मगर भाषाका चलचित्र : पहिला च्यारिटीमै सीमित, अहिले पाउन थाले ठूला हलमा बिहानी 'शो'

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवल प्रदेश नम्बर पाँचको राजधानी समेत हो । प्रदेश पाँचमा सबै जातजाति र भाषाभाषीहरूको बसोबास छ । मूलधारका चलचित्र र म्युजिक भिडियोहरूको छायाँकनको गन्तव्य बनेको बनेको बुटवलमा मातृभाषाका चलचित्र निर्माणमा पनि भइरहेका छन् ।

गुरूङ भाषाका चलचित्र गण्डकी प्रदेशमा निर्माणमा जुटेसँगै बुटवललाई मगर समुदायले मगर भाषाका चलचित्रको राजधानी बनाउन जुटेका छन् । पछिल्ला हरेक वर्षजसो बुटवल र यस आसपासबाट एउटा/एउटा मगर भाषाको चलचित्र निर्माण भइरहेका छन् ।


Advertisement

नेपाली भाषाबाहेक अन्य मातृभाषामा बन्ने चलचित्रलाई राज्यमा कुनै सहयोग भने पाएका छैनन् । जसले गर्दा मूलधारका चलचित्रसँग प्रतिष्पर्धा गर्न नसके पनि आफ्नो गाउँठाउँमा समस्या र संस्कार उठाएर चलचित्र निर्माणमा कलाकर्मीहरू जुटेका छन् । यस्ता चलचित्रहरू च्यारिटी शो र डीभीडीमार्फत प्रदर्शन र वितरण हुन्छन् । मौलिक भाषिक चलचित्र सानो बजारलाई लिएर बनाइन्छ ।

आजभन्दा झण्डै एक हजार ५ सय वर्ष अगाडिदेखि यस क्षेत्रमा भाषागत चलचित्रको रूपमा मगर भाषाको चलचित्र निर्माण हुने गरेको इतिहासमा पाइन्छ । नेपाल मगर चलचित्रकर्मी संघका पूर्वकेन्द्रीय सचिवसमेत रहेका अभियान्ता शंकर गाहाले मातृ भाषाहरू लोप हुँदै गएकोले यसको संरक्षण र विकासका लागि मगर भाषाका चलचित्रहरू निर्माण भइरहेको लोकान्तरलाई बताए ।


Advertisement

विषयवस्तु र मौलिकता मगरभाषाका चलचित्रको सबल पक्ष हुन् । त्यसका साथै नेपाली ग्रामीण समाजको रितिथिति जस्ताको तस्तै उर्तान सक्नुले मातृभाषाका चलचित्रको गरिमालाई उँचो बनाएको छ ।

उनले शुरूआची चरणमा भाषागत चलचित्रले उचित हल, स्थान नपाएको परिपेक्ष्यमा नेपालमै पहिलो पटक बुटवलका केही चलचित्र हलहरूले भाषागत चलचित्रलाई निश्चित समय प्रदान गर्ने मौखिक सहमति गरेको बताए । यस्ता चलचित्र नेपालमा वर्षमा झण्डै एक सयको हाराहारीमा बन्ने गर्छन् । बसन्त थापा, लक्ष्मण थापा, विना बिरकट्टा मगर, निश्चलचर्ता मगर मगर भाषाका चलचित्रमा अभियन गर्ने चलनचल्तीका कलाकार हुन् ।

यहाँ निर्माण भएका ‘सिने हलले बिहानी ‘शो’ प्रदर्शनका लागि मगर चलचित्रलाई प्राथामिकता दिएका छन् । मगर चलचित्रको राजधानीको रूपमा स्थापित गराउनु चुनौती रहेको समयमा बुटवलमा रहेको द्धारिक उदय सिनेमा, भैरहवामा रहेको काशी सिनेप्लेसले समेत विहान साढे १० बजे को शो मगर भाषाको चलचित्र प्रदर्शन गर्नको लागि समय दिएका छन् । यी दुई सिनेमा हलका सञ्चालक प्रदिप उदय र ओम जैसीले नियमित रूपमा मातृभाषाका चलचित्र प्रदर्शन गर्न सम्झौता समेत गरेका छन् ।

‘पहिलो पटक भाषागत चलचित्रलाई निश्चित समय प्रदान गरिएको हो,’ गाहा भन्छन्, ‘यो हाम्रो लागि सबैभन्दा गौरवको विषय हो । चलचित्र वितरण काठमाडौंदेखि नै हुने भएको कारण आदिवासी जनजातिहरूको विषयमा बनेको चलचित्रले नियमित हल नपाउने समस्या पहिलादेखि नै थियो ।’

