
कहिले अस्ट्रेलिया, कहिले जापान त कहिले कुन देशको सांस्कृतिक कार्यक्रममा । कहिले बुटवल, कहिले धनगढी, त कहिले पोखराको सांस्कृतिक कार्यक्रममा । २–४ दिन बाँकी रह्यो भने त गीत पनि रेकर्ड गराउनुपर्यो ।
घरमा खान समेत फुर्सद हुँदैनथ्यो । यो मञ्जु पौडेलको कोरोना महामारीअघिको दैनिकी थियो । तर, अहिले मञ्जुको दैनिकी पूरै परिवर्तन भएको छ ।
नेपालमा जब कोरोना महामारीले प्रवेश गर्यो, आम नागरिकजस्तै उनी पनि झण्डै ८ महिना लकडाउनमा समय बिताइन् । छोरी र नजिकका केही साथीभाइसँग मात्रै दिनरात घरमा थुनिएर बसेकी मञ्जुलाई वाक्कै लागेछ, लकडाउन खुल्नासाथ काठमाडौं छाडिन् ।
पोखरा, पाल्पा हुँदै आफू जन्मिएको घर गुल्मी पुगिन् । गुल्मी बम्घामा उनको जन्मघर छ । यो मञ्जुले कपुरी क सिकेको ठाउँ हो । बोल्न सिकेको ठाउँ हो । कक्षा १० सम्म पढेको स्थान हो ।
मञ्जुले आफ्नो आवाजमा गीत गाउने कला छ भन्ने पत्ता लगाएको स्थान पनि हो यो । लकडाउनका बेला जाने मन थियो, तर त्यो बेला जान डर लाग्यो, मञ्जुले भनिन्, ‘लकडाउन खुल्नासाथ जन्मघर जाने हुटहुटी जाग्यो । अनि तुरुन्तै झोला प्याक गरेर घर हिडेँ ।’
मञ्जुले कक्षा १० सकेर प्लस टु पढ्न बुटवल झरेपछि पहिलोपटक यति लामो समय जन्मघरमा बिताएकी हुन् ।
‘शुरूमा अलिकति गाह्रो भयो,’ उनले भनिन्, ‘एक हप्तापछि त असाध्यै रमाइलो लाग्न थाल्यो ।’
बिहान उठ्ने, पानी भर्ने, भैँसी दुहुने र दूध तताउँदै अगेनाको साइडमा बसेर चिया खाँदै आमासँग गफ गर्दा निकै रमाइलो लाग्थ्यो, मञ्जुले गाउँघरको बसाइबारे आज काठमाडौं झर्नासाथ भनिन्, ‘दाउराको आगो बालेर खाना बनाउने र दिनभरि घाँसपात र खेतबारी गर्दा त दिन बितेको पत्तै नहुने रहेछ ।’
मञ्जुले यसपटकको लामो गाउँ बसाइले जीवनमा धेरै कुरा बुझ्ने र सिक्ने मौका पाएको समेत बताइन् । साँच्चिकै खुशी त गाउँमा जति पनि रहेछ, मञ्जु थप्छिन्, ‘हामीले खुशी खोज्दै संसारभर पुग्छौं । तर, गाउँमा बस्न जान्ने हो भने शहरभन्दा झन् रमाइलो रहेछ ।’
मञ्जुले रमाइलो प्रसंगमा भनिन्, ‘गाउँमा घर टाढा छन्, मन गाढा । शहरमा घरनजिक मन टाढा हो कि जस्तो लाग्यो ।’
‘शहरबजारमा कुनै कुराको पनि अभाव हुन्न भनिन्छ । तर, शहरमा बस्न पैसा चाहिन्छ, गाउँमा मन,’ मञ्जुले थपिन्, ‘पैसाले पनि किन्न नसकिने खुशी कतै पाइन्छ भने त्यो गाउँ हो ।’
शहरबजारमा जस्तै गाउँ–गाउँमा अहिले गाडी पुग्छन् । बजारको केही कुरा किन्न मन लाग्यो भने नजिकै बजार छ, किन्न पाइन्छ ।
उनी थप्छिन्, ‘गाउँमै अर्ग्यानिक तरकारी पाइन्छ । भैँसी नपालेरै पनि दूध पिउन सकिन्छ । आफैँ फलाएको सागपात खान पाइन्छ । वास्तवमा गाउँ त साँच्चिकै गाउँ पो रहेछ । स्वस्थ शरीरका साथ बाँच्ने हो भने गाउँको अरू कुनै विकल्प छैन ।’
यो बसाइमा मञ्जुले नजिकका आफ्ना आफन्त, इष्टमित्रसँग राम्रैसँग समय कटाइन् । तम्घासको शिर रेसुंगाको डाडाँदेखि बम्घाको शिर बौहा पुगिन् । रानीवासको चुकौनी खाइन् । सर्जिपानीको कलकल चिसो पानी पिइन् ।
अनि हिजो घर छाड्ने दिन मनमनै एउटा प्रण गरिन्, ‘कामको शिलशिलामा जहाँ पुगे पनि जीवनको अन्तिम श्वास त गाउँमै फेर्छु । उमेर बढ्दै गएपछि गाउँमै आएर एउटा चिटिक्कको घर बनाएर गाउँमै बस्छु ।’