माधव नेपालसँगै ‘गुरिल्ला लडाइँ’ गरेका यी कमाण्डर, अहिले कम्युनिस्ट भन्न लाज !

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

भैया किसनमा हो, ऐलई समईया होईयौन तैयार 
ओ खेत जोतली अन्न उब्जइली, छिन लेलक जिम्मदार 
खाएके विना अंतरी बैठल, हड्डी भेलै देखार 
भैया किसनमा हो, जिम्मदार सब बडा छै बेइमान
 हो कंकर पत्थर चुन चुन बनैली महल अटार
अप्ने रहै छि झोपडीमे, जाहिमे भूकैया कुत्ता बिराल 
भैया किसनमा हो, जिम्मदार सब छै बडा बेइमान
रुई धुनली, सुतो कटली, कपडा कैली तैयार 
तैयो नै कपडा हमरा भेटल , देहिया भेलै उघार 

००० ०००


Advertisement

हो बडी छकान छकइला महाजन 
हमरा गरीबके बातमे भुलाई जाली तमसुक बनौला हो 
हो, पिछला तमसुक तरमे दबईला, दोब्बरी कागज बनैला हो 
एक अन्नके बदला अनेकोके मारला हो, घरबार, गर गहना लुटला हो 
पुलिस थानाके घरे बोलाके, खसी चाउर घ्यु खियइला हो 
झूट फूसके जालमे फसाके सबके जेल पठौला हो 
गाम गाम स जनता जगाके तोरा माइर भगेबो हौ 
तभी छकान छुटतौ हौ महाजन 

मैथिली भाषामा लेखिएका यस्तै क्रान्तिकारी गीतहरू गाएर कुनै बेला वर्ग संघर्ष गरेका थिए धनुषाका किसानले । जमिन्दारको शोषणबाट मुक्ति पाउन धनुषाको बिदेह नगरपालिका–५ का रामअवतार पासवानसहित मुरीबा, धबौली, कचौरी, तारापट्टी, सिरसिया लगायत गाउँका गरीब किसान, दलित समुदाय वर्ग संघर्षको आन्दोलनमा होमिएका थिए ।


Advertisement

तत्कालीन कम्युनिस्ट पार्टीका नेताहरू माधवकुमार नेपाल (पूर्व प्रधानमन्त्री), झलनाथ खनाल (पूर्व प्रधानमन्त्री), सीपी मैनाली (पूर्व उपप्रधानमन्त्री) र उनकी पत्नी सीता खड्का, मुकुन्द न्यौपाने, शितल झा, ईश्वर पोखरेल (उपप्रधान तथा रक्षामन्त्री) सहितको अगुवाइ तथा प्रत्यक्ष सहभागितामा वर्ग संघर्ष गर्दै भूमिगत हिंसात्मक विद्रोहमा सहभागी भएका व्यक्तिमध्ये एक हुन् रामअवतार पासवान ।

हाल उनी ६८ वर्षका भए । २०३० सालदेखि २०३४ सालसम्म कम्युनिस्ट पार्टीका नेताहरूले धनुषाको मुरीबा तथा कचुरी गाउँमा सेल्टर लिएर भूमिगत हिंसात्मक विद्रोहको अगुवाइ गरेका थिए । विद्रोहको कमाण्डर समेत रहेका पासवानमा बाल्यकालको भोगाइले विद्रोही चेत जन्मायो ।

पासवान दलित समुदायको जाति हो । उनको बुवा यदुनन्दन पासवान र आमा पचियादेवी पासवान गाउँका जमिन्दारको खेतमा ज्यालादारी (बोइन) गरेर जसोतसो गुजारा गर्थे । राम अवतारले पढेका थिएनन् । गाउँमा १ जना शिक्षकले उनलाई अक्षरको सामान्य ज्ञान भने दिएका थिए । उनले भूइँमा नै बाँसको कचरीले अक्षर लेख्न जानेका थिए । 

गरीब दलित समुदायको छोरा भएका कारण उनी आफैं पनि बाल्यकालदेखि नै गाउँको जिमदार (जमिन्दार) युगल किशोर यादवको घरमा काम गर्थे । उनको भैंसी चराउने, घाँस काट्ने, गोबर सोहोर्ने लगायतका काम बाल्यकालदेखि नै गर्थे । उनले ज्यालाको रुपमा २ छाकको खाना पाउँथे । पछि उनी ठूलो भए पनि त्यहीँ महाजनको लगुवा (खेत जोत्ने हरुवा, चरुवा, हरबाह) को रुपमा काम गर्न लागेका थिए । सुतेपछि जहिले पनि गाली गर्दै खुट्टाले शरीर हल्लाएर उठाउने र दिनरात काममा लगाउने गरेको कारण बोली नै अप्रिय लाग्ने उनी सम्झन्छन् ।

