दर्भमा निकै मननीय छन् ।

राजनीतिक उपलब्धि संस्थागतको प्रक्रियामा प्रमुख दलहरूबीच देखिएको असमझदारी र द्वन्द्वले प्रप्त उपलब्धिहरू संकटमा पर्दै गएको परिदृष्यहरू सतहमा देखिन थालेका छन् । सत्तासीन कम्युनिस्ट सरकारविरुद्ध संघर्ष गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उदण्ड अभिव्यक्त र कांग्रेसलाई ठीक गरेरै छाड्ने ओली–प्रचण्डको उद्घोषले यही कुराको संकेत गर्दछ ।

कांग्रेस पार्टी र सत्तासीन कम्युनिस्ट पार्टीबीचको यस्तो विध्वंशकारी द्वन्द्वको निकासका लागि पनि पुष्पलाका विचार उपयोगी छन् ।

बाह्य अस्थिरतावादी शक्तिहरूले प्रमुख राजनीतिक शक्तिहरूबीच द्वन्द्व चर्काएर राजनीतिक स्थिरता हुन नदिने खेल खेलिरहेका छन् । अहिले सत्तासिन कम्युनिस्ट पार्टी र कांग्रेस पार्टीबीचको द्वन्द्व यसको ज्वलन्त उदाहरण हो । सामान्य घटनालाई उछालेर नेपाली कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गर्ने र किनारा लागाउने मात्र होइन, राष्ट्रिय राजनीतिमा चरम अस्थिरता खडा गर्ने षडयन्त्र भइरहेको सतहमा देखिन थालेको छ ।

राजनीतिक अस्पष्टता र परिस्थितिको सही मूल्याङ्कन गर्न नसकेर सत्तासीन पार्टी मूल लक्ष्यबाट विचलित हुँदै गएको छ । विकसित राजनीतिक घटनाक्रमहरूलाई सुक्ष्म विश्लेषण गर्दा पुष्पलालका विचारका आधारमा मात्र नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई सही दिशा र गति दिन सकिने पुष्टि हुँदैछ ।

सत्तासीन नेपाली कम्युनिस्ट पार्टीले कुन बाटो अबलम्बन गर्ने हो, त्यसैमा नै नेपाली कम्युनिस्ट आन्दोलनको मात्र होइन राष्ट्रिय राजनीतिको भविष्य पनि निर्धारण हुनेछ ।
 

साउन ११, २०७५ मा प्रकाशित

बोर्णबहादुर कार्की

वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत रहेका कार्की लोकान्तरका नियमित स्तम्भकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस