कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
समकालीन नेपाली साहित्य टाक्सिएको अवस्थामा छ । कुनै कडा रोगव्याधिले सताएको दीर्घरोगी जस्तो । कथा, कविता, नाटक, निबन्ध, उपन्यास लगायतका अनेक फाँटहरू उपलब्ध नै छन् तर साहित्यका स्रष्टाहरूमा सिर्जना गरौं-गरौंको उत्साह छैन । भए नै पनि पर्याप्त छैन । धान फल्ने खेत, मकै उब्जिने बारी, सागपात हुने करेसाबारी र तुलफूलका स्रोत मानिने घरबारी सबैतिर अचेल बाँझोपन दृष्टिगोचर हुन्छ । हरियो-परियो हेर्न दिंदै आएका रुख बुट्यानमा पनि खडेरी परे झैं लाग्छ । बलिया हात-पाखुरी हुनेहरू कि मरुभूमि हराभरा गर्न अरब देश गएका छन् कि त सिमाना सुरक्षामा खटिन टाढा-नजिकका अन्य मुलुक पुग्ने परम्परा धानिरहेका छन्, यिनै बाध्यताले खेत-बारी बाँझा पाटामा परिणत भएका छन् । त्यसैगरी, स्रष्टाहरू सुस्ताउनाले साहित्यका विशाल मैदान पट्यारलाग्दा पठार जस्ता हुन पुगेका छन् ।
स्रष्टा किन सुस्ताए त ? किन तिनको जाँगर मरेको हो ? सूचना प्रविधिमा आएको यत्रो उल्लेख्य परिवर्तनले इण्टरनेटका माध्यमद्वारा एक हैन अनेक चौतारीमा खोलिदिएको छ । फेसबूकको ‘छन्द चौतारी’ दृष्टान्त हो । यसरी, सुविधामाथि सुविधा थपिएका बेलामा साहित्य सिर्जना त झन् फस्टाएको हुनुपर्ने हो । तर यथार्थ भने भिन्दै छ । किन होला त ? खोजीनीति गर्नेले अनेक तर्क र आधार फेला पार्न सक्छन् । तर सामान्य समझ भएकाले समेत बुझेको-बेहोरेको तथ्य के हो भने साहित्यलाई मनोरञ्जन मात्र ठान्दै आएकाहरूले आफूले चाहेको आमोद-प्रमोद अन्यत्रैतिर खोज्न थाले, पाउन पनि लागे । फलस्वरुप साहित्यिक कृतिप्रतिको आकर्षण घटेर जाँदो छ । पुस्तकको आकारमा आउने साहित्यिक कृतिका पाठकहरूको गणना घट्ने क्रममा छ । मासिक, द्वैमासिक, त्रैमासिक भनेर चिनिने कतिपय पत्र-पत्रिका अचेल निस्कनै छोडेका छन् । मुद्रित सामग्री र मसलन्दका पसलमा पोटिला कथा,कविता जस्ता रचनाहरू भएका पत्र-पत्रिका भेटिन छोडेका छन् ।
विडम्बना,२०४६ सालको राजनीतिक परिवर्तनपछि आएको खुला वातावरणमा नेपाली साहित्य मौलाउने बाटोतिर लाग्नुपर्नेमा दुब्लाउने दिशातिर डोरिंदै गयो । एकपछि अर्को गरेर नेपाली मौलिकपन दिने साहित्यिक प्रकाशनहरू हराउँदै गए । यसरी हराउने प्रमुख प्रकाशनहरूमा पर्छ ‘रत्नश्री’ द्वैमासिक । दाजु मदनदेव भट्टराई र भाइ शान्तदेव भट्टराईको जोश र जाँगरबाट २०२० साल भाद्र-आश्विनबाट प्रकाशन शुरु भएको ‘रत्नश्री’ आषाढ-श्रावण, २०५७ को अङ्कपछि बन्द भयो यद्यपि त्यस्तो कठिन अवस्था आउने सङ्केत २०४७ बाटै भएको थियो । जे होस्, दर्जनौको संख्यामा स्रष्टा र सयकडौंको गन्तीमा रचना र कृति नेपाली वाङमयलाई उपलब्ध गराउने यो मञ्च मूलत: आर्थिक कारणले धान्न नसकिने अवस्थामा पुग्यो । उद्धारका उपाय भएनन् ।
‘साहित्य रत्नश्री र म’ नामक हालै छापिएको पुस्तकमा शान्तदेव भट्टराईले यी र यस्तै विषयबारे सामयिक चिन्तन-मनन प्रस्तुत गर्नुभएको छ । यसमा प्रकाशन अवधिका कतिपय अग्रलेख, सामयिक टिप्पणीहरू पनि समावेश भएका छन् । त्यस्तै, लोकसेवा आयोगले राष्ट्रभाषा नेपालीलाई कम आँकेको बेला, प्रज्ञा-प्रतिष्ठानलाई प्राज्ञहरूको साटो कारिन्दाको किल्ला बनाउने प्रवृत्ति झाङ्गिएका बखत र साहित्यमा राजनीतिक प्रदूषण बढेको समय ‘रत्नश्री’ले घन्काएको आवाजका अभिलेख यस पुस्तकका विभिन्न खण्डमा पाइन्छन् । सिद्धिचरण श्रेष्ठ, पोषण पाण्डे, भारती खरेल, तारानाथ शर्मा (तानासर्मा), रत्नदास प्रकाश र पारिजात जस्ता स्रष्टाहरूले ‘रत्नश्री’लाई आफ्ना अभिव्यक्ति र चिनारीका माध्यमको रूपमा पाएको जानकारी यस पुस्तकका पृष्ठहरूमा पाइन्छन् ।
