बीपीकी मोदिआइन : एक प्रेरणाकी स्रोत

  • सविता कनौजे न्यौपाने

बाल्यकाल सबैलाई प्यारो लाग्छ । अझै सम्झन लायक क्षणहरूले त मन झन् आनन्दित तुल्याउँछ । समाजमा महत्त्वपूर्ण योगदान गरेका असल पात्रहरूको बाल्यकालका सम्झनाले त हामीलाई प्रेरणा पनि दिन्छन् ।


Advertisement

मेरा बुवा (ससुरा बुवा स्व. प्रा. हेमलाल न्यौपाने) नेपाली साहित्यका प्राध्यापक हुनुहुन्थ्यो । उहाँका नेपाली साहित्य, संस्कृत र हिन्दीका प्रायः मोटा–मोटा किताबहरू कोठाका भित्ताको काठको पुस्तक दराजमा सजिएका छन्, जुन मैले केवल हेरेर आनन्द लिनका लागि मात्र ठानेकी थिएँ ।

वित्तीय र व्यवस्थापन मेरो विषयगत क्षेत्र हुन् तर मेरो साहित्य पढ्ने र लेख्ने रुचि लकडाउनले बढाएको हो । जसलाई मैले एक अवसरको रुपमा लिएकी छु । 
बढीजसो वित्तीय तथ्यांकको जोडघटाउमा भुल्ने म साहित्यको स्वच्छन्द खुला आकाशमा रम्न पाउँदा निकै रोमाञ्चित महसूस गरेकी छु । 


Advertisement

बुवाका यी पुस्तकहरूमा साहित्य अलवा अरु केही रोचक कृति पनि छन् । जस्तैः स्वामी विवेकानन्दका जीवनी, जुन मेले दोस्रो छनोटमा पढ्ने लिस्टमा राखेकी छु, हेरौं कति बुझेर अध्ययन गर्न सकिन्छ । समयको सदुपयोग गर्दै लकडाउनमा केही आफ्नो क्षमताले भ्याएका नेपाली साहित्यका किताबहरू हेर्ने क्रममा सानो पुस्तक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) द्वारा लिखित लघु उपन्यास मोदिआइनले मेरो ध्यान खिच्यो ।

नेपाली साहित्य जगतका उज्वल नक्षत्र बीपी कोइराला नेपाली राजनीतिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि हुन् । उनका उपन्यासमा यौन मनोविज्ञानका अतिरिक्त आत्मिक नैतिकता, लैंगिक विभेद तथा युद्धको भर्त्सना जस्ता सामाजिक समस्याहरूले उल्लेख्य स्थान ओगटेको भेटिन्छ । लगभग आधा शताब्दिसम्म नेपालको राजनीति इतिहासका प्रमुख हस्ती रहेका उनी साहित्य सिर्जनामा भने युगौंयुग अत्यन्त प्रभावशाली रहनुको कारण राजनीतिको गन्ध उनका कृतिमा कतै आउन नदिनु पनि हो । उनका पुस्तक चेतना प्रकाशनले विक्रम संवत् २०३६ सालमा पहिलो संस्करण स्वरुप ३२०० प्रति ल्याएको रहेछ, जसमध्ये एक मेरो हातमा थियो । यो पुस्तकको त्यो बेला प्रतिमूल्य नेपाली ५ रुपैयाँ ८० पैसा रहेछ । जुन दाममा अहिलेको समयमा कुनै पुस्तक किन्ने कल्पना पनि गर्न सकिँदैन ।

यस पुस्तककी पात्र मोदिआइनले मेरो मनलाई यतिधेरै प्रभाव पार्‍यो कि मैले उनलाई एक असल मार्गमा हिँड्न सिकाउने प्रेरणाकी स्रोत मानेर केही लेख्ने जमर्को गरें । उनकै नामबाट यो उपन्यासको नामाकरण गरिएको हो ।

विक्रम संवत् २०२० माघ महिनाको कठ्यांग्रिने जाडोलाई चुनौती दिँदै सुन्दरीजल बन्दी गृहभित्र बीपीले ३ दिनमा लेखेर सकेको यो लघु उपन्यास मोदिआइन  मैले भने २ पटक पढें लगातार । जति पढ्यो उति पढौं पढौं लाग्ने । कारण हो, मोदिआइनमा गीता दर्शनको सटिक चर्चासहित महाभारतको युद्ध र शान्तिका पक्षमा नारी तथा परिवारमा गुम्सिएका द्वन्द्वले भरिएका संवादहरूका साथै असल भई सत्कर्ममा लाग्ने विचार प्रधान हुनु हो ।  मलाइ लाग्छ, यो उनको असल, नैतिक भएर जीवन जिउने पुस्तक हरेक उमेरकाले बेला–बेलामा पढ्नुपर्छ, अनि आफ्ना भाइबहिनी, छोराछोरीलाई पढ्न अनि त्यसअनुसार आचरण गर्न सिकाउनुपर्छ ।

मैले योभन्दा अगाडि भागवत गीता पनि पढेकीले मोदिआइनमा आउने महाभारत र कृष्णका गीताका सन्दर्भ बुझ्न मलाई अझ सहज भयो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथाको प्रसङ्गलाई एक कोमल हृदय भएकी नारी मोदिआइन पात्रमार्फत युद्धको भयंकर परिणामबाट बच्न शान्ति स्थापनामा हरेक नरनारी लाग्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । चिसो वातावरणमा लेखेका उनले यो पुस्तकमा भने निकै न्यानो बाल्यकालको चञ्चलताका साथै मनमस्तिकमा एक असल बन्ने ऊर्जाका किरणले भरिएका छन् ।

बाल्यकालको यात्रालाई लामो समयपछि एक बालसुलभ अनि सरल भाषामा लेखिएको यो उनको पुस्तक पढ्दै गर्दा आफू कतै त्यहीँ नजिकै भएको महसूस हुन्छ । ५२ पृष्ठको सानो आकारको पुस्तकभित्र विशाल इमान, नैतिकता, प्रेम, सौन्दर्य, त्याग एवं बाल मनोविज्ञानलाई सरल रुपमा दर्शाइएको छ ।
 
४० वर्ष पहिलेको बाल्यकालको घटनालाई कल्पनाको शक्तिद्वारा बीपी मिसिरजीलाई सम्झछन्, जहाँ उनीसँगै भारत राज्य बिहारको उत्तर भागमा पर्ने दरभंगा जाने ढीपी बालहठको बलमा जित्छन् । (पृष्ठ ६) । दरभंगा स्टेसनको स्वरूपको वर्णन गर्दै बीपी मिसिरजीको पछि लाग्दै मोटी, हिस्सी परेकी मोदिआइनको पसलमा पुग्छन् । बीपीले मोदिआइनको जिउडालको स्वरूपको वर्णन गर्र्दै उनले नारी सौन्दर्यको मनोविज्ञानलाई प्रकाश पारेका छन् । (पृष्ठ १२) ।

केटाकेटी मानेर मोदिआइनले ममताभाव स्वरूपसहित मीठो बोली र पित्ले थालमा राखेको खानाबाट बीपी दंग पर्छन् । महाभारतकालीन कथासँग जोडेर वर्णन गरिएको हडाहा पोखरीमा मोदिआइनको सल्लाह मान्दै बीच गहिरोमा नगएर छेउमा नै नुहाएको प्रसङ्गले उनी आफूलाई एक आज्ञाकारी बालकको कित्तामा उभ्याउँछन् ।
 
यो पुस्तकको मुख्य सार पृष्ठ १५ मा आउँछ, जहाँ मोदिआइनले पढिसकेर ठूलो  हुने होइन असल हुनुपर्छ भन्दै बीपीको अन्योलतालाई हटाउँदै उनी थप प्रस्ट्याउँछिन्, ‘ठूला मानिस थरिथरिका हुन्छन् । असल मानिस भने एकथरिका मात्र हुन्छन् ।’ यसलाई उनको यो कृतिमा २ पटक विशेष रुपमा इङ्गित गर्नुले बीपीले यस भनाइलाई आफ्नो जीवन यात्रामा एक दिशानिर्देशको रुपमा लिएको बुझिन्छ ।
 
