जंगलका फिरन्ते राउटेलाई शहरमा ‘मगन्ते’ किन बनाइयो ?

भदौ २१, २०७६

सुर्खेत – राउटेलाई जंगलका राजा भनिन्थ्यो । राउटे समुदाय जंगलमै रमाउँथ्यो र जंगलमै फिरन्ते जीवन बिताउँथ्यो ।

राउटेको जंगली जीवन एकादेशको कथाजस्तै बनाइएको छ । राउटेको जीवन सुधार्न भन्दै सरकार र विभिन्न गैरसरकारी संस्थाले राउटेको सामूहिक वस्ती बनाउने अभियान थलाए ।


ADVERTISEMENT

सरकारी सक्रियतामै चलेका कार्यक्रमले जंगलका फिरन्ते राउटेलाई शहरका मगन्ते बनाएको छ । सरकारी कार्यक्रम राउटेलाई मगन्ते बनाउनका लागि चलाइएका थिए त ? राउटेलाई शहरका मगन्ते किन बनाइयो ? यी प्रश्नको जवाफ इतिहासले खोज्ने छ । अहिले भने कर्णालीका राउटे प्रदेश राजधानी सुर्खेतमा मगन्ते बनेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–६ बुद्धपथमा रहेको पूजा चियानास्ता पसलमा शुक्रवार बिहान नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल सहितको पत्रकारको टोली चिया खाँदै थियो । त्यहाँ १ जना राउटे आए । ती राउटे पत्रकारलाई नमस्कार गरे अनि टोपी झिक्दै ढोग्न थाले ।

पत्रकारले सोधे – यसो किन गरेको ? राउटेले जवाफ दिए – मलाई पैसा चाहियो । पत्रकारले पैसा दिए र उनी त्यहाँबाट गए ।

सडकमा एउटा गाडी आउँदै थियो । उनले इशारा गरेपछि गाडी रोकियो । गाडी रोकिने वित्तिकै ती राउटेले पछिल्लो झ्यालबाट गाडीभित्र टाउको घुसाएरै पैसा माग्न थाले । 

गाडी चालकले पैसा दिएपछि उनले गाडीको झ्यालबाट टाउको बाहिर निकालेर ढोगे । त्यसपछि उनले त्यहाँ अरु गाडी रोक्ने प्रयास गरे तर गाडी रोकिएनन् ।

पछिल्लो समय अधिकांश राउटे वीरेन्द्रनगरमा मगन्ते भएका छन् । राउटेले वीरेन्द्रनगरका पसल, सरकारी कार्यालय तथा गाडीबाट पैसा माग्ने गरेका छन् । राउटे कहिलेकाहीँ सामूहिक रुपमा गुराँस गाउँपालिकाको रातानांग्लाबाट वीरेन्द्रनगर झर्छन्, त कहिले एक्ला–एक्लै । रातानांग्लामा राउटेको वस्ती बसाइएको छ ।

बुद्धपथका मोबाइल पसल सञ्चालक वृष बडुवाल राउटेले अति गर्न थालेको बताउँछन् । ‘विगतभन्दा अहिले राउटेमा अस्वाभाविक परिवर्तन देखापरेको छ,’ उनी भन्छन्, ‘हरेक दिनजसो राउटे मेरो पसलमा आउँछन् ।’ दिनदिनै आउन थालेपछि उनी हाल राउटेलाई खासै वास्ता गर्दैनन् ।

‘शुरू–शुरूमा त राउटेले मागे भनेर रहरले पैसा दिने गर्दथेंं,’ उनी भन्छन्, ‘तर अब पैसा दिनै मन लाग्दैन । दिएको पैसा काममा लगाए पो दिनु ?’ राउटेले उठाएको पैसाले मदिरा सेवन गर्ने गरेको उनले बताए ।

कसले बनायो राउटेलाई मगन्ते ?

विगत केही वर्ष राउटेलाई पैसा बाँड्न विभिन्न आईएनजीओ र एनजीओ सक्रिय भए । ‘सडकको छेउमा बस्न नमान्ने, जंगलमै आफूले मेहनत गरेर भाँडाकुँडा बनाएर खाने राउटे जातिलाई लाखौं रुपैयाँ बसीबसी संघसंस्थाले दिने प्रचलनको शुरूवात भयो,’ स्थानीय कमल शाही भन्छन्, ‘त्यहीँबाट नै उनीहरूमा कामै नगरेर खान पाइने रहेछ भन्ने बानी परेको हो । अब त राउटे पूरै परनिर्भर भएका छन् ।’

राउटेलाई सहयोगका नाममा सीप सिकाउनेभन्दा पैसा तथा सामान दिने प्रचलनका कारण राउटेहरू मगन्ते भएर निस्केको उनले बताए । ‘शुरूशुरूमा सबैले धेरै आर्थिक सहयोग गरे,’ उनी भन्छन्, ‘तर अहिले केही संघसंस्था मात्रै उनीहरूको सम्पर्कमा रहेका कारण सोचेजति पैसा पाउँदैनन् र त्यसपछि मात्रै अहिले बजार झर्ने गरेका छन् ।’

राउटे उत्थान प्रतिष्ठान र सामाजिक विकास मन्त्रालय, सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा राउटे सहयोग कार्यक्रम हाल कार्यान्वयनमा छ । राउटे समुदायलाई आधुनिकीकरणका नाममा दिन प्रतिदिन सरकारी तथा गैरसरकारी निकायले मगन्ते बनाइरहेका छन् ।

के गर्नुपर्थ्यो त संघसंस्थाले ?

