१३ असार २०८३, शनिबार

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, अर्को बैठक वैशाख २० गते

बैशाख १७, २०७७
नेकपा सचिवालय बैठक निष्कर्षविहीन, अर्को बैठक वैशाख २० गते

प्रमुख सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'को सचिवालय बैठक निष्कर्षविहीन बनेको छ ।

बुधवार साँझ बालुवाटारमा बसेको बैठक यही वैशाख २० गते अर्को बैठक बस्नेगरी टुंगिएको छ ।

बैठकमा पार्टीका आन्तरिक समस्या, स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

'पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्त्व, सरकार र केही कमरेडहरूले माग गर्नुभएको स्थायी कमिटी बैठकसहित विविध पक्षबारे गम्भीर विचार विमर्श भयो,' बैठकपछि प्रवक्ता श्रेष्ठले भने, 'पार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुन: सचिवालय बैठक बस्ने निर्णय भएको छ ।'

स्थायी कमिटी बैठकबारे पनि सचिवालयको आगामी बैठकले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको विवाद उत्कर्षमा पुगेका बेला बसेको सचिवालय बैठकलाई निकै महत्त्वका साथ हेरिएको थियो ।

पार्टी सचिवालयका बहुमत सदस्य प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने अडानमा छन् । दुई विवादास्पद अध्यादेशका कारण चर्किएको विवाद त्यसलाई फिर्ता गरिसके पनि टरेको छैन ।

ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये कम्तिमा एक पद नछाड्दासम्म चुप नलाग्ने रणनीतिमा उनीइतर पक्ष देखिन्छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'लगायत एक ठाउँ देखिएका छन् ।

पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले आफूपक्षीय सांसदहरूलाई बुधवार बालुवाटारमा भेला गरे ।

संसदीय दलमा आफ्नो बहुमत सिद्ध गरेर राजीनामा माग्नेहरूको मुख थुन्ने प्रधानमन्त्रीको रणनीति छ ।

अर्को पक्ष भने सबै समस्या सचिवालय तथा स्थायी कमिटी बैठक बसेर हल गर्नुपर्ने अडानमा छ ।

पार्टीका यी दुवै कमिटीमा अल्पमतमा रहेकाले ओली आफू तुलनात्मकरूपमा बलियो रहेको संसदीय दलमा बहुमत सिद्ध गर्ने कसरतमा छन् ।

बालुवाटारमा सचिवालय बैठक बसिरहँदा पत्रकारहरूलाई भने बाहिर रोडमा नै रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्