असल हुनु भनेको अहिलेको परिप्रेक्ष्यमा ठूलो महत्त्व राख्दछ । गीतामा भगवान् श्रीकृष्णले मानव समाज असल नीति, कर्म र व्यवहारबाट अघि बढ्न सक्दछ भनेका छन् । असल पात्रमा सदाचार हुन्छ, जुन उसको अन्तरात्मामा सदा अदृश्य शक्ति बनेर रहन्छ र उसलाई अनैतिक कर्म गर्नबाट रोक्छ । नेतृत्व वर्गको असल विचार र असल कार्यले नै असल समाजको निर्माण हुने हुँदा प्रत्येक जिम्मेवारीलाई सुअवसरका रूपमा लिई सामाजिक भावनाले ओतप्रोत भई जनताको सेवा गर्नुपर्ने आजको आवश्यकता हो । महान् दार्शनिक चाणक्यले भनेका छन्, ‘उच्च आसन र महलमा बसेर होइन, मानिस असल गुणले उत्तम हुन्छ ।’ आफ्नो आचरण र व्यवहार ठीक नहुने व्यक्तिले अरुलाई मात्र दोष दिइरहनु आफ्नै कमजोरी हो भनेर बुझ्नुपर्छ । व्यक्ति परिवार हुँदै समाज अनि राष्ट्रको निर्माण हुने हुदाँ आफूबाटै असल सदाचारको शुरूआत गर्न जरुरी छ । अहिले समाजमा प्रतिष्ठा, पद र पैसाको लोभमा व्यक्ति आफ्नो धरातलीय यथार्थबाट बिमुख भइराखेको अवस्थामा बीपीको यो कृति उपयोगी छ । बीपी एक्कामा चढेर दरभंगा शहर, त्यहाँको राजदरबार घुमेर निकै उत्साहित हुन्छन् । मोदिआइनको महाभारतको पालाको हडाहा पोखरीको मछुवारिनको कथाले उनी उत्तेजित हुन्छन् । यसै क्रममा मछुवारिनले कलियुगमा मानिस मात्र खिइएनन्, पशुपन्छी पनि खिइसके भन्नुले अहिलेको समयमा कतै मानिस आदर्श अनि नैतिक रुपमा पतन हुँदै गइरहेको त छैनौं भन्ने  पनि भान हुन्छ । यसका अलवा मोदिआइनले राति सुत्ने बेलामा महाभारतका कथाले पाण्डव जस्तै वीर, पराक्रमी हुनुपर्ने प्रोत्साहन गर्दै जीवन, घरपरिवार जोगाउन सदाचारी भई जुवा खेल्न भने नहुने सार व्यक्त गर्छिन् । जसलाई बीपीले बडो उत्सुकतापूर्वक सुन्छन् । एक क्षेत्रीय कुमारी हुदाँका आफ्नो यौवनले पूर्णरूप र पुरुषसँगको बयानमा कतै उच्छृंखलता देखिँदैन । अहिलेका पढ्नै नसकिने किसिमले यौन र यौवनका व्याख्या गरेर साहित्य लेखनलाई छाडा बनाउन खोज्नेलाई बीपीको यो लेखन शैली एक मार्गदर्शक हुन सक्दछ । 