उनले चलचित्र निर्माण गर्ने, सबै मापदण्ड पूरा गर्ने, चलचित्र विकास बोर्डबाट अनुमति समेत लिने चलचित्रकर्मी हल नपाउँदा भने समस्यामा थिए । बुटवल र यस क्षेत्रमा हालसम्म करीव १० वटा मगर भाषाको चलचित्र निर्माण भइसकेका छन् । नेपाल मगर चलचित्रकर्मी संघ रुपन्देहीका अध्यक्ष श्याम थापाका अनुसार १५ वटा भन्दा बढी मगर  भाषामा समेटिएका लघु चलचित्र (डकुमेन्ट्री) निर्माण भइसकेका छन् । नेपालमा मगर चलचित्र निर्माण हुन थालेको करीब २५ वर्ष पूरा  भएको छ ।

बुटवल क्षेत्रमा मेरो सम्झमा (ङैआरमीकमा) नामक चलचित्र निर्माणबाट शुरू भएको यात्रा अहिले मराङ्ग नामको चलचित्र शूटिङ भइरहेको अवस्थासम्म आएको छ ।

आईएलओ ९६१ को अधिकारको विषयमा कालीगण्डकी जलविद्युत आयोजनाले माझी समुदायको पेशामा परेको असर र चितवनको चितवन राष्ट्रिय निकुन्जले त्यहाँको आदिवासी जनजातिहरू विस्थापित भएको विषयमा डकुमेन्ट्रीसमेत निर्माण गरेका गाहाले गुरुङ भाषाको चलचित्रको राजधानी पोखरा बनाउने अभियान थालनी भइरहेको अवस्थामा आफूहरूले बुटवललमाई छनोट गरेको जानकारी दिए ।

जसअनुसार नेपालभर जो जहाँ मगर भाषाको चलचित्र निर्माण भएको भएपनि त्यसको पहिलो ट्रेलर रिलिजदेखि लिएर चलचित्र रिलिज बुटवलमा नै गर्ने मगर चलचित्रकर्मीहरूको बीचमा सम्झौता भइसकेको छ ।

बुटवललाई एकल रूपमा मगर भाषा चलचित्रको राजधानी बनाउने सपना पूरा नहुने भन्दै उनले यसको लागि सबैको साथ र सहयोग भने आवश्यक रहेको बताउँछन् । नेपालभर मगर चलचित्रकर्मीहरूको संख्या करीब ५ सय जना छ भने बुटवल क्षेत्रमा करीव एक सय जना भन्दा बढी मगर चलचित्रकर्मीहरू छन् । मगर भाषाका चलचित्र निर्देशकमा श्याम थापा, याम पुन, यामबहादुर राना रहेका छन् ।

नेपालमा नै लामो समयदेखि भाषा, कला क्षेत्रमा रुचि भएका, नेपालमै बसेर साहित्यमा केही काम गर्न सकिन्छ भन्ने सोच भएका व्यक्तिहरू यो क्षेत्रमा लगाव दिइरहेका छन् । यसको साथै सामाजिक क्षेत्रका अभियान्ताको रूपमा पहिचान स्थापित गर्न लागिरहेका व्याक्तिहरूले समेत मगर चलचित्र, लघु चलचित्र निर्माणको काममा लागिरहेका छन् ।

चलचित्रमा विगत लामो समयदेखि लागिरहेका कथा, लेखन र निर्देशक मेकबहादुर पुन (मेजन)ले पनि मगर भाषाको चलचित्रले पछिल्लो समयमा केही भएपनि न्याय पाएको बताउँछन् । चलचित्र ‘ट्याङ्चलाक’ लिएर आएका उनले  सबैको साथ र सहयोग भएमा बुटवललाई मगर चलचित्रको राजधानी बन्नेमा आफू विश्वस्त भएको बताउँछन् ।

नेपाल मगर चलचित्रकर्मी संघका केन्द्रीय सदस्य यम पुनले पनि मगर चलचित्रको क्षेत्रमा भएका कामको प्रचारप्रसार नहुँदा हलसम्म दर्शक तान्न समस्या भएको बताउँछन् । तर उनले यसको लागि सबैको साथ सहयोग भएमा मगर चलचित्रले विशेष महत्त्व राख्ने दाबी गरे ।

यस्ता चलचित्रले जाति विशेषको सांस्कृतिक पक्ष केलाएका हुन्छन् । त्यस्तै पहिरनमा आफ्नै स्थानीयता झल्कनु, मातृभाषा एवं चलनचल्तीको भाषालाई प्राथमिकता दिन्छन् भने सम्बन्धित जातजातिकै कलाकारलाई अभिनय गराउँछन् । यो मातृभाषाका चलचित्रका राम्रा पक्ष हुन् ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्