‘सम्पादकीय आयतनमा शान्तदेव भट्टराई’ शीर्षकमा प्रा.राजेन्द्र सुवेदीद्वारा प्रस्तुत आलेखले यस किताबको सन्दर्भमा विस्तारित भूमिकाको काम गरेको छ । यसमा नेपालको साहित्य संसार खुम्चिंदै जाने क्रमको गहन विवेचना भएको छ । उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डेको प्रयासमा २०१७ सालमा प्रकाशन आरम्भ भएको ‘रूपरेखा’ अहिले इतिहास भईसकेको छ । कतिपय अरू प्रकाशन पनि हराए । समकालीन प्रकाशनमध्ये अहिलेसम्म धानिएका चर्चित पत्रिका थोरै छन् जसमा रोचक घिमिरेको सम्पादनमा निस्कने ‘रचना’ र नगेन्द्रराज शर्मा सम्पादक रहेको ‘अभिव्यक्ति’ पर्दछन् । महिला स्रष्टालाई सम्मान र प्रोत्साहन गर्ने प्रकाशनमा ‘रत्नश्री’ अग्रणी रहेको लेखक भट्टराईको दाबी छ । ‘नारी अङ्क’ नै निकाल्ने काम गरेको गरेकोले सम्भवत: यस दाबीको विरोध हुँदैन होला ।
वि.सं. १९५५ मा ‘सुधासागर’ निस्क्यो, तीन वर्षपछि गोरखापत्र (उतिखेर ‘गोर्खापत्र) छापिन थाल्यो । यसरी हेर्दा नेपालमा ‘खबर पत्रकारिता’ भन्दा पहिले ‘साहित्यिक पत्रकारिता’ आरम्भ भएको देखिन्छ । लेखक शान्तदेव भट्टराईले यसकै आधार पनि दिएर साहित्यिक पत्रकारिता चाहिँ किन पछाडि पर्नगएको हो भनेर प्रश्न उठाउनु भएको छ । प्रश्न जायाज छ, तर अचेलको सञ्चारजगत्को दृश्यपटल नियाल्दा खबर पत्रकारिता पनि बलियो धरातलमा उभिएको देखिंदैन । समग्र मुद्रण पत्रकारितामा नै सूचना प्रविधिमा आएको परिवर्तनले असर पारेको छ । तैपनि, सुखद् संयोग नै भन्नुप-यो, यस्तो कठिन परिस्थितिमा समेत मुलुकको जेठो अखबार गोरखापत्र संघर्षरत छ, र सो संस्थानका नेपाली प्रकाशनमा साहित्यिक पत्रिका ‘मधुपर्क’ अग्रपङ्तिमा रहेको छ ।
शान्तदेव भट्टराईले पुस्तकको प्रारम्भिक मन्तव्यमा उल्लेख गरेको एउटा अर्को प्रसङ्गले मेरो ध्यान तानेको छ, र मजस्ता अन्य पाठकको ध्यान पनि आकृष्ट गर्छ होला भन्ठान्छु । कुरो हो ‘नियात्रा’ को । नियात्रा शब्दले सामान्य किसिमको यात्रा-वृत्तान्त बुझाउने होइन रहेछ । अर्को शब्दमा, कुनै तीर्थस्थल वा पर्यटकीय स्थान गएर फर्केपछि लेखिने-छपाइने सतही विवरण नियात्राको कित्तामा पर्दैन । नियात्रा त साहित्यका कविता,कथा,उपन्यास,नाटक, निबन्ध सरहको छुट्टै विशिष्ट विधा हो । नेपालमा यस विधाको पहिलो कृति रहेछ ‘बेलाइततिर बरालिँदा’। अनि, डा. तारानाथ शर्माले नै यो किताब निस्कनुअघि लेखेको ‘मेनाई साँघुको यात्रा’ पहिलो नियात्रा (निबन्ध) रहेछ । शर्माले बेलाइतमा अध्ययनरत छँदै लेखिपठाएको त्यो नियात्रा ‘रत्नश्री’ मा २०२३ सालको अन्तिम अङ्कमा छापिएको जानकारी भट्टराईले दिनुभएको छ । यो साहित्यका साधक र पाठक दुबैथरीका लागि महत्वपूर्ण सूचना हो । प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा दिइएको ‘नियात्रा’को यस परिभाषाले पनि‘रत्नश्री’का भट्टराईको जानकारीलाई पुनर्पुष्टि गर्दछ : “यात्रा-वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध” ।
कृति : साहित्य रत्नश्री म
लेखक: शान्तदेव भट्टराई
प्रकाशक : विवेक प्रकाशन,काठमाडौं
पृष्ठ: १७४ । मूल्य: रु.२५०/
प्रकाशन वर्ष: वि सं २०७६
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...