मोदिआइनले आफ्नो अनुभव बीपीलाई सुनाउँदै उनी हृदयमा माइतीका आमा, बुवा, भाइलाई मायाका साथ सम्झिँदै आफू पत्नी भएर एउटा पुरुषको न्यानो स्पर्शको अनुभव गर्दै कर्मघरमा गएको प्रसङ्गले विवाहित महिलाको सहनशीलता, कर्तव्यबोधको आभास दिलाउँछ । स्वामी विवेकानन्द भन्छन्, ‘सत्य, इमान्दार र ऊर्जावान महिलालाई जित्न एउटा भीडले पनि सय वर्ष लगाउँछ ।’ परिवारको पारस्परिक माया अनि पतिपत्नीको प्रणयले घरमा स्वर्गभन्दा सुख प्राप्त भएको उनको कुराले हरेक महिलाको मनमा असल गृहिणी हुनुको भावनालाई अझ मजबुत बनाउँछ । (पृष्ठ ३४) । जीवन एउटा कहिल्यै पनि समाप्त नहुने वसन्तको रूप हो । (पृष्ठ ३५) ।

नारीको मर्यादा अनुरुप आफ्नो सुलभ नारीत्वलाई तिलाञ्जली दिँदै आफ्ना पुरुषलाई युद्धमा होमिन उत्तेजित बनाउन नहुने भन्दै महाभारतकी द्रोपदीको उक्साहट मोदिआइनका साथै सारा साथीलाई मन पर्दैन (पृष्ठ ३८) । यसले नारी कोमलता र ममताको प्रतिमूर्ति रहनुका साथै समाजमा शान्ति राख्न नारीको भूमिका महत्त्वपूर्ण हुने झल्को दिन्छ । निन्द्रामा बीपीले सुनेका महाभारतको युद्धको डरलाग्दो वर्णन निकै चाखलाग्दो छ । आफ्ना प्रेमीको अन्तिम स्पर्शको अनुभवको यादमा मोदिआइन त्यही हडाहा पोखरीमा बाँकी जीवन बिताएको सन्दर्भसहित असल आचरणले नै जीवन जिउनुको अर्थ हुने निचोड निकाल्छिन् । (पृष्ठ ५०) । दरभंगाबाट जयनगर रेलको यात्रामा घर फर्कंदा समेत बीपीले निद्रामा ‘नानी, ठूलो नहुनु, वीर नहुनु । असल हुनु, असल’ भन्ने सन्देशले हामीलाई असल जीवन जिउनुको वास्तविक यथार्थतालाई उजागर गरेका छन्, जसले यो कृतिलाई कालजयी बनाएको छ । (पृष्ठ ५१) ।

अन्त्यमा बीपीको यस मोदिआइन एक अत्यन्तै पठनीय कृति हो । बालमनोविज्ञान र नारी मनोविज्ञानको बेजोड प्रयोग गर्दै असल विचारहरूले उपन्यासलाई एक उच्च स्थानमा पुर्‍याएको छ, जुन अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ । बीपीले मोदिआइन पात्रमार्फत गीताद्वारा आध्यात्मिक चिन्तनले मनलाई शुद्ध गर्दै  हरेक व्यक्तिले जीवनको नैतिक धरातललाई आत्मसात् गर्दै असल कर्मले आफ्नो जीवनलाई सफल तुल्याउनुपर्छ भन्ने मुख्य सन्देश दिएका छन् । यस उपन्यासकी केन्द्रीय पात्र मोदिआइन एक असल नारीकी प्रतिबिम्बित गर्दै नारीहरूका पीडामय कथाहरूलाई सजिव ढंगले प्रस्तुत गरिदिएका छन् । 

जीवनमा आफ्नो कर्ममा असल भएर तल्लीन भएमा सबैको कल्याण हुने र यसले जीवनमा सफलता दिलाउने उनको यो कृतिमा पाउन सकिन्छ । जो कोहीलाई पनि शान्ति स्थापनामा अग्रसर हुँदै असल भएर जीवन जिउन प्रेरित गर्ने यो कृतिले नारी नै परिवार र समाजकी केन्द्रविन्दु हुन् भन्ने विचार मोदिआइन पात्रमार्फत दिन पनि सफल भएको छ । यस अर्थमा पुस्तककी मुख्य नारी पात्र मोदिआइन सबका लागि आदर्श जीवन जिउने एक प्रेरणाकी स्रोत बनेकी छिन् । 

इमेल : [email protected]

कमेन्ट गर्नुहोस्