२०३० सालको घटना हो । उनी त्यतिबेला २१ वर्षका जवान थिए । उनको बिहे भएर एउटा छोरा समेत जन्मिएको थियो । भारतको बिहार घोरबंकीका शिक्षक श्रीनारायण ठाकुर उनको छिमेकी गाउँ धबौलीको ताराटोलमा पढाउने गर्थे । स्कूल जाँदा–आउँदा मुरीबा भएर नै जाने गरेको कारण मुरीबाका व्यक्तिसँग शिक्षक ठाकुरको चिनजान थियो । एक जना कम्युनिस्ट पार्टीका क्रान्तिकारी नेता गाउँमा आए लुकाएर राख्न सक्छौ ? शिक्षकले मंसिफ गोहीबार र राम सुनर दासलाई सोधे । जमिन्दारको शोषण, जातपातको भेदभावविरुद्ध संघर्ष गर्न कम्युनिस्ट नेता आउने भएकाले दुवै जना ती नेतालाई लुकाउन तयार भए । 

धनुषाको रेल्वे स्टेसन महिनाथपुरमा माधव नेपाल र भारतका नेता रामचन्द्र यादव आइपुगे । रामचन्द्र भारतीय नागरिक भए पनि विराटनगरमा मजदुरी गर्थे । दुवै जनालाई स्टेसनबाट मुरीबा ल्याइयो । रामदेव गोहीबारले दुवै जनालाई करीमन राइनको दरबाजामा चटाई ओछ्याएर बसाए । ‘दिउँसो हामीहरू महाजनको खेतमा मजदुरी गर्ने र रातमा भने प्रशिक्षण लिने गरेका थियौं,’ उनले स्मरण गरे ।
 
१० घर जिमदारबाहेक बिस्तारै गाउँको सबै मध्यम वर्गीय, निम्न वर्गीय व्यक्ति क्रान्तिको पक्षमा आउन थालेका थिए । ‘माधव नेपालले जनताका दुश्मन रहेका जमिन्दारलाई सफाया गरेर सर्वहारा वर्गको नेतृत्वमा कम्युनिस्ट पार्टीको क्रान्तिकारी सरकार बनाउने मुख्य नारा दिएका थिए । त्यसका लागि लालसेना निर्माण गर्नुपर्ने र गुरिल्ला लडाइँ गर्नुपर्ने बताएका थिए,’ रामअवतार पासवानले सम्झिए, ‘१० जनाको युनिट बनाएर १ जना कमाण्डर नियुक्त गर्ने र त्यस्तो गुरिल्ला दस्ता थुप्रै समूहमा बनाउनुपर्ने भन्दै प्रशिक्षण शुरू गरिएको थियो । शुरूमा आफ्नै घरेलु हतियार लाठी, भाला, ग्रास, हँसिया सहितले लडाइँ गर्ने र पछि पुलिस, सेना सहितको राइफल खोस्ने रणनीतिसहित प्रशिक्षण दिए ।’
शुरूमा मुरीबा गाउँमा असर्फी गोहीबारको कमाण्डमा हबीब राइन, राम अशीष पासवान सहितको कमिटी बनाइयो । विभिन्न कमिटी बनाएर कार्यविभाजन गर्दै महोत्तरीको बर्दिबासस्थित गौरीडाँडाको कालापानीस्थित जंगलमा हतियार (बन्दुक) चलाउने तालिम पनि १ हप्तासम्म दिइएको थियो ।

रामअवतार पासवानलाई हठीपुर, रामदेव गोहीबारलाई सराबे, फेकन बिराजीलाई इकराहीसहित विभिन्न गाउँको कमाण्ड दिएर कार्यविभाजन गरिएको थियो । ‘सबै जना दिनमा ज्यालादारी गरेर खेतमा काम गर्ने र रातिराति संगठन निर्माणसहित प्रशिक्षण दिने गर्थे । गाउँगाउँमा सेल्टर समेत बनाइएको थियो,’ पासवानले भने । मुरीबाको रामदेव गोहीबारको घरमा १ नम्बर सेल्टर, रामअवतार पासवानको घरमा २ नम्बर सेल्टर, अशेश्वर दासको घरमा ३ नम्बर सेल्टर बनाइएको थियो । पछि तारापट्टी, कचुरी सहितका ठाउँमा समेत सेल्टर निर्माण गरिएको थियो । 

‘माधव नेपाल, सीता खड्का सहितका कमरेडहरू मेरो घरको सेल्टरमा बस्नुभएको थियो । झलनाथ खनाल, ईश्वर पोखरेल लगायतका कमरेड भने कचुरी गाउँको सेल्टरमा बस्नुभएको थियो,’ उनले भने, ‘झलनाथ खनाललाई खुट्टामा समस्या भएका कारण उहाँलाई २ जनाले हातले सहारा दिएर घुमफिर गराउनुपर्थ्यो भने दिसापिसाब गराउन समेत २ जनाले सहारा दिनुपर्ने हुन्थ्यो ।’

प्रशिक्षण र तालिमपछि वर्ग संघर्ष शुरू भयो । मुरीबा गाउँको सामन्त भूल गोइतको खेतमा मौजे राइनको बाख्राले दालको बाली खाएको थियो । गोइतले राइनलाई कुटपिट गर्नुका साथै खेतमा बाख्राको छिनाझप्टी भएको थियो । काठमाडौं बस्ने एक जना जिमदार रामअवतार मण्डल जिमदारी गाउँ गिद्धा आएको बेला उनलाई सुरक्षा दिन पुलिस पुगेका थिए । त्यहाँ गएर भूल गोइतले निवेदन दिए । त्यसपछि राइफल सहितका ६ जना पुलिसहरू मुरीबामा मौजे सहितका व्यक्तिलाई पक्राउ गर्न पुगेका थिए । ‘माधव नेपाल र सीता खड्काका निर्देशनमा सबै मजदुरहरू आफ्ना घरेलु हतियारसहित एक भएर पुलिसको राइफल खोस्यौं,’ पासवानले भने, ‘त्यसपछि तत्कालका लागि प्रहरीको राइफल हामीले फिर्ता दिएका थियौं ।’ 

घटनाको केही दिनपछि करीब २०० जना पुलिस आएर गाउँ घेरा हालेर सबैलाई पक्राउ गर्न आएका थिए । त्यतिबेला कसैले गाउँ छोडेर भाग्नुपर्छ भन्दै थिए, कसैले डटेर मुकाबिला गर्नुपर्छ भनिरहेका थिए । तर माधव नेपालले गाउँ छोडेर नभाग्ने बरु पुलिसले समाते गिरफ्तारी दिने भनेपछि पुलिसले पक्राउ गरेको पासवानले सम्झिए ।

त्यतिबेला माधव नेपाल, रामअवतार पासवान, फेकन बिराजी, हबीब राइन, सुन्दर पासवान, रामआशिष पासवान, अशेश्वर दास, ओजिर राइन, अक्षय दास सहित गाउँका दर्जनौं व्यक्तिलाई गिरफ्तार गरेर रेलमार्फत जनकपुर ल्याएको जनाइएको छ । ‘हिरासतमा हुँदा हामीलाई यातना दिनुका साथै नेलमा बाँधेर राख्ने गर्थे, आधा–आधा घण्टामा पुलिसले हामीलाई कुटपिट गर्ने गर्थे,’ पासवानले भने, ‘यतिसम्म कि हामीलाई खाना समेत दिने गरेको थिएन ।’ जनकपुरका दशरथ साहुको इँटा भट्टामा काम गर्ने मजदुर कारी दासले पकाएर ल्याउने खाना खाने गरेको उनले बताए ।

केही दिनपछि बाँकी व्यक्तिलाई रिहा गरेपनि माधव नेपाल, हबीब राइन र फेकन बिराजीलाई २ वर्षको लागि महोत्तरीको जलेश्वर जेल पठाएको थियो । नेताहरू जेल गएका बेला गाउँमा गुरिल्ला दस्ताले लडाइँलाई तीब्रता दिन थाल्यो । ‘मुरीबाका जिमदार केदार बिराजी राति आफ्नो घरको दलानमा सुतिरहेका बेला हामीले घरेलु हतियारसहित सफाया गर्‍यौं,’ पासवानले भने, ‘त्यसपछि गाउँमा प्रहरीको दमन अझै बढ्यो । धेरै व्यक्तिलाई पक्राउ गरेर मुद्दा लगाइयो ।’

प्रहरी दमन बढेपछि पासवान कचुरी गाउँमा सेल्टर लिएर बसिरहेका झलनाथ खनाललाई भेट्न पुगे । उनले त्यहाँ अब के गर्ने भन्ने सल्लाह लिए । ‘वहाँ पर जिमदारका सफाया आप लोग किए, बधाई है भन्दै अब गाउँ वापिस जाके आप लोग क्रान्तिकारी सरकार बनाइए और जिमदार का सब जमिन किसानको वितरण कर दिजिये भनेर खनालले मलाई फिर्ता पठाइदिए,’ पासवानले भने, ‘गाउँमा प्रहरी दमन बढेको बेला सरकार गठन गरेर जग्गा वितरण गर्ने काम गर्न सजिलो थिएन ।’