राउटेबारे निरन्तर कलम चलाउँदै आएका पत्रकार नगेन्द्र उपाध्याय शुरूदेखि नै राज्यले विभिन्न संघसंस्थालाई राउटे आधुनिकीकरणका नाममा जथाभावी पैसा बाँड्न नदिनुपर्ने बताउँछन् । ‘राउटेलाई माछा मारेर खान दिइयो । माछा मार्न सिकाउने तथा जाल दिने काम भएन,’ उनी भन्छन्, ‘उनीहरूको सीपलाई बरु आधुनिकीकरण गर्न सकेको भए त्यो राउटेका लागि ज्यादा प्रभावकारी हुन्थ्यो ।’ उनीहरूको सीपमा निखारपन ल्याउने र उनीहरूले निर्माण गरेका काठका सामग्री राज्यले बिक्री गरिदिएर राज्यले नै राउटेको जिम्मा लिनुपर्नेमा उल्टो भएको उनले बताए । उनी भन्छन्, ‘जथाभावी च्याउसरी उम्रेका संघसंस्थालाई पैसा बाँड्न दिएका कारण अहिले राउटे मगन्ते भएका छन् ।’

अब के गर्नुपर्छ ?

राउटेलाई मगन्ते बनाउन रोक्न राज्यले नै नीति बनाउनुपर्ने अधिकारकर्मी पवित्रा शाही बताउँछिन् । ‘राज्यले अब राउटेको लागि कुनै जंगल नै दिएर सीपलाई आधुनिक बनाउनुपर्छ,’ उनी भन्छिन्, ‘बरु एकीकृत बस्ती बसाएर राउटेको व्यवस्थापन राज्यले नै गर्नुपर्छ । अन्यथा राउटेको आचरणमा सुधार गर्न सकिँदैन । सरकारले राउटेमाथि कडाइ गर्नुको विकल्प नै छैन ।’

घुमन्ते राउटे परियोजना सञ्चालन गरिरहेको सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हिरासिंह थापा अहिले आफूहरूले राउटेलाई नगद दिन पूर्णरुपमा बन्द गरेको बताउँछन् । ‘राज्यले प्रतिमहिना दिने ३ हजार रुपैयाँबाहेक हाम्रो परियोजनाबाट नगद दिएका छैनौं,’ उनले भने, ‘पहिलेदेखि नै अरुले नै पैसा बाँड्ने गरेका र बाहिरको मदिरा खाने बानी परेका कारण राउटे माग्न थालेका होलान् ।’

परियोजनाले १ जना अहेब नै राउटे बस्तीमा राखेर स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा काम गरिरहेको उनले बताए । ५ जना राउटेलाई हेरालुको रुपमा मासिक तलब दिने र खाद्यान्न अभाव भएका बेला चामल दाल दिने गरेको अध्यक्ष थापाले बताए ।

के भन्छ प्रदेश सरकार ?

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले राउटेको बानी बिग्रेको बताए । ‘सरकारले राउटेकोे संरक्षण, प्रर्वद्धन तथा वृत्ति विकास गर्न लगानी गरिरहेको छ,’ उनले भने, ‘राउटेलाई आधुनिकीकरण तथा सामाजिकीकरण गर्नका लागि सुदूरपश्चिमबाट बीए उत्तीर्ण राउटे युवालाई त्यहाँ राखेको ६ महिना भएको छ ।’ सरकारले राउटेलाई बासको व्यवस्था गर्न खोजेपनि एक स्थानमा नबस्ने भएका कारण समस्या भएको उनले बताए । ‘हामी राउटेलाई गाँस, बास र कपासको व्यवस्था गर्न सक्थ्यौं तर उनीहरू घुमिरहने भएकाले समस्या सिर्जना भएको छ,’ मन्त्री रावलले भने, ‘तर गाँसको र कपासको व्यवस्था मन्त्रालयले गरिरहेको छ ।’

राउटेलाई मगन्ते बनाउन नहुने उनले बताए । ‘उनीहरू पनि हाम्रा नागरिक हुन् । उनीहरूलाई मगन्ते बनाउन हुँदैन,’ उनी भन्छन्, ‘कडाइका साथ राउटेलाई सहजीकरण गरेर भएपनि हामी मगन्ते हुनबाट रोक्छौं ।’

गुराँस गाउँपालिका–५ मा रहेको कान्छी बजारमा राउटे बसिरहेका छन् । १ सय ४७ जनाको बसोबास रहेको बस्तीमा १ जना हराइसकेको ४ महिना हुन थालेको छ । १८ वर्षमुनिका राउटे बालबालिकाको संख्या ७४ जना रहेको छ ।

भदौ २१, २०७६ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार