
मंसिर २१ गते राति दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एक महिनाभित्रै प्रदेशका ३ जिल्लामा घटेका ४ ठूला दुर्घटनामा २२ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यसको अघिल्लो दिन अर्थात् मंसिर २० गते राति डोटीको दीपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भयो ।
मंसिर ९ गते बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर आउँदै गरेकाहरूको मृत्यु भएको थियो ।
त्यसअघि कात्तिक २७ गते राति बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाले ज्यान गुमाए ।
मंसिर १ देखि २१ गतेसम्म पछिल्लो २१ दिनमा २८ सवारी दुर्घटनामा २२ जनाको मृत्यु र ५९ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी निरीक्षक कार्यालयका गणेश उप्रेतीले बताए ।
कार्यालयका अनुसार २०७४ साल साउनयता प्रदेशभरि ९६४ सवारी दुर्घटनामा परी ५६८ जनाको मृत्यु भएको छ भने एक हजार ४७४ जना घाइते भएका छन् ।
निरन्तर बढ्दै दुर्घटना
दशैं–तिहारबीचमै सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती, मापसे जाँच र सरप्राइज चेकिङ थाले पनि दुर्घटनामा कमी आउन सकेको छैन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ४ महिनामा ५३ जनाको मृत्यु भएको छ । कात्तिक महिनामा मात्रै २७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष ०७६/७७ मा १४३ जना, अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा २२३ जना र ०७४/७५ मा १६६ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमले रातिमा दुर्घटना बढेकाले सवारी साधन सञ्चालनमै रोक लगाउने कि भन्ने विषयमा छलफल भइरहेको बताए ।
सवारी दुर्घटनामा चालकको बढी लापरवाही देखिएको उनी बताउँछन् ।
‘मध्यरातमा गाडी चलाउनु लापरवाही हो,’ उनले भने ‘चालक बढी तनावमा हुँदा पनि दुर्घटना भएको देखिएको छ ।’
यसकारण बढ्दैछ दुर्घटना
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार नयाँ काटिएका ग्रामीण सडकहरूका कारण दुर्घटना बढेका छन्। तर उनले त्यसलाई मात्रै प्रमुख कारण मान्न नसकिने उल्लेख गर्दै मानवीय त्रुटिहरूले पनि दुर्घटना बढाएको बताए।
‘ग्रामीण सडकमा राति सवारी चलाउन नहुने हो तर त्यसको पूर्ण पालना हुन सकेको छैन,’ उनले भने ‘अहिले काटेका इञ्जिनियरिङ विनाका सडकहरू दुर्घटनाका कारण बनेका छन् भने राजमार्गहरूमा लामो समयसम्म एकै जनाले सवारी चलाउनुपर्ने, चालक तनावमा हुने तथा यान्त्रिक गडबडी समेत दुर्घटनाको कारण बन्ने गरेका छन् ।’
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार ग्रामीण सडक दुर्घटनाका प्रमुख कारक हुन् ।
‘सडकहरू जथाभावी डोजर प्रयोग गरेर प्रोपर इञ्जिनियरिङविना धमाधम काटिएका छन्,’ उनले भने ‘यसरी आफूखुशी काटिएका सडकका कारण प्रदेशमा दुर्घटनाको जोखिम बढेको छ । साथै पहिलेको तुलनामा अहिले सवारीको चाप बढेकाले समेत दुर्घटना बढेका हुन्।’
उनका अनुसार त्यसबाहेक चालक तथा सवारी धनीको लापरवाही र मनोमानीले दुर्घटना बढाएको छ । ‘सुदूरपश्चिममा ग्रामीण भूगोल ठूलो छ । हामीसँग नियमन गर्ने जनशक्ति कम छ । तथापि चालक र सवारीधनीले अटेरी गरेर बढी सवारी चलाउने गरेका छन् । आफूखुशी भित्री सडकमा यात्रु राख्ने गरेका छन्, त्यसले पनि दुर्घटनाको जोखिम र दुर्घटनाहरू बढेका हुन्,’ उनले भने ।
‘यसरी समग्रमा हेर्दा पहिलो कारण सवारी चालकको लापरवाही हो,’ वरिष्ठ प्रहरी उपरीक्षक सिंह भन्छन्, ‘सडकको अवस्था र कसरी सवारी चलाउने भनेर सबैभन्दा बढी जानकार त चालक हुन्छन्, तर ट्राफिक नियम उल्लङ्घन गर्ने, जथाभावी ढोका खोलेर हिँड्ने, जथाभावी ओभरटेक गर्ने, ग्रामीण सडकमा समेत तीव्र गतिमा सवारी हाँक्ने तथा रातिको समयमा सवारी चलाउनाले गर्दा दुर्घटना हुन्छन् ।’
दुईपांग्रे सवारीको हकमा भने चालकको सबैभन्दा बढी लापरवाही पाइएको प्रहरीको भनाइ छ ।
‘गतिमा ध्यान नदिने हुँदा मोटरसाइकल दुर्घटनाको प्रमुख कारक चालकको लापरवाहीले सवारीको गति बन्न पुगेको छ । कहिलेकाहीँ त रोकेका सवारीमा ठोक्किएर समेत भयानक दुर्घटना हुन्छन्,’ उनले भने ।
यातायात व्यवसायी भने सडकको दुर्दशाका कारण बढी दुर्घटना भइरहेको बताउँछन् ।
‘साँघुरो सडकमा सवारी साधनको चाप बढेपछि दुर्घटना बढेका हुन्,’ सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष पदमराज सापकोटाले भने, ‘सरकारले चालकलाई दोष दिएर आफू उम्किरहेको उनले बताए ।’