जिमदार हत्याको आरोपमा सुलेमान मिया, रामदेव गोहीबार, मण्डल डाक्टर सहितका थुप्रै मानिस पक्राउ परिसकेको थियो । त्यसैले आफू निरीह भएर भारतमा आफन्तको घरमा शरण लिएर बस्नुपरेको उनले बताए । केही महिनापछि ईश्वर पोखरेलले एउटा पत्र पठाएर लडाइँबाट पछि हट्दा कायर, डरछेरुवाको आरोप लागेको हुनाले बरु पक्राउ परे आफ्नै देशबाट पक्राउ पर्दा राम्रो हुने भन्दै गाउँ फर्किन निर्देशन दिए । पत्र पाएपछि उनी फर्किएर नौसय बिघामा कमाण्ड सम्हाले । २ वर्षपछि माधव नेपाल जेलबाट रिहा भएपछि आफ्नो घर नगएर मुरीबामा आए । उनी आएपछि फेरि दुवैतर्फ कारवाहीको प्रक्रिया अगाडि बढ्यो ।

‘तारापट्टिका जिमदार ईश्वर साहू, नौसय बिघाका जिमदार भुइँलोटन यादवलाई हामीले सफाया गरेका थियौं,’ पासवानले भने, ‘हाम्रोतर्फ पनि कमरेडहरू रामप्रीत यादव, भोला साह, झप्सी मण्डलले शहादत प्राप्त गर्नुभयो ।

कम्युनिस्ट कोअर्डिनेसन सेन्टरको नाममा पार्टीले भूमिगत लडाइँ लडेको अनुभव स्मरण गर्दै उनले जेल ब्रेक गर्न सुरुङ खनेको घटना पनि सुनाए । एक पटक केपी शर्मा ओली (हालका प्रधानमन्त्री), सीपी मैनाली, माधव पौडेलसहित ११ जनालाई पक्राउ गरेर झापाको चन्द्रगोडी जेलमा राखिएको थियो । जेलमा सुरुङ खनेर ती कमरेडलाई जेलबाट छुटाउनुपर्छ भन्दै ईश्वर पोखरेलले मुरीबाका रामअवतार पासवान, रामअवतार मण्डल, सौखीलाल मण्डल, राम बिलास मुखियालाई लिएर झापा पुगेका थिए ।

‘सीपी मैनालीका भाइ मीनप्रकाश मैनालीसँग भेट गराएर उनकै जिम्मा हामीलाई लगाएर उहाँ फर्किनुभयो,’ पासवानले भने, ‘जेलको उत्तर तर्फको जंगल हुँदै सुरुङ खन्ने काम गरेका थियौं ।’ घरेलु हतियार खुरपी, खन्ती लिएर राति १० बजेदेखि ३ बजेसम्म १ महिनासम्म सुरुङ खन्ने काम गरेको स्मरण गर्दै उनले भने, ‘१०० फीट लामो सुरुङ हामीले खानिसकेका थियौं, केही फीट मात्र खन्न बाँकी थियो तर पुलिसले चाल पाएपछि उहाँहरूलाई प्लेनमार्फत काठमाडौंको जेलमा सरुवा गरिएको थियो ।’

त्यतिबेलाको युद्ध ठीक भए पनि पछि मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको सिद्धान्तअनुसार पार्टी पटक–पटक सरकारमा सहभागी भएको उनले बताए । अहिले पनि झण्डै दुईतिहाइको शक्तिशाली सरकार छ तर पार्टीमा नेताहरूबीच पद, स्वार्थ, लोभ लालचका कारण पार्टीको अस्तित्व नै संकटमा छ ।

‘उत्पीडित सर्वहारा वर्गको उन्मुक्तिको लागि सरकार बन्नुपर्नेमा दलाल, पुँजीपति वर्गको सरकार बनेको छ,’ पासवानले भने, ‘नेताहरूको ५ अर्ब रुपैयाँसम्मका आलीशान महल बनेका छन् ।’ कम्युनिस्ट पार्टी भनेको सर्वहारा मजदुरको हुनुपर्नेमा अहिले ती वर्गलाई पार्टीले चिन्न समेत छाडेको उनले बताए । अहिलेको परिस्थितिमा आफूलाई कम्युनिस्ट भन्न लाज लाग्ने स्थिति पैदा भएर जनताबीच पनि निराशा बढेको उनले बताए । २०७० सालको संविधानसभा चुनावमा उनी समानुपातिक सभासद् बनेका थिए ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्