डा. रवीन्द्र समीरका तीन लघुकथा

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

जनस्वस्थ्य विज्ञ समेत रहेका साहित्यकार डा. रवीन्द्र समीरका मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

१. निषेधको राजनीति 

सानो चिटिक्क परेको सुन्दर घर । घरको वरिपरि सप्तरंगी बगैँचा । चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास..., अवर्णनीय परिवार थियो, त्यो ।


Advertisement

एकले अर्कोलाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुंगाले बुनेको सह-अस्तित्वको माला साँच्चै उदाहरणीय थियो ।

छिमेकीहरू अधिकांश उक्त परिवारको प्रशंसा गरेर थाक्दैनथे । त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे ।


Advertisement

कोही सहयोग गरेर जान्थे भने कोही इर्ष्या गर्दथे । परिवारबीचको एकता खल्बल्याउन खोज्दथे । 

चिसो हावाको बहाव एवं संग्लो पानीको धमिलीकरणसँगै परिवारभित्र पनि कथाहरू फेरिँदै गए । पात्रहरू बहुरूपी हुँदै गए । घरमा आगो लगाउन थाले । आपसमा तानातान र हानाहान गर्न थाले ।

सम्पत्तिको बाँडफाँडका लागि खुकुरी बोक्न थाले अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ति सुन्न बाध्य भए । 

... त्यो यो घरबाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनु पर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो तसर्थ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ ।

सह-अस्तित्व एवं वसुधैवकुटुम्बकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति शुरू भयो ।

अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने संकीर्ण भिडन्तले परिवारभित्रका सबै सदस्यहरू थाके, गले र कमजोर भए ।

यही फूट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहुँमा प्वालबाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैँचामा हात्ती भएर निस्किए तथा शेर बनेर गर्जिए ।

अहिले हस्तिनापुरको राजबाट चपरीमुनिको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन्, बल्ल खायो त्यसले ।


२. थाहा छ ?

‘तपाईंले के काम गर्नुहुन्छ ?’ 

सात-आठवटा औँलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा सुनको दाम्लो जत्रो सिक्री झुन्ड्याएको व्यक्तिले जवाफ दियो –‘म तास खेल्छु ।’

डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर सोधे, ‘जागिर, व्यापार आदि केही काम गर्नुहुन्छ होला नि ?’ 

उसले हाँस्दै भन्यो –‘मैले तास खेल्नेबाहेक अरू केही काम गर्दिनँ ।’

डा. शर्माले सोच्न थाले, यसले पढेलेखेको पनि छैन, जागिर पनि खाँदैन, व्यवसाय पनि गर्दैन । भनेपछि यसले कसरी रवाफिलो जीवन बिताएको छ त ?

‘आम्दानीको स्रोत के होला तपाईंको ?’ खसखस लागेपछि डा. शर्माले आफ्नो छुच्चो बानी देखाइहाले ।

उसले गर्वका साथ भन्यो, ‘भाडा खान्छु, पैंसठ्ठीवटा सटरसहितका पाँचवटा घर भाडामा लगाएको छु ।’

डा. शर्माले पानी निकाल्न अझै इनार खन्ने विचार गरे– ‘राम्रो कमाउनुभएको रहेछ, कसरी छिट्टै प्रगति गर्नुभयो ?’

उसले उल्टै डा. शर्मालाई प्रश्न गर्‍यो– ‘हजुरलाई सी माला थाहा छ ? प्राचीन ब्रिटिस रक्सीको बोतलको मूल्य थाहा छ ? गैंडाको खाग, कस्तुरीको नाभी, ठूलो हुचिलको मूल्य थाहा छ ? यार्सागुम्बा, पाँचऔंले, कुट्कीबारे थाहा छ ? एकमुखे रुद्राक्षको मूल्य थाहा छ ? केराको युगल बुंगोमा एकमुखे रुद्राक्ष कहिले हुन्छ, थाहा छ ? चम्किने गह्रौं पत्थर चिन्नुहुन्छ ? प्राचीन छालाका सिक्काको मूल्य थाहा छ ? थाहा छ ?? थाहा छ ??’
डा.शर्माले भने – ‘थाहा छैन ।’

उसले भन्यो – ‘मलाई थाहा छ ।’

३. गाउँ र शहर 

यात्राका क्रममा गुरुप्रसाद र विजयको मुग्लिनमा भेट भयो । क्याम्पसका आत्मीय सहपाठी भएपनि यसपटक करीब दश वर्षपछि मात्र उनीहरूको भेट भएको थियो ।

गुरुप्रसाद काठमाडौंबाट आफ्नो घर पहाड जान थालेका थिए भने विजय पहाडबाट आफ्नो घर काठमाडौं जान थालेका थिए ।

संयोग के मिलेको थियो भने गुरुप्रसाद विजयको जिल्लामा र विजय गुरुप्रसादको जिल्लामा नोकरी गर्दथे, तर उनीहरू एक अर्काको घरमा पुगेका थिएनन् ।

औपचारिक भलाकुसारीपछि गुरुप्रसादले मौका मिलेको बेलामा मेरो घर आउनुहोला भन्दै आप्mनो घरमा पुग्ने बाटो यस प्रकार बताए, ‘... हो, त्यो नीलगिरि हिमाल देखिने हरियो डाँडो पार गरेपछि बाटोमा ठूलो पोखरी आउँछ, पोखरीको उत्तरपट्टिको बाटो लागेपछि चिसो पानीको झरना आउँछ, त्यो झरनाबाट केही पर पुगेपछि बरपिपलको चौतारी नजिकै नीलो नदी छ । त्यहाँबाट ओह्रालो झरेपछि समतल फाँट आउँछ, डाँफे, मयूर, मृग, खरायो देखिने जंगलको पूर्वपट्टि एउटा चिटिक्क परेको गाउँ छ । पानी छ्याल्ब्याल बगेको पँधेरो माथिनेर रङ्गचिङ्गी फूल फुलेको तथा लटरम्म फल फलेको बगैँचा आउँछ, त्यही बगैँचाको बीचमा मौरीका घारहरू भएको घर मेरो हो ।’

त्यसपछि विजयले आप्mनो घरको पहिचान यसरी दिए – ‘...हो, त्यो फिल्म हलपछाडि गार्मेन्ट कारखाना छ । त्यसको पूर्वमा फोहोर जम्मा हुने कन्टेनर छ, त्यहाँबाट विक्रम टेम्पु चढेपछि ठाउँमा ओह्राल्छ । त्यहाँबाट पश्चिमपट्टि लागेपछि राँगाका टाउका, बंगुरका खुट्टा, भैँसीका आन्द्रा तथा फोहोरहरू फाल्ने चोक छ । त्यो चोकबाट अलिपर भत्केको मन्दिर छ, त्यसको छेउमा गाग्रीका लाइन देखिने धारो छ, त्यहाँबाट पूर्वपट्टिको गल्लीमा पसेपछि दुईवटा बाटा छन्, एउटा बाटोको भित्तामा फिल्मी पोष्टरहरू टाँस्ने, अश्लील कुराहरू लेख्ने गर्दछन्, अर्को बाटोको छेउमा मःम पसल छ, त्यसैको छेउमा ढल फुटेर दिसा–पिसाब तथा फोहोरको तीव्र गन्ध आउने बाटो छ, हो त्यही बाटोबाट भित्र पसेपछि फोहोरको ठूलो थुप्रोको छेउमै कुकुर नभएको तर ‘कुकुरदेखि सावधान’ लेखेको घर छ, हो मेरो घर त्यही हो । 

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्